Skip to content


वासु शशी (वि.सं. १९९३-२०४९, जय बागेश्वरी, काठमाडौँ) बहुमुखी प्रतिभासम्पन्न विशिष्ट स्रष्टा हुन् । उनी कवि, गीतकार, उपन्यासका अनुवादक र नाटककारका रूपमा देखिएका छन् । नेपाल भाषा र नेपाली भाषा दुवैमा रचनात्मक योगदान दिने शशीले पद्मोदय हाई स्कुलमा ८-९ कक्षामा पढ्दै गर्दा वि.सं. २००७-००८ देखि कविता लेख्न थालेका हुन् भने त्यतिखेरैदेखि नाटक पनि लेख्न थालेका छन् । उनले कविता नेपालीबाट र नाटक नेपाल भाषाबाट लेख्न थालेको थाहा पाइन्छ । ‘भिसा’, ‘लाखा’, ‘ताचा प्वाँयु’जस्ता नाटक लेखेर नेवारी रङ्गमञ्चमा स्थापित भइसकेपछि वि.सं. २०२४ मा ‘तीन नाटक, शीर्षक नाटकसङ्ग्रह प्रकाशित गरी उनी नेपाली नाट्य क्षेत्रमा देखापरेका हुन् । तीन नाटक प्रकाशित भएको अठार वर्षपछि वि.सं. २०४२ मा बाँसुरीमा नअटाएका धुनहरू प्रकाशित हुँदा उनका नेपाली नाटकहरूको सङ्ख्या चार पुगेको थियो । पछि उनले कवि विनोद अश्रुमालीको एउटा कविता सुनेर त्यसबाट प्रेरित भई वि.सं. २०४४ मा ‘उपहार’ शीर्षकको नाटक लेखेर गरिमामा वि.सं. २०४४ चैतको अङ्कदेखि वि.सं. २०४५ जेठको अङ्कसम्ममा धाराबाहिकरूपमा प्रकाशित गराएपछि नेपाली भाषामा उनले लेखेको नाटकको सङ्ख्या पाँच पुगेको थियो । उपहार उनको देहवसानपछि वि.सं. २०५१ मा पुस्तकाकारमा प्रकाशित भएको देखिन्छ ।

शशीले पहिले मञ्च नाटक, त्यसपछि रेडियो नाटक र नेपाल टेलिभिजनको स्थापनापछि टेलिनाटक पनि लेख्न थालेको पाइन्छ । उनी एउटै राष्ट्रलाई रेडियो नाटक, टेलिनाटक (वा टेलिफिल्म) र मञ्च नाटकको रूप दिन्थे । यो कुरो उनले आˆनो ‘कृष्णदर्शन’ भन्ने रेडियो नाटकलाई मञ्चनाटक र टेलिनाटकको रूप दिएबाट थाहा पाइन्छ -वासु शशीका नाटकका सम्बन्धमा, वासु शशीका नाटक वि.सं. २०६१) ।

शशीले जीवनका अन्तिम वर्षहरूतिर तयार पारेका केही लामा र केही छोटा नाटक वासु शशीका नाटक शीर्षक ग्रन्थमा सङ्कलित भएर वि.सं. २०६१ मा प्रकाशमा आएका छन् यिनमा ग्रन्थ रूपमा पूर्वप्रकाशित उपहार पनि समेटिएको छ । शशीका टेलिनाटक एउटै सङ्ग्रहमा परुन् भन्ने हेतुले सङ्कलक सम्पादक (कैलाश भण्डारी-प्रद्युम्न जोशी) ले यसो गरेका हुन सक्छन् । मञ्चनाटकका रूपमा लेखिएको र टेलिनाटक वा टेलिफिल्मका रूपमा टी.भी. बाट प्रसारित भएको ‘उपहार’लाई बाहेक गरेर हेर्दा यसमा निम्नलिखित अन्य नाटक छन् ः माया, ऊँ नमः शिवाय, सुखको खोजीमा, विर्सन नसकिने मान्छे, सच्याउन नसकिने गल्ती, आमा कहिल्यै मर्दिन उपहार र तरबार छन् ।

१) माया अठार दृश्य र ३४ पृष्ठमा फैलिएको पूणर्ाङ्की वा लामो नाटक हो । स्वास्नीलाई नामी हिरोइन बनाएर सम्पन्न र वैभवशाली जीवन बिताउन इच्छुक एक रक्स्याहा सुब्बा तथा हिरोइन भएर लोग्नेको इच्छा पुर्‍याइदिन तत्पर उसकी सुन्दरी स्वास्नीलाई लिएर फिल्मी कलाकारहरूको उन्मुक्त र स्वच्छन्द जीवनशैली तथा असामाजिक क्रियाकलाप देखाउन लेखिएको छ र यसमा फिल्म व्यवसायीहरूले गर्ने सुन तस्करीको प्रसङ्ग पनि गाँसिएको छ ।

२) ऊँ नमः शिवायः १६ पृष्ठ र २१ दृश्यको छोटो नाट्य रचना हो र यो एकाङ्की वर्गमा पर्छ । भाइको उन्नति देखेर इश्र्यावश आˆनो र आˆनो परिवारको जीवन ध्वस्त पार्ने रक्स्याहा र जुवाडेको मनोविश्लेषणात्मक अध्ययन यसमा गरिएको देखिन्छ ।

३) सुखको खोजीमाः पृष्ठ १३ को आठ मूल दृश्य र केही अन्तरदृश्यहरू भएको छोटो नाट्य रचना हो र यो एकाङ्की वर्गमा पर्छ । यो छोटो छरितो लघु नाटकमा लोग्नेलाई खुसी पार्ने बहानामा नबोकेको भुँडी बोकेको कुरा गरी उसलाई बढी कमाउन दबाब दिने र आफूचाहिँ हाकिमलाई शरीर सुम्पेर आˆना लागि प्रमोशन माग्ने छलकारा स्वास्नी एवं स्वास्नीलाई खुसी पार्न जतिसुकै मिहिनेत र जस्तोसुकै काम गर्न तत्पर रहने तर स्वास्नीको चर्तिकला पटक्कै थाहा नपाउने सोझो र भोलाभाला लोग्नेको क्रियाकलाप देखाइएको छ । लोग्नेले धेरै कमाई गर्न नसकेपछि स्वास्नीलाई खुसी पार्न दुई हजार रपियाँको इनामका लोभले आफूलाई एक वाञ्छित अपराधीका रूपमा गिरˆतार गराउने विचारले थानामा पुगी दुई हजारको इनाम पहिले नै हात पारेर सो रकम स्वास्नीलाई बुझाउन आˆनो डेरामा पुग्दा त्यहाँ हाकिम र आˆनी स्वास्नी आपत्तिजनक अवस्थामा रहेको थाहा पाएपछि स्वास्नीको वास्तविकता बुझेर आहत भई इनामका नोट च्यातेर त्यहीँ फाली आफू आˆना साथ गएको थानाको सिपाहीका साथ थानामा फर्किई गिरˆतारी दिएको घटनामा पुगेर नाटक टुङ्गिएको छ ।

४) बिर्सन नसकिने मान्छे ः प्रेमिकाको अपरेसनका लागि घरपेटी बूढाको रुपियाँ चोर्ने र घरबेटीले छोरीको विवाहका लागि सँगालेको रुपियाँ चोरी भएकामा विलाप गर्दा द्रवित भएर छिमेकी साहूको पसलबाट रुपियाँ चोरी उनलाई दिने प्रयास गर्दा पक्राउ पर्ने र गर्न नहुने अपराध गरिसकेपछि प्रेमिकाले अपरेसन टेबुलमा नै प्राण त्यागेको थाहा पाएर मानसिकरूपले असन्तुलित भई रक्सीमा डुबाएर आफूलाई बर्बाद पार्ने एक होनहार र असल विद्यार्थीको दुर्भाग्यको कथामा आधारित छ । २८ दृश्य र त्यसअन्तर्गत विभिन्न पूर्वदृश्य र उपदृश्य पनि भएको चौबीस पृष्ठको यो नाट्यरचना पनि लामो छ र लघु पूणर्ाङ्की वर्गमा पर्ने देखिन्छ ।

५) सच्याउन नसकिने गल्तीः पशुपतिको फूलप्रसाद बाँडी दुई चार पैसा बटुलेर गुजारा चलाउने एक धर्मनिष्ठ ब्राहृमणले विचार नपुर्‍याई धेरै सन्तान जन्माएर तिनको उचित पालनपोषण गर्न नसक्ता ती बिगि्रएको देखेर पीडित हुनुपरेको कथावस्तुमा आधारित छ । यसले तिनै ब्राहृमणका परिवारको दृष्टान्त दिएर परिवार नियोजनका लागि प्रेरणा दिएको छ । परिवार नियोजनका लागि जनचेतना जगाउने प्रयोजनबाट लेखिएको एकाङ्की वर्गको यो लघु नाट्य कृति १६ पृष्ठ र ११ दृश्यमा विभाजित छ ।

६) आमा कहिल्यै मर्दिनः एक दृश्य र ९ पृष्ठको छोटो रचना हो र यो एकाङ्की वर्गमा पर्छ । यसमा प्रसवका लागि अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलाले शल्यक्रिया गरेर प्रसव गराउने क्रममा आमा र बच्चामध्ये एउटालाई मात्र बचाउन सकिन्छ भन्ने चिकित्सकहरूको कुरा सुनेर आफू मरे पनि बच्चामा जिउन पाइने हुनाले कहिल्यै नमर्ने हुँदा आफूलाई नभएर बच्चालाई बचाइदिन आग्रह गरिएको घटना प्रस्तुत छ । यो मातृत्वको महिमा देखाउने अपूर्व र उत्कृष्ट नाट्य कृतिका रूपमा देखिन्छ ।

७) उपहारः ९ दृश्यहरूमा विभाजित २७ पृष्ठको लामो नाटक हो र यो पूणर्ाङ्की वर्गमा पर्छ । चित्र लेखन गरिरहे पनि त्यसबाट अर्थोपार्जन गर्न नसक्ने र अन्य कुनै काम पनि गर्न नसकी घरैमा बसिरहने तथा पत्नीको कमाइमा निर्भर भएबाट निरन्तर उनीबाट अपमानित र तिरस्कृत भइरहने एक भद्र, समझदार र सहनशील अपाङ्ग कलाकारको जीवनमा यो केन्दि्रत छ । यसमा आफूसित पैसा नहुनाले बालक छोरालाई उसको जन्मदिनमा कुनै उपहार दिन नसकेपछि छोरालाई फकाउँदै आफूले उसलाई जन्म, कमाएर खाने हातखुट्टा, पढ्ने-लेख्ने दिमाग एउटी आमा, एउटा बाबु, हिमालय, आकाश, सूर्य र बुद्ध नै उपहारमा दिएँ भनी खुसी पारेको र यसै खुसीको अवसरमा कलाकारलाई एक ग्राहकबाट उसको चित्रको मोलबापत दस हजार रुपियाँ प्राप्त हुँदा पतिको महìव बुझेर उसकी पत्नी पनि खुसी भएको घटना देखाइएको छ । यो पनि नाटककार शर्माको उत्कृष्ट नाट्य रचना हो । गरिब र असहाय पिताबारे बालकका मनमा सहानुभूति र श्रद्धाभाव जगाउने यो नाटक सामान्य पिताप्रति सामान्य बालकका मनमा प्रेम र श्रद्धा जगाउन सक्षम देखिन्छ । साथै यसले अर्थोपार्जन गरिदिन असमर्थ कलाकारप्रति स्नेह, सहानुभूति र सम्मानभाव प्रकट गर्नाको साटो उसलाई अपमानित गर्ने र दुर्वचन बोले परिवारजनको आँखा खुलाइदिने काम पनि गरेको छ । त्यसैले नाटक कुनै न कुनै पाठ्यक्रममा राख्न योग्य छ ।

८) तरतमः पाँच दृश्य केही उपदृश्य र अन्तरदृश्यसमेत भएको १२ पृष्ठको छोटो नाटक हो र यो एकाङ्की वर्गमा पर्ने कृति हो । यो स्वैर कल्पनात्मक छ र यसमा सम्राट्को कर्तव्य अपराधीको हत्या गर्नु हो कि रक्षा गर्नु हो भन्ने विषय उठाइएको छ । यसमा सम्राट्, मन्त्री, सेवक, व्यक्ति, अपराधी, सुपात्रा (धनी घरकी छोरी), मदन (उसको घरको नोकर), व्यापारीजस्ता विशुद्ध काल्पनिक पात्र छन् र राजप्रासादको बैठक, राजप्रासादभित्रको बगैँचा, एउटा डबली, अपराधी थुनिएको एउटा कोठा, राजाप्रसादको एउटा प्राङ्गण गरी पाँच दृश्य छन् भने दृश्यमा एउटा अन्तरदृश्य र एउटा पूर्वदृश्य तथा दृश्य ५ मा ४ अन्तरदृश्य एवं ४ उपदृश्य छन् । चौथो उपदृश्य नाटकको अन्तिम दृश्य हो । यसमा सम्पूर्ण प्रजालाई असुरक्षाको भयबाट मुक्त तुल्याएर सुरक्षाको स्वर्गमा पुर्‍याउन चाहने तथा ‘प्रजाको रक्षा एवं सुख र शान्ति नै भगवान् शङ्करको जस्तो मेरो त्रिशूल हो’ भन्ने सम्राट्का सामु न्यायको निम्ति एक त्यस्तो गरिब अपराधीलाई उपस्थित गराइएको छ जसले एकातिर भोकले मर्न आँटेको तर मर्न नसकेर हिरिक हिरिक गरिरहेको आˆनै बालक छोराको र अर्कातिर एक धनीकी छोरीलाई बलात्कार गरी धनसम्पत्ति लिएर भाग्न तत्पर भएको तर त्यस युवतीले पोल खोल्ने धम्की दिँदा उसको घाँटी थिचेर मार्न खोज्ने त्यसै घरको अपराधी नोकरको हत्या गरेको छ । त्यस गरिब अपराधीलाई सम्राट्ले भर्खरै व्यापारी पात्रले बेच्न ल्याएको संसारको सबभन्दा सुन्दर र कहिल्यै नभाँचिने तरबारले आफैँले काटेर न्याय दिन खोज्दा काटिने कुरा सुनेरै अपराधी मर्छ । उता नभाँचिने भनिएको सुन्दर नयाँ तरबार भाँचिएको देख्ता सम्राट् किंकर्तव्यमूढ हुन्छन् । यस अवस्थामा भाँचिएको हो भन्ने खुलासा गर्दै सम्राटको काम अपराधीको हत्या गर्नु नभएर उसलाई मुक्ति दिलाउन र उसको रक्षा गर्नु हो भन्छन् । ‘हामीबाट अन्जानमा अन्य कुनै कारणले पनि कुनै अन्याय नहोस् । सही, न्याय गर्न नसक्नु अन्याय गर्नुभन्दा ठूलो अपराध हो’ भन्ने धारणा भएका सम्राट्का लागि व्यापारीको सल्लाह निकै घतलाग्दो हुन्छ र उनी ‘हो तरबारको काम रक्षा गर्नु हो, हत्या होइन । न्याय एउटा यस्तो कुरा हो, जो प्राणीहरूमध्ये केवल मनुष्यले मात्र गर्न सक्छ । हो, हो, हो रक्षा नै न्याय हो । रक्षा गर्नु नै न्याय हो, रक्षा गर्नु मात्र न्याय हो’ भन्ने स्वीकार गर्छन् । उनको यस्तो स्वीकृतिका साथ नाटक सकिन्छ र यसले ज्यानको बदला ज्यान लिने आदिम युगदेखिको परम्परा उल्टाउन र मानिसलाई जङ्गली युगबाट आधुनिक सभ्यताको युगमा ल्याउन प्रेरित गरेको छ भने न्यायको परिभाषालाई नै बदलिदिने प्रेरणा पनि दिन खोजेको छ र शशीको यो नाट्य कृति अनुपम छ र यसको प्रस्तुति पनि नौलो छ ।

शशीका यी नाट्यरचनाहरू गम्भीर छन् । दार्शनिकताले भरिएका छन्, सुन्दर छन् र सुगठित छन् । यी कवितात्मक छन् तर नाटकीयताले भरिपूर्ण छन्, यी रोचक छन्, रोमाञ्चक पनि छन्, सन्देशमूलक छन् र शिक्षाप्रद छन् ।

नाटककार शशी मूलतः कवि हुन् । उनी भावुक छन्, संवेदनशील छन्, सत्य, शिव र सुन्दरका उपासक छन् । उनी शान्ति र सद्भावका नाटककार हुन् र मानवतावादी हुन् । उनी यथार्थवादी-मनोविश्लेषणवादी धाराका नाटककार हुन् तर उनी यथार्थको धरातलमा उभिएर आदर्शलाई अँगाल्न खोज्ने आर्षभावना भएका चिन्तनशील स्रष्टा तथा द्रष्टा पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *