Skip to content

ढाडस

  • by

लेखन मन पर्ने भएकोले सधैंझैं लघुकथा लेख्न बसें। पठन संस्कारमा पनि सकेसम्म जोड दिन्थें। मुखले एक सुरुप चिया तान्यो।

”भो, नलेख्दा हुन्छ। लघुकथाले सयौं संख्या नाघिसक्यौ। खै, एकाध बाहेक चित्त बुझ्दो प्रतिक्रिया आएको भए पो!” कलमले मलाई हरेश खाँदै निब भाँचिन लागेको चेतावनी दियो।

“राम्रो प्रतिक्रिया आउन, तपाईले पहिला राम्रो लेख्नुपर्यो होला नि! संख्या मात्रै बढेर के गर्नु?” कापीले कैयौं चोटी लघुकथा नबनेको भन्दै अनाहकमा मद्वारा च्यात्तिइएको रिस साँध्यो।

राम्रो लेखक बन्न के गर्ने? सबैको वाहवाही पाउन कसरी र कुन विषयमा लेख्ने त? सोंच्न थालें।

“ध्यानकेन्द्रित हुनु महत्त्वपूर्ण पक्ष हो। जुनसुकै विषयमा पनि एकाग्रता र मेहनतले लेखक सफल बन्न सक्छ।” मोटिभेशनल स्पिकरको धुमिल आवाज आयो।

“कान ठाडो पारेर निकै मेहनतले सुन्नुभयो। हो, यसरी नै जुनसुकै विषय भएपनि दृष्टिबिन्दु वरिपरि मात्रै कलम घुमाउनुहोस्। कहिल्यै निब भाँचिदैन र कापी च्यात्नु पर्दैन।” मनले सान्त्वना दियो।

म्यामराज राई
०४/०८/२०७८
भोजपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *