
कोरोना कोविड–१९ले लतारेको जीवन । निषेधाज्ञा खकुलो भए पनि संक्रमण बढिरहेको छ, र फेरि निषेधाज्ञा हुने हल्लाले मुटु चिथोर्छ उसको ।
सन्ते ठेकेदारको कामलाई निषेधाज्ञा नलागे पनि पैसा भने बन्द छ । हाजिर माग्यो भने जहिले पनि घरसाहुले पैसा दिएको छैन भन्दै दुई सयले काम चलाऊ भन्छ ।
बुढीले छोडे पनि एउटा छोरालाई ज्यामी काम गरेरै पढाउँछु भन्दै हिम्मत कसेर बोर्डिङमै भर्ती गरेको छ ।
बोर्डिङ् बन्द छ, तर फिस् तिर्नै पर्छ ।
घर ठडिन्छ, ऊ अन्तै हिँड्न पर्छ थोत्रा बोरा च्यापेर ।
देश फेरियो, गाउँ जाने बाटो फेरियो, शहरको सडक चिल्लो भयो । शङ्ख-चक्र खियाएर धेरै अर्काको घर बनायो । धेरै मान्छे घरमालिक भए । ठेकेदारले पनि घडेरी जोड्यो । उसको दिनचर्या भने घरबाट आउँदा जस्तो थियो, त्यस्तै छ । बरु अलिक जोवन ढल्के जस्तो छ ।
बन्दमा अनलाइन क्लास चल्ने अरे, स्कुलबाट फोन आयो । ऊ छक्क पर्छ, खै न मोबाइल छ न वाइफाई । इटाले बाह्रेर बनाको अस्थायी टहरो ।
भाडाको कोठा लिने ल्याकत छैन । ऊ निरुत्तर छोरालाई समातेर फुस्फुसाउँछ, “किन सर्वहारा बनायौ दैव ।“
