Skip to content

दाजुको नाम पत्रिकामा छापिएको देखेपछि लेख्न हौसिने कृष्णचन्द्र सिंह प्रधानको सह-लेखनमा सँगै यात्रा गर्ने टुकुराज पद्मराज मिश्रको सन्दर्भ जोड्दा पनि हुने सम र पुष्कर शम्सेरलाई सम्झँदा पनि हुने । मातृका वी.पी. तारिणीलाई अघि सार्दा पनि हुने गोठाले र विजय मल्लको कुरो गर्दा पनि हुने । नेपाली साहित्यमा दाजु भाइको लेखन सन्दर्भ उल्लेख गर्दा प्रेरणाको कुरोमा मात्र सीमित छैन र यो सन्दर्भ एक किसिमको इर्ष्यासम्म फैलिन्छ । दाजुको लेखनबाट प्रभावित भएको हुँ भन्ने डा. ध्रुवचन्द्र गौतम अनि कविता क्षेत्रमा शैलेन्द्र साकारले मभन्दा राम्रो लेखेपछि कविता लेख्न छाडें भन्ने परशु प्रधानको चर्चा गर्दा दाजुभाइ बीच लेखनमा देखिने प्रतिस्पर्धा र नपत्याउँदो इख पनि जोडिँदो रहेछ ।

“…. ‘शारदा’ मा छापिएको दाजुको नाउँ । नाम त अरू लेखकहरूका पनि अङ्कित थिए । तिनीहरु कसैले न मलाई छोयो न आकषिर्त गर्यो । हिजोआज भए कसैको ध्यान पनि जाँदैन, कसैलाई अचम्म लाग्ने कुरो पनि ठहर्दैन तर त्यसबेला छापा अक्षरमा कसैको नाम छापिनु चानचुन थिएन । यसकारण दाजुको नाम छापिएको ‘शारदा’ मा देख्दा म चकित भएँ, तानिएँ र झिल्को देखेझैं मेरो अचेतन मन स्फुरित हुन्छ र प्रश्नाङ्कति जिज्ञासा उठ्छ के यसरी नै मेरो नाम छापेको हेर्ने रहर सलबलाउन थाल्छ, भोक जाग्छ र म प्रेरित हुन्छु ।” नेपाली साहित्यमा ख्याति कमाउनु भएका स्रष्टा कृष्णचन्द्रसिंह प्रधानको भनाइ हो यो । दाजु हृदयचन्द्रसिंह प्रधानको नाम ‘शारदा’ मा छापिएपछि आफू पनि लेख्न तम्सिने प्रधान आफ्ना इर्ष्याका कुरा मात्र होइन अरूका बारेमा पनि भनिदिनु हुन्छ । ‘मधुपर्क’ (२०६३ माघ) – “यसरी दाजुदेखि इखिएर म लेखक बन्न पुग्छु । भित्रभित्रै प्रतिस्पर्धा पनि गर्थें । यही इर्ष्या गोविन्द दाइमा पनि छ । एकदिन नयाँ सडकबाट फर्किरहँदा उनलाई भूगोलपार्कको पुटपाथमा भेट्छु एक्लै फट्फट् हिँड्दै गइरहेका थिए । यो २०२६ सालको कुरो हो । ने.रा.प्र.प्र.मा हामी केही सह-सदस्यहरू भर्खरैजसो मनोनित भएका थियौं । मनोनित हुनेमा विजय पनि थिए । गोविन्द विजय (मल्ल) हरू दाजुभाइ भएकाले पनि आफू त्यसमा नपर्दा इर्ष्या लाग्नु स्वभाविक हो । परिवारमा यस्तो उदाहरण धेरै भेटिन्छ । नदेखिने गरी भित्रभित्रै एक अर्काप्रति इर्ष्या गरिरहेका हुन्छौं, स्पर्धा गरिरहेका हुन्छौं । ‘शारदा’ मा छापिएका अरू लेखकहरूको नामले म आकषिर्त भइन, दाजुको नामले छोइएछु । यस्तै, अरूको मनोनयनले गोविन्द दाइलाई क्यै प्रभाव पर्दैन विजयको मनोनयनले उनी आकषिर्त हुन्छन् ।

अब म लेख्दै लेख्दिन उनी एकाएक पड्किन्छन्, एकेडेमिसियन हुन नपाएकोमा भित्रको असन्तोषले अभिव्यक्ति खोज्यो ।

“उन्नाइस सालसम्म त कविता नै लेखेंं, पहिलो कृति पनि ‘जीवनपथ’ (२०१६) भन्ने कविता नै हो, तर त्यसमा आफूलाई सम्पूर्ण रूपमा पोख्न नसकेको लाग्यो । भाइ शैलेन्द्र साकारले राम्रो लेख्न थालेपछि त मैले छाडि नै दिएँ ।” नेपाली आख्यानका चर्चित स्रष्टा परशु प्रधानले भन्नु भएजस्तै भएको छ नेपाली साहित्यमा । कविता शैलेन्द्र साकार, आख्यानमा परशु प्रधानले आफ्नो दरिलो परिचय बनाउनु भएको छ ।

घाँसीले नाम कमाएको, पुण्य कमाएको सुनेपछि हाम्रा आदिकवि भानुभक्त आचार्यमा पनि एक किसिमको इर्ष्या जाग्यो र यही इर्ष्या, प्रेरणाबाटै भानुभक्त आचार्यले लेख्न थाले । कवि शिरोमणिलाई गोठाला जाँदा पितृप्रसादले हप्काएको, छात्रावासमा अग्निधरले रघुवंशको अर्थ नलगाई चित्त दुखाएका जस्ता घटनाले, इर्ष्याले लेखनाथलाई कवि शिरोमणि लेखनाथ पौड्याल बनायो । खोजी पस्ने हो भने यस्ता दृष्टान्त अरू पनि भेटिन्छन् । बालकृष्ण सममा पनि आफ्ना पिताले श्लोक रच्न सक्छन् भने म किन सक्दिन भन्ने सोचले नै साहित्यमा कमल चलाउन थालेको लेख्नुहुन्छ – मेरो कविताको आराधनमा एक किसिमको प्रेरणा, हौसला, इख, इर्ष्या, प्रतिस्पर्धा जे भएपनि ठूलाको सिको गर्ने प्रवृत्ति धेरैमा हुन्छ । साहित्यको सन्दर्भमा यस्ता खाले इर्ष्या र प्रतिस्पर्धा धेरै स्रष्टासँग जोडिएको छ ।

यस्तै इर्ष्या र प्रतिस्पर्धाको प्रसङ्ग स्रष्टा ध.च. गोतामे र उहाँकै भाइ डा. ध्रुवचन्द्र गौतमसँग पनि जोड्न सकिन्छ । दाजुसँग आफ्नो कुनै प्रतिस्पर्धा नभएको र कुनै इर्ष्या पनि नभएको बताउनुहुन्छ डा. ध्रुवचन्द्र गौतम ।

“मेरा दाजु मभन्दा बढी जेठा १२-१४ वर्षले नै । म केटाकेटी छँदै २००८ मा सेवा मा उहाँको कथा छापिइसकेको थियो । उहाँको रचना छापिएपछि भने मलाई प्रेरणा जाग्यो । मभन्दा धेरै अघि उहाँले लेख्न थालेकोले इर्ष्या लाग्ने कुरै भएन । पछि मैले प्रयोगशील लेख्न थालें, उहाँको लेखन अलग यसमा पनि प्रतिस्पर्धा हुने कुरै भएन । हो के चाहिँ सत्य हो भने दाइको धारमा गएँ भने म प्रतिस्पर्धा गर्न सक्तिन, बेग्लै धारमा लेख्नुपर्छ भन्ने प्रेरणा चाहिँ पाएँ । लेखनमा हामीबीच भिन्नता थियो – उहाँको लेखन बुझिने, मेरो नबुझिने छ भन्थे । म पहिले नै लेख्दा मेरोभन्दा दाइको पाठक बढी छ भन्ने सोचेर लेख्थें । मेरो लेखनमा अमूर्त, अकथा, प्रयोगशील भयो भन्ने गुनासा सुनिन्थे, दाइ (ध.च.गोतामे) मा त्यो समस्या भएन । मेरा दाई ध.च. गोतामे, गोपाल दाइ र म हामी तीनै जना लेख्थ्यौं र पनि त्यस्तो प्रतिस्पर्धा कहिल्यै भएन । दुवै दाइ मेरो साहित्य लेखनका प्रेरक हुन् ।

शनिबार, गोरखापत्र
कार्तिक ७, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *