Skip to content

श्रीमानश्रीमती

  • by

“श्रीमानको सदाको कार्य व्यस्तता । छिटो कार्यालय जाने, ढिलो आउने । घर आएर सामाजिक सञ्जालमा व्यस्त ।“ यो श्रीमतीको आरोप थियो ।

“काम नै त्यस्तो छ त के गरुँ ? काम नगरे माम जुटाउन मुश्किल । दिनभरि काममा व्यस्त हुँदा दिक्दारी हुन्छ, घरमा यसो फोन हेर्दा के बिग्रन्छ र?“ श्रीमानको स्पष्टोक्ति ।

“दिनभरि घरको नदेखिने काम हुन्छ । एकछिन फुर्सद हुन्न । छोराछोरीले हैरान गर्छन् । श्रीमान आउलान् र दुः ख सुखका कुरा गरौला, घरमा यसो सघाउलान् भन्यो । मोबाइलमा बोल्दै आउँछन् । जतिखेर पनि कानमा इयरफोन हुन्छ । खाएर हात चुठेर एक शब्द बोल्दैनन् । न बच्चाहरूलाई वास्ता गर्छन्,“ श्रीमती रिसाउँदै बोलिन् ।

“अनि खर्च पर्च चाहिँ ?“ तेस्रो व्यक्तिले सोधे।

“मेरो कमाईको प्रायः सम्पूर्ण हिस्सा यिनीलाई नै बुझाउँछु। जसरी खर्च गरे पनि केही खोजी गर्दिन।“

“अनि ?“ तेस्रो व्यक्तिले श्रीमतीतिर पुलुक्क हेरे।

“खर्च मात्र भएर हुन्छ ? ममा भूँडीमात्र होइन मन पनि छ। तपाईंको छैन ?“ प्रतिप्रश्न गर्छिन् ।

यस्तै ठाकठुक पर्दापर्दै एकले अर्कोलाई निचो देखाउने होडमा आफ्नो गल्ती महसुस भए पनि स्वीकार्न नचाहँदा अन्ततः सम्बन्ध विच्छेद गर्न तयार भए ।

अदालतको कठघरामा उभिएका श्रीमान–श्रीमती एकअर्कालाई घुर्दै हेर्दै खुच्चिङ्गको भाव झल्काउँथे अनुहारमा । वकिलहरुको पर्खाइमा विलम्ब हुँदै थियो । प्राङ्गणमा हल्लाखल्लासँगै भीड बढ्न थाल्यो । उनीहरू पनि बाहिर निस्के । वकिलहरुको कुटाकुट र हानाहान हुँदै थियो । श्रीमतीको नजिकै पुगे झगडियाहरू । उनी आँत्तिएर चिच्याउँदै श्रीमानको खोजी गर्न थालिन् । श्रीमानले उनको पूरानो समस्या सम्झ्यो । श्रीमतीलाई जोडले आलिङ्गनमा बाँध्यो । श्रीमती भक्कानिएर रोइन्। उनीहरू भीडदेखि अलप भए ।

“जसको पक्ष विपक्षमा यो लडाइँ हुँदैछ तिनै बेपत्ता ?“ भीडबाट आवाज सुनियो ।

मिसु श्रेष्ठ
दोलखा (हाल – काँडाघारी, काठमाडौं )

Leave a Reply

Your email address will not be published. Required fields are marked *