Skip to content

तिमी ब्यूँझनु

  • by

म भन्छु
तिमी ननिदाउनु
तिमी ब्यूँझनु ।

तिमी निदायौ भने
चोरहरुको रजगज चल्ने छ
तिम्रो अधिकारमाथि ।
डाकाहरुको शरदारको आदेशले परेड खेल्नेछ
तिम्रो घर, आँगनमाथि ।
सपनाहरुले राज जमाउनेछ
तिम्रो शरीरमाथि ।

तिमी निदायौ भने
तिम्रो शरीर
लास परेर पल्टिनेछ
तिम्रो दिमागले
केवल सपना बाहेक केही देख्ने छैन
तिम्रो मुटु
कहाली लाग्दो दृष्यहरुले
केवल काँपिरहने छ
तिमीलाई स्वास फेर्न पनि साथ दिने छैन ।

तिमी ब्यूँझियौ भने
भाग्ने छन् चोरहरू
लुक्ने छन् डाकाहरू
वेपत्ता हुने छन् झुठा सपनाहरू
तिम्रो शरीर लास हुने छैन
तिम्रो मुटु कमजोर भएर ढुकढुकीने छैन ।

तिम्रो शरीरमाथि
तिम्रो विवेकमाथि
कसैले राज गर्न पाउने छैन
तिम्रो अधिकारलाई कसैले कुल्चन पाउने छैन ।

म भन्छु
तिमी ननिदाउनु
तिमी ब्यूँझनु ।
ब्यूँझनु नै लासबाट जीउँदो हुनु हो
ब्यूँझनु नै तिम्रो विजय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *