सानैदेखि उनी नाटक भनेपछि हुरुक्कै हुन्थे । धनकुटामा तिनताक नेवारी र पारसी प्रभावका नाटक खुब हुन्थे, उनलाई कसैले खेलाएनन् । एकदिन आफैंले आँगनमा साथीहरू भेला पारेर लाटोको अभिनय गरे । ‘त्यो गाईजात्राको दिन थियो,’ रंगकर्मी अशेष मल्ल अहिले सम्झन्छन्, ‘र, मैले गरेको अभिनय त क्यारिकेचर पो रहेछ ।’
उनै अशेष पछि गएर सडक नाटकका जन्मदाता बने । स्टेजको साँघुरो पहुँचबाट नाटकलाई उनैले सडकको व्यापकतामा ल्याए । रंगमञ्चमा सामाजिक, राजनीतिक जागरण र रूपान्तरणको ध्येय जोडे । झन्डै तीन दशकअघि उनले थालेको अभियान अहिले फराकिलो रूपमा फैलिएको छ । उनै अशेषले यतिबेला सडक नाटकको तीन दशक अनुभव कृतिका रूपमा ल्याएका छन्, ‘सडक नाटक ः सिद्धान्त, सिर्जना र प्रस्तुति’ ।
शुक्रबार साँझपख कालिकास्थानस्थित बाँसघारी छेउको सर्वनाम कार्यालयमा मल्ल केही गम्भीर मुडमा थिए । ‘सडक नाटक सुरु भएको २८ वर्ष बितिसकेछ,’ सडक नाटकका जन्मदाता अशेषले भने, ‘हामी वसन्त खोजिरहेका छौं’ नाटक लिएर देशयात्रा गरेको हिजोजस्तै लाग्छ ।’
तीन दशकअघि एउटा नाटक लिएर अशेष काठमाडौं नआएका भए, पञ्चायत विरुद्ध उनी स्वयं विद्यार्थी राजनीतिमा सामेल नभएका भए, सम्भवतः सडक नाटकको जन्म हुने थिएन । यो सब कसरी भयो ? अशेषले धनकुटामै छँदा ओमकार श्रेष्ठ, उपेन्द्र दुःखी, शारदा श्रेष्ठ, महेश अमात्यलगायतका साथीहरूसँग मिलेर नव कलाकार सांस्कृतिक समुदाय खोलेर नाटक गरेका पुराना दिनहरू सम्झे । त्यतिबेला उनको टोलीले बालकृष्ण सम, विजय मल्ल र मनबहादुर मुखियाका नाटकहरू मञ्चन गर्थे । यही क्रममा गाउँकै परिवेश र चरित्र बोकेको नाटकको अभाव भयो, उनले लेखे, ‘तुवाँलोले ढाकेको बस्ती ।’
यही नाटक उनको काठमाडौं यात्राको सेतु बन्यो । धनकुटामा महिनौं मञ्चन गरेको नाटकलाई प्रज्ञा प्रतिष्ठानले राजधानी बोलायो । त्यसपछि अशेष यतै रहे, एमए पढ्न । अनुदार पञ्चायतविरुद्ध उनमा राजनीतिक चेत हुर्किँदै थियो । यसलाई रंगमञ्चमा प्रयोग गर्न चाहे । ‘नाटकमार्फत जनतामा जागरण ल्याउनु थियो,’ उनले सम्झे, ‘सजिलो र व्यापक दर्शकमाझ पुग्ने वैकल्पिक रंगमञ्चको रूपमा सडक नाटक थाल्यौं ।’
यो २०३९ भदौ २० गतेको दिन थियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरबाट अशेषले पञ्चायतविरुद्ध ‘हामी वसन्त खोजिरहेका छौं’ सडक नाटक थाले । यही दिनको अवसर पारेर अशेषले शनिबार आफ्नो सडक नाटक अनुभवलाई कृतिको रूपमा ल्याएका छन् । ‘त्यतिबेला मुख्यतया दुइटा ध्येय थिए,’ साँझ ढल्किँदै गर्दा अशेषले भने, ‘नाटकलाई स्टेजको महँगो प्रस्तुतिबाट बाहिर निकालेर व्यापक दर्शकमाझ पुर्याउने र सामाजिक, राजनीतिक जागरणसँग जोड्ने ।’
ध्येय पूरा भयो त ?
‘भयो भनौ कि नभनौं..’ अशेष केही अक्मकिए । तीन वर्षअघि राजाको शासनताका फेरि ‘हामी वसन्त खोजिरहेका छौं’ मञ्चन गर्दै हिँडेको क्षण र संविधान निर्माणभन्दा पनि सत्ताको छिनाझप्टीमा फसेको वर्तमान राजनीतिलाई एकैपटक सम्झे । ‘ज्ञानेन्द्रको निरंकुशताविरुद्ध ‘हामी वसन्त खोजिरहेका छौं’ थाल्दा यसलाई अन्तिम भनेका थियौं,’ पंचायतकालमै ‘शेषयुद्ध’, ‘अतिरिक्त आकाश’, म भनेको हामी’ लगायत चर्चित सडक नाटक गरेका उनले भने, ‘खै, राजनीतिको भर नहुँदो रहेछ ।’ उनी एकैछिन फेरि रोकिए । भने, ‘जे होस्, लोकतन्त्र आयो नि ।’
त्यतिबेला उनले सडक नाटकमात्रै सुरु गरेका थिएनन्, विष्णुविभु घिमिरे अध्यक्ष, रामकृष्ण निराला व्यवस्थापक र अशेष निर्देशक रहेको सर्वनामले हरेक वर्ष सप्ताहव्यापी नाटक महोत्सव पनि गथ्र्यो, जहाँ दक्षिण एसियाकै रंगकर्मी भेला हुन्थे र आआफ्ना सिर्जना पस्किन्थे । यो क्रम ८ वर्षअघिसम्म जारी थियो । ‘महोत्सव रोकिनुको दुःखद कारण छ,’ उनले द्वन्द्वकालका नमिठा दिन सम्झे, ‘कालो चियामात्रै खाएर भोकभोकै नाटक तयार गनर्ुपर्छ । एकदिन नाटक लिएर चरिकोट पुगेका थियौं, ‘कुन संस्थाले डलर दियो’ भन्दै एक सशस्त्र समूहले अवरोध पुर्यायो । त्यसपछि एकदमै निराश भयौं । महोत्सव गर्ने जाँगर नै मर्यो ।’
महोत्सव रोके पनि सर्वनामको यात्रा भने रोकिएन । राजाको अनुदार समयमा पनि ‘पर्खाल’, ‘मुत्यु उत्सव’, ‘इतिहासको बाँकी पृष्ठ’, ‘नयाँ अध्याय’ लगायतका नाटक लिएर देश विदेश घुमिरह्यो । उसले आफूलाई भारत, पाकिस्तान, बंगलादेश हुँदै फिलिपिन्स, हङकङ, क्यानडा, फिनल्यान्ड, कोरिया, फ्रान्स, ताइवान लगायत मुलुकसम्म फैलायो ।
‘पछिल्ला दिनमा सडक नाटकमा केही समस्या आएको छ,’ नाटककार, कवि, कथाकार, निर्देशक र कलाकारको एकमुष्ठ छवि बनाएका अशेषले भने, ‘जे पनि सडक नाटक हुन थाल्यो । डलर पाएपछि जस्तो पनि नाटक गरिन थालियो ।’
अशेषले लामो स्वास ताने, ‘यसो हुँदा कला पक्ष कमजोर र नारा पक्ष बलियो हुने खतरा हुन्छ, जसले बिस्तारै रंगमञ्चको गरिमा भत्काइदिन्छ ।’
सेप्टेम्बर ७, २००९
