धेरै दिनसम्म म ढुक्क थिएँ- मेरो रेडियो हरायो । त्यति मूल्यवान्, सान्दार, अत्याधुनिक र मेरो गौरवको साक्षी त्यो रेडियो हराउनु मेरो लागि पक्कै पनि सुखद कुरा थिएन तर हराएपछि कसको के लाग्छ र ? म शत प्रतिशत विश्वस्त भएँ- मैले अनाहकमा मेरो मुटुको एउटा टुक्रा गुमाएँ, मेरो सानको मूल्यवान् हीरा लुटाएँ, मेरो पुरस्कारको चिनो हराएँ । धेरै दिनसम्म म बेचैनीमा रहेँ र कतै पत्ता लागिहाल्छ कि भनेर मनमनै कामना पनि गरेँ ।
तर एकदिन रहस्य खुल्यो । मेरो रेडियो हराएको होइन रहेछ, कोठाकै अज्ञात कुनामा बेवारिसे अवस्थामा सुस्ताएको रहेछ । पूरै आन्द्राभुँडी निस्किएको, अनुहार चिन्नै नसकिने भएको, धूलैधूलोले साम्राज्य जमाएको त्यो मेरो पि्रय रेडियोलाई मैले केही क्षण भावुक भएर हेरेँ । टालोले धूलो पुछपाछ पारेँ र ओल्टाइपल्टाई हेरेँ । मेरो रेडियो त पूरै बेकामे अवस्थामा पुगिसकेको रहेछ । न त्यो बज्न मान्थ्यो, न आफ्नो पूर्ववत् अवस्थामा नै फर्किने रहर थियो त्यसमा । मैले मनमनै त्यो रेडियोलाई श्रद्धाञ्जली दिएँ । अर्थात् अब त्यो बौरिएर आउला, मलाई समाचार, गीत-सङ्गीत देला भन्ने अपेक्षा मैले उमार्नै सकिनँ । त्यसको अप्रेसनमा लाग्नेतिर मेरो मनै गएन र त्यही बेबारिसे स्थितिमा नै छोड्ने रुचि जाग्यो ।
विक्रमाब्द २०४९ सालमा बीबीसी युवा कविता प्रतियोगितामा दोस्रो भएबापत मैले त्यो रेडियो पाएको थिएँ । रेडियो, अत्याधुनिक थियो । जो पायो त्यसको हातमा पर्न पनि सुहाउँदैनथ्यो । पुरस्कारको रूपमा त्यो रेडियो हात पारेपछि जानिफकारहरूले भनेका थिए- यो अत्यन्तै महँगो रेडियो हो, जो पायो त्यसैले किन्न र प्रयोग गर्न सक्दैन । हुन पनि रेडियोको अनुहारदेखि सिङ्गै शरीर छामछुम पार्दा पत्याउन सकिने प्रशस्तै आधारहरू थिए ।
तर एकदिन रेडियो बिगि्रयो । काठमाडौंमा यताबाट उता र उताबाट यता कोठा सर्दै जाने क्रममा रेडियोलाई के असर परेछ कुन्नि रेडियो बेकामे भएर निस्कियो । हुन त पुरस्कार हात पारेकै दिन रेडियो नेपालका तत्कालीन प्राविधिक-प्रमुख रामशरण कार्कीले भनेका थिए- ‘यो रेडियो बिगि्रयो भने जो पायो त्यसैलाई नदेखाउनु, मकहाँ ल्याउनु, म बनाइदिन्छु ।’ बिगि्रएको दिन रामशरण कार्कीलाई नसम्झिएको होइन तर बिगि्रएको रेडियो बोकेर रेडियो नेपालका त्यति वरिष्ठ व्यक्तिकहाँ कसरी जानु ? मभित्र लघुताभास ब्युँतियो । फेरि कसरी जानु उनीकहाँ ? ‘मैले यति सालमा बीबीसीमा पुरस्कार पाएको रेडियो बिगि्रयो, बनाई पाउन’ भन्नु जति लाजमर्दो कुरा अरू के हुन्थ्यो र ? मैले रामशरण कार्कीलाई भेट्ने कुरा त्यागिदिएँ र चोक-चोकमा दोकान थापेर बसेका प्राविधिकहरूलाई देखाउने निधो गरेँ तर चोके-प्राविधिकहरूकहाँ पुर्याउन अगावै मेरो कोठाभन्दा पल्लो कोठामा बस्ने साथी दीपक कथितले बिगि्रएको रेडियो मुसार्दै भने-‘म बनाइ हाल्छु नि म भोलि अफिस लैजान्छु र बनाएर ल्याउँछु ।’
मैले दीपकजीलाई अलिअलि घाइते रेडियो थम्याइदिएँ । करिब महिना दिनजतिमा पनि रेडियो सकुशल मेरो कोठामा फर्किएन । मैले एकदिन दीपकजीलाई सोधेँ-‘रेडियोको हालखबर के छ दीपकजी ?’
उनले भाका पन्छाउँदै गए । मैले एकदिन भनेँ-‘नबन्ने भए केही छैन, ल्याउनुस् ।’
एकदिन मेरो रेडियो फर्किनु त फर्कियो तर त्यो कोठाबाट जाँदाको जस्तो सकुशल भने थिएन । पूरै आन्द्राभुँडी निकालेर फर्किएको थियो । दीपकजीले निकै नै प्रयास गर्दा पनि रेडियोको उपचार हुन सकेनछ । उनले हार मानेर भने-‘खै, मेरो बुँताले भ्याएन । यसलाई अलि राम्रै प्राविधिककहाँ लैजानुपर्ला ।’ त्यसपछि मैले चोके-प्राविधिककहाँ लैजाने कुरा पूर्णतः त्यागिदिएँ । किनभने मेरो रेडियो अझै सिकिस्त हुने ठानेँ मैले । एउटा परीक्षणमा असफल भएकोले अर्को परीक्षणले झनै सिकिस्त होला भन्ने अनुमान लगाएँ मैले । तिनै बेवास्ताहरूबीच गुज्रदै मेरो रेडियो मेरै कोठामा बेबारिसे अवस्थमा पल्टिन पुगेको रहेछ र मैले धेरै दिनसम्म फेला पार्न नसक्दा हराएको निष्कर्ष निकालेको थिएँ ।
त्यति मूल्यवान् रेडियो पाउँदा मैले कविताको दम कति हुँदोरहेछ भनेर चाल पाएको थिएँ । पुरस्कारबापत रेडियो च्यापेर काठमाडौंबाट सिन्धुली ओर्लंदा मैले पाएको रेडियो हेर्नेहरूको भीड नै लागेको थियो । रेडियो पुरस्कार पाए पनि चलाउन भने सिकिसकेको थिइनँ मैले । मेरो रेडियोलाई सबैले पालैपालो सुम्सुम्याए, छामे र आँखा गाडे । नौलो अनुहारको भएको हुँदा सबैमा उत्सुकता हुनु स्वाभाविकै थियो । फेरि बीबीसीले दिएको हुँदा पनि सबैले हेर्न चाहन्थे । प्रवोध सिन्धुलीयले त रेडियो बटार्दाबटार्दै भनी पनि हाले-‘ल, मलाई चलाउन आयो ।’ उनले रेडियो बटार्न थाले । त्यसपछि सबैले सुम्सुम्याउन भ्याएपछि म रेडियो बोकेर घरतिर लम्किएँ । कम्तीमा पनि एक सातासम्म मैले त्यो रेडियो अरूलाई देखाउन, त्यसको प्रचारप्रसार गर्न र सुम्सुम्याउनमा नै बिताएँ ।
००
‘नयाँ दिनको खोजीमा
दगुर्ने इच्छा प्रत्येक पल सेलाएको हुन्छ
आमासामु गएर भन्छु-
‘आमा म नयाँ दिनको खोजीमा
टाढा-टाढा जाँदैछु
मलाई खुला मनले/स्वच्छ हृदयले
बिदा देऊ’
आमा छक्क पर्दै भन्नुहुन्छ-
‘नयाँ दिनको खोजीमा
टाढा-टाढा गएका
एकहुल मानिसहरू
फर्किसके र बाबु ?’
यही बाह्र लाइने कविताले मलाई सो रेडियो दिलाएको थियो । तीस वर्षभन्दा मुनिका युवाकविहरूका निम्ति प्रतियोगिता गरिएको सो प्रतिस्पर्धामा तीस जना युवाकवि छानिएका थिए । तिनै तीस जनाबाट भीष्म उप्रेती प्रथम, म र रमेश क्षितिज दोस्रा भएका थियौं । बाह्र सय कविता जम्मा भएकामा तीस कविता छानिनु र तीसबाट पनि तीनमा मेरो कविता पर्नु मेरा लागि औधी सुखद पक्ष थियो ।
००
सायद ‘गोरखापत्र’मा हुनुपर्छ, बीबीसीले युवा कविता प्रतियोगिता गर्ने आशयको विज्ञापन छापिएको थियो । मैले त्यो जानकारी पाएपछि सुरुमा त कविता पठाउने आँट गर्न सकिनँ । त्यत्रो अन्तर्राष्ट्रिय समाचार प्रसारण संस्थाले आयोजना गरेको प्रतियोगितामा कसरी मेरो कविता चयन हुन्छ होला र ? म यस्तै द्विविधाले ग्रस्त थिएँ । धेरै दिनसम्म मैले कविता पठाउने आँट र जोखिम उठाउन सकिनँ ।
तर एकदिन संयोग त्यस्तै पर्यो । रातभरि भैंसी कराएर म आजित भइसकेको थिएँ । भोलिपल्ट उठ्दा आमाले भन्नुभयो-‘बुबा पनि घरमा हुनुहुन्न । यो भैंसीले बाली खोजेजस्तो छ । खन्याखर्कमा राँगो छ, लिएर जा कान्छा ।’
मैले गाउँकै एकजना मानिसको सहयोग लिएर भैंसीलाई लिएर गएँ । करिब दुई घन्टा जति उकालो चढेपछि खनियाखर्क आउँथ्यो । खनियाखर्क उक्लनुभन्दा पहिले मैले त्यो कविता लेखेर खामबन्दी गरेँ र खल्तीमा बोकेर गएँ । हुलाकघर नजिक आएपछि भैंसी डोर्याउने मानिसलाई एकछिन कुर्न लगाएर मैले पचास पैसाको टिकट टाँसेर कविता पठाइदिएँ । त्यति जाँगर चलाएर मैले कविता पठाएको थिइनँ ।
तर मैले कविता सम्प्रेषण गरेको महिना दिनपछि मेरो हातमा एउटा पत्र पर्यो । पत्रमा लेखिएको थियो-‘तपाईंको कविता उत्कृष्ट तीस कवितामा छानिएको छ । तपाईं आगामी चैत्र १९, २० र २१ गते हुने कविता प्रतियोगितामा भाग लिन काठमाडौं आउनुहोला । सम्पूर्ण खर्च आयोजक संस्थाले नै बेहोर्नेछ ।’ पत्रको पुछारमा साहित्यकार/पत्रकार विजय चालिसेले हस्ताक्षर गर्नुभएको थियो । बीबीसी नेपाली सेवाले प्रतियोगिता गरेको भए पनि त्यसमा गोरखापत्र संस्थानको पनि संलग्नता थियो ।
सुरुमा पत्याउन मुस्किल पर्यो मलाई । फेरि दोहोर्याएर पढेँ पत्र । र पत्रको अक्षर-अक्षर केलाएर पढेँ । हो, मेरो कविता तीसभित्र परेकै रहेछ । म यति खुसी भएँ कि, त्यसको सीमा पहिल्याउन मलाई अत्यन्तै गाह्रो पर्यो । त्यो कुरा मैले घरपरिवार, आफन्त र छरछिमेकलाई सुनाएँ । मेरो खुसीमा मैले खबर सम्प्रेषण गरेका जति सबै नै खुसी भए ।
००
काठमाडौं ओर्लिंदा बिहान उघि्रसकेको थियो तर गोरखापत्र संस्थान दस बजेअघि नखुल्ने भएको हुँदा र हाम्रो सम्पर्क-व्यक्तिमा विजय चालिसे तोकिनुभएको हुँदा उहाँलाई भेट्न भूगोलपार्क वरिपरि त्यतिकै रिङ्गिएर बसिरहेँ । एउटा सानो झोला, त्यसभित्र केही किताब बोकेर खुट्टामा चप्पल झुन्ड्याउँदै म गोरखापत्र संस्थानभित्र छिरेँ । मैले विजय दाइलाई सुरुमा त्यतिखेरै हो देखेको । मैले आफ्नो परिचय दिएपछि उहाँले अत्यन्त हार्दिकतापूर्वक सोफामा बस्न आग्रह गर्नुभयो । केही बेर त्यहाँ बसेपछि उहाँले श्रीधर आचार्यलाई बोलाएर हामी बस्ने ठाउँसम्म पुर्याइदिन अनुरोध गर्नुभयो । गणबहालको एउटा चार तले होटलमा मलाई लिएर गए । मबाहेकका अरू युवाकविहरू पनि आउने क्रम फाट्टफुट्ट चलिरहेको थियो । काठमाडौँमा बस्ने कविहरू भने होटलमा बसेका थिएनन् । सायद उनीहरूलाई त्यो सुविधा थिएन होला ।
त्यही साँझ हामी बसिरहेका ठाउँमा एक जना अधबैँसे मानिस आए र उनले हामी सबैलाई हात जोड्दै भने-‘नमस्कार मेरो नाम वसन्त थापा हो, म यस होटलका म्यानेजर ।’ आफ्नो परिचय दिइसकेपछि उनले भने-‘म पनि यसो बेलाबेला साहित्य लेख्छु ।’ धेरैपछि मलाई थाहा भयो, उनी त्यही वसन्त थापा रहेछन्, जसका सुललित निबन्धहरू र हिमाल खबर पत्रिकामा व्यङ्ग्यात्मक टिप्पणी छापिन्छन् तर गणबहालको त्यो होटलमा बसुन्जेल उनले आफ्नो व्यावसायिक दक्षताबाट हामीलाई मुग्ध तुल्याएका थिए ।
बीबीसी नेपाली सेवाबाट खगेन्द्र नेपाली आएका थिए । उनी हरेक साँझ हामीसित रमाउन आइपुग्थे । अत्यन्तै फरासिला मानिस थिए उनी । हामीतिर सङ्केत गर्दै भन्थे-‘यसो अलिअलि बियर लिने कि ?’ तर उनी भने हामीसित गफिंदै बियरमा रमाउँथे । बीबीसीबाट उनको स्वर सुनेका हामी, उनलाई प्रत्यक्ष देख्न र भेट्न पाउँदा खुसी नहुने कुरै थिएन । हामी आफूमा उत्पन्न जिज्ञासा राख्थ्यौं । एक जना साथीलाई ‘नेपाली’ थरप्रति शङ्का लागेछ । कसैले ‘नेपाली’ लेख्दा दलित जातिका हुन् भन्ने नेपाली मान्यता अँगाल्दै ती साथीले सोधिहाले-‘तपाइर्ंको थर के हो ?’
‘म नेवार हुँ ।’ खगेन्द्र नेपालीले भने ।
‘अनि नेपाली किन लेख्नुभएको त ?’ ती साथीले फेरि सोधे ।
‘विदेशमा बस्दा आफूलाई चिनाउन लेखेको हुँ । आफ्नो देश चिनाउन पनि यसले सहयोग पुर्याउँदो रहेछ ।’ उनले अत्यन्त नम्र र हार्दिकतापूर्वक उत्तर दिए ।
गणबहालको होटलका तीन दिन, तीन रात निकै नै अविस्मरणीय रहृयो ।
००
गणबहालको त्यही होटलबाट हामीलाई राति आठ बजेपछि रेडियो नेपाल लगिन्थ्यो । रेडियो नेपालको स्टुडियोबाट सिधै लन्डनस्थित बीबीसी नेपाली सेवामा हामीले वाचन गर्ने कविता फ्याँकेर विश्वभर प्रसारण हुने व्यवस्था मिलाइएको थियो । तीन रातसम्म तीस जना कविका कविता प्रशारण भयो ।
तर मेरो कविता वाचन गर्ने पालो भने तीसौँ नम्बरमा थियो । सायद वणर्ानुक्रमअनुसार राखिएको थियो कि मैले कविता पढिसिध्याएर कुर्सीमा आएर बस्नेबित्तिकै छेउकै साथी शङ्कर श्रेष्ठ ‘उदासी’लाई भनें- ‘मेरो त अन्तिममा पर्यो ।’
उनले ठट्टाका भावमा भने-
‘अन्तिममा परेर दिक्क नमान्नुस्, तपाईं पहिला हुनुहुन्छ ।’ पहिला त भइनँ, तर पुरस्कृत भने केही समयपछि नै भयो मेरो कविता । बीबीसीको पन्ध्र मिनेटको समय-सीमाभित्र नै पुरस्कार बाँडेर प्रमुख अतिथिको भाषण पनि सिध्याउनुपर्ने भएको हुँदा अत्यन्त चुस्त र सङ्क्षिप्त थियो, अन्तिम दिनको कार्यक्रम । प्रमुख अतिथि केदारमान व्यथितले नै पुरस्कृत कविहरूको नाम घोषणा गर्नुभएको थियो । मूल्याङ्कनकर्ताहरू डा.मोहनहिमांशु थापा, मञ्जुल र रोचक घिमिरेले दिनुभएको खाम खोलेर कविवर व्यथितले सुरुमा भीष्म उप्रेतीको नाम सुनाउनुभयो र त्यसपछि रमेश क्षितिज र त्यसपछि मेरो नाम सुनाउनुभयो ।
जब मैले आफ्नो नाम पुरस्कृतको रूपमा सुनेँ, केही क्षण त पत्याउनै मुस्किल पर्यो । के साँच्चै मेरो नाम नै सुनाइएको हो ? आफैंलाई प्रश्न गरेँ । पुरस्कृत कविहरूले पुनः कविता वाचन गर्नुपर्ने भएको हुँदा पुनः कविता वाचनका लागि मेरो नाम तोकेर बोलाएपछि मात्र मैले विश्वास गरेँ-‘हो, म नै पुरस्कृत भएको रहेछु ।’
त्यस रात म राम्रोसँगले निदाउन पनि सकिनँ । पुरस्कारको बोझले मलाई थिचिरहेको थियो र ममा साहित्य-लेखनप्रति जिम्मेवारीबोध पनि बढेको महसुस हुँदै थियो । फेरि अप्रत्याशित रूपमा निम्तिएको खुसीले मलाई निदाउने वातावरण प्रदान गरिरहेको थिएन ।
००
आज मसित बीबीसीले दिएको रेडियो छैन । मेरो आफ्नै लापरवाहीले त्यो रेडियोको असामयिक मृत्युभयो । त्यो रेडियो, कतै ‘बाँदरको हातमा परेको नरिवल’ जस्तै पो भयो कि ? यस्तो पनि लाग्न थालेको छ मलाई तर रेडियो नभए पनि बीबीसीले दिएको प्रशंसापत्र भने अहिलेसम्म सुरक्षित नै छ मसित ।
-कमलामाई-४, सिन्धुली
