Skip to content

अतृप्त प्यास

  • by

छोरा शहर छिरेपछि शून्य र रुखो भएको मन भर्न पँधेरा बनाउने निश्चय गरे। बुढाबुढी नै खटेर भौतिक संरचना तयार गरे । छोराले घरपूजामा शहर बोलायो ।

छोराको परिवार दुईबाट तीन हुँदै चार भयो । केटाकेटीको स्याहारमा आमाले हात बढाउनु पर्यो । तरकारी लगायतको किनमेलमा बुबाको अग्रसरताले छोरालाई सहज बनायो ।

नाति-नातिना विद्यालय लिन र पुर्याउन जाने कामबाट निवृत्त भएपछि, “नातिनातिना ठुला भए । हामी गाउँ जाने हो कि ? हाम्रो आवश्यकता नै के छ र यहाँ ?”पत्नीले जिज्ञासा राखिन् ।

“यतिका वर्ष भए गाउँ छाडेको, अब गाउँ गएर सिर्जना गरेर बस्न सकिन्न । जे तुल्याएर दिन्छन् त्यही खाएर भजन किर्तन गरेर बसे हुन्न र ? म हारमोनियम बजाउला तिमी गाउनु !” पतिले केही गम्भीर केही ठट्यौली बोले।

“अनि पँधेरामा पानी झार्न पर्दैन ?” पत्नीले सम्झाइन्।

“छोराले खुवाएकै छ त !”

“पँधेराको होइन नि ! “

“कुनै दिन खाइएला कि ?”

“छोराले व्यवस्था गरिदिए ! “

कसो कसो दुवैले तिर्खा महसुस गरे ।

छोराले ल्यापटपमा नयाँ घर देखाउँदै सोध्यो – “यो घर कस्तो छ ?”

“राम्रो छ,” आमाबुबा एकैसाथ बोले ।

“हामी बसेको घर राम्रो कि यो घर ?”

छोराको अनुहारमा अनौठा भावले हेरे। “घर राम्रो नराम्रो त्यहाँको वातावरण र मान्छेमा भर पर्छ।”

“तैपनि, दुईवटामा कुन रोज्नुहुन्छ ?”

“हेर्दा यो राम्रो, हामी बसेको झन् राम्रो ।”

“एउटा रोज्नुस् न !” छोराले ढिपी गर्यो।

“यही घर रोज्यौँ,” भन्दै पूरानो घर रोजे।

“यो घर हामीले किन्यौँ । हजुरहरुलाई सर्प्राइज । हजुरहरुले रोज्नुभएको घर हजुरहरुलाई। आवश्यक जति कोठा राखेर बाँकी भाडामा लगाउनुस् । जति खर्च चाहिन्छ चलाउनुस् । हामी नयाँ घरमा सर्छौँ । सबैलाई यहाँ साँघुरो थियो । अब फराकिलो हुन्छ ।”

छोराले आमाबाबुको मुहारमा प्रसन्नता नियाल्दै थियो ।

“बाबु, तिर्खा मेट्ने एक लोटा पँधेराको पानीको आशा थियो, यो सिंगो समुद्र ?” आमाबुबा गह भर्दै बोले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *