मेरो व्यक्तिगत विचार : “नेपाल धर्म” को अवधारणा
नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुजातीय देश हो। यहाँ सनातन हिन्दु, बौद्ध, किराँत, बोन तथा विभिन्न परम्परागत आस्था र संस्कृतिहरू शताब्दीयौंदेखि एकअर्कासँग घुलमिल भएर विकसित भएका छन्।
मेरो बुझाइमा, नेपालीहरूले पालन गर्ने धेरै धार्मिक संस्कार, विधि–व्यवहार, पर्व–उत्सव, देवी–देवताको पूजा पद्धति र सांस्कृतिक परम्पराहरू विश्वका अन्य देशहरूमा प्रचलित अभ्यासभन्दा धेरै पक्षमा विशिष्ट र मौलिक छन्। यही मौलिकता नै नेपालको धार्मिक–सांस्कृतिक पहिचानको विशेषता हो।
यस आधारमा, मेरो व्यक्तिगत दृष्टिकोणमा नेपालीहरूको साझा धार्मिक–सांस्कृतिक परम्परालाई “नेपाल धर्म” भन्ने अवधारणाबाट पनि बुझ्न सकिन्छ। यसको अर्थ कुनै नयाँ धर्म स्थापना गर्नु वा विद्यमान धर्महरूको अस्तित्वलाई अस्वीकार गर्नु होइन, बरु नेपालमा विकसित भएको मौलिक धार्मिक–सांस्कृतिक परम्पराको सम्मान गर्नु हो।
साथै, आफ्नो कुल परम्परा, संस्कार र सांस्कृतिक मूल्यमान्यतालाई जोगाएर अघि बढ्नु प्रत्येक व्यक्तिको अधिकार र जिम्मेवारी पनि हो भन्ने मेरो विश्वास छ। साथै, नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म मान्ने र धार्मिक आस्थाको स्वतन्त्रताको अधिकार पनि प्रदान गरेको छ।
तर, नेपालको परम्परागत धर्म, संस्कृति र संस्कारलाई होच्याएर, अपमान गरेर वा लोभ, प्रलोभन, दबाब वा अनुचित प्रभाव प्रयोग गरी कसैलाई धर्म परिवर्तन गराउन खोज्नु उचित होइन। नेपालको संविधान र प्रचलित कानुनले यस्तो कार्यलाई स्वीकार गर्दैन, र कानुनविपरीत धर्म परिवर्तन गराउने कार्यमा संलग्न व्यक्ति प्रचलित कानुनबमोजिम कारबाहीको भागीदार हुन सक्छ।
यो मेरो व्यक्तिगत विचार हो। सबैको विचार समान हुनुपर्छ भन्ने मेरो अपेक्षा छैन। स्वस्थ र सभ्य छलफललाई स्वागत गर्दछु।
