असंख्य बमका गर्जन
बन्दुकका ताता गोलीहरू साटासाट गर्दै
दशकौँ चलेको
हतियारयुद्धको पीडालाई छातीभरि खेपेर
रुग्ण, दुर्बल र मलिन बनेकी छन् नेपाल आमा
सन्तानवियोगको छटपटीले
उनका आँखा ओभाएका छैनन् वर्षौंदेखि
अझै अर्धमूच्छिर्त उनलाई
सन्तानको मायाको खाँचो छ
स्याहार-सुसारको खाँचो छ
तर, सन्तानहरू
स्वार्थी बनेका छन्
आमाको छातीमा बन्दुकका कुन्दाले हानिरहेछन्
उनीमाथि संगीन रोप्दै छन् र
उनलाई खुकुरीले छक्छकाउँदै छन्
आज सन्तानहरू नै उनका शत्रु भएका छन् ।
पराइहरू समेत
आमालाई लुछ्न उद्यत छन्
आमालाई बलात्कार गर्न उद्यत छन्
आमालाई टुक्र्याउन उद्यत छन् र
अनि, उद्यत छन् आमाको छातीमा परेड खेल्न
तैपनि, सन्तानहरू दंग छन् स्वार्थमा
देशभक्तिका राग अलाप्नेहरू पनि
यतिखेर बहिरा र अन्धा भएका छन्
र कुम्भकर्ण निन्द्रामा सुतेका छन्
बिनाकुनै चिन्ता
बिनाकुनै सन्ताप
तिनीहरू आमाको सर्वस्वहरणको रमिता हेरिरहेछन्
टुलुटुलु, निर्विकार भएर
तिनीहरू आमालाई मृत्युपाशामा पुर्याउन चाहन्छन्
तिनीहरू आमालाई टुक्र्याउन चाहन्छन्
भागबन्डा गरेर बेच्न चाहन्छन्
तिनलाई त
आमाका अंगअंगको भाग चाहियो रे
अब सिंगो आमा होइन
आमाका लुछेका चोक्टाहरूको भाग चाहियो रे
यसैका लागि सडक बन्द भइरहेछ
तोप र गोलीहरू बर्सिरहेछन्
गाउँबस्तीमा अब शंखनाद होइन
बम र गोलीको गर्जन हुन थालेको छ ।
वर्षौंदेखि आहत आमा
प्राण मात्र छातीमा च्यापेर
सन्तानको मुख ताकिरहिछन्
आफ्नो उद्धारका लागि आफ्नै सन्तानको शरण मागिरहिछन्
तर, सन्तान लगातार उनको घाँटीमा
एकपछि अर्को प्रहार गरिरहेछन् ।
नेपाल साप्ताहिक ३४७
