Skip to content

सानो बच्चाको रोइरहेको आवाज बाटोमा हिड्दै गरेकी मञ्जुको कानमा ठोकियो । उनीले तत्काल श्रीमानलाई बोलाइन्, “बाबा, बच्चाको आवाज आइरहेकोछ, कतै कसैले बच्चा छोडेर भाग्यो कि के हो ? सुन्नु त आवाज कहाँनेर छ !“

“हो त ! साँच्चै ऊ पर हेर त, त्यहाँ हो जस्तो देखिन्छ । जौं उतै,“ श्रीमानले भने ।

दुवै दौडेर गए । नभन्दै आमा आमा भन्दै रोइरहेको बच्चा भेटियो । तिनीहरुलाई देखेर बच्चा रुन छोड्यो । फकाउँदै मञ्जुले सबैकुरा सोधिन् । स्पष्ट रुपमा नभुझे पनि हातको इशाराको तालमा उसले आमाले छोडेर गएको कुरा बतायो ।

मञ्जुले विचार गरिन्, “आफ्नो पनि पहिलो सन्तान बाहेक दोस्रो नहुने जानकारी डाक्टरले बताएको छ र अर्को सन्तानको रहर पनि छ । अब यसैलाई लान्छु, दाजुभाइ पनि हुन्छन् राम लक्ष्मण जस्तो । उतातिर मेरो रहर पनि पूरा हुन्छ ।“

श्रीमानले पनि ठिक छ भनी सहमत जनाए र दुवैले त्यस बच्चालाई लिएर गए । मने घरैमा खेलिरहेको थियो । बुवाआमाको साथमा बच्चा देखेपछि खुशी हुँदै सोध्यो, “आमा .. भाइ कहाँ थियो ?“

“पर बाटामा आमाले जवाफ दिइन् ।“

भाइको नाम तिनीहरूले ‘धने’ राख्ने निधो गरे ।

मने र धने दुवै हुर्कदैँ गए । ठुलाठुला भए । आमाको मन फेरिदैँ गयो । धनेलाईभन्दा मनेलाई धेरै माया गर्नु थालिन् । हुन पनि धने त भेटाएको न पर्यो । मने भने दस महिना कोखमा बोकेर जन्माएको अलिक बढी माया लाग्नु स्वाभाविक नै हो ।

अब भने खै के भयो मञ्जुलाई । उनीले धनेसँग सौतेनी आमाको झैँ व्यवहार गर्न थालिन् । चाहे काममा होस् या खानेकुरामा या त लाउने कुरादेखि लिएर सबै कुरामा छुट्याउन थालिन् ।

बिचरा धने के पो गर्न सक्थ्यो र ! ऊ पनि टुहुरो जस्तै थियो । तर पनि सबै कुरा सहेर बसे आफ्नो व्यवहारलाई कहिल्यै परिवर्तन गरेन । बरु “गुनको मूल्य“ चुकाउँछु भनेर अठोट गरी धर्यसाथ अडिग रह्यो ।

एकदिन मञ्जु बिरामी परिन् । उनीले मनेलाई हस्पिटल लैजान भनिन् । मने “मेरो समय छैन आफै जानू” भनेर बाटो लाग्यो । यो सबैकुरा धनेले सुनिरहेको थियो । मने बाहिर गएपछि धनेले ढाडस् दियो, “चिन्ता नगर्नुहोस् आमा म छु नि,म लैजान्छु तपाईंलाई अस्पताल ।“

अनुग्रह राना मगर ’पुष्प’
संखुवासभा हाल मलेसिया

2 thoughts on “गुनको मूल्य”

  1. लघुकथा- बलात्कारी राजनीति
    -नन्दलाल आचार्य
    ‘दाजु हैनस् तँ । मेरो भाइ होस् भाइ । त्यो पनि झड्केलो भाइ । बिग्रेको भाइ । म भने सप्रन नसकेको दाजु परेँ ।’
    कपिले छाती ठूलो बनाउँदै भनेको कुराले मेरो अन्तस्करणलाई नराम्ररी घोच्यो । म रन्थनिएँ । एक टक लगाएर हेरेँ । स्वरूपमा म र ऊ उस्ताउस्तै थियौँ ।
    उसको पछाडि दृश्य पुच्छर झुन्डिएको थियो । मेरो पछाडि अदृश्य बेमानी लत्रेको थियो । म गाँस, बास र कपासको लागि जीवनभर नै मरिमेट्थेँ । ऊ भने वर्तमान नै खान्थ्यो । आफ्नै शरीरको भुत्ले छाला लाउँथ्यो । त्यही ओड्थ्यो र ओछ्याउँथ्यो । रुखका हाँगाहाँगामा सुत्थ्यो ।
    ऊ पनि प्रेम गर्थ्यो । ऊ पनि सहयोग गर्थ्यो । ऊ पनि विद्रोह गर्थ्यो । उसको हरेक काम गराइमा शिष्टता थियो । मेरा हरकार्यकलापमा अशिष्टता दर्सिन्थ्यो । म आफूलाई सर्वश्रेष्ठ ठान्थेँ । अरूलाई झिनामसिना र सर्वनिकृष्ट मान्थेँ ।
    ‘भाइ, तँलाई बुद्धिले खायो । मलाई कुबुद्धिले वनवासमै राख्यो । तँ मलाई गन्दैनस् तर म भने तँलाई मान्दछु ।’ ऊ बोल्दै जान्थ्यो । म सुन्दै जान्थेँ । दोहोरो बोलूँ भने म आफ्नै इज्जत सडकमा छरिएला भन्ठान्थेँ ।
    ‘म तेरो बुद्धि मलाई सर्ला कि भनी कोरोनाबाट भन्दा बढता सजग हुन्छु । तँ पनि मेरो बुद्धि तँमा आउला कि भनी हर्दम सचेत हुन्छस् ।’ ऊ सत्य बक्तै गर्थ्यो । म नसुनेझैँ गर्थेँ तर कान अझ चनाखो पारेर सुनिरहन्थेँ ।
    ‘उसो भए तँजस्तै म किन प्राकृतिक बन्न सकिनँ ?’ यस पटक अनायासै मैले मुख खोलेँछु । उसले दिएको जवाफले मेरो मुखमा ताला लागेको अझै खुल्न सकेको छैन ।
    उसले जवाफमा भनेको थियो; ‘म बाँच्नका लागि खान्छु तर तँ खानका लागि बाँच्छस् । म आफ्नो जाति उकास्न राजनीति गर्छु । तँ आफ्नो अस्तित्व बलात्कार गर्न राजनीति गर्छस् । त्यसैले तँ अप्राकृतिक होस् । म प्राकृतिक हुँ ।’
    2078/09/28 सिद्धार्थटोल, उदयपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *