नेपालको विकट प्रदेश कर्णालीका जिल्लाहरूमा जाने स्वप्न साँचेर मैले एक युग बिताएँ । अखवारहरूमा जुम्ला देख्थें । टेलिभिजनमा हुम्लाको दर्शन गर्थें । ती जुम्ली र हुम्लीहरू एकै आमाका दुई छोरीहरूका मुहार, रहनसहन र पहिरन एउटै हुँदा हुन् । अरुले चिनाइदिएका भरमा म ती दिदीबहिनीलाई दृष्टिगत गर्न खोज्थें । यहाँका हाम्रा छोरीहरूले जस्तै टाइट जिन्स र थरिथरिका विदेशी पहिरन मुखमा ओठमा लाली घसेका नहोलान् तर प्रकृतिका छोरी बुहारीहरूसित अरु केही नभए पनि केटाकेटीमा चुलबुले तरुणावस्थामा लालीगुराँस सरि फक्रेका डाँफे जत्तिकै मनमोहक होलिन् ।
खाली पैतालालाई खियाउँदै डाँडा, पाखा र पर्वत फिरेकी होलिन् । सम्झदिहोलिन् आफ्ना बन्धुबान्धवहरू, छोरानातिहरूलाई जो विदेशिए गुजाराको लागि । रातको अँध्यारोमा छाम्दिहोलिन् प्यारा आफ्ना लोग्नेलाई । चिसो भुईं, खुल्ला आकाश भेट्दिनन् निष्ठुरीलाई । निदाऊँदिहोलिन् परेला भिजाई । कोदो, फापर तिनै नहुन् कतै पाइहाले पनि सास धान्ने अन्न र बीउ र गुन्दु्रक, आलु, च्याउ, पिंडालुको झोलमा चोप्दै निल्छन् छोरीबेटी कर्णालीका ।
कस्तुरी हुन् ती कर्णालीबासी, भौंतारिन्छन् सुवासका खातिर सबै ताक्छन् उनीमाथि भोका हुँडारका आँखा । सोझा सिधा सित्तैँमा बन्छन् सबैका निसाना ।
स्वप्नमा देखेको जुम्ला र आफ्नै खुट्टाले टेकेको जुम्लाबीच कतै साइनो भेटाइन । अग्ला होचा दुईतिरका डाँडा बीचको हवाइमैदानको धावन मार्ग जस्तै सुलुक्क मर्केको एउटा सानो उपत्यका रहेछ मूलबजार खलंगा । २०६४ को जुम्ला महोत्सव, धन्य छ जसले मलाई निम्त्यायो ।
खस भाषा र नेपालको प्राचीन सभ्यताकी जननी कर्णाली किन यतिविघ्न पिछडिइन् र अपहेलित भइन् ? नेपाली लोकसाहित्य र सङ्गीतका खानीहरू उत्खनन गरी सहर बजार पुर्याउने भरिया साहित्यकार पनि किन तर्किए उनी बाट । कसको के बिगारिन् कर्णालीले ?
स-साना माटोले जोडेका दुईलाम घरहरूका बीचैबीच कतै अलि चौडा तर धेरैजसो साँघुरा बाटाहरूका छेउ छाउका पसलहरूमा सजाइएका घरायसी सामान र खाद्य सामग्रीहरूमा म जस्ता सहरियाका आँखा नपर्नु अस्वभाविक हो तर त्यहाँका बासिन्दा र छिमेकी जिल्लाबासीहरूका लागि खलंगा बजार केन्द्रबिन्दु हो ।
कालीमार्सी स्याउ च्याउ दिव्य औषधि खाऔँ ।
भाषा भेषभूषाको उद्गमस्थल जुम्ला हेर्न जाऔँ ।
मेरा लागि मेलाको विशेष आकर्षण छिमेकी पाँच जिल्लाहरूबाट महोत्सवमा आएका बुढाबुढी र तन्नेरी तरुनीहरूका नाच । उनीहरूका शरीरमा नौला र राम्रा पहिरन भने केही थिएनन् तर एकजोर मोजा त्यसमाथि प्लाप्टिकको चप्पल मात्र नयाँ थिए । यस्तै मेला र पर्वहरूका लागि जगेर्ना गर्ने तिनीहरूसिन एक जोर मोजा र चप्पल होलान् ? पेन्सिल हील भएका जुत्ता लगाई हिँड्ने बाटो कहाँ छ र त्यहाँ ? उनीहरूको नाच र गानामा झण्डै समानता देखिन्थ्यो । त्यस्तै मनुवाहरूका आँखा भुईंमा खुट्टा जमिनमै घिसि्ररहेको देख्दा कर्णालीबासीहरूले आफ्नो धरतीको न्यानो स्पर्श र स्नेह बिर्सेका रहेनछन् भन्ने लाग्यो ।
सहरियाहरू आफ्नो भुइँ छोडी जतिसक्यो माथि उफ्रने र सोझो कम्मर चर्खाजस्तै फनफनती घुमाउने र नितम्बका मांशपेशीहरूलाई मच्चाउनु नै कला मान्दछन् । यहाँ मान्छे हिँडडुल गर्न खुट्टा उचाल्नु अनिवार्य छ नै तर चाहिनेभन्दा बढी बिना पखेटा माथि उड्न तँछाडमछाड गर्ने छाडापनकै परिणाम न हो अरूका कमारा हुनुपर्ने नौमत आइपर्नु ? थाकेछन् सबै दिनभरको मेलाका कार्यकलापले । पाहुनाहरूका हातहातैमा गाँसिएका पातका टपरीमाथि कोदाका रोटी र सितन टिमुरले तिखाारिएको भाागोको धूलो । कोदाका रोटी र ढिंडोको परिकारबारे सुनेको मात्र थिएँ, देख्न र स्वाद चाख्न पाएको थिइन सङ्कोच मान्दै सानो एक टुत्रा रोटी टोकें । अनि विस्तारै चपाएँ । जिब्रोले स्वाद पाएछ । दुईवटा बाक्ला चाक्ला स्वाद लिँदै खाएँ । आलुको अचार र जङ्गी सेलको स्वादै बेग्लै । एउटा सेल रोटी र एक बोहोता आलुको अचार पेटभित्र थन्को लगाएपनि तृप्त भएँ ।
कलाकार साथी श्री रामकृष्ण दुवालको ससुरालीको पाहुना बन्ने सौभाग्य पाएँ । नेवारी पटक्क नजान्ने तर आफ्नो भाषा र संस्कृति प्रतिको मोह र उत्सुकता देख्दा म दङ्ग परंे । भाषा र संस्कृति नाम्लो र दाम्लो रहेनछन् । यी त हाम्रै छाया । जहाँ पनि पछ्याउँदा रहेछन् । मानिसको मानवीय अस्तित्वका चिनारी नहुन् भाषा, सङ्गीत, कला र संस्कृति ।
भाषा नभएको मानिस जिब्रो भएपनि लाटो हुन्छ । साहित्य शून्य समाज टाउको भए पनि गिदीविहीन हुँदोरहेछ । सङ्गीत विनाको समुदाय छातीभित्र मुटुमा स्पन्दन नभएको र कलाविहिन राष्ट्र मरुभूमिजस्तो लाग्दोरहेछ ।
त्यसैदिन साँझ जुम्ला नेवार समाजको एउटा सभाको आयोजना गरियो । परदेशमा लागेका आफ्ना भाइ घर फर्केजस्तै अति हार्दिकतापूर्वक मन साटियो । मैले काठमाडौँका नेवारहरूका संस्कृति र जीवनशैली चिनाउने प्रयास गरें । उहाँहरूले मलाई नेपाल मण्डलको मूल थलो काठमाडौँबाट विस्थापित हुनु परेका कथा र व्यथा उघार्नुभयो ।
ससाना कोठाहरू, एउटा साँघुरो, घुमाउरो अँध्यारो (करिब ५।७ हात) पार गरेपछि काठका. ठाडो भर्याङ् छामछुम गर्दै फेला पार्नु पर्ने हुन्छ । किन छिँडीको अँध्यारो कुनामा भर्याङ तेस्र्याइएका होलान् ? आफै अड्कल गर्छु । बाहिरिया अतिक्रमणकारीहरू र हुरीबतासबाट सुरक्षित राख्न नै त होला । जाडोमा भर्याङ चढ्दै हावा कोठाभित्र नपसोस् । हिँउदमा हिउँको चिसोले न कठ्याङ्िग्रयोस्
एकदिन बिहान खलंगा बजारका शिक्षकहरूसँगको भेटघाटको सिलसिलामा एउटा शिक्षा सङ्कायका विद्यार्थीहरूसँग छलफलमा अल्भिmन पुगें । विद्यार्थीहरूसँग पहिले प्रत्यक्ष चिनाजानी नभए पनि उनीहरू मेरा नाउँबाट परिचित रहेछन् । हामीबीच प्रश्नोत्तरको शृङ्खला सुरु भयो । पिरियड सकियो तर पनि उनीहरूको धित मरेको रहेनछ । महोत्सवमा गएको एउटा यात्रु पुनः पुरानो शिक्षक पेशामा फर्केको अनुभव भयो । एकपल्टको माष्टर सधैँको माष्टर भने झैँ विद्यार्थीसितको सामीप्य र ममताबाट टाढिन सकिँदोरहेनछ ।
एकसरो दर्शन पाएँ जुम्लाको । घर र्फकने तरखरमा थिएँ । जुम्लाका जिल्ला विकास अधिकारीले उहाँको जिल्ला हुम्लातिर लाग्न निम्तो दिनुभयो । ६ दिनको हिँडाइपछि मात्र पुगिने हुम्लालाई पछि भेट्न वाचा गरी बिदा लिएँ तर छुट्टनिु अघि हुम्ली बहिनीले जुम्ली दिदलाई लेखेको एउटा पत्र मेरो हातमा थमाइदिनुभयो -“यो पत्रको सन्देश राजधानी पुर्याइदिनुहोस ।” यति सानो काम पनि किन अरूलाई दुःख दिऊँ ? आफ्नै सम्झनाभित्र किन ठाउँ नदिऊँ ?
र्फकने दिन पक्का भयो । हवाइजहाजको टिकट विमानस्थलमा साथीकै जिम्मा लगाइयो । साँझ जुम्लाका गण्यमान्यहरू म बसेको डेरामा आउनुभयो । एउटा अन्तक्रियामा सहभागी बन्न आग्रह गर्नुभयो । म दुविधामा परें । माछाजत्तिकै चिप्लो हात परेको हवाइ टिकट उम्कने पो होकि ? अर्को छोप्न सकिएला र ? कतै भाउ बढ्ने त होइन ? जे पर्ला पर्ला ! यस्तो मौका फेरि कहिले आउला ? निम्तो सकारें ।
त्यहाँका बुद्धिजीवि, प्राध्यापकहरू, राजनीतिक एवं गण्यमान्य व्यक्तिहरूले खचाखच भरिएको सभाकक्षमा म काठमाडौँबाट गएको एकजना पाहुना कार्यपत्र प्रस्तुति र व्याख्या डा. कलबहादुर रोकायबाट हुने रहेछ । “जुम्लाको विकासको सम्भावना र चुनौती” कार्यपत्र गहकिलो छलफल गरमागरम ।
म र्फकनु पर्ने हवाइजहाजले म हवाइमैदान पुग्नु अघि पखेटा फरफराउला भन्ने डर । कोही चिनेका छैनन मुख हेरी कुरा गर्न । कार्यपत्रमा कुँदिएका काला अक्षरहरूले जता ताने त्यतैतिर मनमगज दौडाएँ । बढी के गन्थन गरुँ ? तैपनि केही भन्नुपर्ने कुरा अलि प्रष्ट्याउनै पर्ने नत्र टिप्पणी नहुने भन्नुपर्ने सबै बेलीबिस्तार सकें । मेरो भनाइको निचोड थियो – विकासका नाउँमा विनाश, विस्थापन, भरिया बन्नुपर्ने विवशता, अनि बेकामी र विदेश पलायन हुनुपर्ने नौमत आइनपरोस् बस ।
विकासको फलका हकदार बाहिरिया साहू महाजन, विदेशी दलाल नहोऊन् । विकास स्वयं राक्षस भई निमुखा श्रमिकहरूलाई नलखेटुन् । ‘यार्चागुम्बा’ एउटा यस्तै पत्यारलाग्दो उदाहरण पेस गरें । ज्यान हत्केलामा राखी यार्चागुम्बा बटुल्न महिनौँ हिउँको छाप्रोमा बस्नुपर्ने । भाग्यले साथ दियो र हिमशिखर स्थिर भइदिए कमाइहुने । लाखमा लिएको त्यही यार्चागुम्बा दलालले करोडौँमा बेच्छन् । विदेशको माटो छुनासाथ अरबमा बढोत्तरी हुने सौभाग्य पाउँछ त्यही यार्चागुम्बा । त्यही यार्चागुम्बाको लागि छिमेकी गाउँकाले सीमाना नाघेको निहुँमा गर्दन उछिन्ने । यस्तो पीडादायी घटना सुन्दा भोलिको संघीयताको पक्षपाती म भौगोलिक सीमानाभित्र र बाहिरका नेपाली दाजुभाइहरूले मानवीय संवेदनाको साँध मिचे भने के होला ? सम्झँदैमा मुटु काम्छ आफैँमा काटामार गर्ने व्यवस्था ? भो चाहिएन भनूँ जस्तो लाग्छ ।
शायद, त्यही घटनाले म तर्सिएँ । रातभर मसँग सुतिरहेको जुम्लालीले मलाई ब्यूँझाइदियो।
शनिबार, गोरखापत्र
आश्विन २४, २०६६
