Skip to content


कुश समस्त पापलाई विनाश गरी मानवलाई पुण्यार्जन गर्न सहयोग पुर्‍याउने पवित्र तृण विशेष नै कुश हो । कुशलाई संस्कृतमा दर्भ, पवित्र, याज्ञिक, ह्रस्वगर्भ, यज्ञभूषण, दीर्घपत्र, क्षुरपत्र, त्रिदोषघ्न र शैत्यगुण विशिष्टगुणका रूपमा लिएको पाइन्छ । कुशको उत्पत्ति विषयमा भागवतमा एक यस्तो प्रसङ्ग आउँछ- यज्ञपुरुषले आˆनो शरीर फट्कार्दा कतिपय रौँहरू बर्हिष्मती नाम गरेको पुरीमा झरेका थिए । त्यसैबाट कुश उत्पन्न भएका हुन् भन्ने मानिन्छ । ऋषिहरूले तिनै कुशबाट यज्ञ विघ्नकारी राक्षसहरूलाई विनाश गरी यज्ञ सम्पन्न गरेका थिए । मूलतः कुशबिना वैदिक श्रौतकर्म, स्मार्तकर्म र अन्य आजभोलि गरिने कुनै पनि धार्मिक शुभकार्यमा कुश अत्यावश्यक वस्तु मानिन्छ । पितृकार्यमा त तिल, जौ र कुशको ठूलो महत्त्व रहेको छ । कुशबाट पवित्र, आसनी, विष्टर, बर्हि, कुशनिर्मित ब्रहृमा, विष्णु, प्रजापति र कुश निर्मित मोटक, पितृब्राहृमण बनाउनुपर्ने र त्यसको प्रयोग देवपूजा र पितृकर्म दुवैमा हुन्छ ।
यस्तो धार्मिक कृत्यमा प्रयोग हुने कुश टुप्पोयुक्त, हरियो वर्णको परिपुष्ट, अकर्कश, जरासहितको अन्तगर्भसमेत भएको गोकर्ण परिमितको हुनुपर्छ वा कान्छी औंलाको टुप्पोदेखि कुहिनोसम्मको परिमाण मात्र यज्ञादिकर्ममा त्यस्तो कुश ग्राहृय हुन्छ ।
कुशलाई एकैपटक मात्र काट्नुपर्छ, बारम्बार काटेको कुश ग्राहृय हुँदैन । चितास्थान वा श्मशान भूमिमा, बाटोमा, यज्ञ गरिएको भूमिमा उत्पन्न भएका कुशलाई धार्मिक कार्यका बेला आसन, यज्ञमा फैलाउन र पिण्डदान गर्ने समयमा प्रयोग नगर्नु भन्ने पाइन्छ ।
कुश प्राप्त नभएमा काँसबाट पनि कुशको कार्य गर्न सकिने प्रमाण शास्त्रहरूमा पाइन्छ । ‘कुशकाशसभादृतः’ भनिएको छ । हुन त कुशको नै कोटिमा काँस मात्र होइन जौ, दूबो, उशीर, कुन्दक पुष्प, गोधूम, धान र मुञ्जलाई पनि लिएको पाइन्छ । प्रेतकर्म र अभिचार कर्मको लागि चाहिँ दक्षिणतिर फर्केर कुश छेदन गर्नुपर्ने विधान छ ।
हाम्रा जति पनि धार्मिक कर्मकाण्डहरू छन् ती सबै कर्महरूमा कुश नभई हुँदैन । सुरुमा नै कुशनिर्मित पवित्र धारण गर्नैपर्छ । म अमुक कर्म गर्दैछु भनेर सङ्कल्प गर्नका लागि पनि तिल, जौ, कुशसहितको पानी समात्नु पर्दछ । बिना कुशको सङ्कल्प सत् सङ्कल्प हुँदैन र मानिंदैन पनि । देवकार्यमा ब्रहृमा, विष्णु, प्रजापति पनि कुशको नै निर्माण गरिन्छ । बस्ने आसनी पनि सकेसम्म कुशको नै हुनुपर्छ । यज्ञमण्डपमा बर्हिको रूपमा प्रशस्त कुश ओछ्याएर मात्र कर्म सुरु गरिन्छ । वैदिक यागको यज्ञमण्डपलाई मानवसँग तुलना गरिएको पाइन्छ । जसरी हाम्रो मुख छ, त्यसैगरी वैदिक यागमा पूर्वतर्फ आहवनीय अग्नि कुण्ड रहेको हुन्छ । त्यसै कुण्डमा नित्य प्रातः सायं अग्निहोत्र हवन गरिन्छ । हवन गर्ने साधन पनि हाम्रो हात जस्तै स्रुव हुन्छ । त्यस पूर्वतर्फको आहवनीय अग्नि भएको कुण्डभन्दा ठीक पश्चिमपट्ट िवा तलतिर प्रशस्त कुश बिछ्याउनुपर्दछ । त्यस कुशलाई बर्हि भनिन्छ ।
वस्तुतः मानिसको मुखभन्दा तल छातीमा रहेको रौँलाई यस पवित्र बर्हिसँग तुलना गर्न सकिन्छ । यस विषयलाई अन्य लेखहरूमा प्रष्ट पारिनेछ । भनाइको तात्पर्य यो हो कि दर्भ वा कुश हाम्रो जीवनको नै एक महत्त्वपूर्ण अङ्ग हो भन्ने तात्पर्य वैदिक यागको यागीय व्यवस्थाबाट झल्कन्छ ।
स्कन्दपुराण वा श्रीस्वस्थानीको कथाको प्रसङ्गमा जालन्धरकी पतिव्रता पतिव्रता धर्मपत्नी वृन्दाको सतीत्व डगाउन विष्णु भगवान् वृन्दा भए ठाउँ जानुभयो र जालन्धरको रूपधारण गरी पतिव्रता वृन्दाको सतीत्व डगाउनुपूर्व नै वृन्दाले यी व्यक्ति मेरा पति होइनन् अरू कोही हुन् भन्ने जानी ती विष्णु भगवान्लाई चारवटा श्राप दिएकी थिइन् । ती श्रापमा सबैभन्दा पहिले तिमीले रुख हुनुपरोस् भनेकाले विष्णु भगवान् पीपल भएको हुँदा अन्य वनस्पतिलाई भन्दा पीपललाई बढी पूजा अर्चना गरिन्छ । त्यसैगरी झार हुनुपरोस् तिमीले भनी विष्णुलाई श्राप दिएकाले कुशमा विष्णु भगवान्को वास भएको मानिन्छ । त्यसैगरी तृण हुनुपरोस् भन्दा विष्णुको अर्को रूप दूबोलाई मानिन्छ । यसैगरी ढुङ्गा हुनुपरोस् भनी ती सतीले श्राप दिएकाले शालिग्राम भएर विष्णु व्याप्त छन् भन्ने मानिन्छ ।
धार्मिक कार्यमा कुशको जति महत्त्व छ स्वास्थ्य क्षेत्रमा पनि यसको उत्तिकै महत्त्व रहेको पाइन्छ । कुश अचुक औषधीय गुण भएको झार हो । कुशबाट मूत्रकृच्छ, कफवातपित्त तीनवटा नै दोषलाई नाश गर्ने गुण पाइन्छ । विभिन्न रक्तदोष नाशक गुण कुशमा रहेको कुरा आयुर्वेदिक ग्रन्थहरूमा उल्लेख छ ।
कुशले यति धेरै महत्त्व बोकेको हुनाले नै परम्परादेखि हामीले कुशे औंसी मनाउँदै आइरहेका छौं । यस दिन आफ्ना पिताको सम्मान गर्ने प्रचलन पनि रहेको छ । त्यसैले यस दिनलाई बाबुको मुख हेर्ने दिन पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *