Skip to content


आफ्नो १६ वर्षको जेलनेल यात्रा र त्यसमा पनि २६ महिना गोलघरभित्रका सेलहरूमा कप्तान यज्ञबहादुर थापासँग बिताएका दिन म बिर्सनै सक्दिनँ ।
०३१ सालको पुस महिनाको पहिलो साता पूर्वी नेपाललाई कब्जा गर्न सोलु र ओखलढुंगालाई आधार बनाउने अनि विजय अभियानलाई राजधानी कब्जा गरी पूरा गर्ने संकल्पका साथ सशस्त्र विद्रोह भएको थियो । त्यसको सैनिक कमान्डर यज्ञबहादुर थापा हुनुहुन्थ्यो भने राजनीतिक कमिसार राम-लक्ष्मण उपाध्याय । ३५ जनाको सशस्त्र टोली गएकामा सरकारले त्यस विद्रोहलाई दबाउने क्रममा राम-लक्ष्मणलगायत सात जना योद्धालाई घटनास्थलमै मार्‍यो भने जंगलबाट गाउँ पसेका योद्धाहरूलाई पनि सेनाले बाँकी राखेन । पक्राउ परेका अन्य विद्रोही योद्धाहरूलाई सोलुबाट ओखलढुंगा जेल सरुवा गर्ने बहानामा बाटोमै मारयिो । त्यस घटनालाई सहयोग पुर्‍याएको आरोपमा सेनाका जमदार कर्णबहादुर बस्नेत, नायवहरू भवेन्द्रबहादुर बस्नेत र अम्बरबहादुर खड् कालाई विष्णुदल गुल्म ओखलढुंगाबाट काठमाडौँ झिकाई हत्या गरियो । त्यसैमा कप्तान यज्ञबहादुर थापा पनि गिरफ्तारीमा परेको समाचार गोलघरसम्मै सनीसनीपूर्ण ढंगले फैलियो ।
पुस महिना । मुटु नै हल्लाउने काठमाडौँको जाडो । त्यसमाथि गोलघरको चिसो छिँडी । पुस ३ गते गोलघरका कोठाहरूबाट पुराना नेल, सिक्री, काठका टुक्रा, फलामका छड हटाएर मानिस थुन्न मिल्ने बनाइँदै थियो । हामी सबैलाई चिसो पस्यो । पुस ७ गते हुनुपर्छ, दिउँसो १२ बजेको समयमा हातले बुनेको हरयिो रंगको मैलो स्वीटर, कालो पुरानो पाइन्ट र धर्के सर्ट लगाएको मानिसलाई ढाड केही कुप्रो पारेर दुवै हात पछाडि फर्काएर हत्कडी लगाएको अवस्थामा जेल-गेटमा उतारयिो । मोटरबाट उतार्नासाथ हत्कडी फुकाएर चुरोटको बट्टा र सलाई हातमा थमाई कसैसँग बोल्न नदिई सरासर गोलघरतिर लगियो ।
त्यो बूढो अनुहार तर थकानको कुनै नामोनिसान देखिँदैनथ्यो । बरु चम्किला आँखाहरू जेलका कामदारको पल्टनबाट टाढा बन्दीहरूसँग ठोक्किन पुग्थे । खाली खुट्टा खोच्याउँदै र सुस्केरा नहाली हिँडिरहेको त्यो वृद्ध शरीरलाई हेर्न गोलघरबाहिर सानोतिनो जुलुस जम्मा भयो । भोलिपल्ट बिहान उहाँ मुख धुन जब गोलघरबाट आँगनमा निस् ि कनु भयो, उहाँले पुलुक्क हेर्नुभयो, हाम्रा आँखा चार भए । यही हो, मेरो कप्तान यज्ञबहादुर थापासँगको पहिलो भेट ।
पहिलो भेटमै धेरै कुरा देखेँ मैले उहाँमा । धेरै सम्भावना र चुनौतीहरूसँग लड्न सक्ने साहस बोकेको त्यो योद्धा क्रान्तिप्रतिका विपुल आशाहरू लहराउँदै हिँडेको देखिन्थ्यो । आफूलाई भीमसेन थापाका सन्तान बताउने उहाँ सधैँ भन्नुहुन्थ्यो, “भीमसेन थापाले आधुनिक नेपालका लागि केही गरेथे, उनकै बिँडो थामेर देशका लागि केही गरुँला भन्ने अठोट थियो तर पूरा हुने भएन ।”
हरदम देश र जनताका प्रति चिन्ता जाहेर गर्ने थापा सामान्य रहनसहन तर सैनिक अनुशासनका पक्षपाती हुनुहुन्थ्यो । विपक्षीका तर्कहरू सुन्ने र तर्कका आधारमा असल पक्षलाई लिने राम्रा गुणहरू थिए उहाँमा । आफ्नै पक्षका पनि गलत कुरामा लागिनरहने राम्रा र असल बानी थिए । उहाँ साधारण लवाइ एवं चिल्लो र मासु खान मन पराउने व्यक्ति हुनुहुन्थ्यो । परिवारका बारेमा ज्यादै चिन्ता नलिए पनि तीन श्रीमतीमध्ये कान्छी श्रीमतीका बारेमा भने कुरा गररिहनुहुन्थ्यो ।
ओखलढुंगाको चिसंखुबाट गिरफ्तार गरी गोलघर ल्याइँदाका सुरुसुरुका दिनमा उहाँलाई तिर्खा लाग्दा पनि पानी पिउन दिइएको थिएन । राती कुनै भाँडाकुडा कोठामा राख्न दिइन्नथ्यो । राती चेक गर्न आउने प्रहरी र नाइकेहरूलाई दया लागे मात्र उहाँले पानी पाउनुहुन्थ्यो । थापाजीलाई सुरुका दिनमा गोलघरबाहिर नेपाली कांग्रेस समर्थक राजबन्दीहरूले चलाएको मेसबाट खाना ल्याउन पनि दिइएन । जेलरको आदेशमा चौकीदारको भान्साबाटै खाना खुवाइयो । त्यस क्रममा सेलभित्र चलेको संघर्षको परिणामस्वरूप केही सहजता भयो । पछि त उहाँकै गाउँको थापा चौकीदार भएपछि उहाँलाई निकै मद्दत मिल्यो ।
दिनहरू क्रमशः बितिरहेका थिए । थापाजीलाई गोरखापत्र र दी राइजिङ् नेपाल उपलब्ध गराइन थाल्यो । रेडियो नेपालबाट प्रसारति समाचार सुन्ने सुविधा पनि मिल्यो । उहाँ पत्रिका पढ्नासाथ हाम्रो कोठामा पुर्‍याउन लगाइदिनुहुन्थ्यो । एक वर्ष कटाएपछि दिउँसो घाम ताप्नका लागि हाम्रा ढोका खुल्न थाले । त्यसपछि हामी (मोहनचन्द्र अधिकारी, केपी ओली, क्याप्टेन यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ र म) पाँच जनाको साझा आँगन साँच्चै साझा बन्न पुग्यो । हामीबीचका औपचारकि बारहरू हटे, हामी घनिष्ट मित्र बन्न पुग्यौँ । अलग-अलग विश्वदृष्टिकोण राख्ने र दुई अलग राजनीतिक मान्यतामा प्रतिबद्ध भए पनि हाम्रो भावनात्मक सम्बन्ध भने बडो सौहार्द्रपूर्ण थियो ।
०३२ भदौदेखि ०३३ पुससम्म मलाई नख्खु जेलमा राखियो, कप्तान थापाबाट अलग गरेर । जेलमा नै बिछोडपछि ०३३ पुस ६ गते मोहनचन्द्र अधिकारी, केपी ओली र मलाई फेर िनख्खु जेलबाट उही सेन्ट्रल जेलको गोलघरमा लगियो । मिलनको आनन्द लिँदै गोलघरभित्रका तीता कहरहरू फेरि सँगै बिताउन थाल्यौँ । चारपाटे त्यो गोलघरको माथिल्लो भाग खुला थियो, सोझै आकाश देखिने । सेन्ट्रल जेलको बीचमा रहेको गोलघरका ६/८ फिटका ती कोठाभित्रै दिसापिसाब गर्नुपर्थ्यो । सुत्नु त के थियो, खुट्टा पसार्न पनि धौधौ पर्थ्यो ।
कप्तान थापा दोस्रो विश्वयुद्धमा नेपाली सेनाका तर्फबाट बि्रटिस सेनाका लागि जापानविरोधी मोर्चामा हवल्दारका रूपमा लडेर नेपाल फर्केर क्याप्टेन बन्नुभएको थियो । उहाँलाई धनकुटा, ताप्लेजुङ र पाँचथरको नेपाली सेनाको कमान्डर हुँदा नेपाली कांग्रेसका कार्यकर्तालाई ‘कस्टडी’बाटै उम्काएको र भित्री रूपमा कांग्रेसको राजनीतिक मिसनमा सरकि भएको आरोप लागेको थियो । नेपाली सेनामा दुई दशक बिताएर ०२३ सालमा पेन्सन निस् ि कने बेलामा कोर्ट मार्सलमा पर्नुभयो र पेन्सन नै रोक्का गरियो ।
त्यसपछि सुकुम्बासीका रूपमा मोरङको रमाइलो झोडामा पस्नुभयो । ०२७ सालमा वन विभागको अगुवाइमा सुकुम्बासीहरूमाथि दमन र धरपकड मात्र गरिएन, चारैतिरबाट घेरेर सेनाले सुकुम्बासीका झुपडीमा आगो लगाइदियो, कैयौँलाई एकैचिहान बनायो । सरकारले त्यहाँ ठूलो आतंक मच्चायो । एक किसिमको नरसंहार नै भयो । यज्ञबहादुरमाथि वारेन्ट जारी भयो । त्यसपछि सरासर भारत पुगी नेपाली कांग्रेसको हेडक्वार्टर र खासगरी गिरिजाप्रसाद कोइरालासँग भेट गरी यज्ञबहादुर सैनिक मोर्चामा संलग्न हुनुभयो । त्यस्ता संघर्षशील कप्तान थापा मारिएको घटना ज्यादै पीडादायी छ र अहिले पनि झलझली सम्झना आउँछ ।

नेपाल साप्ताहिक ३५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *