Skip to content

सजीव निर्जीव

पात पनि फूल जस्तै भएका लालुपाते अनि
लटरम्म फलेका च्युरीका बोट देख्दा
मनमनै सोचे
बैँस त सबैलाई आउने रहेछ नि!

नत्र च्युरीले त्यसरी गर्भधारण गर्ने थिइनन्
जामुन र लिचिकाका हाँगा पक्कै लचक्कै नुहुने थिएनन्
सायद लज्जावती जस्तै लजाउनु हो भने
पिपलले शीतलता दिने थिइनन्
तर अफसोस
जस जसलाई म सजीव ठान्थे ती सजीव थिएनन्
अनि जसलाई निर्जीव ठान्थे ती पनि निर्जीव थिएनन्

मलाई सजीव र निर्जीव को परिभाषा कसले सिकायो
विज्ञान र मनो विज्ञान कसले कसरी पढायो
यति थाहा छ मलाई कि
पढाउदा पढाउदै अविज्ञेय को विषय पक्कै छुटेको हुनुपर्छ
अर्णवको अनर्व बिर्सिएको हुनुपर्छ

बिना समागमको कुनै उत्पादन हुदैन भने
बारीभरि भोगटे र कटहर कसरी फले होलान
त्यो गुलाब र चम्पा चमेलीको बोट कसरी फुल्यो होला
त्यो पानको बोट बामे सर्दै कहाँ चढेको होला
यदि आवाज हुनु मात्रै सजीवताको प्रमाण हो भने
आधी र हुरीमा कयौ बार
त्यो बकैना र सिसौको बोट चुइकिएको सुनेको छु
पत्थरलाई निर्जीव मान्ने हो भने
श्रद्धाले झुकेको शिरले कयौ वरदान मागेको देखेको छु
पत्थर सँग मनका बेथा सुनाएको सुनेको छु
कसैको खुसी मागेको छु
हो मैले
पत्थर बोलेको सुनेको छु
मनुष्यको कुत्सित स्पृहा विस्तीर्ण देखेको छु
तर वृक्षले कुनै लोभ र लालच बिना
सबैलाई न्यानो अनि आफ्नो पन दिएको छ
आफ्नो सर्वस्व सुम्पिएको छ
पृथ्वीलाई अक्सिजन दिए जस्तै
प्राणीलाई जीवन र मृत्यु पनि दिएको छ
तर पनि आज ऊ निर्जीव भएको छ
श्रुति भएर नसुन्ने मनुष्य
चर्म चक्षु भएर नदेख्ने मनुष्य
बोध भएर नबुझ्ने मनुष्य
वाक्य नसुनाएर इन्द्रेणीको रंग गन्दै
फेरि ऊ सजीव भएको छ
एउटा कृत्रिम उच्छेद मान्छे
मानवताको उपासक भएर
अयांशमा उपहास भर्दै
ऊ अहर्निश दौडिरहेको छ
सजीवताको दम्भ बोकेर … ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *