Skip to content


सम्बन्ध भन्ने कुरा पनि विचित्रकै हुँदोरहेछ । कतै कसैसँग बनाऊँ भन्दा पनि नबन्ने, कतै त्यत्तिकै पत्तै नपाई बन्ने । चितवनसँग पनि मेरो सम्बन्ध ख्यालख्यालमै निकै गाढा भइसकेछ । यो सम्बन्ध कुनै नातागोताको होइन, स्वार्थरहित ढङ्गले त्यत्तिकै बनेको मात्र साहित्यिक सम्बन्ध । मैले चितवनवासीबाट आजीवन नभुल्ने खालका थुप्रै माया र सम्मान पाएको छु । यसैले होला मैले एकल र सपरिवार अनेकपटक चितवनको यात्रा गरेको । जीवनमा गरिएका सबै यात्राहरू उत्तिकै स्मरणीय हुँदैनन् तर चितवनमा गरिएका धेरैवटा यात्रा अविस्मरणीय छन् । त्यसमध्येको एउटा हो- वि.सं. २०६२ पुुसमा पुरस्कार ग्रहण गर्ने सिलसिलामा गरिएको यात्रा… ।

चितवन साहित्य परिषद्द्वारा प्रत्येक दुई वर्षमा सर्वोत्कृष्ट कृतिका लागि प्रदान गरिने कृष्णाकुमारी गुरुङ स्मृति पुरस्कार २०६२ सालमा मेरो कृति कविताको संरचनात्मक विश्लेषणलाई प्रदान गर्ने निर्णय भएछ । चितवन साहित्य परिषद्का अध्यक्ष केदार खनालले एकदिन बेलुका फोन गरेर सो पुरस्कार मलाई प्रदान गर्ने निर्णय भएको कुरा सुनाउँदा म छक्क परेको थिएँ । त्यसबेलासम्म उहाँसँग मेरो खासै चिनजान पनि थिएन । नेपालमा विनाचिनजान पुरस्कार, सुन्दै अचम्म… । मैले उहाँलाई फोनमै सोधेँ- मैले किताब बुझाएकै थिएन, मलाई किन र कसरी दिनुभयो यो पुरस्कार ?’ उहाँले बडो नरम पारामा भन्नुभयो- हजुुरले किताब यहाँ नपठाएर के भो त ? छापिएर बजारमा त आएकै थियो । राम्रो चीजको सुगन्ध त्यतिकै फैलिहाल्छ नि । पुस्तक छापिएको कुरा समाचारमा समेत आएको थियो भने त्यसबारे अनेक चर्चा-परिचर्चा पनि सुनिएकै हुन् । मदन पुरस्कार पाउने हल्लासमेत चलिसकेको यस्तो महत्त्वपूर्ण कृतिलाई पुरस्कृत गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । नाइँ नभनी दिनुहोला ।’ उहाँको कुरालाई मैले त के यमराजले पनि काट्न सक्ला जस्तो लागेन । मैले पुरस्कार स्वीकार गर्ने कुरा बताएपछि उहाँ सारै खुसी हुनुभयो । त्यतिखेर चितवनबाट फोनका फोहरा नै छुटेका थिए ।

केही दिनपछि केदारजी सोध्दैखोज्दै मेरो घरमा निम्तापत्र लिएर आइपुग्नुभयो । मैले हर्षविभोर हुँदै भनेँ- टेलिफोनमा कुरा भएकै थियो, यहाँसम्म किन दुःख पाउनु पथ्र्यो र ?’ उहाँ पनि कुरा गर्न बिछट्टै सिपालु हुनुहुँदोरहेछ, केश त्यसै फुलेका होइन रहेनछन् । उहाँले भन्नुभयो- हामीले हजुरको यति विशिष्ट व्यक्तित्वलाई पनि त उच्च सम्मान गर्नुपर्‍यो नि ।’ उहाँ मलाई मात्र नभई चुलै निम्ता गरेर र्फकनुभयो । चितवन जान पाइने भो भनेर केटाकेटी सबै मख्ख । हिमतुल्य केशराशिले सुशोभित त्यो हँसिलो मुहारको भद्र र भव्य व्यक्तित्व निम्ता गर्नकै लागि एक्कासि घरमै आइपुग्दा मलाई आफू सम्मानित भइसकेजस्तो लाग्यो ।

वि.सं. २०६२ पुस २६ गते बिहान साढे दस बजेतिर हामी सपरिवार चितवनतर्फ प्रस्थान गर्‍यौँ । चितवनबाट हामीलाई लिन आएका लक्ष्मण गौतमले मुग्लिनका रसिला सुन्तला खुवाउँदै बडो रमाइलाका साथ चितवन पुर्‍याए । साढे दुई बजेतिर चितवनमा ओर्लिंदा थुपै्र व्यक्तिहरूबाट हाम्रो भव्य स्वागत भयो । हामी केहीबेर लक्ष्मण गौतमकहाँ बसी त्यहाँका तत्कालीन प्रजिअ साहित्यकार मित्र नरेन्द्रराज पौडेलको सौजन्यमा तय गरिएको बासस्थान विद्युत् गेस्टहाउसमा पुग्यौँ । गेस्टहाउसलाई प्रजिअको आदेशमा सारै चिटिक्क पारिएको रहेछ, ओढ्ने ओछयाउने मात्र नयाँ होइन कोठा नै सिँगारेर नयाँ जस्तै बनाइएको रहेछ । हामीले त्यहीँ आनन्दपूर्वक रात बितायौँ ।

मलाई पुरस्कार दिने दिन थियो पुस २७ गते । कार्यक्रमको आयोजकद्वय नेराप्रप्र र चितवन साहित्य परिषद् रहेछन् । बालकुमारी कलेजको हलमा भव्य कार्यक्रमका बीच मेरो सम्मान-अभिनन्दन गरियो । मानिसहरूको उपस्थिति पनि अद्भूतै थियो । अधिकांशतः नचिनेका व्यक्तिहरूबाट सम्मान पाउँदाको मजा नै अर्को हुँदोरहेछ । कार्यक्रमको सभापति केदारजी, प्रमुख अतिथि गोविन्दजी, विशिष्ट अतिथि नरेन्द्रजीलगायत हामीलाई भव्य मञ्चमा आसन ग्रहण गराइयो । कार्यक्रम सञ्चालक सुरेन्द्र अस्तफलले सम्मान र पुरस्कार ग्रहण गर्नका लागि मेरो नाम उद्घोषण गरेपछि हलका सम्पूर्ण व्यक्तिहरू उठेर ताली बजाइरहेको दृश्य कम आनन्ददायी थिएन । दोसल्ला ओढाउने, माला लगाइदिने, ताम्रपत्र र नगद राशि दस हजार एक प्रदान गर्ने काम बेग्लाबेग्लै विशिष्ट व्यक्तित्वहरूबाट भयो । त्यसबेला अबिर र फूलको वषर्ा नै भएको थियो । हरिहर खनाल, गायत्री श्रेष्ठ, सरस्वती रिजाललगायतका वरिष्ठ-कनिष्ठ सबै साहित्यकारहरूबाट लाइन लागेरै फूलमाला र अबिरका साथ मलाई हार्दिकतापूर्वक सम्मान गरियो । त्यहाँ कतै दलीय गन्ध थिएन, तालीको गडगडाहट र प्रसन्नता मात्र थियो । सञ्चारकर्मीहरू फोटो खिच्न त्यत्तिकै व्यस्त । यस्तो हार्दिक सम्मान कमैले कमै ठाउँमा मात्र पाउँछन् । यस्तो विशिष्ट सम्मान पाउँदा खुसी नलाग्ने कुरै भएन । सम्मान र पुरस्कार ग्रहण गरिसकेपछि बोल्ने क्रम सुरु भयो । मेराबारेमा लक्ष्मणजी, नरेन्द्रजी, गोविन्दजी, विनोदीजीलगायतले प्रशंसै-प्रशंसाका पुष्पवृष्टि नै गर्नु भयो । मलाई आफू त्यति प्रशंसायोग्य व्यक्ति भइसकेको जस्तो लागेकै थिएन तर भइसकिएछ । प्रशंसा सुन्दा नरमाइलो लाग्ने कुरा पनि त भएन नि । कार्यक्रम पनि साढे एघारदेखि साढे पाँचबजेसम्म चल्यो । कार्यक्रमभर कोही पनि बाहिर निस्किएनन् । कार्यक्रम सकेर बाहिर निस्कँदा सबका सबले हार्दिकतापूर्वक बधाइ दिए । त्यहाँ यति भव्य सम्मान कार्यक्रम यसअघि कहिल्यै नभएको कुरा पनि सुनियो । मैले अन्यत्र थुप्रै सम्मान पाएको भए पनि अन्यत्रभन्दा त्यहाँ सम्मान पाउँदा अर्कै प्रकारको सुखद अनुभूति भयो । वास्तवमा त्यस कार्यक्रमको दृश्य मस्तिष्कमा सदैव ताजै रहने खालको थियो ।

अर्काे दिन केटाकेटी रत्ननगर महोत्सव र मौरी मेला हेर्न गए । मचाहिँ दिनभर शैक्षिक-प्राज्ञिक छलफलमै व्यस्त भएँ ।

त्यसको भोलिपल्ट हामी र्फकने विचारमा थियौँ तर महेश संस्कृत गुरुकुल विद्यापीठ महेश सन्न्यास आश्रम देवघाटबाट मकर काव्ययामिनीको प्रमुख आतिथ्यका लागि विशेष आग्रह भएकाले हामी त्यहाँ नगई धरै पाइएन । माघे सङ्क्रान्तिमा देवघाटमा भव्य मेला लाग्ने कुरा सुनेपछि त झन् केटाकेटी पनि त्यो मेला भर्न लालायित देखिए । सबैको आग्रहअनुसार हामी त्यहाँ जानैपर्ने भयो । चितवनबाट देवघाट जानेको भीडभाड उत्पातै थियो । हामीलाई त्यहाँ घुम्नका लागि नरेन्द्रजीको सौजन्यमा छुट्टै गाडी दिइएकाले भीडभाडको झमेलाबाट पनि हामी मुक्त थियौँ । लक्ष्मणजी, केदारजीलगायतका साथीहरूलाई लिएर हामी बेलुकातिर देवघाटधामको विद्यापीठमा पुग्यौँ । त्यहाँका पि्रन्सिपल, शिक्षक र विद्यार्थीहरूबाट हाम्रो भव्य स्वागत भयो । त्यहाँ मेरा विद्यार्थीहरू पनि भेटिए, नाम नजाने पनि अनुहारले विद्यार्थी हुन् भन्ने पक्का थियो । केही क्षण देवघाटधामको दृश्यावलोकन गरियो ।

वैदिक सनातन धर्मको संरक्षण, सम्बर्दन तथा संस्कृत विद्याको प्रचारप्रसारका लागि गुरुकुल सञ्चालन गर्ने र आध्यात्मिक चेतनाको विकासद्वारा समाजसेवा गर्ने पवित्र उद्देश्यबाट वि. सं. २०५० सालमा महेश सन्न्यास आश्रम तथा वि. सं. २०५२ सालमा महेश संस्कृत गुरुकुलको स्थापना गरिएको जानकारी पाइयो । धार्मिक दृष्टिले मात्र नभएर ऐतिहासिक र पुरातात्त्विक दृष्टिले समेत देवघाटधामलाई एउटा पवित्र तीर्थस्थल मानिन्छ । नेपालकै एउटा सुन्दर ठाउँमा गणना हुने देवघाटलाई थप सुन्दर बनाउन स्वामी रामानन्द गिरीको विशिष्ट भूमिका रहेछ । त्यहाँको विकासका लागि गिरीजीको ठूलै योगदान रहेको कुरा सबैका मुखबाट सुनियो । त्यहाँ विद्यालय भवनका साथै विद्येश्वर शिव मन्दिरलगायत भव्य मन्दिरहरू समेत बनाइएका रहेछन् । त्यहाँ नियमित आध्यात्मिक प्रवचनका साथै विशेष अतिथिसेवाको समेत उत्तम प्रबन्ध गरिएको रहेछ । शैक्षिक र धार्मिक दुवै दृष्टिले उल्लेख्य त्यस ठाउँमा तल्लो तहदेखि आचार्यसम्मको पठनपाठन आवास सुविधासहित निःशुल्क हुँदोरहेछ । त्यस ठाउँलाई विद्याश्रम नै बनाइएको अनुभूति भयो । यो बनाउनमा रामानन्द गिरीजीको भूमिका ज्यादै सह्राहनीय लाग्यो । प्राकृतिक सुन्दरता र मनोरम दृश्यको त कुरै नगरौँ, वन-जङ्गल र तीन नदीको एकीकृत सङ्गम शीतलता अवर्णनीय छ ।

यी सबै दृश्यावलोकन गरिसकेपछि बेलुका त्यहीँ आश्रममा खाना खाइयो- बडो अचम्मसँग पण्डित पाराले पिरामा बसेर । धेरैले धोती फेरेका थिए । हामी उति थिति नभएका अतिथिलाई त्यस्तो बाध्यता थिएन । त्यहाँ आउने सम्पूर्ण पाहुनाहरूलाई लाइनमा राखेर तरुलको तरकारीसँग भात खुवाएको दृश्य बडो रोमाञ्चक थियो । खानपिनपश्चात् बेलुकी नौ बजेतिर तेस्रो मकर काव्ययामिनीमा प्रमुख अतिथिको आसन ग्रहण गरियो । कार्यक्रमको सभापतित्व रामानन्द गिरीबाट भएको थियो । वरपरका थुप्रै साहित्यकार र साहित्यानुरागीहरूको विशेष जमघट भएको त्यो ठाउँ साहित्यिक तीर्थस्थलभै”m लाग्थ्यो । साना बच्चाहरूबाट स्वस्तिवाचन र संस्कृतमा स्वागत भाषण गरिसकेपछि कार्यक्रममाथि प्रकाश पार्ने काम त्यहाँका प्राचार्य गुरुप्रसाद सुवेेदीबाट भयो । आर्य संस्कृतिको जगेर्नातर्फ विशेष ध्यान दिने उद्देश्यबाट स्थापित त्यस विद्यापीठमा संस्कृत मात्र नभएर कम्प्युटर शिक्षा पनि दिइँदोरहेछ । त्यस ठाउँलाई काव्यतीर्थ बनाउने प्रयत्नस्वरूप हरेक वर्ष पुस मसान्तमा मकर काव्ययामिनी नामबाट रातभर कविता गोष्ठी हुँदोरहेछ । त्यहाँ बालकदेखि वृद्धसम्मका थुप्रै कविहरूले रातभर कविता वाचन गरे । छोरी विभु र ऋभुले कविता वाचन गर्दा रामानन्द गिरीजीको प्रसन्नता अवर्णनीय थियो । त्यस कार्यक्रमको प्रत्यक्ष प्रसारण स्थानीय एफएमबाट समेत गरिएको थियो ।

कार्यक्रम मलाई जिम्मा लगाएर सभापति गिरीजी शयनतर्फ लागेपछि म परेँ फन्दामा तर मलाई निद्राको अनुभूति नै भएन, रातभर कविता श्रवणमै मस्त । अरूको त के कुरा मेरा साना बच्चासमेत सुत्न मानेनन्, रातभर जागै रहे । मैले पनि आर्य संस्कृति र संस्कृत शिक्षाको महत्त्व, वाचन गरिएका कविता आदिबारे लामै भाषण ठोकेँ । खुब ताली खाएँ । चार बजेतिर कार्यक्रम सकियो र एकछिन सुतेजस्तो गरियो । रातभरको अनिँदो भए पनि ज्यानमा स्फूर्ति भने पटक्कै घटेको थिएन ।

माघे सङ्क्रान्तिका दिन बिहानै नदीतिर झरियोे । त्यहाँ देशविदेशबाट आएका भक्तालुहरूको व्यापक घुइँचो थियो । सुरुमा हाम्रो समूह नुहाउने विचारमा थिएन तर त्यहाँ सबैले नुहाएको दृश्यले हामीलाई पनि नुहाउनुहाउँ बनायो । हामीले पनि त्रिवेणीमा मकरस्नान गर्‍यौँ । त्यहाँ स्नान गर्दा धर्म कमाइयो वा कमाइएन त्यो चाहिँ थाहा भएन तर आनन्दानुभूति चाहिँ पर्याप्तै भयो । नुवाइधुवाइ गरेर पुलवारि आइपुग्दा हामीलाई लिन गाडी आइपुगिसकेको थियो । त्यस दिन चितवनमै आराम गर्ने योजना बनाई हामी गेस्टहाउसमा फर्कियौँ । विद्युत् उडाउने हल्लाले हामी त्यहाँबाट अन्यत्र सर्नुपर्ने भयो । मैले अन्त सर्नुभन्दा काठमाडौँतिरै सर्नु उपयुक्त ठानी तत्काल र्फकने निधो गरेँ । श्रीमती, केटाकेटी र त्यहाँका साथीभाइसमेत छक्क परे मैले तत्काल र्फकने कुरा गर्दा । र्फकनुपर्ने कारण चाहिँ मैले कसैलाई बताइन । हामीलाई साथीहरूले माइक्रो चढाएर बिदा गरे । ठूलै झोलामा समेत नअटाउने भव्य सम्मानपत्र/ताम्रपत्र काखमै राखेर हाम्रो फिर्तीयात्रा प्रारम्भ भयो । यात्रामा पनि सबैका केन्द्रबिन्दु हामी नै थियौँ । माइक्रोको ड्राइभर होचापुड्का सङ्घको सदस्य हुन लायकको भए पनि उसको हँकाइ भने वायुवेगमा थियो । उसले माइक्रो अति तेजगतिमा हुइँक्याएर तीन घन्टा नबित्दै थानकोट पार गरायो । हामी समयमै घर आइपुग्यौँ । पछि थाहा भयो हामीले थानकोट पार गर्नेबित्तिकै त्यहाँ त भीषण काण्ड भएछ… थुपै्र विनाश । त्यस घटनाले अलि चिन्तित तुल्याए पनि चितवनमा प्राप्त सम्मान, मकर काव्ययामिनीमा कविताश्रवण र मकरस्नानलगायतका यावत् दृश्यहरू मेरा मस्तिष्कमा अझै ताजै छन् । यस यात्राले मेरो चितवनसँगको सम्बन्धलाई अझ गाढा तुल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *