
कमलो मन लिएर गरम पकेट छाम्दै छाप्रोभित्र छिर्छु । साहुनीसँग मुस्कुराउँछु । पकेट देखाउँछु । गिलास समाउन भेट्टाउँछु । बेस्कन ठाडो घाँटी लगाउँछु । सितन चवाउँछु । साहुनीको मुस्कानलाई हृदयमा बसाउँछु । प्रेमले पग्लन्छु ।
केही बेर उसकै इसारामा चल्ने यन्त्र बनिदिन्छु । एक-डेढ घण्टामै ५-७ हजार रित्याउँछु । साहुनीले गलहत्याएर बाहिर निकाल्दिन्छे ।
नसा नासिँदै गएपछि मन साह्रो बनाउँदै जान्छु । क्रोधले बटारिँन पुग्छु । मुर्मुरिँदै घर फर्कन्छु ।
र, नानाभाँतीका अवगाल छिक्दै स्थायी प्रमाणपत्र प्राप्त श्रीमतीको मति उदण्ड पारिदिन्छु । सकुँञ्जेल थिच्छु । नसक्दा उसैबाट थिचिन्छु । जोईपोइको महाभारतले निष्कर्ष नपाउँदै थिलथिलो शरीरलाई निद्रादेवीको शरणमा छाडिदिन्छु ।
भोलिपल्ट टाउको कन्याउँदै उठ्छु । उठ्नै नसक्ने गरी शरीर दुखेको पाउँछु ।
श्रीमतीको आवाज सुन्छु- “ए जुम्रे पोइ ! काममा गएको खोई ? बेस्कन धोकेर आयौ, मेरो इज्जत लिलाम गर्यौ । हैन, कत्ति महाभारत रचेर हैरान पार्छौ ?”