Skip to content

जब विकल दाइले रोक्नुभयो


“ए बाबु भन् त तँ दार्जीलिङ जान्छस् कि जाँदैनस् ?” २०२३ सालमा झापामा देशव्यापी रूपमा मनाइएको नेपाली साहित्य सम्मेलनमा भाग लिन गएका बेला, मौका पारेर काठमाडौँमा बस्ने केही साहित्यकारहरू दार्जीलिङ हान्निए । त्यसरी दार्जीलिङ जानेमा रोचक घिमिरे दाइ र भैरव अर्याल दाइ पनि पर्नुभएछ । विडम्बना भनौँ कि के भनौँ, घनिष्ट साथीभित्रका उहाँहरूले रमेश विकल दाइलाई तिमी पनि जान्छौ कि भनेर एक वचनसम्म सोध्नु भएनछ । भारी रिस उठेछ रमेश विकल दाइलाई । त्यसैले उहाँले पनि रोचक घिमिरे दाइ र भैरव अर्याल दाइसँगसँगै नगएर आफू अलग्गै जाने विचार गर्नुभएछ । म उहाँले माया गरेको भाइ, मलाई साथमा लाने विचारले उहाँले मलाई माथिको प्रश्न गर्नुभएको रहेछ ।
प्रश्न त मैले सुनेँ । मलाई नै सोधेको प्रश्न मैले नै नसुन्ने कसरी ! तर, उहाँले कुन तोडमा कुन मनसायले मलाई त्यो प्रश्न गर्नुभएको थियो भन्ने कुराचाहिँ त्यसबेला मलाई पटक्कै थाहा भएको थिएन ।
“मसँग पैसा छैन दाइ ।” मैले विनम्रतापूर्वक उत्तर दिएँ ।”
“भन् न तँलाई दार्जीलिङ जान मन छ कि छैन  ?” उहाँले फेरि सोध्नुभयो ।
“मसँग पैसा छैन दाइ ।” मैले फेरि पनि विनम्रतापूर्वक उत्तर दिएँ ।”
“तँलाई मैले पैसा छ कि छैन भनेर सोधेँ कि तँलाई दार्जीलिङ जान मन छ कि छैन भनेर सोधेँ  ?” यसपालिचाहिँ उहाँले मलाई प्रश्न मात्र गर्नुभएन, आफ्नो मीठो झोक पनि देखाउनुभयो ।
म उहाँलाई साह्रै आदर गर्थें । एक किसिमले भन्ने हो भने उहाँ मेरो संरक्षक नै हुनुहुन्थ्यो काठमाडौँको । माया पनि गर्ने मलाई, मलाई मनपर्ने हिसाबले मैले लेख्ने साहित्यमा अगाडि बढ्न बाटो पनि देखाउने । म उहाँको कुरा काटेर बोल्न सक्दिनथेँ । म उहाँको छाया टेकेर हिँड्न सक्दिनथेँ । उहाँले दमन गरेर थिचेको कारणले होइन, उहाँले माया गरेर अँगालोमा बोकेका कारणले ।
“जान मन छ ।” मैले नडराई भनेँ ।
“हो, त्यस्तो उत्तर खोजेको मैले बुझिस् ।” उहाँ मुसुक्क मुस्कुराउनुभयो, “त्यो भैरे र रोचक दार्जीलिङ जाने रे ! मलाई एक शब्द पनि सोध्या होइन, बुझिस् । तिनीहरू जाऊन् तिनीहरूका पाराले, हामी जान्छौँ हाम्रो पाराले, बुझिस् कि बुझिनस् ?”
बल्ल पो थाहा पाएँ मैले दाजुले किन मलाई त्यसरी र्‍याखर्‍याख पार्नुभएको रहेछ भन्ने । म फुच्चे के बुझौँ, कसरी बुझौँ आफूभन्दा ठूलाठूला दाइहरूका कुरा !
झापामा भाग लिन जाने हामी सबैलाई सम्मेलनका आयोजकहरूले झापादेखि आ-आफ्ना ठाउँहरूसम्म पुग्ने भाडा दिएका थिए । काठमाडौँबाट जाने सबैलाई काठमाडौँसम्मको भाडा दिएका थिए । भन्नै परेन मलाई पनि दिएका थिए ।
तर, रमेश विकल दाजु र म पनि दार्जीलिङ जाने भएपछि उहाँले मलाई झापाबाट सिलगुडी जाने र फेरि सिलगुडीबाट झापा फर्किने पैसा दिँदै भन्नुभयो, “केही गरी तँ र म छुट्यौँ भने पनि तैँले अलपत्र पर्नु पर्दैन । यहाँबाट सिलगुडी जाने र त्यहाँबाट यहाँसम्म र्फकने पैसा तँसँग भइहाल्छ । यहाँबाट काठमाडौँसम्म जाने पैसा तँलाई यिनीहरूले दिएकै छन् ।”
त्यसो त मसँग सम्मेलन गर्नेहरूले काठमाडौँ र्फकने पैसा नदिएको भए पनि काठमाडौँ र्फकने पैसा मसँग पहिल्यै थियो । त्यसैले दाजुले दिएको पैसा लिन मैले त्यति उत्साह देखाइनँ ।
“ली न, मैले ली भनेपछि तैँले लिनुपर्छ । म दाजु हुँ तेरो, होइन र ? मैले जसो गर् भन्छु तैँले त्यसै गर्नुपर्छ बुझिस् ।”
दाजुले दिएको पैसा मैले लिएँ ।
सिलगुडी जाने बेलामा फेरि रमेश विकल दाजुले नै पैसा तिर्नुभयो । मैले पैसा दिन खोज्दा चुप लाग्, अहिले राखी राख् भन्नुभयो ।
हामी दार्जीलिङ गयौँ । सिलगुडीदेखिको भाडा उहाँले नै तिर्नुभयो । दार्जीलिङको राम्रै होटलमा बसियो दाजुभाइ । राम्रै खाना खाइयो । खाजा-नास्ता पनि खाइन्थ्यो मजाले । कहिले यता हेर्न गइयो, कहिले उता हेर्न गइयो । कहिले यता घुम्न गइयो, कहिले उता घुम्न गइयो । सारा पैसा दाजुले नै तिर्नुभयो । मलाई छिरिक्क गर्न पनि दिनुभएन ।
दार्जीलिङ बसेर, घुमेर आइयो । फर्कंदाको सारा भाडा पनि दाजुले नै तिर्नुभयो । मैले पैसा निकाल्न खोजे गाली गरिहाल्नुहुन्थ्यो । चुपचाप, एकदम आज्ञाकारी भएर बसेँ ।
र्फर्कंदा हामी एक हूल थियौँ । सरासर फर्कियौँ जनकपुर । हामी रोचक दाइकामा बस्यौँ कि जगदीश घिमिरेकामा बस्यौँ पक्का थाहा भएन । तर, जेहोस् हामी यी दुई ठाउँमध्ये एक ठाउँ बस्यौँ ।
यी दुवै ठाउँमा हामीलाई पाहुना हुन जुर्थ्यो पैसासैसा तिर्न पर्दैनथ्यो ।
एकदिन हो वा दुईदिन हामी जनकपुरमा बस्यौँ । घुम्यौँ जानकी मन्दिर । घुम्यौँ बजार यताउता ।
भैरव दाइ र म थियौँ । हामी घुमिरहेथ्यौँ बजारमा । हामीलाई अलि गर्मीगर्मी लागेझैँ भएछ क्यार ! हामी दुईले कहीँ बसेर बियर पिउने विचार गर्यौं । अचेल कस्तो छ थाहा छैन तर त्यतिबेला जनकपुरमा जहाँ पायो, त्यहीँ बसेर मात्ने खालको पेय पदार्थ पिउन मनाही थियो । अनुमति प्राप्त कुनै एउटा दोकानमा बसेर भैरव दाइ र म मजाले बियर पिउने सुरसार गर्दै थियौँ ।
हामीले बियर मगायौँ । ग्लासमा राख्यौँ र पिउन सुरु गर्यौं । पैसा मैले तिर्ने सर्त थियो । म भैरव दाइलाई, रोचक दाइलाई त्यत्तिकै माया र आदर गर्थें जति रमेश विकल दाइलाई ।
हामीले एक-एकपल्ट बियर पिएपछि कता-कताबाट अचानक रमेश विकल दाइ टुप्लुक्क त्यहीँ आइपुग्नुभयो ।
“तैँले के गर्न लागेको ?” रमेश विकल दाइले मलाई सोध्नुभयो ।
“बियर खान लागेको ।” मैले अलि अप्ठ्यारो मानीमानी जवाफ दिएँ ।
“आफूले मान गर्नुपर्ने दाइसँग बसेर बियर खान तँलाई अप्ठ्यारो लागेन ?”
म नाजवाफ भएँ । मैले के जवाफ फर्काउने ?
“ओठ निचोर्दा दूध आउने भाइसँग बसेर जाँड खान तँलाई लाज लागेन ए भैरे ? खाँदो होस् त आफूजस्तैहरूसँग बसेर खाँदो होस् ।”
भैरव दाइ चुइक्क पनि बोल्न सक्नुभएन ।
रमेश दाइले सिसी र ग्लासको सबै बियर पोखिदिनुभयो ।
“हिँड् मसँग ।”
म चुपचाप रमेश विकल दाइको पछिपछि लागेँ । दोकानमा भैरव दाइ मन्दिरको भैरवजस्तै एक्लै रहनुभयो ।
पैसा मैले तिर्छु भनेको थिएँ । भित्रभित्र एकदमै माया लाग्यो भैरव दाइको ।
यसो हेर्दा कसैकसैले रमेश विकल दाइलाई भन्लान्, कस्तो लेखक जो अर्काको जीवनको स्वतन्त्रतामा हस्तक्षेप गर्छ । तर, सोच्छु, पुगनपुग २० वर्षको रहेछु म त्यतिबेला । यदि त्यही बेलादेखि मेरो त्यस्तो स्वाद बसेको भए अवश्य पनि बियरले मात्र मेरो धीत मर्ने थिएन होला । म रम, हि्वस्की, जिन एन्ड टनिक, लोकल, फोरेन, सितन भुटन अनि थरीथरीका स्वादिष्ट परिकारतिर लाग्थेँ होला । यिनीहरूसँगै गाँसिएर अर्को रको रन्… त्यसपछि अर्को रको रा हुँदै पतनको गहिराइको गर्तमा पुग्थेँ होला । म हुन्थेँ हुँला महाको ढाँट, म हुन्थेँ हुँला महाको ढोँगी, म हुन्थेँ हुँला महाको महत्त्वाकांक्षी कुपुत्र, देशको भार, मासुको डल्लो । कहाँ हुन्थेँ होला र अहिलेको जस्तो मञ्जुल ! जनकपुरको त्यसबेलाको मातुँ-मातुँ लाग्ने त्यो अँध्यारो-अँध्यारो कुनाबाट बाहिरको सचेत खुला घाम र उज्यालोमा निकालेर त्यसबेला मेरो संरक्षक रमेश विकल दाइले जे गर्नुभयो, ठीकै गर्नुभयो । म अहिलेको मञ्जुल हुन पाएँ । किताब किन्नु, पढ्नु, संगीत सुन्नु, कहिलेकाहीँ गाउनु, देश-दुनियाँ बुझ्न घुम्नु, दुःखी मानिसहरूको हितमा जुझ्नु, ममा यसभन्दा अर्को खासै कुनै लत छैन ।
त्यसबेला त्यसरी मेरो संरक्षक रमेश विकल दाइले जे गर्नुभयो, ठीकै गर्नुभयो । मेरो महान् संरक्षक, मेरो प्यारो दाइ रमेश विकल !
त्यसपछि हामी सबै काठमाडौँ आयौँ । बाटाको सबै खर्च रमेश विकल दाइले नै तिर्नुभयो । मसँग भएको पैसा त सबै गोजीको गोजीमै थियो ।
त्यसबेला म नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ् कार्यालयमा काम गर्थें । तलब राम्रै थियो । खान-बस्न पुग्थ्यो । ठीकैले, म एक्लोलाई । तलब बुझेपछि एकदिन म खुरुखुरु आरुबारीतिर लागेँ, रमेश विकल दाइको घरतिर ।
आफ्नो अगाडि मलाई देखेर खूब खुसी हुनुभयो रमेश विकल दाइ । उहाँ एकदमै खुसी हुनुहुन्थ्यो म यसरी झट्ट झट्ट पुग्दा ।
“एई ! यसलाई पनि खाना बसाल ।” भाउजूलाई अह्राउनुभयो उहाँले ।
“बाबु आएपछि बसाइहाल्छु नि ! तपाईंले भनिरहन पर्छ र !” भाउजूको उत्तर त्यत्तिकै ममताले भरिएको हुन्थ्यो ।
पहिला-पहिला म एक्लै, अलि पछि रामेश र म खूब गयौँ रमेश विकल दाइको त्यो आरुबारीको घरमा । खूब खायौँ खाना त्यहाँ । त्यही हार्दिकता, त्यही आत्मीयता हुन्थ्यो सधँ ।
“आओ न तिमीहरू ! तिमीहरू यसरी आउँदा कस्तो खुसी लाग्छ ।” अनि, उहाँ देखाउनुहुन्थ्यो आफूले बनाएका चित्रहरू, उहाँ देखाउनुहुन्थ्यो आफूले बजाउने बाजाहरू, उहाँ सुनाउनुहुन्थ्यो कथाहरू । कहिले गम्भीर हुँदै, रिसाउँदै, कहिले धरधरी रुँदै ।
खाना खाइसकेपछि हामीहरू गफ गर्दै-गर्दै ऊबेला आरुबारीदेखि चाबहिलसम्म नै हिँड्थ्यौँ पैदल । यसरी हिँड्न खूब मजा लाग्थ्यो हाम्रो दाइलाई । यस्ता हिँडाइबाट खूब सिकेँ मैले गरिब दुःखीहरूको पक्षमा लागेर सशक्त रूपमा जुझ्नुपर्ने कला ।
उहाँ श्यामप्रसाद दाइसँग मिलेर भूमिगत रूपमा गरेका सुन्दर र साहसिला संघर्षका बारेमा बताइरहँदा एकदमै आनन्द अनुभूत गर्नुहुन्थ्यो । यस्ता कुराहरू बताइरहँदा उहाँ एउटा मीठो आनन्दलोकमा पुग्नुहुन्थ्यो ।
रमेश विकल दाइ जनताको त्यस्तो पक्षपाती लेखक हुनुहुन्थ्यो, जो कहिल्यै पनि सरकारको पक्षमा रहन चाहनुभएन, कम्युनिस्टकै सरकार आए पनि । जतिसुकै आलोचित हुन परे पनि उहाँले खुलेआम भन्नुभएको थियो यो कुरा ।
उहाँबाट सिकेर आज म पनि त्यस्तै भएको छु । आमजनताको पक्षधर हुनुभन्दा बाहेक म होइन अरू कसैको पनि कलमको नोकर । यद्यपि, भइरहेका विचारहरूमा भोट हाल्ने अवश्य नै एउटा समूह भने छ मसँग ।
राष्ट्र ब्यांकको ब्यांकिङ् कार्यालयको तलब बुझेर एउटा उद्देश्यले आरुबारी गएको मलाई रमेश दाइले सोध्नुभयो, “सञ्चै छ तँलाई ।”
“सञ्चै छ ।” मैले खुसी हुँदै भनेँ । अझ अगाडि भनेँ, “दार्जीलिङ जाँदा दाजुको धेरै पैसा खर्च भयो । मेरो भागमा कति पर्‍यो, त्यो तिर्न आएको ।”
“ओहो ! गज्जब गरेछ यसले त ! भाइ हुनु त यस्तै भाइ हुनु राम्रो । अँ भन् त साँवा मात्र ल्याइस् कि ब्याज पनि ।”
अनि गज्जबले हाँस्नुभयो ।
“दाइले आफ्नो सानो भाइका लागि खर्च गरेको पैसा पनि ऋण तिरेजस्तो तिर्छन् त ? बाबु पनि कस्तो  ! पिट्नुहोला दाइले अहिले, त्यस्तो कुरा नगर्नू । ” भाउजूले भन्नुभयो ।
पिट्नु भन्ने शब्द र रमेश विकल दाइ । कतै केही सुहाउँदैनथ्यो । बाबा भए पनि ममतापूर्ण आमाको माया थियो उहाँको छातीमा । पिट्नुु त भाउजूले त्यसै भनिदिनुभएको थियो प्रसंगवश ।
मसँग रमेश विकल दाइले पैसा लिन मान्दै मान्नुभएन । पैसा बचेको छ भने राम्रा किताब किन्, पुग्छ भने पेन्ट किन्, जुत्ता किन् भनेर मलाई मायाले भन्नुभयो । मेरो गोजीमा राम्रै रकम थियो । जेजति थियो मसँग गोजीमै थियो । गोजीको एक पैसा पनि बाहिर निस्केन ।
दाजु र म खाना खाइसकेपछि घरबाट निस्कियौँ । अनि गफ गर्दै-गर्दै लाग्यौँ चाबहिलतिर । हामी सँगसँगै हिँडिरहेको थियो आरुबारी, आरुबारीको आकाश र आरुबारीको माया पनि ।

नेपाल साप्ताहिक ३४९

1 thought on “जब विकल दाइले रोक्नुभयो”

  1. Manjul Comred Abhiwadan.
    I

    Manjul Comred Abhiwadan.
    I like your article. I’m also fan of Ramesh Bikal after reading his book ”Abiral Bagdachha Indrawati”. Hope you’ll provide us further article in coming days. Wish you all the best.

Leave a Reply to Mahesh Prasad Bhatt Cancel reply

Your email address will not be published. Required fields are marked *