उल्टो वेगमा हुरी आयो एक्कासि
नाङ्गो नाचमै छुरी आयो एक्कासि ।
प्रतिस्पर्धामा हार जसले व्यहोर्यो
उसैको चुरीफुरी आयो एक्कासि ।
बेलामै नगरेको धेरै रहेछ
आज पो कुरीकुरी आयो एक्कासि ।
मर्दापर्दा चाहिन्छ मान्छे भन्ठान्थेँ
मान्छे त घुरीघुरी आयो एक्कासि ।
आफ्नै ठानेर गरेँ भलो जसलाई
उल्टै उसको उजुरी आयो एक्कासि ।
-जोरपाटी, काठमाडौँ
