‘सडे गलेका सामान हजुर, सडे गलेका सामान’ कवाडी बटुल्ने रहमान यसरी नै हल्ला गर्दै दिनहुँ गाउँ घुम्छ । केही न केही सामान बटुलेर घर लैजान्छ ।
गाउँ घरमा प्रायः काम नलाग्ने सामानहरू असरल्ल जथाभावी मिल्काइएको हुन्थ्यो । ती सबै रहमानले लैजान्थ्यो । ऊ एक्लै गाउँ गाउँ घुमेर बटुलेका सामान बिक्री गरेर घर व्यवहार चलाएर कवाडा व्यापार पनि गर्थ्यो ।
एकदिन सुरेशले रहमानलाई सोध्यो ‘भाइ तिमीले यो कवाडा सामान बेचेर कति कमाउँछौ ?’
रहमानले जवाफ दियो ‘सामान अनुसारको भाउ हुन्छ दाजु । यसैको कारोबारबाट मैले जग्गा किनेर घर बनाए । घर खर्च चलेको छ व्यापार पनि चलाएको छु ।’
सुरेशले सामान्य साँझ बिहानको छाक टर्ला भन्ने सोंच बनाएको थियो । उसको सोंचले फेल खायो । रहमानको कुराले अचम्मित भयो । आफू पनि कवाडा सामान व्यापारमा लाग्ने कुरा सुनायो ।
रहमानले आफूलाई मानिस चाहिएको हुँदा चिने जानेको साथी भएकोले आजैबाट काम शुरु गर्न सुझायो ।
सुरेशले काम शुरु गर्यो । लगानी अनुसारको राम्रो प्रतिफल पाउँदै गयो । लगानी पनि बडाउँदै गयो । हिजो सबैले सुरेशे भनेर बोलाउँथे भने आज उसलाई सबैले नमस्कार सुरेशजी भन्न थालेका छन् ।
यति मात्र होइन सुरेशका कारण सो गाउँका अधिकांश चुल्ठे, मुन्द्रेहरूले समेत काम पाएका छन् ।
अब गाउँ हिजोको जस्तो रहेन । गाउँलेहरूको सोंचमा परिवर्तन आएको छ । कवाडा सामानको कारोबारीहरू हिजोको दुःखबाट मुक्त भएका छन् । रहमान गाउँको परिवर्तनको गुरु भएको छ ।
अहिले कवाडा सङ्कलक सबै मिलेर गाउँको विकासमा जुटेका छन् । श्रम नै परिवर्तनको उज्यालो घाम हो भन्दै आफैँ परिवर्तन हुँदै बेरोजगारलाई रोजगार दिएर गाउँको परिवर्तनका लागि परेका छन् ।
