Skip to content

साहित्य

  • by

नख्खु सिंहको रुवाइ देखेर म अचम्मित भए । ऊ सुँक्क सुँक्क मात्र गरिरहन्छ । कहिले आँसु पुछ्छ । कहिले बर्रर आँशु झार्छ । कहिले पर पुग्छ । कहिले फर्कन्छ । कहिले खुट्टामा ढोगौंला जस्तो गर्छ ।

मैले सोधें, “के भो तिमीलाई ?“

ऊ त झन् डाको छोडेर रोयो ।

मैले फेरि भने, “म तिम्रो समस्या सकेसम्म हल गरिदिन्छु ।“

आश्वासन पाएर होला उसले आफ्नो कुरा राख्यो, “सर मलाई साहित्य लेख्न मन छ तर आउँदैन ।“

“आउँछ तिमी आँट गर न, लेख्न सक्छौ ।“

“अँह कति कोसिस गरें, आएन सर ।“

मैले उसलाई भने, “तिमीलाई कसैलाई गाली गर्न आउँछ ?“

“त्यो त आउँछ सर ।“

“ल अब तिमीले अरुलाई कतिसम्म गाली गर्न सक्छौं लेखेर ल्याऊ ।“

ऊ खुशी हुँदै गयो र चार-पाँच दिनमा पाँच पेजसम्मको गाली गर्दै लेखेर ल्यायो । मैले त्यो हेरें, “ओहो ! तिमी त गाली गर्न निकै सिपालु रहेछौं । अँझ थोरै भयो यो । गाली गरेको अँझ अरु धेरै लेख ।“

ऊ गयो र केही दिनपछि आयो । “ल सर मैले गाली गरेर लेखेर ल्याएँ ।“

मैले हेरें, उसले बीस पेजसम्म गाली गरेर लेखेको रहेछ । मैले उसलाई भने, “अब तिमीलाई अरुको प्रशंसा गर्न आउँछ ।“

“अँह सर त्यो त जानेको छैन ।“

“तिमीले जसरी गाली गर्यौं नि हो त्यसलाई उल्टाएर प्रशंसा गर । कोसिस गरेर लेखेर ल्याऊ पाँच दिनमा ।“

ऊ अन्कनाउँदै गयो । पाँच दिनमा उसले प्रशंसा गर्दै दस पेज लेखेर ल्यायो । मैले उसलाई भनें, “यो अति राम्रो भएछ । यसलाई अँझ प्रशंसा गरेरे ल्याऊ ।“

ऊ गयो र पाँचदिन पछि आयो । मैले हेरें । तीस पेजसम्म प्रशंसा गरेर लेखेको रहेछ । उसको लेखाइ धेरै राम्रो भइसकेको थियो । मैले उसलाई प्रशंसा गरेर अरु लेख्न भने । ऊ केही समयपछि आयो । पचास पेजसम्म उसले लेखेको रहेछ । लेखाइको स्तर धेरै राम्रो थियो ।

मैले कालिदासको किताब दिदै भने, “यो किताब पढ । अनि कालीदासलाई प्रशंसा मात्र गरेर ल्याऊ।“

उसले दुई महिनापछि एक सय पेजको लेख लेखेर ल्यायो । जून लेख हेर्दा अति सुन्दर थियो ।

मैलै पनि त्यसको मूल्यांकन गर्न नसकेर एक साहित्यकारलाइदिएँ । उनले पढिसकेर भने, “आहा ! लौ न यी साहित्यकारसँग भेट गर्ने मौका जुराइदिनुहोस् ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *