इतिहासको कुन कालखण्डमा
कसले छर्‍यो यो धरामा
मृत्युको बीज ?
साह्रै उर्बर मैले टेकेको माटो
निरन्तर सहिद उम्रिरहेछ ।
सिंदुर पलायन भइरहेको छ
तरुणी सिउँदोहरूबाट
सुक्दै गइरहेको छ
आमाको दूध
जीवन लगातार पोखिइरहेछ
एक चिम्टी नुन
र एक मुठ्ठी चामलको खातिर
भीखमंगा जीवन जिउनुपरेको छ,
म उभिएको माटोमा
मान्छेहरू
दिक्क मनाइरहेछन् जीवनसँग
र मृत्युलाई
महान् उत्सव बनाइरहेछन्
आमालाई गर्भ खेर जाँदा
गर्व गर्न अह्राइएको छ
जतनले स्याहारेको फूल निमोठिँदा
बाबुलाई,
आँसु रोक्न सिकाइएको छ
नाबालिकाले
बाउआमाको साथ खोज्दा
वीरताको गाथामा भुलाइएको छ
यसोगरी वा त्यसोगरी
मृत्युलाई हौस्याइएको छ
आफन्तको अँगालोबाट
धकेली धकेली
सहिद हुन सिकाइएको छ ।
मेरो यो पवित्र धरामा
प्रत्येक जन्मसँगै
बालकको होइन
सहिदको न्वारन हुन्छ
र मरेपछि सहिदकै नाममा
अन्त्येष्टि गरिन्छ
ओहो, मैले टेकेको माटोमा त
सहिद नै सहिदको चिहान पो रहेछ
यहाँ जीवनको होइन,
मृत्युको महानता सिकाइएको छ 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *