देशको रक्षा गर्नलाई अब नयाँ कदम चाल्नुपर्छ
देश नै बेच्ने दलाललाई गिंडी गिंडी ढाल्नुपर्छ
काम छैन अब पनि जनताहरू निदाएर
देशका लागि नविन क्रान्ति आजैदेखि थाल्नुपर्छ
सामन्त र शोसकलाई कति शासन गर्न दिने
गरीबमारा स्वर्थीलाई देशैबाट फाल्नुपर्छ
छिमेकिले टाउको टेकी हाम्रै साँध मिचिरा’छ
रक्षा गर्न आफ्नो भूमि भोटे कुकुर पाल्नुपर्छ
गरीब र निमुखाको दिन आओस् आजैदेखि
धनी अनि गरीब बीचको खाडललाई टाल्नुपर्छ
देशभक्तिको आवाजले गुन्जियोस् यो धर्ती आकाश
चेतना अनि शिक्षाको नयाँ मशाल बाल्नुपर्छ
भ्रस्टाचारी दूराचारी नरहुन् कोही बाँकी
त्यस्तालाई पात कसी झ्यालखानामा हाल्नुपर्छ
देशका लागि बलि दिने सच्चा सपूत् माग्छिन् आमा
देशभक्तिको आरनमा वीरहरूलाई गाल्नुपर्छ
