पवित्रालाई तिहारको रौनक सारै मनपर्थ्यो । पशुपंक्षी र मान्छेलाई भगवान् मानेर पुज्ने परम्पराले तिनी प्रभावित भएकी थिइन् । मराउ-पराउले गर्दा चारवर्ष भइसकेको थियो चाडपर्व नमनाएको पनि।
“यसपालि राम्रोसँग तिहार मनाउनु पर्यो। यसरी मरिमराउ पर्यो भन्दै चाडपर्व नमनाउने हो भने, एकसय वर्षसम्म पनि चाडपर्व मनाउन पाइन्न,“ तिनी एक्लै बरबराउँदै थिइन्।
“आइतबार घर वरिपरि बत्ती झुन्ड्याउनुपर्छ,“ तिनले उमेशलाई मोबाइलबाट आदेश दिइन् ।
पुरानो बत्ती प्रायः बिग्रेकाले, पवित्रा उमेशले दिएको लामो लिस्ट ब्यागमा हालेर बजार लागिन्।
“आमा ! यसपालि बत्तीको झिलिमिलीले घर उज्यालो हुने भयो।“ आइतबारको साँझमा घरको चारैतिर बत्ती जोडिसकेपछि ऊ आफै दङ्गदास भयो।
पवित्राले पनि राति एकपल्ट बत्ती बालिन्। यसपालिको बत्तीको झिलिमिली तिनलाई असाध्यै मनपर्यो।
“यसपालि लक्ष्मीले मेरै घरमा पाउ राख्छिन्,“ तिनले आफ्नो रहर मारेर बनाएको घरलाई पुलुक्क हेरिन्।
पवित्राले सेलरोटी बनाउन सिकेकीले त्यतातिरको चिन्ता थिएन। “बुङ्गो सहितको केराको थाम काटेर आँगनमा राख्न लगाइदिनुस् म भोलि बिहानै आएर गेट बनाउँछु।“ भन्दै उमेश घरतिर लाग्यो।
बिहान तिहारको उज्यालो सबैको मुहारमा छाएको थियो, सबैजना पाला र रङ्गोलीतिर झुम्मिएका थिए। पवित्राको मोबाइलको घन्टी बज्यो । उताको आवाज कसैले सुनेनन्, यता तिनी भुइँमा थचक्क बसिन्। तिनको निधारमा चिटचिट पसिना थियो।
“आमा केराको थाम खै ? मैले झन् हिजै भनेको होइन?“ उमेशको निधार खुम्चियो।
“उमेश, हामीलाई फेरि जुठो परेछ। “
उमेश, हिजो झुन्ड्याएका बत्ती र ठेला उठेका हात पालैपालो हेर्दैथ्यो।
त्रिपुरा खरेल
सिक्किम, भारत।
