Skip to content

मुम्बई ब्लास्ट हुनुअघि

  • by


अमेरीका बसेर फर्केका भैरहवाका भूतपूर्व मेयर तथा मेरा अन्तरंग मित्र डाक्टर बलराम गौतमका परविारसित म भारतको एक महिना लामो यात्रामा गएको थिएँ । २०६३ पुसको कुरा हो । हरद्विार, ऋषिकेश, मसुरी, देहरादुन घुमेर दिल्ली आयौँ अनि केही दिनपश्चात् मुम्बईका निम्ति प्रस्थान गर्‍यौँ ।
भोलिपल्ट साँझपख मुम्बईको बान्द्रा स्टेसन पुग्यौँ । कृषि विकास ब्यांकका अधिकृत तथा हाम्रा आत्मीय मित्र पीताम्बर भण्डारीका बहिनीज्वाइँ लोकनाथजी हामीलाई कुरेर बस्नुभएको थियो । उहाँ केही वर्षदेखि मुम्बईमै कारोबार गर्नुहुन्थ्यो । त्यहाँबाट हामी ट्रेनमा चढेर दादर पुग्यौँ अनि त्यहाँ अवस्थित शारदा लजमा बास बस्न पुग्यौँ ।
मुम्बई आएको भोलिपल्ट बिहानदेखि मलाई युरकि एसिडले च्याप्यो । उहाँहरू सहरदेखि अलि टाढै रहेको ‘एस्सेल वर्ल्ड’ लगायत मुम्बईका विभिन्न स्थलहरू घुम्न जानुभयो । ट्राभल एजेन्सीहरूले प्रत्येक बिहान मुम्बई दर्शन गराउन लैजाँदो रहेछ, उहाँहरू त्यसै अन्तर्गत घुम्न जानु भएको थियो । म तेस्रो दिन मात्र अलिअलि हिँडडुल गर्न सक्ने भएँ अनि चौथो दिन एक्लै मुम्बई दर्शनमा गएँ बिहान ७ देखि बेलुकी ८ बजेसम्म ।
गाइडले इन्डिया गेट, ताजमहल होटल, पार्कहरू, म्युजियमहरू, हैमिंग गार्डेन, अमिताभ बच्चनको ‘जलसा’ र ‘प्रतीक्षा’ दुवै भवन, शारुखको ‘मन्नत’, सलमानको फ्ल्याटलगायत थुप्रै सिने कलाकारको घर तथा सचिन तेन्दुलकरको रेस्टुराँहरू देखायो । प्रत्येक ठाउँ घुमाउँदै तिनका बारेको व्याख्यामा पुग्दो प्रवचन पनि दिन्थ्यो । तर, उसको नियम पनि कडा थियो । बाहिर पार्क गरेको गाडीमा पाँच मिनेट कुर्दा पनि कुनै यात्रु आएनन् भने गाडी चलाउन लगाउँथ्यो । उसले पहिले नै यो ठाउँमा कुनै यात्रु छुटे ट्याक्सी लिएर फलानो ठाउँ, यदि त्यहाँ पनि आउन नसके त्यसपछिको ठाउँमा आउन पहिले नै भनिसकेको हुन्थ्यो ।
एक ठाउँमा गाडी रोकियो र एक घन्टाको समय दिँदै ‘यो देवानन्द साहेबको घर हो’ भनेर चिनायो । हामीले नजिकै रहेको इस्कोनको मन्दिर र चौपाटी हिँडेर जाने रहर गर्‍यौँ । म १५ मिनेटभित्र दुवै ठाउँ सरसर्ती हेरेर देवानन्दलाई भेट्ने उद्देश्यले उनको घरतिर आएँ । घरमा जम्मा दुईवटा बत्ती बलिरहेका थिए । मैले गार्डलाई बोलाएर भनेँ, “मै नेपाल से आया हुँ, नेपाल मे उनसे मिल चुका हुँ, मेरा यह भिजिटिङ् कार्ड उनको दिजिएगा ।” गार्डले भन्यो, “वह बिमार हैँ, सो रहे हैँ, फिर भी मै उनको यह कार्ड दुंगा ।” ऊ माथि उक्लियो । कुनै बेलाका भारतीय चलचित्रका महानायक र विशेष गरी केटीहरूका ठूला ‘फ्यान’, कालो सुट लगाउन प्रतिबन्धित भएका (पाँच दशकअघि त्यस्तै चर्चा सुनिथ्यो) देवानन्दको घर यति उजाड देख्दा मनमा अनेकन तर्कनाहरू उब्जे । देवानन्दसित गाँसिएका एसडी वर्मन, किशोरकुमार, आरडी वर्मन, गीता वाली, केएन सिंह, महम्मुद, जिनत अमान, मुमताजहरूको सम्झना गरेँ । केहीबेरपश्चात् गार्ड फकर्यो, सुखद मुद्रामा र भन्यो, ‘आपको कल सुबह ९ बजे ब्रेकफास्ट मे बुलाये हैँ’ । तर दुर्भाग्य, भोलिपल्ट फुर्सद जुरेन । हाम्रो गोवा-यात्रा निर्धारति थियो ।
तर, गोवा जाने टिकट त ‘वेटिङ्’को पो दियो । तीन सय यात्रीपछि मात्र हाम्रो पालो आउने । तैपनि स्टेसन आयौँ । भीड यति धेरै कि पाइलो राख्ने ठाउँ थिएन । एउटा कुली आएर आठ सय रुपियाँमा सामान बोकेर सबैका लागि सिट उपलब्ध गराइदिने भन्यो । कसकास गर्दा चार सय रुपियाँमा मान्यो र सिट उपलब्ध गराउन नसक्दा १ सय ५० मात्र दिए हुने भन्ने कुरामा सहमत भयो । मैले भन्ठाने ऊ स्टेसन मास्टर वा टीटीसित गएर कुरा गर्नेछ । तर, ऊ सामान नजिकै उभिरह्यो कतै गएन । केहीबेरपश्चात् ऊ डाक्टर साहेबका छोरानिर आई भन्यो, “एक छोटासा झोला पकडो और हमारे साथ दौडो, ट्रेन आ रही है ।” वासुले एउटा झोला उठाएपछि डाक्टर साहेबले “उसको दौडना नही आता हम दौडेगेँ” भन्नु भयो र त्यो झोला आफूले लिनुभयो । मैले दौड्नुपर्ने कारण सुरुमा बुझिनँ तर पछि बुझेँ । गोवा जाने ट्रेन मुम्बईबाट खुल्दो रहेछ र साधारण सिटिङ् बैगन स्टेसनमा आउँदा खाली नै हुँदो रहेछ । १ सय १० देखि १ सय १५ केजीको स्थुल शरीरका डाक्टर साहेब लड्नुहोला भनेर एउटा झोला मैले पनि बोकी कुल्लीको पछाडि दौडिएँ । केटाकेटीमा चलिरहेको ट्रेनमा चढ्न र उत्रन अभ्यस्त भएको मलाई केही गाह्रो भएन, डाक्टर साहेब पनि सजिलैसँग चढ्नुभयो । कुलीले तीन सिटमा झोला राखेर हामी दुवैलाई बस्न भनेर बाँकी सामान र मान्छे लिन गयो । ट्रेन, मोटर या बसमा मेरो निदाउने बानी छैन, त्यसैले मुम्बई-गोवा यात्रामा म रातभर िजाग्राम रहेँ ।
‘मुम्बई दर्शन’ अन्तर्गत ट्राभल्स एजेन्सीको बसमा चढेर झन्डै १२ घन्टापछि हामी मुम्बई फक्र्यौं । बलराम गौतमसित गएका बेला उही मुम्बई दर्शन अन्तर्गत नदेखाइएका कुरा यसपटक देखियो भने त्यसबेला देखाइएका कतिपय कुरा यसपटक देखाइएन । मैले गाइडसित सोध्दा सबै ठाउँ हेर्ने हो भने २४ घन्टै लाग्छ । तसर्थ, हामी आज केके देखाउने हो बस हिँडेपछि निर्णय गर्छौं भन्यो । अमिताभ बच्चनको घर आउँदा गाइडले ठट्टा गर्दै भन्यो, “देखिए जया भादुरी बाल्कोनी से आप लोग सबको नमस्कार कर रही हैं ।’ उसले यसो भन्दा हो न हो ठानेर केही पर्यटक अमिताभको घर हेर्न झ्यालबाट त्यतैतिर आँखा घुमाउन पुग्छन् । । तर, केही नदेखेपछि ‘कहाँ ? कहाँ ?’ भनी गाइडलाई सोध्ने गर्छन् । तर, यो ठट्टा गरेको हो भन्ने बुझेपछि आफैँ मरमिरी हास्थ्यौँ । बढो रमाइलो भयो त्यो यात्रा ।
२६ नोभेम्बर २००८ मा मुम्बई ब्लास्ट हुँदा हामी त्यहीँ थियौँ । ताजमहल होटल ध्वस्त भयो । हामीले ब्लास्ट हुनुभन्दा अघि यी होटलअगाडिको विशाल परसिरमा दुई साताअघि फोटो खिचाएका थियौँ । फोटोमा हामी इन्डिया गेट र समुद्रतिर फर्केर उभिएका थियौँ । यो अब एउटा ऐतिहासिक स्मरण भयो हाम्रा लागि । तर, यो घटना हुनुअघि हामीले ऐतिहासिक एलिफैन्टा टापुको पनि भ्रमण गर्न भ्यायौँ । ढिलो गरेको भए, यो जुर्ने रहेछन् । हामी सफा-सुग्घर र चिटिक्क परेको पुना सहर गयौँ । एउटा स्कुटर भाडामा लिई म र नगेन्द्रजीले त्यहाँका धेरै कुरा हेर्‍यौँ । डेब्कन कलेज र महात्मा गान्धी बसेको जेलसमेत पुग्यौँ ।
पुनाबाट अैरंगावाद ट्रेनको एसी-२ नामक स्लिपर बस यात्रा गर्‍यौँ । स्लिपर दुई जनाको रहेछ । अहिलेसम्म धेरै यात्रा गरेको मैले स्लिपर बसमा यात्रा गरेको थिइनँ । हामी स्लिपर बसमा चडेर मजाको यात्रा गर्‍यौँ, तलको स्लिपरमा नगेन्द्र र गौतम, माथिकामा म र सापकोटा ।
औरंगजेबको स्थान । पैकेज टूर अन्तर्गत सबै ऐतिहासिक स्थल र अलि टाढा रहेको सांस्कृतिक धरोहर एल्लोरा गुफा गयौँ । औरंगजेबको छोरोले आफ्नी आमाको सम्झनामा ‘डुप्लिकेट’ ताजमहल बनाएको छ, जसलाई ‘बीबीका मकबरा’ भनिन्छ, त्यो पनि हेर्‍यौँ अनि यहाँ अवस्थित १२ मध्ये एक ज्योतिर्लिंग पनि ।
दुई दिनपछि एउटा ट्याक्सी लिएर सिरडी आयाँै । तीन वर्षबीच झन्डै डबल घरहरू बनेछन् अनि होटल छ्यापछ्याप्ती तर साह्रै महँगो अनि कोठा पाउन पनि गाह्रो । सिरडी सबभन्दा महँगो लाग्यो भने पुट्टपर्ती सबभन्दा सस्तो भारतका तीर्थस्थलमध्ये । पैसा अलिअलि भए पनि जोगाउन हाम्राे ट्रेनको समयभन्दा ३० घन्टा अगाडि नै मनमाड पुगेर स्टेसनसित टाँस्िसएर रहेको भिसुवा होटलमा बस्यौँ ।
हामी पाँच जनाको ३०-३५ वर्षदेखि विशेष मित्रता छ । रोचक घिमिरे लामो यात्रामा जान मन पराउनु हुन्न, उहाँ अचेल सबै कुरामा निरामिष हुनु भएको छ । बाँकी चार जना हुँदा ध्रुव सापकोटा कम बोल्ने र हाम्रा कुरा सुन्दा मुस्कुराउने र ज्यादै घत लाग्दा खुलेर हाँस्ने गर्छ । हामी तीन जनाचाहिँ त्यस्तो कुनै एक निमेषका लागि भए पनि अनुपस्थित हुँदा त्यो अनुकूलतालाई प्रयोग गर्दै उसको हल्का कतरन गरहिाल्छौँ ।
फर्कंदा बाटोमा म र नगेन्द्रजी केही पल सँगै हुँदा उहाँले भनिहाल्नुभयो, ‘कट्टेल र छट्टेल (ध्रुवचन्द्र र ध्रुव सापकोटा) पुनामा डेक्कन कलेजसँगै घुम्न गए । ध्रुवचन्द्रले वर्षौंअघि पीएचडी गर्दा आफू बसेको ठाउँ देखाउन लगे । फर्कंदा कहाँ फर्किने हो तिनीहरूलाई याद भएन, न होटलको कार्ड लगेका थिए, न त आफू बसेको ठाउँको नाउँ नै तिनीहरूलाई याद थियो । धेरैबेर अल्मलिएपछि हस्पिटलअगाडि भन्ने सम्झिए ध्रुव सापकोटाले । टेम्पो लिए अनि हस्पिटल लग भने । कुन हस्पिटल भनी ड्राइभरले सोध्दा बताउन सकेनन् । ड्राइभरको पालो तीन-चारवटा हस्पिटलको चक्कर लगायो । धेरै घुमेर र मनग्य पैसा खर्च गरसिकेपछि बल्ल आफ्नो होटल आइपुगे । त्यतिबेला मलाई लाग्यो, ध्रुवचन्द्र त्यत्रो वर्ष पुना र मुम्बईमा बसेको मानिस उसले मुम्बईमा पनि देखाएन । पहिलोपटक मुम्बई गएको पर्यटकजस्तै देखियो । धेरै किताब लेखेर मात्र हुन्छ ?

नेपाल साप्ताहिक ३५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *