Skip to content

राजधानीक‍ो पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर  (एक टिपोट)

राजधानीक‍ो पश्चिम प्रवेशद्वार कलंकी र कलंकी मन्दिर

 (एक टिपोट)

 

प्रस्तावना

 

काठमाडौं उपत्यकाको पश्चिम प्रवेशद्वारका रूपमा परिचित कलंकी क्षेत्र आज नेपालको सबैभन्दा व्यस्त तथा चर्चित स्थानहरूमध्ये एक हो। देशका विभिन्न भूभागलाई राजधानीसँग जोड्ने प्रमुख राजमार्गहरूको संगमस्थलका रूपमा रहेको कलंकी केवल यातायातको केन्द्र मात्र नभई धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सभ्यतागत दृष्टिले समेत अत्यन्त महत्वपूर्ण क्षेत्र हो।

 

दैनिक हजारौँ यात्रु तथा सवारी साधनहरूको आवतजावतले परिचित बनेको यस क्षेत्रको नामसँग जोडिएको कलंकी मन्दिर तथा अधिष्ठात्री देवी श्री कलंकी माताको महिमा भने अपेक्षाकृत रूपमा कम अध्ययन र प्रकाशमा आएको देखिन्छ। स्थानीय जनश्रुति, सांस्कृतिक परम्परा, शिलालेख, धार्मिक आस्था तथा ऐतिहासिक तथ्यहरूमा आधारित कलंकी क्षेत्रको परिचय नयाँ पुस्तासम्म पुर्‍याउनु आजको आवश्यकता बनेको छ।

 

प्राचीनकालमा “न्हेपंखा” नामले परिचित यस क्षेत्रले नेपालमण्डलको तान्त्रिक सुरक्षा प्रणाली, अष्टमातृका परम्परा तथा स्थानीय नेवाः सभ्यतासँग घनिष्ठ सम्बन्ध राख्दछ। समयक्रमसँगै भूगोल, समाज, संस्कृति तथा जनजीवनमा विभिन्न परिवर्तन आए तापनि यस क्षेत्रको धार्मिक महत्त्व आज पनि उत्तिकै जीवित रहेको छ।

 

यस पुस्तकमा कलंकी क्षेत्रको इतिहास, भौगोलिक स्वरूप, नामकरण, कलंकी माताको उत्पत्ति तथा महिमा, मन्दिरसँग सम्बन्धित किंवदन्ती, शिलालेखीय प्रमाण, स्थानीय संस्कृति, जात्रा, परम्परा तथा भक्तिभावसँग सम्बन्धित भजन सङ्ग्रहहरूलाई समेट्ने प्रयास गरिएको छ। यस कार्यले कलंकी क्षेत्रको ऐतिहासिक पहिचान संरक्षण गर्नुका साथै आगामी पुस्ताका लागि सन्दर्भ सामग्रीको रूपमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ।

 

यो कृति अनुसन्धानको अन्तिम निष्कर्ष नभई थप अध्ययन, अनुसन्धान र विमर्शका लागि एउटा प्रारम्भिक प्रयास हो। यसमा रहेका विषयवस्तुले कलंकी क्षेत्रको गौरवपूर्ण इतिहासप्रति पाठकवर्गमा जिज्ञासा, श्रद्धा र खोजमूलक दृष्टिकोण जागृत गर्ने अपेक्षा गरिएको छ।

श्री कलंकी माताको कृपा सबैमा रहोस्।

– लेखक प्रकाशमान शिल्पकार

 

  अध्याय एक

 

कलंकी नामकरण कसरी भयो ?

 

प्राचीनकालदेखि नेपालमण्डल प्रवेशको पश्चिमी द्वारका रूपमा परिचित कान्तिपुर नगरको विष्णुमतीपारि, डाङ्ग्रा खुसी (बःखु/बल्खु खोला) र करखुसी (मनमती खोला) बीचको उच्च भूभागमा रहेको न्हेपंखा क्षेत्रका अधिष्ठात्री देवी कल्खु बालकुमारी अजिमाको नामबाट नै कालान्तरमा यस क्षेत्रको नाम “कलंकी” रहन गएको मानिन्छ।

 

स्थानीय परम्पराअनुसार कल्खु बालकुमारी कलह तथा कलंक नाश गर्ने शक्तिका रूपमा पूजित हुनुहुन्थ्यो। शास्त्रीय दृष्टिले उहाँ अष्टमातृका गणकी कौमारी देवीसँग सम्बन्धित मानिए तापनि नेपालमण्डलको लोकपरम्परामा “बालकुमारी अजिमा” को रूपमा प्रतिष्ठित रहँदै आउनुभएको छ।

 

समयक्रममा “कल्खु” शब्द अपभ्रंश भई “कलंखु”, “कलंकीथान” हुँदै अन्ततः “कलंकी माता” वा “कलंकी माई” का रूपमा प्रसिद्ध भयो। देवीको नामसँगै उहाँको अधिष्ठान क्षेत्र पनि “कलंकी” नामले चिनिन थाल्यो। यसरी कलह र कलंक नाशिनी भगवती कलंकी माताको नामबाट नै यस क्षेत्रको नामकरण भएको स्थानीय जनविश्वास रहेको पाइन्छ।

 

 कलङ्कीमाईको मौलिक नाम : “कल्खु अजिमा”

     

 

प्राचीन कान्तिपुर नगरको पश्चिमी भेग न्हेपंखामा विराजमान अष्टमातृका परम्परासँग सम्बन्धित बालकुमारी (कौमारी) देवीको स्थानीय तथा मौलिक नाम “कल्खु अजिमा” रहेको देखिन्छ। यस सम्बन्धको प्रमुख प्रमाण मन्दिरभित्र रहेको ढवि.सं. १९६४ सालको शिलालेख नै हो।

 

नेपालमण्डलको तान्त्रिक सुरक्षा व्यवस्थामा विशेष स्थान ओगट्ने यी अजिमा विष्णुमतीपारिको पश्चिमी क्षेत्रको रक्षिका देवीका रूपमा श्रद्धापूर्वक पूजित रहिआएकी छन्।

 

कलङ्कीमाईको नामकरण

 

स्थानीय जनविश्वासअनुसार कल्खु बालकुमारी अजिमाको आराधना गर्दा घरपरिवारमा रहेको कलह, अशान्ति तथा दोष नष्ट भई सुख, शान्ति र सद्भाव कायम हुन्छ। साथै अनाहकमा लागेको दोष वा कलङ्कबाट मुक्ति प्राप्त हुने विश्वास पनि रहिआएको छ।

 

कतिपय स्थानीय विद्वान्हरूका अनुसार “कलह” र “खु” (खोला/नदीसँग सम्बन्धित स्थानीय शब्द) को संयोजनबाट “कल्खु” शब्द बनेको हुन सक्ने अनुमान गरिन्छ। कलह नाश गर्ने तथा दुई खोलाको बीचमा अवस्थित देवी भएकाले यो नाम विकसित भएको हुन सक्ने धारणा पाइन्छ।

 

कालान्तरमा “कल्खु” शब्द अपभ्रंश हुँदै “कलंखु” र पछि “कलङ्की” बनेको देखिन्छ। वि.सं. १९६४ वैशाख–ज्येष्ठ २ गतेको शिलालेखमा “श्री कलंखु बालकुमारी” नाम स्पष्ट रूपमा उल्लेख भएको पाइन्छ। सोही शिलालेखमा न्हेपंखा निवासी डिठ्ठा मानबहादुर अधिकारीले २२ धार्नी तौलको ठूलो घण्टा, ४८ वटा ढलौटका डल्लु तथा दुईवटा सिंह अर्पण गरेको विवरण समेत उल्लेख छ।

 

यसबाट वि.सं. १९६४ सम्म देवीलाई “कलंखु बालकुमारी” नामले सम्बोधन गरिन्थ्यो भन्ने पुष्टि हुन्छ। त्यसपश्चात् क्रमशः “कलङ्कीमाई” नाम व्यापक रूपमा प्रचलित भएको देखिन्छ।

 

आज पनि श्रद्धालुहरूमा कलङ्कीमाईको पूजा–आराधना गर्दा कलह, संकट, दोष तथा कलङ्कबाट मुक्ति प्राप्त हुने गहिरो विश्वास कायम रहेको छ। सम्भवतः यही धार्मिक विश्वासका कारण कालान्तरमा देवीको नाम “कलङ्कीमाई” तथा उहाँको अधिष्ठान क्षेत्र “कलङ्की” नामले प्रसिद्ध हुन पुगेको हो।

 

कलङ्की माता (कल्खु बालकुमारी अजिमा) र पञ्चकुमारीको घेरा

 

नेपालमण्डलको धार्मिक तथा सांस्कृतिक परम्परामा कुमारी संस्कृतिको विशेष स्थान रहेको छ। उपत्यकाका विभिन्न टोल तथा बस्तीहरूमा कुमारीहरूको प्रत्यक्ष वा अमूर्त रूपमा स्थापना गरिएको पाइन्छ। न्हेपंखाकी स्वामिनी तथा कलङ्की क्षेत्रकी अधिष्ठात्री देवी श्री कल्खु बालकुमारी अजिमा पनि यस्तै कुमारी परम्पराको महत्वपूर्ण केन्द्रका रूपमा रहिआएकी छन्।

 

स्थानीय परम्पराअनुसार पूर्वाभिमुखी भएर विराजमान कलङ्की मातालाई उत्तर तथा दक्षिण दिशाबाट पञ्चकुमारीहरूले घेरेर संरक्षण गरिरहेका छन् भन्ने मान्यता पाइन्छ।

 

उत्तरतर्फ अवस्थित कुमारीहरूमा—

 

बुद्धमार्ग क्षेत्रको कुमारी,

 

गीता पाञ्चायन मन्दिर नजिकको कुमारी,

 

कलङ्की मन्दिरअगाडि सडकको बायाँपट्टि अवस्थित कुमारी–भैरव स्थल

 

पर्दछन् भने दक्षिणतर्फ—

 

तासिंडोल (हालको कुमारीथान गल्ली) क्षेत्रको कुमारी,

 

रविभवनबाट विद्युत् प्राधिकरणतर्फ जाने मार्ग नजिक, हालको लिङ्कन स्कूल क्षेत्रपछाडि रहेको कुमारी

 

समेत गरी पाँच कुमारीहरूले कलङ्की मातालाई घेराबन्दी गरी रहेको स्थानीय धार्मिक अवधारणा पाइन्छ।

 

यस क्षेत्रभित्र अन्य महत्वपूर्ण धार्मिक स्थलहरू पनि रहेका छन्। लामपाटी क्षेत्रभित्रको सुँडेकुवा, रविभवन चुन्नेपाखास्थित चुन्ने भैरव, तासिंडोलस्थित कोट भगवती, सुनारगाउँका कुमारीस्थलहरू, बोक्सदह (हालको वासुकी चौर) को वासुकी नाग मन्दिर, गीता पाञ्चायन मन्दिर, पितृभक्त श्रीरामधाम भागवत सेवाश्रम, श्रीराम मन्दिर, श्रीकृष्ण मन्दिर, सन्तोषी माताको मन्दिर तथा मनमती (करखुसी) किनारमा निर्माण गरिएको लक्ष्मीनारायण मन्दिरले यस सम्पूर्ण क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई अझ समृद्ध बनाएका छन्।

 

कलङ्की मातासम्बन्धी केही भ्रम र यथार्थ

 

१. कलङ्की माताको नामसम्बन्धी भ्रम

 

कतिपय नयाँ आगन्तुकहरूमा “कलङ्की” नाम रहेको क्षेत्रकी अधिष्ठात्री देवी भएकाले उहाँको नाम पनि कलङ्की माता रहन गएको हो भन्ने धारणा पाइन्छ। तर उपलब्ध स्थानीय परम्परा तथा वि.सं. १९६४ को शिलालेखीय प्रमाणअनुसार वास्तविक अवस्था यसको विपरीत देखिन्छ।

 

मूलतः देवीको नाम “कल्खु अजिमा” अथवा “कलंखु बालकुमारी” रहेको देखिन्छ। कालान्तरमा यही नाम अपभ्रंश हुँदै “कलङ्की माता” वा “कलङ्की माई” को रूपमा प्रचलित भयो। पछि देवीको नामबाट नै यस क्षेत्रको नाम “कलङ्की” रहन गएको देखिन्छ।

 

यस विषयको सबैभन्दा महत्वपूर्ण प्रमाण कलङ्की मन्दिरभित्र रहेको वि.सं. १९६४ सालको शिलालेख हो, जसमा “श्री कलंखु बालकुमारी” नाम स्पष्ट रूपमा उल्लेख गरिएको छ।

 

२. कलङ्की मन्दिरलाई नाग मन्दिर मान्ने भ्रम

 

वि.सं. २०४५ सालतिर मन्दिरको जीर्णोद्धारका क्रममा माताको मूर्तिमाथि चार नागपासयुक्त छत्र स्थापना गरिएको थियो। त्यसपछि यस क्षेत्रको इतिहास र परम्पराबारे जानकारी नभएका केही व्यक्तिहरूले उक्त नागछत्रका आधारमा यसलाई नागदेवताको मन्दिर ठान्ने गरेको पाइन्छ।

 

वास्तवमा यो मन्दिर कलह तथा कलङ्क नाशिनी भगवती कल्खु बालकुमारी अजिमाको मन्दिर हो। नागछत्र केवल देवीको सम्मान र अलंकरणका लागि स्थापित गरिएको धार्मिक प्रतीक मात्र हो।

 

३. कलङ्की मातालाई भगवान् कल्कीकी शक्ति वा पत्नी मान्ने भ्रम

 

कलङ्की माताको नाम र भगवान् कल्कीको नाम उच्चारणमा केही समानता देखिने भएकाले कतिपय व्यक्तिहरूले कलङ्की मातालाई भगवान् कल्कीकी शक्ति अथवा पत्नीका रूपमा व्याख्या गर्ने गरेको पाइन्छ।

 

तर उपलब्ध धार्मिक ग्रन्थहरूको अध्ययन गर्दा यस्तो धारणा पुष्टि हुने आधार देखिँदैन। कल्की पुराणमा भगवान् कल्कीसँग सम्बन्धित शक्तिरूपहरू उल्लेख भए तापनि “कलङ्की देवी” नामक कुनै शक्ति वा पत्नीको उल्लेख पाइँदैन।

 

त्यसैले केवल नामको समानताका आधारमा कलङ्की मातालाई भगवान् कल्कीसँग प्रत्यक्ष रूपमा जोड्नु उचित देखिँदैन।

 

४. भगवतीका दश अवतारमध्ये कलङ्की देवी पनि एक हुन् भन्ने भ्रम

 

केही लेख तथा प्रकाशनहरूमा कलङ्की देवीलाई भगवतीका दश अवतारमध्ये एक देवीका रूपमा प्रस्तुत गरिएको पाइन्छ। तर शाक्त परम्परामा प्रसिद्ध “दशमहाविद्या” को सूची अध्ययन गर्दा कलङ्की देवीको नाम समावेश भएको पाइँदैन।

 

दशमहाविद्याअन्तर्गत काली, तारा, षोडशी (त्रिपुरसुन्दरी), भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मातङ्गी र कमला देवी पर्दछन्। उपलब्ध शास्त्रीय प्रमाणका आधारमा कलङ्की देवीलाई दशमहाविद्याको सूचीमा राख्न सकिने आधार हालसम्म देखिएको छैन।

 

यसैले कलङ्की माताको महत्वलाई उहाँको स्थानीय, तान्त्रिक तथा नेपालमण्डलीय सांस्कृतिक सन्दर्भभित्र अध्ययन गर्नु बढी उपयुक्त देखिन्छ।

 

कल्खु अजिमा (श्री कलङ्की माता) को मन्दिर : एक शक्तिपीठ

 

काठमाडौं उपत्यकाभित्र रहेका अन्य शक्तिपीठहरूजस्तै श्री कलङ्कीमाईको मन्दिरलाई पनि स्थानीय भक्तजनहरूले शक्तिपीठका रूपमा श्रद्धापूर्वक मान्दै आएका छन्। यद्यपि यस शक्तिपीठको स्थापना, प्राचीनता तथा उत्पत्तिसम्बन्धी हालसम्म कुनै ठोस लिखित वा पुरातात्त्विक प्रमाण प्राप्त हुन सकेको छैन।

 

स्थानीय ज्येष्ठ नागरिकहरू तथा धार्मिक परम्पराअनुसार यो पीठ माता सतीदेवीको अङ्गपतनबाट उत्पन्न भएका असंख्य शक्तिपीठहरूमध्ये एक हुन सक्ने जनविश्वास रहिआएको छ। तर सतीदेवीको कुन अङ्ग पतन भएर यो शक्तिपीठ उत्पन्न भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण वा परम्परा हालसम्म प्राप्त भएको देखिँदैन।   ]

 

अध्याय तीन

 

कलंकी क्षेत्रको प्राचीन अवस्था

       

कलंकी क्षेत्र इतिहासका विभिन्न महत्वपूर्ण घटनाहरूसँग जोडिएको देखिन्छ। स्थानीय परम्परा अनुसार गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर विजय अभियानका क्रममा ढुङ्गाअड्डा, पुरानो नैकाप तथा न्हेपंखा क्षेत्रमा सैनिक छाउनी स्थापना गरेका थिए। त्यसबेला युद्धमा प्रयोग हुन सक्ने ढुङ्गाहरू यस क्षेत्रमा प्रशस्त रहेको र आज पनि कतिपय स्थानमा उत्खनन गर्दा त्यस्ता अवशेषहरू फेला पर्ने स्थानीयहरूको भनाइ छ।

 

त्यसैगरी कीर्तिपुर विजयका लागि नुवाकोटबाट ल्याइएको कोत भगवतीलाई हालको कुमारीथान गल्ली क्षेत्रमा स्थापित गरी दैवी शक्ति आह्वान गरिएको थियो भन्ने जनश्रुति पनि प्रचलित छ।

 

राणा प्रधानमन्त्री वीर शमशेरको शासनकालमा काठमाडौं–थानकोट मूल सडक निर्माण भएपछि देशबाहिर जाने वा फर्कने उच्च पदस्थ व्यक्तिहरू तथा शासक वर्गका सदस्यहरू कलंकी माताको मन्दिर परिसरमा भेला भई स्वागत तथा बिदाइ गर्ने परम्परा रहेको उल्लेख विभिन्न पुराना स्मरणहरूमा पाइन्छ। यस सम्बन्धमा स्वर्गीय सरदार भीमबहादुर पाँडेको नेपालसम्बन्धी कृतिमा समेत संकेत गरिएको भन्ने स्थानीयहरू बताउँछन्।

 

२००७ सालसम्मको कलंकी

 

आजको व्यस्त महानगरीय क्षेत्र कलंकी वि.सं. २००७ सालसम्म अत्यन्त विरल बस्ती भएको स्थान थियो। नेपालभाषामा प्रकाशित “आदर्श जाःगु सरल जीवन” पुस्तकको “उगु ईया कलंकी” शीर्षक अन्तर्गत ८४ वर्षीय भवानी मानन्धरको स्मृतिलाई उद्धृत गर्दै लेखकले उल्लेख गरेअनुसार, त्यस समयमा हालको कलंकी चोकदेखि कलंकी मन्दिरसम्म जम्मा तीन घरधुरी मात्र थिए भने कालिमाटीसम्म करिब दश घरधुरी रहेका थिए।

 

चारैतिर नरकटका घारी फैलिएका कारण त्यस क्षेत्रलाई “नरकट बाँस झाङ” भनेर चिनिन्थ्यो। साँझपख स्याल कराउने, कुखुरा समातेर लैजाने तथा जङ्गली वातावरण कायम रहेको स्मृति पुराना बासिन्दाहरूले सुनाउने गरेका छन्।

 

त्यतिबेला सडक साँघुरो तथा हिलाम्मे थियो। बिहान थानकोटबाट टुँडिखेलसम्म सैनिक बोक्ने एउटा मात्र “लहरी” (ट्रक) चल्थ्यो र साँझ फर्किन्थ्यो। सर्वसाधारणका लागि यातायातको सुविधा प्रायः थिएन। अधिकांश मानिस पैदल आवतजावत गर्थे। पछि थानकोटदेखि शहीदगेटसम्म तीनवटा बस सञ्चालन भएपछि यात्रामा केही सहजता आएको थियो।

 

पानीको स्रोत र जनजीवन

 

कलंकी तथा आसपासका बासिन्दाहरूको मुख्य पानीको स्रोत बःखु खुसी (हालको बल्खु खोला) थियो। बलम्बुतर्फबाट बगेर आउने भएकाले यसको नाम बःखु खोला रहेको स्थानीय व्याख्या पाइन्छ। यही खोलाको पानी पिउने, नुहाउने, लुगा धुने तथा दैनिक घरायसी प्रयोजनमा प्रयोग गरिन्थ्यो।

 

वर्षात् नपर्दा खोलाको पानी संकलन गरेर घ्याम्पो, गाग्री तथा अन्य भाँडाकुँडामा भरेर राख्नुपर्ने अवस्था थियो। पछि जनसंख्या वृद्धि र सहरीकरणसँगै यही पवित्र पानीको स्रोत प्रदूषित बन्दै गएकोप्रति पुराना बासिन्दाहरूले दुःख व्यक्त गरेका छन्।

 

भवानी मानन्धरका छोरा राजेश मानन्धरले सम्झिएअनुसार, पछि पिउने पानीका लागि गाङ्गखेल, रविभवन तथा सुनारगाउँसम्म पुगेर पानी ल्याउनुपर्ने अवस्था समेत थियो।

 

बिजुली आउनुअघिको कलंकी

 

त्यो समयमा कलंकी क्षेत्रमा बिजुली सुविधा उपलब्ध थिएन। घरघरमा मतितेल राखेर तुकी बाल्ने चलन थियो। कोठाका भित्तामा तुकी राख्न विशेष खोपा बनाइन्थ्यो। भवानी मानन्धरको स्मृतिअनुसार घरभरि उज्यालो गर्न दैनिक एक माना जति मतितेल खर्च हुने गर्दथ्यो। कलंकी क्षेत्रमा विद्युत् सेवा भने वि.सं. २०१८ सालतिर मात्र विस्तार भएको थियो।

 

वर्तमान कलङ्की : २०८३ सालसम्म

 

काठमाडौं महानगरपालिकाको आधिकारिक तथ्याङ्कअनुसार वडा नं. १४ को जनसंख्या ५८,४९५ रहेको उल्लेख पाइन्छ। कुनै समय विरल बस्ती रहेको कलङ्की क्षेत्र आज काठमाडौं उपत्यकाको अत्यन्त व्यस्त र घना बसोबास भएको क्षेत्रमा रूपान्तरित भइसकेको छ।

 

कलङ्की चोकदेखि सोल्टीमोड हुँदै मनमती खोला (करखुसी) सम्म सडकका दुवैतर्फ बाक्लो बस्ती फैलिएको छ। मुख्य सडकको दायाँबायाँ मात्र होइन, भित्री गल्ली तथा आवासीय क्षेत्रमा समेत हजारौं घरधुरी रहेका छन्। पटक–पटक सडक विस्तार गरिएपछि अहिलेको सडक चार लेन क्षमताको बनेको भए तापनि सवारी चाप अत्यधिक भएकाले ट्राफिक जाम दैनिकजसो हुने गर्दछ। सडक दुर्घटनाका घटनाहरू पनि उत्तिकै हुने गरेका छन्।

 

सडक विस्तारका क्रममा कलङ्की मन्दिर परिसर तथा स्थानीय बासिन्दाका जग्गाजमिन प्रभावित भएका छन्। पैदल यात्रुका लागि निर्माण गरिएका फुटपाथहरूमा अनियन्त्रित ठेला तथा अस्थायी पसलहरू फैलिँदा आवागमनमा थप समस्या उत्पन्न भएको देखिन्छ।  ]]

 

अध्याय चार

 

 श्री कलङ्कीमाई र कलङ्की मन्दिर

 

काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा अवस्थित कलङ्की मन्दिर यस क्षेत्रको प्रमुख धार्मिक आस्थाको केन्द्र हो। नागढुङ्गा–कलङ्की–त्रिपुरेश्वर सडक (गणेशमान सिंह मार्ग) विस्तार हुँदै जाँदा मन्दिरको धेरै भाग सडक क्षेत्रमा परेको छ। हाल मन्दिर मूल सडक सतहभन्दा करिब दश फिट तल अवस्थित छ।

 

मन्दिर परिसरमा पूर्वमुखी तथा दक्षिणमुखी स्वरूपमा स्थापित विभिन्न देवीदेवताका मूर्तिहरूमध्ये कलह र कलङ्क नाशिनी भगवती श्री श्री श्री कालकुमारी (बालकुमारी) माता प्रमुख देवीका रूपमा विराजमान हुनुहुन्छ। यही देवीलाई स्थानीय श्रद्धालुहरूले “श्री कलङ्कीमाई” का रूपमा पुज्दै आएका छन्। उहाँको अधिष्ठान रहेको यस स्थललाई कलङ्की मन्दिर, कलङ्कीस्थान अथवा कलङ्कीमाई थानका नामले चिनिन्छ।

 

साविक कलङ्की पञ्चायत वडा नं. ४ (ग) अन्तर्गत रहेका कित्ताहरू नयाँ नापीपश्चात् काठमाडौं महानगरपालिका वडा नं. १४ अन्तर्गत मन्दिरकै नाममा दर्ता कायम रहेको देखिन्छ। सम्बन्धित जग्गाको विस्तृत विवरण अभिलेखीय प्रमाणका आधारमा प्रस्तुत गर्न सकिनेछ।

 

श्री कलङ्कीमाईको उत्पत्ति : ऐतिहासिक पृष्ठभूमि

 

श्री कलङ्कीमाईको यथार्थ उत्पत्तिकालबारे निश्चित ऐतिहासिक प्रमाण हालसम्म प्राप्त हुन सकेको छैन। तथापि स्थानीय जनविश्वास, धार्मिक परम्परा तथा उपलब्ध अभिलेखीय सामग्रीका आधारमा यो मन्दिर निकै पुरानो रहेको मानिन्छ।

 

शक्तिस्वरूपा कालीमाताको अंशावतारका रूपमा कलियुगका दुःख, कष्ट, भय तथा संकटबाट जनसमुदायलाई मुक्त गराउन बालकुमारी माताको अवतरण भएको भन्ने धार्मिक धारणा प्रचलित छ। यस सम्बन्धमा “श्री कलङ्कीमाई प्रवाह” (२०५९) मा समेत उल्लेख गरिएको पाइन्छ।

 

मन्दिरभित्र रहेको वि.सं. १९६४ सालको शिलालेख हालसम्म उपलब्ध सबैभन्दा महत्वपूर्ण ऐतिहासिक प्रमाण मानिन्छ। उक्त शिलालेखमा देवीलाई “श्री कलंखु बालकुमारी” भनेर सम्बोधन गरिएको छ। यस बाहेक हालसम्म कुनै महत्वपूर्ण पुरातात्त्विक सामग्री फेला परेको जानकारी प्राप्त भएको छैन।

 

अध्याय पाँच

 

उपत्यकाकै धेरै अमूर्त देवी–देवताका प्रतिमाहरू रहेको शक्तिपीठ

 

काठमाडौं उपत्यकाका अधिकांश अष्टमातृका पीठहरूमा अष्टमातृका तथा तिनका गणसम्बन्धी सीमित संख्यामा मूर्ति तथा प्रतीकहरू रहेका हुन्छन्। परम्परागत रूपमा यस्ता पीठहरूमा गणेश, सिंहिनी, व्याघ्रिणी, भैरव, क्षेत्रपाल, कुमार तथा अष्टमातृकाहरू— ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्रायणी, चामुण्डा र महालक्ष्मीका स्वरूपहरू स्थापित गरिएका हुन्छन्।

 

तर कल्खु अजिमा पीठको विशेषता भनेको यहाँ असाधारण संख्यामा अमूर्त देवी–देवताका प्रतिमाहरू हुनु हो। मन्दिरभित्र मात्र करिब ५७ वटा अमूर्त प्रतिमाहरू रहेको पाइन्छ भने मन्दिरबाहिर कमल भैरव तथा प्रवेशद्वारअगाडि पिखालखुद्यःको प्रतीकात्मक उपस्थिति रहेको छ।

 

यी प्रतिमाहरूमध्ये गणेश, कलङ्की माता, संकटा, महाकाल, मनकामना तथा दक्षिणकालीको पहिचान गर्न सकिएको छ। अन्य प्रतिमाहरूमध्ये केहीलाई भैरव तथा बेताल स्वरूपका रूपमा स्थानीय जानकारहरूले व्याख्या गर्ने गरेका छन्।

 

मन्दिर परिसरका प्रमुख देवस्थलहरू

 

(क) देववृक्ष पीपल

 

मन्दिरको दक्षिण–पूर्व दिशामा अवस्थित पीपलवृक्ष शनिदेव तथा भगवान् विष्णुसँग सम्बन्धित पवित्र वृक्षका रूपमा पूजित छ। प्रत्येक शनिबार यहाँ जल अर्पण तथा पूजा गर्ने भक्तजनहरूको उपस्थिति रहने गर्दछ।

 

स्थानीय स्मृतिअनुसार वि.सं. २०३०–३५ तिर स्थानीय कुमार अधिकारीको सक्रियतामा यो पीपल रोपिएको थियो। यस स्थानमा पहिले चौतारा रहेको र कलङ्की माताले विश्राम गर्ने गरेको किंवदन्ती पनि प्रचलित छ।

 

(ख) श्री कपिलेश्वर महादेव

 

कलङ्की माताको मन्दिरको दक्षिणतर्फ शिवलिङ्ग स्वरूपमा श्री कपिलेश्वर महादेव प्रतिष्ठित छन्। यो शिवलिङ्ग वि.सं. २०४९ असार २७ गते स्वर्गीय मातापिताको स्मृतिमा श्री रामशरण थापाद्वारा स्थापना गरिएको तथा वि.सं. २०५८ मा यसको थप सरसज्जा गरिएको बताइन्छ।

 

(ग) श्री सूर्यनारायण

 

कपिलेश्वर महादेवको दक्षिणतर्फ पारिजातको वृक्षमुनि चक्रयुक्त प्रतिमासहित सूर्यनारायण भगवानको मूर्ति रहेको छ। यसको स्थापना सम्बन्धमा थप अभिलेखीय अध्ययन आवश्यक देखिन्छ।

 

(घ) श्री सरस्वती, विराटस्वरूप र लक्ष्मीनारायण

 

मन्दिर परिसरको दक्षिण–पश्चिम क्षेत्रमा सरस्वती, विराटस्वरूप तथा लक्ष्मीनारायण भगवानका प्रस्तरमूर्तिहरू स्थापित छन्। यी मूर्तिहरू वि.सं. २०५३ मा श्री त्रिरत्न डंगोल तथा श्रीमती सपना मानन्धरद्वारा स्थापना गरिएको र वि.सं. २०५८ मा श्रीमती सन्तमाया तण्डुकारद्वारा सरसज्जा गरिएको उल्लेख पाइन्छ।

 

पछि विराटस्वरूपको मूर्ति क्षतिग्रस्त भएपछि स्थानीय लक्ष्मण अधिकारी तथा सानुमाया अधिकारी दम्पतीले वि.सं. २०७३ वैशाख १ गते नयाँ मूर्ति स्थापना गराउनुभएको थियो।

 

(ङ) अरुन्धतीसहित सप्तऋषि

 

मन्दिर परिसरमा अरुन्धतीसहित सप्तऋषिहरूको समूह प्रतिमा पनि रहेको छ। वि.सं. २०५१ मा श्री धीरबहादुर अधिकारीद्वारा स्थापना गरिएको यो समूहमा वशिष्ठ, कश्यप, अत्रि, जमदग्नि, गौतम, विश्वामित्र र भारद्वाज महर्षिहरू रहेका छन्।

 

पछिल्लो समयमा ऋषिपञ्चमी पूजाका क्रममा अरुन्धतीको परिचयबारे विभिन्न भ्रमहरू देखिने गरेका छन्। शास्त्रीय मान्यताअनुसार अरुन्धती महर्षि वशिष्ठकी पत्नी हुन्। ऋषिपञ्चमीका अवसरमा सप्तऋषिसँगै अरुन्धतीको पूजा गर्ने परम्परा प्राचीनकालदेखि रहिआएको छ।

 

स्थानीय धार्मिक प्रवचन तथा स्वस्थानी कथामा आधारित परम्पराअनुसार अरुन्धतीलाई आदर्श पतिव्रता नारीका रूपमा विशेष सम्मान गरिन्छ।

 

(च) श्री कमल भैरव

 

मन्दिरको पश्चिमपट्टि, मुख्य गर्भगृहको पछाडि, प्राचीन कमल भैरवनाथको अमूर्त प्रतिमा अवस्थित छ। यस स्थलको वि.सं. २०५८ मा श्री रत्नबहादुर खड्काद्वारा सरसज्जा गरिएको उल्लेख पाइन्छ।

 

(छ) पिखालखुद्यः

 

मन्दिरको प्रवेशद्वारअगाडि रहेको पिखालखुद्यःलाई स्थानीय परम्परामा कुमार, भैरव तथा गंगामाताको प्रतीकात्मक स्वरूपका रूपमा मान्ने गरिन्छ। यो स्थल पनि कल्खु अजिमा पीठको धार्मिक संरचनाको महत्वपूर्ण अंग हो।

 

कल्खु गणेश : न्हेपंखा क्षेत्रको स्थान गणेश

 

नेपालमण्डलको धार्मिक तथा सांस्कृतिक परम्परामा प्रत्येक टोल तथा बस्तीको आफ्नै “स्थान गणेश” हुने चलन छ। कुनै पनि संस्कार, पर्व, जात्रा, पूजा वा पितृकार्य प्रारम्भ गर्नुअघि स्थान गणेशको पूजा गर्ने परम्परा आजसम्म जीवित छ।

 

साविक न्हेपंखा क्षेत्रका अधिकांश नेवाः समुदायका लागि कलङ्की मन्दिरभित्र अवस्थित गणेश नै स्थान गणेशका रूपमा पूजित रहिआएका छन्। कल्खु अजिमा पीठभित्र दक्षिणाभिमुखी भएर विराजमान भएकाले स्थानीय ज्येष्ठ नेवाः समुदायले उहाँलाई श्रद्धापूर्वक “कल्खु गणेश” भन्ने गरेका छन्।

 

यस गणेशको पूजा गरी कार्यारम्भ गर्दा शुभफल प्राप्त हुने तथा क्षेत्रको रक्षा हुने विश्वास स्थानीय समाजमा आजसम्म कायम रहेको छ। 

 

अध्याय छ

 

संस्कृत परम्परा

 

 कलङ्की (न्हेपंखा) क्षेत्रको च्छ्वास अजिमा र कलःगाः

 

नेपालमण्डलको परम्परागत नेवाः बस्ती संरचनामा धार्मिक तथा सामाजिक व्यवस्थासँग सम्बन्धित विभिन्न देवस्थलहरूको विशेष महत्व रहेको हुन्छ। यिनैमध्ये प्रत्येक परम्परागत बस्तीमा “च्छ्वास अजिमा” तथा “कलःगाः” को व्यवस्था रहेको पाइन्छ। न्हेपंखा (हालको कलङ्की) क्षेत्र पनि यस परम्पराबाट अछुतो छैन।

 

च्छ्वास अजिमा (च्छ्वास देवता)

 

परम्परागत नेवाः समाजमा प्रत्येक बस्तीको एक संरक्षक देवीका रूपमा च्छ्वास अजिमाको स्थापना गरिएको हुन्छ। च्छ्वास अजिमालाई कतिपय विद्वान् तथा परम्पराका जानकारहरूले मातङ्गी वा धूमावती शक्तिसँग सम्बन्धित स्वरूपका रूपमा पनि व्याख्या गर्ने गरेका छन्।

 

स्थानीय मान्यताअनुसार बस्तीभित्र जन्म र मृत्यु सम्बन्धी सामाजिक अभिलेखको संरक्षण गर्ने देवीका रूपमा च्छ्वास अजिमालाई लिइन्छ।

 

कुनै घरमा नवजात शिशुको जन्म हुँदा शिशुको सालनाल तथा घरपरिवारमा मृत्यु हुँदा मृतकका केही प्रतीकात्मक सामग्रीहरू—जस्तै मृतकको लुगा, काँचो इँटा तथा सानो सुकुल—च्छ्वासस्थलमा लगेर अर्पण गरिन्छ। यसलाई स्थानीय भाषामा “च्छ्वास वाय्” गर्ने भनिन्छ।

 

यस संस्कारको सांस्कृतिक अर्थ बस्तीकी अधिष्ठात्री देवीलाई “हाम्रो घरमा नयाँ जीवनको आगमन भयो” अथवा “हाम्रो परिवारमा मृत्यु भयो” भन्ने जानकारी गराउनु हो भन्ने जनविश्वास रहिआएको छ।

 

कलःगाःमा कलः वाय् गर्ने परम्परा

 

नेवाः समाजमा वर्षभरि विभिन्न देवीदेवताको पूजा, बलिपूजा तथा जात्रा सम्पन्न भएपछि सामूहिक भोज आयोजना गर्ने चलन छ। यस्ता भोजलाई विशेष रूपमा “सिकाःभू” वा “मूःभ्वय्” भनिन्छ।

 

पूजापछि बाँकी रहेका प्रसाद, भोजका उच्छिष्ट तथा अन्य पूजासामग्रीहरूलाई विशेष तान्त्रिक विधिअनुसार संकलन गरी दीपसहित कलःगाःमा लगेर विसर्जन गरिन्छ। यस प्रक्रियालाई “कलः वाय्” भनिन्छ।

 

स्थानीय मान्यताअनुसार यसरी बस्तीभित्र कुन–कुन परिवारले वर्षभरि देवीदेवताका पूजा तथा बलिपूजा सम्पन्न गरे भन्ने धार्मिक अभिलेख कलःगाःका देवताले राख्ने विश्वास गरिन्छ।

 

सिकाःभू (मूःभ्वय्) को सांस्कृतिक महत्व

 

तन्त्रप्रधान नेपालमण्डलमा देवी–देवताप्रति समर्पित बलिपूजाको आफ्नै सांस्कृतिक तथा धार्मिक महत्व रहेको छ। बलिपश्चात् सम्पन्न गरिने विशेष भोजलाई “सिकाःभू” वा “मूःभ्वय्” भनिन्छ

 

यस भोजमा बलि दिइएको पशुको शिरका विभिन्न अङ्गहरू—आँखा, कान, थुतुनो, जिब्रो तथा बङ्गरा—परम्परागत जेष्ठता क्रमअनुसार परिवार वा गुठीका सदस्यहरूलाई वितरण गरिन्छ।

 

यो केवल भोजनको परम्परा नभई तान्त्रिक पूजा सम्पन्न भएको संकेत तथा सामाजिक सहभागिताको प्रतीकका रूपमा पनि लिइन्छ।

 

नेपालमण्डलका धेरै शक्तिपीठ तथा देवीस्थलहरूमा बलि दिइएको पशुको टाउको सम्बन्धित गुठी वा नेवाः परिवारलाई हस्तान्तरण गर्ने परम्परा पनि यसै सांस्कृतिक पृष्ठभूमिसँग सम्बन्धित रहेको देखिन्छ।

 

थाय्भू वाय् गर्ने परम्परा

 

नेवाः विवाह संस्कारमा नयाँ वधू घर भित्रिएपछि विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरू सम्पन्न गरिन्छन्। तीमध्ये एउटा महत्वपूर्ण संस्कार “थाय्भू वाय्” हो।

 

दुलाहा–दुलहीलाई एउटै थालमा भोजन गराएपछि बाँकी रहेको जुठो भोजन, विशेष दीप तथा अन्य सामग्रीहरू सहितको थाल कलःगाःमा लगेर विसर्जन गरिन्छ। यस प्रक्रियालाई नेपालभाषामा “थाय्भू वायेगु” भनिन्छ।

 

यस संस्कारको सांस्कृतिक अर्थ परिवारमा नयाँ सदस्यको आगमन भएको जानकारी बस्तीका संरक्षक देवतालाई गराउनु तथा उनीहरूको आशीर्वाद ग्रहण गर्नु हो भन्ने मान्यता रहिआएको छ।

 

कलङ्की क्षेत्रको च्छ्वास अजिमा र कलःगाः

 

न्हेपंखा (कलङ्की) क्षेत्रको परम्परागत च्छ्वास अजिमा तथा कलःगाः स्थल कलङ्की मन्दिरको दक्षिणतर्फ तासिंडोल झर्ने बाटोको छेउमा, मन्दिर परिसरको सिमानाभित्र रहेको पारिजात वृक्षमुनिको स्थानलाई मानिँदै आएको छ।

 

स्थानीय परम्पराअनुसार यही स्थलले च्छ्वास अजिमा तथा कलःगाःको धार्मिक तथा सांस्कृतिक भूमिका निर्वाह गर्दै आएको विश्वास पाइन्छ। यद्यपि यसको ऐतिहासिक उत्पत्ति तथा विकासबारे थप अध्ययन तथा अनुसन्धानको आवश्यकता रहेको देखिन्छ। ]]]]]

 

कलङ्की माता (कल्खु बालकुमारी अजिमा) को सांस्कृतिक पक्ष

 

कल्खु बालकुमारी अजिमा केवल एक धार्मिक शक्तिपीठ मात्र नभई स्थानीय समाजको सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको अधिष्ठात्री देवीका रूपमा स्थापित रहेकी छन्। मन्दिरसँग सम्बन्धित विभिन्न पूजा, गुठी परम्परा, कुलायन पूजा, जात्रा तथा जनविश्वासहरू आज पनि जीवित रूपमा निरन्तरता पाइरहेका छन्।

 

१. अक्षय तृतीयामा थिमिबाट आउने परम्परा

स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइअनुसार मध्यपुर थिमिमा विराजमान बालकुमारी अजिमाका खलःहरूले प्रत्येक वर्ष अक्षय तृतीयाका दिन न्हेपंखाको कल्खु बालकुमारी अजिमाको गुप्तरूपमा पूजा गर्न आउने परम्परा रहेको थियो। यद्यपि पछिल्ला केही दशकयता उक्त परम्परा निरन्तर देखिएको छैन।

 

२. पचली भैरवको गणनाचसँग सम्बन्ध

स्थानीय जनश्रुतिअनुसार पचली भैरवको बाह्रवर्षे गणनाच तथा भद्रकालीको खड्गसिद्धि गणनाच प्रारम्भ गर्नुअघि केही मालाकार साधकहरू गुप्तरूपमा कल्खु बालकुमारी अजिमाको पूजा तथा तान्त्रिक साधना गर्न आउने गर्दथे। त्यसपछि मात्र सम्बन्धित गणनाच विधिवत प्रारम्भ हुने परम्परा रहेको भनिए तापनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन।

 

३. अधिकारी परिवारको वार्षिक गुठी पूजा

कलङ्की माताको प्रमुख परम्परागत गुठी पूजा स्थानीय अधिकारी परिवारद्वारा सञ्चालन हुँदै आएको छ।

 

विक्रम संवत् १९६४ सालको अक्षय तृतीयाका दिन न्हेपंखा निवासी डिठ्ठा मानबहादुर अधिकारीले मातालाई २२ धार्नीको ठूलो काँसको घण्टा, ढलौटका दुई सिंह तथा ४८ वटा दियो अर्पण गरी पूजा सञ्चालनका लागि गुठी व्यवस्थासमेत मिलाएको शिलालेखीय प्रमाण पाइन्छ।

 

त्यसयता प्रत्येक वर्ष अक्षय तृतीयाको पूर्वसन्ध्यामा रात्रि पूजा, पुतिङ पाठ, दीपावली तथा अक्षय तृतीयाका दिन विशेष पूजा र छागबलीसहितको गुठी पूजा निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ।

 

४. कल्की जयन्तीको विशेष पूजा

 

स्थानीय नेवाः समुदायको एक समूहले प्रत्येक वर्ष कल्की जयन्तीका अवसरमा कल्खु बालकुमारी अजिमाको विशेष तान्त्रिक पूजा गर्ने परम्परा कायम राखेको छ।

 

५. क्षमा पूजाको परम्परा

 

कलङ्की क्षेत्रमा विभिन्न परिवार तथा समूहहरूले वर्षेनि क्षमा पूजा गर्ने परम्परा पनि रहेको छ।

 

(क) न्यौपाने–खत्री परिवार

प्रत्येक वर्ष बडा दशैंको महाअष्टमीका दिन छागबलीसहित विशेष पूजा गर्दै आएका छन्।

 

(ख) अधिकारी, रायमाझी लगायतका परिवार

असार महिनामा छागबलीसहित वार्षिक क्षमा पूजा गर्ने परम्परा निरन्तर चलिआएको छ।

 

६. पर्वहरूमा भक्तजनको भीड

श्रावण सोमबार, तीज, ऋषिपञ्चमी, जनैपूर्णिमा, बडा दशैं लगायतका अवसरमा कलङ्की मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति रहने गर्दछ।

 

७. दशैंको जमरा वितरण

घटस्थापनाका दिन विधिवत स्थापना गरिएको जमरा विजयादशमीका दिन सर्वसाधारण भक्तजनहरूलाई प्रसादका रूपमा वितरण गर्ने परम्परा रहिआएको छ।

 

कुलदेवीका रूपमा कलङ्की माता

कल्खु बालकुमारी अजिमालाई विभिन्न जातीय तथा पारिवारिक समुदायहरूले कुलदेवीका रूपमा मान्दै आएका छन्।

 

१. परियार (कार्कीढली) परिवार

कीर्तिपुरस्थित भैरव परियार (कार्कीढली) का सन्तानहरूले प्रत्येक वर्ष पौष कृष्ण पञ्चमीका दिन कुलायन पूजा तथा देवाली गर्ने परम्परा कायम राखेका छन्।

 

२. सुनार परिवार

सुनारगाउँका रैथाने सुनार परिवारहरूले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा (चण्डी पूर्णिमा/बुद्ध जयन्ती) का दिन कलङ्की मातालाई कुलदेवीका रूपमा पूजा गर्दै देवाली पर्व मनाउने परम्परा निरन्तर चलाइरहेका छन्।

 

आजकल काठमाडौं उपत्यका बाहिरका विभिन्न समुदायका व्यक्तिहरू पनि कलह तथा कलङ्क निवारण गर्ने देवीका रूपमा श्रद्धा राख्दै कलङ्की माताको दर्शन गर्न आउने क्रम बढ्दै गएको देखिन्छ।

 

कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको वार्षिक पूजा

२०४६ सालमा गठित जीर्णोद्धार समितिले मन्दिरको पुनःनिर्माण सम्पन्न गरेपछि २०५४ सालमा “श्री कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्था” स्थापना भएको थियो।

 

संस्था दर्ता भएको दिन अर्थात् कार्तिक २५ गते लाई संस्थाले विशेष पूजा पर्वका रूपमा मनाउँदै आएको छ।

 

कलङ्की चाः पूजा गुठी तथा कलङ्की मां नेवाः पुचःका सांस्कृतिक गतिविधि

 

इन्द्र पूर्णिमा

श्री कलङ्की मातालाई सम्हयबजी (महाभोग) अर्पण गरी प्रसाद वितरण।

 

यःमरि पूर्णिमा

यःमरि चढाई प्रसाद वितरण।

 

सकिमना पूर्णिमा

हलिमली (भुटेको गेडागुडी) चढाई सामूहिक प्रसाद वितरण।

 

अक्षय तृतीया

 

रात्रिकालीन चाः पूजा।

 

अध्याय सात

 

किंवदन्ती र जनश्रुति

 

श्री कलङ्की माता (कल्खु बालकुमारी अजिमा) सँग सम्बन्धित केही किंवदन्तीहरू

कल्खु बालकुमारी अजिमा अर्थात् श्री कलङ्की माताको उत्पत्ति, आगमन तथा विभिन्न शक्तिपीठहरूसँगको सम्बन्धबारे स्थानीय समाजमा अनेकौं किंवदन्ती तथा जनश्रुतिहरू प्रचलित छन्। यद्यपि यिनको ऐतिहासिक प्रमाण सबै अवस्थामा उपलब्ध छैन, तथापि स्थानीय सांस्कृतिक स्मृति र धार्मिक विश्वास बुझ्न यस्ता किंवदन्तीहरू महत्वपूर्ण मानिन्छन्।

१. असनबाट न्हेपंखामा आगमन भएको किंवदन्ती

इतिहासकार बासु पासाले सङ्कलन गरेका जनश्रुतिअनुसार कल्खु बालकुमारी अजिमा कुनै समय काठमाडौंको असन क्षेत्रमा विराजमान हुनुहुन्थ्यो। उहाँलाई त्यहाँ स्थापित गर्दा असनमै रहनुपर्ने वाचा गरिएको थियो भनिन्छ।

तर अजिमालाई असनमा रहन इच्छा नभएकाले उहाँले एक जना तान्त्रिक सिद्धि प्राप्त गथु (मालाकार) लाई सपनामा दर्शन दिई आफूलाई विष्णुमतीपारिको पश्चिम भेगमा लैजान आदेश दिनुभएको किंवदन्ती सुनिन्छ।

 

अजिमाको आदेशअनुसार उक्त तान्त्रिकले आफ्नो तन्त्रशक्तिबाट अजिमा तथा उहाँका गणहरूलाई बोकेर विष्णुमती नदी पार गर्दै बल्खु खोला र करखुसी (मनमती खोला) बीचको घना नरकटघारी रहेको न्हेपंखा क्षेत्रमा ल्याए। हालको कलङ्की मन्दिर रहेको स्थानमा पुगेपछि अजिमाले “मलाई यहीँ स्थापना गर” भनी आदेश दिनुभयो र सोही स्थानमा देवी तथा गणहरूको स्थापना गरिएको भन्ने जनश्रुति प्रचलित छ।

 

२. मध्यपुर थिमिको क्वालखु बालकुमारीसँग सम्बन्धित किंवदन्ती

कल्खु बालकुमारी अजिमा र मध्यपुर थिमिको क्वालखु बालकुमारीबीच विशेष सम्बन्ध रहेको भन्ने विश्वास पनि पाइन्छ।

एक किंवदन्तिअनुसार न्हेपंखामा विराजमान कल्खु बालकुमारीलाई परापूर्वकालमा थिमिका तान्त्रिकहरूले साधनाद्वारा थिमिमा लगी स्थापना गरेका थिए। अर्को मतअनुसार भने थिमिबाट बालकुमारीलाई न्हेपंखामा ल्याइएको थियो।

स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइअनुसार केही दशकअघिसम्म प्रत्येक अक्षय तृतीयाका दिन थिमिबाट खलः (धार्मिक समूह) आएर कलङ्की माताको तान्त्रिक पूजा गर्ने परम्परा जीवित थियो।

 

थिमिको क्वालखु बालकुमारी र न्हेपंखाको कल्खु 

बालकुमारीबीच देखिने केही समानताहरू

 

(क) नरकटघारीसँग सम्बन्ध

थिमिको क्वालखु बालकुमारीसम्बन्धी किंवदन्तीमा देवी नरकटघारी नजिक स्थापना भएको उल्लेख पाइन्छ।

न्हेपंखाको नाम नै नरकट (न्हेपँकछि) बाट व्युत्पन्न भएको मानिन्छ।

 

(ख) त्रिकोणाकार तीन खोपा

थिमिको बालकुमारी मन्दिरको पछाडि त्रिकोणाकार तीन खोपा रहेका छन्, जसलाई नासःद्यःसँग सम्बन्धित मानिन्छ।

कल्खु बालकुमारीको मन्दिरको पछाडि पनि यस्तै त्रिकोणाकार तीन खोपा देखिन्छन्।

 

(ग) नामगत समानता

थिमिमा “क्वालखु बालकुमारी” नाम प्रचलित छ।

कलङ्कीमा “कल्खु बालकुमारी” नाम प्रयोग भएको शिलालेखीय प्रमाण पाइन्छ।

यी समानताहरूले दुई शक्तिपीठबीच कुनै न कुनै ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध रहेको हुन सक्ने संकेत गर्छन्। तर यसको थप अनुसन्धान आवश्यक देखिन्छ।

 

३. असन केलटोलको बालकुमारीसँग सम्बन्धित किंवदन्ती

न्हेपंखाका ज्येष्ठ नागरिकहरूबीच प्रचलित अर्को किंवदन्तिअनुसार कल्खु बालकुमारीको मूल अधिष्ठान न्हेपंखा नै हो।

कथाअनुसार मध्यपुर थिमिका केही तान्त्रिकहरूले कल्खु बालकुमारी तथा उहाँका गणहरूलाई थिमि लैजाने क्रममा असनको केलटोल क्षेत्रमा एक रात विश्राम गरेका थिए। त्यस क्रममा अजिमाको एक प्रतिबिम्ब वा शक्ति त्यहीँ सिद्ध भई स्थापित भयो र पछि त्यही स्थानमा बालकुमारीको पूजा प्रारम्भ भएको भनिन्छ।

अर्को जनश्रुतिअनुसार थिमिबाट प्रत्येक वर्ष अक्षय तृतीयाका दिन आउने खलःहरूले न्हेपंखाको कल्खु बालकुमारीको पूजा गरी फर्कने क्रममा असन केलटोलमा बसेर समयबजी खाने गर्दथे। पछि उनीहरूले त्यहीँ कल्खु बालकुमारीको प्रतिरूपका रूपमा अर्को बालकुमारी स्थापना गरेको भनाइ पनि पाइन्छ।

सायद यिनै किंवदन्तीका आधारमा कतिपय स्थानीय बासिन्दाहरूले न्हेपंखाकी कल्खु बालकुमारीलाई केलटोल बालकुमारीकी “आमा” भनेर समेत सम्बोधन गर्ने गरेको सुनिन्छ।

 

४. माताको विश्रामस्थलसम्बन्धी जनश्रुति

स्थानीय जनविश्वासअनुसार कलङ्की माता विभिन्न देवस्थलहरूको परिक्रमा गरी आफ्नो मन्दिरमा फर्कने क्रममा मन्दिरअगाडि रहेको चौतारोमा केही समय विश्राम गर्ने गर्नुहुन्थ्यो।

यसै कारण उक्त चौतारो स्थानीय धार्मिक स्मृतिमा विशेष महत्व राख्ने स्थलका रूपमा सम्झिने गरिन्छ।

 

५. माताको स्नानस्थलसम्बन्धी जनश्रुति

अर्को जनश्रुतिअनुसार कलङ्की माताले मन्दिरको उत्तरतर्फ अवस्थित पुरानो इनारमा स्नान गर्नुहुन्थ्यो। स्नानपश्चात् उहाँ हाल बुद्ध मन्दिर रहेको स्थानको पुरानो डाँडो (ढिस्को) मा बसेर घाम ताप्नुहुन्थ्यो भन्ने विश्वास स्थानीय समाजमा प्रचलित छ।

यद्यपि यी घटनाहरूको ऐतिहासिक प्रमाण उपलब्ध छैन, तथापि स्थानीय सांस्कृतिक स्मृति तथा धार्मिक परम्परामा यस्ता जनश्रुतिहरूले महत्वपूर्ण स्थान ओगटेका छन्।

 

कलङ्की माताको विशेषता र जनविश्वास

स्थानीय श्रद्धा र विश्वासअनुसार कल्खु बालकुमारी अजिमा विशेष रूपमा:

घरपरिवारको कलह, अशान्ति र विवाद निवारण गर्ने,

अनाहकमा लागेको कलङ्क तथा दोषबाट मुक्ति दिलाउने,

मनोकामना पूरा गरिदिने शक्तिका रूपमा पूजनीय मानिन्छिन्।

काठमाडौंबाट बाहिर तथा विदेश जाने तयारीमा रहेका कतिपय भक्तजनहरूले पनि विशेष कामना लिएर माताको पूजा गर्ने गरेको पाइन्छ।

 

वर्षा माग्ने परम्परा  :

स्थानीय जनविश्वासअनुसार लामो खडेरी पर्दा मन्दिर सफा गरी माताको परिसरमा जल अर्पण गर्दै विशेष प्रार्थना गरिएपछि वर्षा हुने गरेको अनुभव ज्येष्ठ नागरिकहरूले सुनाउने गर्छन्

 

महामारी निवारणको विश्वास :

स्थानीय स्मृतिअनुसार विगतमा हैजा तथा बिफरजस्ता महामारी फैलिएका बेला कलङ्की मातामा सामूहिक क्षमा पूजा गरिएपछि यस क्षेत्रमा महामारीको प्रभाव तुलनात्मक रूपमा कम परेको विश्वास रहिआएको छ। यही कारण असार महिनामा सामूहिक क्षमा पूजाको परम्परा आजसम्म जीवित रहेको मानिन्छ।

 

अध्याय आठ

 

कलङ्की मन्दिरको दैनिकी तथा वरपरका धार्मिक सम्पदाहरू

 

श्री कलङ्कीमाई मन्दिरको दैनिकी

 

श्री कलङ्कीमाई मन्दिर दैनिक रूपमा बिहान ४:३० बजेदेखि मध्याह्न १२:०० बजेसम्म तथा साँझ ५:०० बजेदेखि राति ७:३० बजेसम्म खुला रहने गर्दछ।

 

नियमित पूजा बिहान करिब १०:३० बजे सम्पन्न गरिन्छ भने सन्ध्याकालीन आरती साँझ ६:३० बजे हुने गर्दछ। मन्दिर बन्द रहेको समयमा विशेष पूजा गर्नुपर्ने भएमा मन्दिरका द्यःपाल वा व्यवस्थापन पक्षसँग सम्पर्क गरी पूजा गर्न सकिने व्यवस्था रहेको छ।

 

कल्खु बालकुमारी अजिमा तान्त्रिक देवीका रूपमा मानिने भए तापनि हालसम्म नियमित तान्त्रिक दीक्षित पुजारीमार्फत पूजा सञ्चालन गर्ने व्यवस्था पूर्ण रूपमा हुन सकेको देखिँदैन।

 

कथा वाचन परम्परा :

भागवत प्रवचक रेणु अर्जुनप्रसाद रिमालले करिब दुई दशकसम्म मन्दिरको भजन कक्षमा प्रत्येक एकादशीका दिन एकादशी महात्म्य तथा पुरुषोत्तम महिनामा चातुर्मास महात्म्य कथा वाचन गर्दै आउनुभएको थियो। कोभिड–१९ महामारी र त्यसपछिको बन्दाबन्दीपछि उक्त कार्यक्रम हालसम्म नियमित रूपमा पुनः सञ्चालन हुन सकेको छैन।

 

दैनिक भजन परम्परा :

ॐ वैदिक सनातन धर्म संस्था नेपालद्वारा सञ्चालित खैँजडी भजन टोलीले वि.सं. २०७२ सालदेखि प्रत्येक दिन साँझ ५ बजेदेखि ७ बजेसम्म मन्दिर परिसरमा भजन सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले विशेषगरी ज्येष्ठ नागरिकहरूलाई आध्यात्मिक तथा मानसिक स्फूर्ति प्रदान गर्दै आएको छ।

 

कलङ्की क्षेत्रका अन्य धार्मिक स्थलहरू

 

कलङ्की मन्दिर रहेको काठमाडौं महानगरपालिका वडा नं. १४ भित्र प्राचीन तथा आधुनिक धार्मिक सम्पदाहरूको उल्लेखनीय उपस्थिति रहेको छ। तीमध्ये प्रमुख स्थलहरू निम्नानुसार छन्—

 

प्रमुख धार्मिक स्थलहरू

 

१. श्री बुद्ध मन्दिर

कलङ्की मन्दिरको उत्तर–पश्चिमतर्फ अवस्थित यो मन्दिर २०५२ सालमा हिन्दू तथा बौद्ध समुदायको संयुक्त प्रयासबाट निर्माण गरिएको हो। बुद्ध जयन्तीका दिन विशेष पूजा तथा प्रत्येक पूर्णिमामा सामूहिक बौद्ध स्तोत्र पाठ गरिन्छ।

२. श्री कृष्ण मन्दिर

रायमाझी टोल क्षेत्रमा अवस्थित यो मन्दिर २०५५ सालमा निर्माण गरिएको हो। श्रीकृष्ण जन्माष्टमीका अवसरमा यहाँ विशेष भीड लाग्ने गर्दछ।

३. खड्का गाउँको प्राचीन गणेश मन्दिर

स्थानीय किंवदन्तीअनुसार यहाँको गणेश मूर्ति माथिल्लो स्थानबाट बगेर आएको मानिन्छ। पछि महादेव, बुढानीलकण्ठ तथा सप्तऋषिका मूर्तिहरूसमेत स्थापना गरिएको छ।

४. भलु भैरव

खड्का गाउँस्थित यो भैरवस्थल प्राचीन धार्मिक स्थलका रूपमा स्थानीय मान्यतामा जीवित रहेको छ।

५. सुवर्ण विनायक

कलङ्कीको पश्चिम क्षेत्रमा अवस्थित यो मन्दिर २०४९ सालमा स्थापना गरिएको हो।

६. भैरव मन्दिर

स्थानीय परम्परामा प्राचीन मानिने अर्को भैरवस्थल।

७. भुटनदेवी मन्दिर

बोक्सदह (बासुकी चौर) क्षेत्रमा अवस्थित प्राचीन देवीस्थान।

८. बासुकी नाग मन्दिर

बासुकी चौरमा रहेको यो नागदेवताको स्थल स्थानीय धार्मिक परम्परामा महत्वपूर्ण मानिन्छ।

९. कुलेश्वर क्षेत्रका धार्मिक सम्पदाहरू

कुलेश्वर क्षेत्रमा अवस्थित प्रमुख धार्मिक सम्पदाहरू—

श्री कुलेश्वर महादेव

कुलः अजिमा (झम्केश्वरी देवी)

श्री गणेश मन्दिर

श्री कुमारी मन्दिर

श्री भगवती मन्दिर

श्री पञ्चकन्या देवी

श्री कुलेश्वर चारधाम

श्री कृष्ण मन्दिर

श्री सरस्वती मन्दिर

श्री कुलेश्वर भगवती

१०. सुनारगाउँ क्षेत्रका धार्मिक स्थलहरू

श्री कालीका मन्दिर

श्री राधाकृष्ण मन्दिर

श्री सर्वेश्वर महादेव

श्री गणेश मन्दिर

११. रविभवन–माछागेट क्षेत्र

श्री हनुमान मन्दिर

श्री सर्वेश्वर महादेव

नागमार्गस्थित देवस्थलहरू

१२. अन्य प्राचीन स्थलहरू

खड्का समुदायको कुलदेवता भीमसेन

काली नागथान

विभिन्न कुमारी, भैरव तथा देवीस्थलहरू

 

धार्मिक सम्पदाले सम्पन्न क्षेत्र

कलङ्की क्षेत्र केवल राजधानीको पश्चिम प्रवेशद्वार मात्र नभई विभिन्न शक्ति, गणेश, भैरव, नाग, कुमारी तथा वैष्णव परम्पराका देवस्थलहरू रहेको धार्मिक एवं सांस्कृतिक सम्पदाले सम्पन्न क्षेत्रका रूपमा परिचित छ। यहाँका मन्दिरहरूले स्थानीय समुदायको धार्मिक आस्था, सामाजिक एकता तथा सांस्कृतिक निरन्तरतामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

(स्रोत : “श्री कलङ्कीमाई प्रवाह” (२०५९) तथा स्थानीय मौखिक परम्परा)

 

निष्कर्ष

 

कलङ्की क्षेत्र केवल काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वार मात्र नभई ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा तान्त्रिक परम्पराको महत्वपूर्ण केन्द्र रहेको तथ्य यस अध्ययनबाट स्पष्ट हुन्छ। प्राचीन न्हेपंखा क्षेत्रको अधिष्ठात्री देवीका रूपमा पूजित कल्खु बालकुमारी अजिमा अर्थात् श्री कलङ्की माताको नामबाट नै यस क्षेत्रको नामकरण भएको स्थानीय परम्परा, शिलालेखीय प्रमाण तथा जनविश्वासले संकेत गर्दछ।

 

वि.सं. १९६४ सालको शिलालेखमा उल्लिखित “श्री कलंखु बालकुमारी” नामले कलङ्की माताको मौलिक पहिचानलाई पुष्टि गर्दछ। कालान्तरमा यही नाम अपभ्रंश हुँदै “कलङ्कीमाई” तथा “कलङ्की माता” का रूपमा प्रचलित भएको देखिन्छ। यसबाट क्षेत्रको नाम देवीबाट रहन गएको देखिए पनि यसको थप अभिलेखीय अध्ययन आवश्यक रहेको छ।

 

कलङ्की मन्दिर केवल पूजा–आराधनाको स्थल मात्र नभई स्थानीय समाजको सांस्कृतिक जीवन, गुठी परम्परा, कुलायन पूजा, जात्रा, क्षमा पूजा, भजन, कथा वाचन तथा सामुदायिक एकताको केन्द्रका रूपमा विकसित भएको पाइन्छ। कलह, अशान्ति तथा कलङ्क निवारण गर्ने देवीका रूपमा कलङ्की माताप्रतिको श्रद्धा आज पनि स्थानीय समाजमा जीवन्त रहेको छ।

 

यस अध्ययनका क्रममा प्राप्त किंवदन्ती, जनश्रुति, मौखिक इतिहास, शिलालेखीय प्रमाण तथा स्थानीय परम्पराहरूले कलङ्की क्षेत्रको समृद्ध सांस्कृतिक विरासत उजागर गरेका छन्। तथापि यस क्षेत्रको उत्पत्ति, शक्तिपीठीय सम्बन्ध, तान्त्रिक परम्परा तथा नेपालमण्डलभित्रको स्थानबारे थप गहिरो अनुसन्धानको आवश्यकता अझै रहेको देखिन्छ।

 

यसर्थ, कलङ्की क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, अभिलेखीकरण र भावी पुस्तामा हस्तान्तरण गर्नु हाम्रो साझा दायित्व हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ।

 

उपसंहार

 

नेपालमण्डलका धेरै प्राचीन सम्पदाहरूझैँ कल्खु बालकुमारी अजिमा अर्थात् श्री कलङ्की माताको इतिहास पनि किंवदन्ती, जनविश्वास, मौखिक परम्परा र सीमित अभिलेखीय प्रमाणहरूको आधारमा आजसम्म जीवित रहँदै आएको छ। ती सम्पदाहरूको संरक्षण र अध्ययन नगर्ने हो भने भविष्यमा हाम्रो सांस्कृतिक पहिचानका धेरै महत्वपूर्ण पाटाहरू हराएर जाने सम्भावना रहन्छ।

 

यस पुस्तक तयार गर्ने क्रममा प्राप्त सामग्रीहरू विभिन्न शिलालेख, प्रकाशित पुस्तक, स्थानीय अभिलेख, ज्येष्ठ नागरिकहरूको स्मृति, मौखिक परम्परा तथा व्यक्तिगत अनुसन्धानमा आधारित छन्। उपलब्ध स्रोतहरू सीमित भएकाले यहाँ प्रस्तुत सबै विषय अन्तिम सत्यका रूपमा नभई थप अध्ययन र अनुसन्धानका आधार सामग्रीका रूपमा लिन अनुरोध गर्दछु।

 

यदि यस कृतिले कलङ्की क्षेत्रको इतिहास, संस्कृति र धार्मिक महत्वबारे पाठकमा जिज्ञासा जगाउन, थप खोज तथा अनुसन्धानका लागि प्रेरणा दिन तथा स्थानीय सम्पदा संरक्षणप्रति सचेतना अभिवृद्धि गर्न सकेको खण्डमा यस प्रयासलाई सफल ठानेको हुनेछु।

 

यो कृति तयार पार्ने क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सूचना, सुझाव तथा प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै कल्खु बालकुमारी अजिमा श्री कलङ्की माताको दिव्य कृपा सबै श्रद्धालु, पाठक तथा सम्पूर्ण समाजमा सदैव रहिरहोस् भन्ने प्रार्थना गर्दछु।

 

जय श्री कल्खु बालकुमारी अजिमा ।

जय श्री कलङ्की माता ।

 

– प्रकाशमान शिल्पकार

 

परिशिष्ट : श्री कलङ्की मातासम्बन्धी भजन सङ्ग्रह

 

 🎶 श्री कलङ्कीमाई भक्ती भजन 🎶

इन्द्रमती मनमती बीच उचाइमा,

न्हेपंखा डाँडामा वास तिमीको छ,

पूर्वमुखी दिव्य ज्योति फैलाउँदै,

कलह र कलङ्क सबै नास  गर्ने शक्ति तिमीमा छ ।।

जय जय कलङ्कीमाई, अजिमा माताभगवती,

दुःख हरि सुख बरषाऊ, हे हाम्रो जननी ।।

बालकुमारी रूप लिएर,

भक्तको मनमा बास गर्‍यौ,

कल्खु अजिमा नामले चिनिँदा,

संसारमा कीर्ति फैलायौ ।।

कालान्तरमा कल्खु अजिमा नाम बदलिँदै कलङ्कीमाई हुँदै,

न्हेपंखा तिम्रो नामबाट कलङ्की नै रहन गयो,

तिम्रो महिमा सम्झिँदै सबैले,

यो धर्ती पावन भयो ।।

जय जय कलङ्कीमाई, अजिमा माताभगवती,

कलह र कलङ्क नाश गर, रक्षा गर जननी ।।

इन्द्रमतीको पावन धारा,

मनमतीको मधुर बहाव,

बीचमा तिम्रो दिव्य आसन,

देवभूमि जस्तै बनायौ ।।

दुःखीका आँखा आँसु पुछ्ने,

आशा दिने शक्ति तिमी,

श्रद्धा र भक्ति चढाउँछौं हामी,

सदा रहोस् कृपा तिमी ।।

जय जय कलङ्कीमाई, न्हेपंखाकी अधिष्ठात्री,

हामी सबैका हृदयभित्र, बसिरहूँ हे मातृशक्ति ।।

                    ~०~

 

 🎶  कलङकी मन्दिर 🎶

कलङ्की मन्दिर पवित्र थलो.

जहां देवी बस्नुहुन्छ त्यहां हुन्छ भलो । 

धुपको वासना, मन्दिरको शान्त, 

हृदयमा भरिन्छ श्रद्धा अनन्त ।

कलङ्की मन्दिर पवित्र थलो.

कलङ्की मन्दिर पवित्र थलो.

जहां देवी बस्नुहुन्छ त्यहां हुन्छ भलो । 

धुपको वासना, मन्दिरको शान्त, 

हृदयमा भरिन्छ बद्ध अनन्त ।

कलङ्की मन्दिर पवित्र थलो.

कलङ्की मन्दिर पवित्र थलो.

पहिले जब बाटो थिएन सीधा, 

जंगलले ढाके, थियो डर र पिडा ।

ती यात्रु आउँथे चाकेर धेरै,

 देबीको चरणमा बगाउँथे बेदना सधैं ।

कलङ्की मन्दिर पवित्र थलो.

कलङ्की मन्दिर पवित्र थलो.

घण्टी बच्छ, गुञ्जिबन्छ धुन, 

भजनमा लय स्वरमा जुन ।

बृद्धबृद्धा ती श्रद्धामा लीन, 

देवीको नाममा देखिन्छ छवि उज्वल, शुद्ध र चिना ।

कलङ्की मन्दिर पवित्र थलो.

कलङ्की मन्दिर पवित्र थलो.

शरीर धाके पनि मनमा बल

आस्था अब्ल, विश्वास अचल ।

माला समाएर गर्छन् स्तुति, 

बोल्छन् वाणी, शुद्ध र गति ।

कलङ्की मन्दिर पवित्र थलो.

कलङ्की मन्दिर पवित्र थलो.

मन्दिरको मूर्ति ढुष्ङ्ग मात्र होइन, 

सदियौँ पछि पनि श्रद्धा छ यो कुरा मान

पुराना कथा, बाँचिरहेका छन् । 

कलंकीका नाममा बगिरहेका छन् ।

कलङ्की मन्दिर पवित्र थलो.

कलङ्की मन्दिर पवित्र थलो.

नमन ती बृद्धहरूलाई हो, 

जुन जिवनभरी देवीमै लीन रहो।

कलंकीको मन्दिर, साँचो पुकार, 

जहाँ हर दिन पाइन्छ शान्तिको सार।

कलङ्की मन्दिर पवित्र थलो.

        ~ केशवप्रशाद तिमल्सिना

                          ~०~

🎶 श्रद्धा र भक्तिको तालमा हृदय देखि सबैले भन श्री कलङ्की मातालाई 🎶

श्रद्धा र भक्तिको तालमा सबैले भन
श्री गणेश गगवानलाई नमस्कार प्रथम चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ श्री गणेश भगवानलाई
हरेराम नमस्कार  छ श्री गणेश भगवानलाई
हरेराम नमस्कार  छ श्री गणेश भगवानलाई
जय श्री कलङ्की माता …. जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
श्री मनकामना मातालाई नमस्कार दोस्रो चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ श्री मनकामना मातालाई
हरेराम नमस्कार छ श्री मनकामना मातालाई
हरेराम नमस्कार छ श्री मनकामना मातालाई
जय श्री कलङ्की माता …. जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
दक्षिणेश्वरी श्री दक्षिणकाली मातालाई  नमस्कार तेस्रो चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ दक्षिणेश्वरी  श्री दक्षिणकाली मालाई
हरेराम नमस्कार छ   दक्षिणेश्वरी  श्री दक्षिणकाली मालाई
हरेराम नमस्कार छ  दक्षिणेश्वरी  श्री दक्षिणकाली मालाई
जय श्री कलङ्की माता …. जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा हृदय देखि सबैले भन
श्री कलङ्की मातालाई नमस्कार  चौथो  चरणमा
श्रद्धा र भक्तिको तालमा हृदय देखी सबैले भन
मनले भन बचनले भन सबैले भन
न मस्कार छ श्री कलङ्की मातालाई
हरेराम नमस्कार छ श्री कलङ्की मातालाई
हरेराम नमस्कार छ श्री कलङ्की मातालाई
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
श्री  महाङ्काल भैरवलाई नमस्कार पाँचौं चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ श्री  महाङ्काल भैरवलाई
हरेराम नमस्कार  छ श्री  महाङ्काल भैरवलाई
हरेराम नमस्कार  छ श्री  महाङ्काल भैरवलाई
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
सङ्कष्ट नासिनी श्री सङ्कटा मातालाई नमस्कार छैथो चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ सङ्कष्ट नासिनी श्री सङ्कटा मातालाई
हरेराम नमस्कार छ  श्री सङ्कटा मातालाई
हरेराम नमस्कार छ  श्री सङ्कटा मातालाई
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
श्री पञ्च भैरवहरुलाई नमस्कार सातौ चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ श्री पञ्च भैरवहरुलाई
हरेराम नमस्कार छ श्री पञ्च भैरवहरुलाई
हरेराम नमस्कार छ श्री पञ्च भैरवहरुलाई
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
श्री क्षेत्रपाल भैवलाई नमस्कार आठौं चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ श्री क्षेत्रपाल भैवलाई
हरेराम नमस्कार  छ श्री क्षेत्रपाल भैवलाई
हरेराम नमस्कार  छ श्री क्षेत्रपाल भैवलाई
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
बाँकी मन्दिर भित्र विराजमान सबै देवीदेवताशरुलाई नमस्कार छ नवौं चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ मन्दिर भित्र विराजमान सबै देवीदेवताहरुलाई
हरेराम नमस्कार  छ ढभग
मन्दिर भित्र विराजमान सबै देवीदेवताहरुलाई
हरेराम नमस्कार  छ बाँकी मन्दिर भित्र विराजमान सबै देवीदेवताशरुलाई
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
नमस्कार छ मन्दिरको ढोकामा विरजमान श्री कुमार भगवानलाई दसौं चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ श्री कुमार।भगवानलाई
हरेराम नमस्कार  छ श्री कुमार भगवानलाई
हरेराम नमस्कार  छ श्री कुमार भगवानलाई
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
नमस्कार छ,  मन्दिर पछाडी विराजमा श्री कमल भैरवलाई एघारौं  चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ श्री कमल भैरवलाई
हरेराम नमस्कार छ श्री कमल भैरवलाई
हरेराम नमस्कार छ श्री कमल भैरवलाई
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

श्रद्धा र भक्तिको तालमा सबैले भन
नमस्कार छ  श्री कलङ्की माताका सबै भक्तजनहरुमा अन्तिम चरणमा
श्रद्धा र भक्तिको तालमा सबैले भन
मनले भन बचनले भन सबैले भन
नमस्कार छ सबै भक्तजनहरुमा
हरेराम नमस्कार छ सबै भक्तजनहरुमा
हरेराम कृपा पाउन् श्री कलङ्की माताको सबै भक्तजनहरुले
हरेराम कृपा पाउन् श्री कलङ्की माताको सबै भक्तजनहरुले
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता
जय श्री कलङ्की माता …… जय श्री कलङ्की माता

                             ~०~

🎶  शान्तिको मार्गमा हिड्न पाउँ,  ज्ञान पाँउ , भक्ती पाँउ  कलङ्की आमाकसरी भजूँ 🎶

शान्तिको मार्गमा हिड्न पाउँ,  ज्ञान पाँउ , भक्ती पाँउ  कलङ्की आमा
कसरी भजूँ आमाको भजन
तिम्रो नाम अनेकौं छन्
महिमा छ अपरम्पार
तिम्रो बेद र भेद अनेकौं छन्
जानौ कसरी ?

शान्तिको मार्गमा हिड्न पाउँ,  ज्ञान पाँउ , भक्ती पाँउ  कलङ्की आमा
कसरी भजूँ आमाको भजन

तिमी हौ जगदेश्वरी जगदम्बे आमा
भक्तको रक्षा गर्न आयौं धर्तिमा
हातमा त्रिशूल निधारमा त्रिनेत्र
संकत दुर गरी लगाउछौ पार

शान्तिको मार्गमा हिड्न पाउँ,  ज्ञान पाँउ , भक्ती पाँउ  कलङ्की आमा
कसरी भजूँ आमाको भजन

लोभ र पापको संसारमा
ज्ञान छैन
कर्मको पछि लाग्दा भजन गर्ने ध्यान छैन

शान्तिको मार्गमा हिड्न पाउँ,  ज्ञान पाँउ , भक्ती पाँउ  कलङ्की आमा
कसरी भजूँ आमाको भजन

काम क्रोध, माँया मोह
सवै रहेछन् बन्धन
त्यही वाध्येताले वाध्यो कसरी
कसरी गरौ भजन

शान्तिको मार्गमा हिड्न पाउँ,  ज्ञान पाँउ , भक्ती पाँउ  कलङ्की आमा
कसरी भजूँ आमाको भजन

संघर्षका पाईला कहाँसम्म हो
हृदय रसायको वेला कलङ्की आमा
भन्छु भक्ति पाउँ आमा

शान्तिको मार्गमा हिड्न पाउँ,  ज्ञान पाँउ , भक्ती पाँउ  कलङ्की आमा
कसरी भजूँ आमाको भजन

भक्ति शब्द~ रमिला श्रेष्ठ

               ~०~

 🎶ॐ जय श्री कलङ्की माता  जय श्री कलङ्की माताॐ जय श्री कलङ्की माता  – आरती 🎶

ॐ जय श्री कलङ्की माता           जय श्री कलङ्की माता
ॐ जय श्री कलङ्की माता   

तिमी नै तुलजा भवानी   तिमी नै दुर्गा भवानी   तिमी नै हो  पालनकर्ता
कलह र कलङ् नासिनी हे कलङ्की माता
आरती गर्छौ  तिम्रो हामी धूप दिप  र अष्टसुगन्ध सहित मनको दियो बाली
ॐ जय श्री कलङ्की माता           जय श्री कलङ्की माता
ॐ जय श्री कलङ्की माता   

तिमी नै महाकाली      तिमी नै महासरस्वती        तिमी नै महालक्ष्मी  हो 
कलह र कलङ् नासिनी हे कलङ्की माता
आरती गर्छौ  तिम्रो हामी भावभक्तीले अश्रुको धाराको वर्षा गरी
ॐ जय श्री कलङ्की माता           जय श्री कलङ्की माता
ॐ जय श्री कलङ्की माता   

तिमी नै  हो जगत जननी हे जगत माता    तिमी नै हो करुणाकी सागर  तिमी नै हो विधाता
कलह र कलङ् नासिनी हे कलङ्की माता
आरती गर्छौ  तिम्रो हामी श्रद्धा र भक्तीले जानी नजानी  मनको भाव खोली
डम डम डमरु बजाई सङ्ख ध्वनी गर्दै चम्मर हम्केर
आरती गर्छौ  तिम्रो हामी श्रद्धा र भक्तीले जानी नजानी  मनको भाव खोली  

ॐ जय श्री कलङ्की माता           जय श्री कलङ्की माता
ॐ जय श्री कलङ्की माता

                    ~०~

🎶 कलङ्की आमा, जगदम्बा आमा 🎶
       

कलङ्की आमा
जगदम्बा आमा
शान्ति र सुखमय जिवनमा
मन बाधक हो र अराजक हो
मननै मनको खुद शासक हो
अब जीवन अर्पण गर्छु
दिनरात सदा तिम्रो नाम भजूँ‌  कलङ्की आमा तिम्रो नाम भजूँ

कलङ्की आमा
जगदम्बा आमा
सुविचार भरी सब जीवन यो
अब पार लगाउनुहोस् सबको
महिमा गुणगान सदैव गरूँ
दिनरात सदा तिम्रो नाम भजूँ‌  कलङ्की आमा तिम्रो नाम भजूँ

कलङ्की आमा
जगदम्बा आमा
कसरी म भनूँ भर छैन यहाँ
सजिलो भवसागर छैन यहाँ
तिम्रो नाम जपी अब पार तरूँ
दिनरात सदा तिम्रो नाम भजूँ‌  कलङ्की आमा तिम्रो नाम भजूँ

कलङ्की आमा
जगदम्बा आमा
सुनियोजित भाग्य चराचरको
छ निगाह सदा विधाताको
अब मोह र लालच छोड्न सकूँ
दिनरात सदा तिम्रो नाम भजूँ‌  कलङ्की आमा तिम्रो नाम भजूँ

कलङ्की आमा
जगदम्बा आमा
अभिमान गरेर जितिन्छ र के
सुख शान्ति कमाउनु पर्छ सके
व्यभिचार हटोस्  स्वच्छ बनूँ
दिनरात सदा तिम्रो नाम भजूँ‌  कलङ्की आमा तिम्रो नाम भजूँ

(नोट- शब्दहरु अविनास सापकोटको  “हरी वन्दना” बाट सापटी लिएको)

                 ~०~

🎶 तिमी हो दिव्यश्वरी आमा हृदयको फूल लिएर आएका छौ तिम्रो चरण   हुन्न नभन है …  आमा   हुन्न नभ न 🎶

 

जय जय कलङ्की आमा
जय जय कलङ्की आमा
तिमी हो दिव्यश्वरी आमा
हृदयको फूल लिएर आएका छौ तिम्रो चरण     
हुन्न नभन है …  आमा   हुन्न नभ न

जय जय कलङ्की आमा
जय जय कलङ्की आमा
तिम्रो नामको पुकार गर्दा
शिर झुकाउछन्  अगाडि पर्दा
भक्तहरुले आसाको दियो बाल्दा
साकार गर्छौ संकल्प कर्ता
हृदयको फूल लिएर आएका छौ तिम्रो चरण     
हुन्न नभन है …  आमा   हुन्न नभ न

जय जय कलङ्की आमा
जय जय कलङ्की आमा
संसारको रचना हेर्छु वरिपरि
तिम्रो आशीर्वाद सधैं अजम्बरी
सौन्दर्यताको खानी वर्णन गरुँ कसरी
अपार माँया पाउन सधैं हामी प्यासी
हृदयको फूल लिएर आएका छौ तिम्रो चरण    
हुन्न नभन है …  आमा   हुन्न नभ न

जय जय कलङ्की आमा
जय जय कलङ्की आमा
तिमी हौ सबैको  पालन कर्ता
दुःख हर्ता सुख कर्ता
पुर्णेको जुन सरी
भक्तहरुको गर्छौ कार्य सिद्धि
हृदयको फूल लिएर आएका छौ   तिम्रो   चरण     
हुन्न नभन है …  आमा   हुन्न नभ न

जय जय कलङ्की आमा
जय जय कलङ्की आमा
मंगल मुर्ति  हितकारी सबैकी
आस्थामा सवारी
तिम्रो नाम मा मिल्छ आ पत मुक्त
आनन्दता तिमी हौ विश्वकी विधाता
हृदयको फूल लिएर आएका छौ तिम्रो चरण     
हुन्न नभन है …  आमा   हुन्न नभ न

जय जय कलङ्की आमा
जय जय कलङ्की आमा
हृदयमा अचानक घाउ लाग्दा
तिम्रो नाम मेरो मलम बनोस्
जिन्दगीको भारी गह्रौँ हुदा
तिम्रो दिव्य मुहारको याद आवस्
हृदयको फूल लिएर आएका छौ तिम्रो चरण     
हुन्न नभन है …  आमा   हुन्न नभ न
जय जय कलङ्की आमा
जय कलङ्की आमा
  

© भक्ति शब्द ~ रमिला श्रेष्ठ
        ~०~

 🎶 चन्चली  कलङ्की आमा तिमी छैनौ ठिर, तिम्रो सामु झुक्दछ सबैको शिर 🎶

चन्चली  कलङकी आमा तिमी छैनौ ठिर
तिम्रो सामु झुक्दछ सबैको शिर

तिम्रो शरणमा आउन चाहन्छन्
दश औला जोड्न चाहान्छन्
आँखाले स्वरुप देख्न चाहान्छन्
वर्णन तिम्रो गर्न चाहान्छन्

चन्चली  कलङकी आमा तिमी छैनौ ठिर
तिम्रो सामु झुक्दछ सबैको शिर

अवस्था हेरी  आफ्नो रुप फेर्छौ
त्रिशूल बोकी सिंहमा राज गर्छौ
पुजाको विधिमा रम्दैनौ तिमी
आस्थाको दोली कहाँ छ भनी

चन्चली  कलङकी आमा तिमी छैनौ ठिर
तिम्रो सामु झुक्दछ सबैको शिर

संकल्प मनमा भक्तले राख्दा
हृदयसि आमा  तिमीलाई पुज्दा
हतेर जानेछ बिघ्न बाधा
लिएर आउछन् धन्नेवादको गाँठा

चन्चली  कलङकी आमा तिमी छैनौ ठिर
तिम्रो सामु झुक्दछ सबैको शिर

सर्वव्यापी आमा  तिमी भक्तहरुको
पानीमा दूध छुट्याउन सक्नहरुको
अदृस्य नाता तिमीमा रहे छ
दिव्य ज्योति  तिमी नैहेछ

चन्चली  कलङकी आमा तिमी छैनौ ठिर
तिम्रो सामु झुक्दछ सबैको शिर

                                भक्ति शब्द ~ रमिला श्रेष्ठ

                   ~०~

 🎶 जगत जननी हे कलङ्की    आमा शरन पर्छौ हामी   🎶

जगत जननी हे कलङ्की आमा
शरन पर्छौ हामी
भक्ती गर्छौ तिम्रो  आमा हामी जानीनजानी
के चढाऊँ कलङ्की आमा तिमी लाई हामी
अश्रुको धारा बगाई पखाल्छौ चरण तिम्रो हामी

जगत जननी हे कलङ्की आमा
शरन पर्छौ हामी
भक्ती गर्छौ तिम्रो  आमा हामी जानीनजानी

न्हेपंखाकी अधिस्थात्रि तिमी  
कलङ्क नासिनी   तिमी
कर खुसी र डानगा खुसीको बिचमा बस्छौं  तिमी
कल्खु अजिमा नाम भएकी जननी माई तिमी

जगत जननी हे कलङ्की आमा
शरन पर्छौ हामी
भक्ती गर्छौ तिम्रो  आमा हामी जानीनजानी

जगत जननी हे कलङ्की आमा
शरन पर्छौ हामी
भक्ती गर्छौ तिम्रो  आमा हामी जानीनजानी

जगत जननी हे कलङ्की आमा
शरन पर्छौ हामी
भक्ती गर्छौ तिम्रो  आमा हामी जानीनजानी

                   ~०~

🎶 आमा तिमी हौ भक्त की रानी   🎶

जय जय जय श्री कलङ्की आमा
जय जय जय श्री कलङ् की आमा
आमा तिमी हौ भक्त की रानी
आस्था गर्ने गर्छन् सबैले
विस्वासले झुकाउने छन् सिर पनि
जय जय जय श्री कलङ्की आमा

आफ्नो हृदयको भक्ति अनुसारको
दर्शन दिन्छौ तिमीले
धेरै अनुभव  गरेकाछन् भक्तहरुले
वताउन सक्छन्  उदाहरण अहिले
जय जय जय श्री कलङ्की आमा

तिम्रो स्वरुप यो वाहीरी आँखाले देखिदैन
लिला  कस्तो वर्णन गर्नै सकिँदैन
वालक वा वृद्ध छिन मै भैदिन्छौ
एक त्रिसूलमा अर्ध नागेश्वर स्वरुपमा  भैदिन्छौ
जय जय जय श्री कलङ्की आमा

कस्तो खाले रुप र रंग तिम्रो
इन्द्रेणी सप्त रंगीनले पोतेको जस्तो
तिम्रो सामु वाहीरी आँखा खुल्दैन
मनको द्वन्द्व तिमी बाहेक अरुले बुझ्दैन
जय जय जय श्री कलङ्की आमा

धन्ने हुन्छन् आमा  तिम्रो दर्शनले
खुसी  शान्त पाईयोस् सवैको मनले
हृदयको भाव वग्छ तिम्रो काखमा
आस्थाले शिर झुकाउनु पर्छ तिम्रो चरणमा
आस्थाले शिर झुकाउनु पर्छ तिम्रो चरणमा त

जय जय जय श्री कलङ्की आमा
जय जय जय श्री कलङ्की आमा
     
                  भक्ती शब्द ~ रमिला श्रेष्ठ


              ~०~

🎶  मेरो योहृदयको मन्दिरमा   ज्ञानको ज्य‍ोती जगाई दिनु  होस् हे कलङ्की आमा   🎶

 

मेरो यो
हृदयको मन्दिरमा   ज्ञानको ज्य‍ोती जगाई दिनु  होस् हे कलङ्की आमा

न्हेपंखाकी स्वामीनी भगवती षोडशीको आसन रुपी
पञ्च प्रेतासनमा बसेकी देखिएकी हे कलङ्की आमा
अन्धकारमय मेरो यो हृदयको मन्दिरमा ज्ञानको  ज्योती जगाई दिनुस्  आमा

श्रद्धा र भक्ति गर्दै जानीनजानी  पुकार गर्छु तिमि लाई  हे आमा
मेरो यो हृदयको मन्दिरमा ज्ञानको ज्य‍ोती जगाई दिनु होस् हे कलङ्की आमा

ल‍ोकजनले तिमि लाई बालकुमारी कलङ्की माई भन्दै पुजा गर्ने गर्छन् हे आमा तिमिलाई
कल्खु अजिमा   भै   लोकजनको रक्षा गर्दै
भक्तजनको संरक्षक  भै  आएका छौ तिमी  हे  कलङ्की आमा

अज्ञानी बालक हुँ म  ज्ञानको ज्योती जगाई दिनु   होस्  आमा
श्रद्धा र भक्ति गर्दै जानीनजानी  पुकार गर्छु तिमि लाई  हे आमा
मेरो यो हृदयको मन्दिरमा   ज्ञानको ज्य‍ोती जगाई दिनुस् हे कलङ्की आमा

पुर्वाभिमुख भै मनमती र ईन्द्रमती नामको दुई खोलाको बिच न्हेपंखाको   मध्य  उचाईमा विराजमान छौ   तिमी  हे आमा
कलह र कलङ्क नासिनि अनि दुई खोलाको   मध्यभाग   विराजमान भएर कल्खु अजिमा बनी लोकजनको कलह र कलङ्क नास गर्दै आएका छौ हे आमा तिमिले

श्रद्धा र भक्ति गर्दै जानीनजानी  पुकार गर्छु तिमि लाई  हे आमा
मेरो  यो  हृदयको मन्दिरमा ज्ञानको ज्य‍ोती जगाई दिनु होस्
हे कलङ्की आमा

कृपा होस् हे आमा  म अनाथमा माथी
दया होस् हे आमा   म अबोध बालक माथी
अश्रुको धारा बगाई धुप दिप बाली
श्रद्धा र भक्ति गर्दै जानीनजानी  पुकार गर्छु तिमि लाई  हे आमा
मेरो यो हृदयको मन्दिर   ज्ञानको ज्य‍ोती जगाई दिनु होस् हे कलङ्की आमा

ज्ञानको ज्य‍ोती जगाई दिनु होस् हे कलङ्की आमा
मेरो  यो हे कलङ्की   आमा

हे  कलङ्की आमा

मेरो यो
हृदयको मन्दिरमा   ज्ञानको ज्य‍ोती जगाई दिनु  होस् हे कलङ्की आमा

       ~०~

🎶 कालो ….कालो केश तिम्रो कति सुन्दर मुहार रुपै छ क्या राम्रो आमा……..   🎶

 

कालो ….कालो केश तिम्रो
कति सुन्दर मुहार
रुपै छ क्या राम्रो आमा……..
भक्तजनलाई शरणमा लिने
सुन्छौ पूकार हाम्रो आमा …..

हे कलङ्की आमा ……………

जगतका प्राणी भक्ती गर्छन तिमी बुझीदेउ तिमीले भेद भाव छैन सवलाई समान गर्छ
हे आमा तिमीले …आमा

धुप दिप जलाई फलफूल चढाई
त्यो तिम्रो नाउमा आमा ………
शीर झुकाई गर्दछु प्रणाम तिम्रो पाउमा
हे …….. कलङी आमा ….

हे आमा तिम्रो श्वरुप छ राता तल्कीन्छ तलल
भक्तहरु आई धुप दिप जलाई पार्दछन् … आमा…… पार्दछन् झलनल..कलङ्की आमा …

माग्दछु हर्दम तिम्रै शक्ती ..बदाउदै भक्ती
  नस्त गरिदेउ भवको वन्दन
सवलाई गरिदेउ मुक्ती आमा……
हे….कलङ्की आमा ……….

               ~०~
श्री कलङ्की आमाको पहिलो भजन
भक्ति शब्द – दुर्गा बुढाथोकी

       

श्री कलङ्की आमाको पहिलो भजन

भक्ति शब्द – दुर्गा बुढाथोकी

                       ~०~

Leave a Reply

Your email address will not be published. Required fields are marked *