Skip to content

रमेश विकलः ‘शारदा’ देखि ‘शारदा’ सम्म

  • by


साहित्यिक बजारमा एउटा मान्यता राख्ने गरिएको छ, कलम बोक्नेहरू सबै लेखक हुँदैनन् र हाम्रै देशको सन्दर्भमा हेर्ने हो भने यो मान्यताले एउटा महफ्वपूर्ण अर्थ बोकेको देखिन्छ । साहित्यिक इतिहास पल्टाउँदा त्यो इतिहासले यसको पुष्टि गर्छ । जस्तो कि, नेपालको जेठो साहित्यिक पत्रिका ‘शारदा’ (स्थापना दर्ता नं. ००१) का पृष्ठहरूमा अंकित थुप्रै नामहरू, जो नेपाली साहित्यको धरोहरका रूपमा रहेका छन्, आफ्ना उत्कृष्ठ लेखनीका कारणले नै ती स्रष्टाहरू स्थापित भएका हुन् । र, यहींनिर कतिपय यस्ता लेखकहरू पनि भेटिन्छन्, जो आफ्ना कमजोर लेखनीका कारणले साहित्यिक क्षेत्रबाट क्रमशः विस्तापित हुँदै गए । अर्थात्, कलम बोक्ने तिनीहरू सबैजना वास्तविक लेखक बनेनन्, राम्र्रो लेख्नेहरू साँच्चिकै लेखक ठहरिए भने राम्रो लेख्न नसक्नेहरू लेखकका रूपमा रहिरहन सकेनन् ।
यहाँ सन्दर्भ छ ‘शारदा’ र कथाकार रमेश विकलको । नेपाली साहित्यको आकाशमा रमेश विकल एउटा त्यो नाम हो, जसले आफ्नो कलमको माध्यमबाट नेपाली कथाकारिताको उत्थानमा ठूलो भूमिका खेलेको छ । कथा लेखनको इतिहास हेर्दा उनको ‘गरीब’ शीर्षकको कथाबाट त्यो भूमिकाको सिलसिल आरम्भ भएको देखिन्छ, जुन कथा ‘शारदा’ को वि.सं. २००६ साल चैतको अङ्कमा प्रकाशित भएको थियो ।
नेपाली साहित्यका पारखीहरू सबैलाई थाहा नहुन सक्छ, एउटा रोमाञ्चक संयोग के छ भने ‘शारदा’ बाट सुरू भएको विकलको कथायात्राले त्यसबखत मात्रै विश्राम लियो, जब पछिल्लो समय (वि.सं. २०६३ माघदेखि) मा पुनः सुरू भएको ‘शारदा’ को अङ्क १६ मा उनको ‘सपनाबाट खर्लाम्खुर्लुम झरेपछि’ शीर्षकको कथा प्रकाशित भयो । त्यो त, अन्तिम कथोपन्यासको रूपमा उनको निधनपश्चात् मधुपर्कमा एउटा रचना प्रकाशित भएको छ । तर विधागत रूपमा ‘शारदा’ मा प्रकाशित कथा नै उनको जीवित जीवनको अन्तिम कथा हो ।
अघिल्लो ‘शारदा’ को योगदानलाई स्वीकार्न हामीले रत्तिभर कञ्जुस्याँई गर्नुहुँदैन, कि रमेश विकलजस्ता स्थापित धेरै दिग्गज लेखकहरूका सिर्जनालाई त्यो ‘शारदा’ ले छाप्ने अवसर पाएको थियो । तर यही भनाइले मात्रै सम्पूर्ण तथ्य पूरा हुन सक्दैन, त्यही ‘शारदा’ मा छापिने अवसर पाएकैले पनि धेरै लेखक आजको नेपाली साहित्यमा स्थापित भएर रहेका छन्, यो पनि एउटा गौरवमय सत्य हो ।
रमेश विकलजस्ता दिग्गज स्रष्टाको साहित्यिक यात्रा, जो ‘शारदा’ बाट सुरू भएर ‘शारदा’ मा अन्त भएको छ, यस्तो तथ्य समेतले गलत मोड लिन सक्छ । यस्तो भयो भने एउटा लोककथाको हात्तीको स्वरूपलाई जस्तो नेपाली साहित्यका पाठकहरूले अङ्गीकार गर्नुपर्ने हुन्छ, जुन हात्तीलाई हात्तीको कान समात्नेले नाङ्लोको रूपमा र हात्तीको सूँढ वा खुट्टा समात्नेले केराको खम्बाको रूपमा बुझेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *