एउटा जाबो बैंश पनि भारै भयो मलाई त,
दिन त काँटे तर रात गाह्रै भयो मलाई त ।
नत मिलन् नत बिछोड ब्यर्थै माया लगाएछु,
तिम्रो माया करौँतीको धारै भयो मलाई त ।
ओरालीको मृगलाई जस्ले पनि खेद्दो रैछ,
दैबबाट पनि अत्याचारै भयो मलाई त ।
एक्लै एक्लै तड्पिएर खरानी छु भित्र भित्रै,
जवानी त साँच्चै उल्का तारै भयो मलाई त ।
पहिले जस्तो कहाँ छु र ? सिकिस्त छु आजभोली,
हिजो बेलुका त झन साह्रै भयो मलाई त ।
