एकमहिने लामो गुँला-पर्व (स्वयम्भु मेला)सँगै उपत्यकामा विभिन्न जात्रा पर्व एक शृङ्खलामै सुरु हुन्छ । रोपाइँ कार्य पनि सकिने समय परेकाले उपत्यकावासीहरूको फुर्सदिलो क्षण जात्रामय हुनथाल्छ र लगत्तै सुरु हुन्छ- इन्द्रजात्रा ।
इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महìवपूर्ण जात्रा हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुल्क पक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनम्सम्म (यस वर्ष २०६६ भदौ १२ देखि २३) आठ दिन विभिन्न नाच, गान, रथ यात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।
एक पौराणिक कथाअनुसार इन्द्रकी आमाले थालनी गरेको तिलाव्रतलाई आवश्यक ‘पालिजाः स्वाँ’ (एक प्रकारको अति नै सुगन्धित फूल) लिन इन्द्रदेव मत्र्यमण्डल आएका हुन्छन् । एक मालीको बगैंचामा फुलेको सो फूल चोरेर लैजाने क्रममा अज्ञानतावश स्थानीयवासीहरूले इन्द्रलाई ‘सिँल्यंं सतः’ (काष्ठमण्डप निर्माणपछि बचेको काठबाट निर्मित सत्तल) अगाडि सजायस्वरूप बाँधेको हुन्छ । पछि राजा एवं नगरवासीबाट इन्ददेवको पहिचान भई स-सम्मान जात्रा गरी स्वर्ग फर्काउने कार्य हुन्छ । यहीँबाट इन्द्रजात्रा शुभारम्भ भएको किंवदन्ती रहँदैआएको छ ।
इन्द्रजात्राको बेला श्री कुमारी, श्री गणेश एवं श्री भेलु (भैरव)को रथ सहर परिक्रमा गर्ने कार्य, सवःभक्कु नाच, महाकाली नाच, पुलुकिसी नाच, दस अवतार प्रदर्शन आदि विविध सांस्कृतिक कार्य हुने भएकाले नेवार समुदाय यस जात्रालाई ‘येँयाः’ भन्न बढी मन पराउँछन् । यस जात्रामा राजा, राष्ट्रप्रमुखदेखि सकल जनसमुदायको सहभागिता रहेको हुन्छ । विभिन्न समुदायले विविध कार्यको अभिभारा लिई ‘येँयाः’ इन्द्रजात्रालाई भव्यतासाथ सम्पन्न गर्ने परम्परा काठमाडौँमा चलिआएको छ ।
मानन्धरहरूको सहकार्यबाट इन्द्रजात्रामा सम्पन्न गरिने क्रियाकलापलाई नियाल्दा अन्य वर्गसरह मानन्धरहरूको पनि उल्लेखनीय भूमिका रहँदै आएको पुष्टि हुन्छ । उपत्यकामा मानन्धरहरू परम्परागत नौ टोलमा छन् । लाय्कूसाल, न्हूसाल, फल्चासाल, दक्षसाल, चसान, पाको पुखुद्याँ, वँतु, तँलाछी र थँहितिमा यिनीहरूको बाक्लो बस्ती रहेको छ । मानन्धरलाई नेपाल भाषामा साय्मि पनि भनिन्छ । सालबाट तेल उत्पादन गर्ने पेसा अँगाल्ने जाति भएकाले यिनीहरूलाई साल्मी भनिएको हुनसक्छ । साल्मी शब्दबाटै साय्मि शब्द तयार भएको इतिहासविज्ञहरूको ठम्याइ छ । विविध रीतिथिति, कला एवं संस्कृतिका धनी मानन्धरहरूबाट इन्द्रजात्रा (कुमारी जात्रा) को बेला हुने सहकार्य बारेको छोटो चर्चा यहाँ सान्दर्भिक हुने देखिन्छ ।
इन्द्रध्वजोत्थान – यःसिँ (लिङ्गो) ठड्याउने कार्य-सिँ अर्थात् काठ । लामो काठको यःसिँ ठड्याउने कार्यबाट इन्द्रजात्रा प्रारम्भ हुन्छ । यो लिङ्गो ठड्याउनु आठ दिनअघिदेखि बनेपा पूर्वको नालाको सल्लाघारीबाट उपयुक्त काठको छनोट गरी पूजाआजा गरिन्छ । तत्पश्चात् सो लिङ्गोलाई तानेर भोटाहिटी ल्याइन्छ । झण्डै ५० फिट लामो यस लिङ्गोलाई मानन्धरहरूको नायः (मूली) तथा तँलाछि टोलका मानन्धरहरू मिली हनुमानढोका पुर्याउने कार्य हुन्छ । यँलाथ्व द्वादशीका दिन शुभसाइत हेरी सरकारी पदाधिकारीहरूको उपस्थितिमा हनुमानढोका कालभैरव अगाडि यो लिङ्गो ठड्याउने कार्य हुन्छ ।
पहिला पहिला यो लिङ्गो ठड्याउने दिन राजा, राजपरिवार आउने चलन थियो । पछि राजाको प्रतिनिधिका रूपमा तरबार र घोडा मात्र ल्याउने गरियो । लिङ्गो ठड्याउने कार्यमा सहयोग गर्न अन्य जनशक्ति भए पनि विशेषगरेर मानन्धर दाजुभाइबाटै यो कार्य सम्पादन हुँदै आएको छ ।
यःसिँ ठड्याउने कार्य हुँदा पहिला सर्वसाधारण अगाडि जान पाउँदैनथे । मानन्धरहरूको नायःबाट पास स्वरूप प्रदान हुने छाप लागेको माटोको सिक्का जसलाई त्यसबेला ‘मुरी’ भन्ने गरिन्थ्यो -एक एक सिक्का दिएर मात्र सभास्थल भित्र जानसकिन्थ्यो । उक्त मुरी भनिने माटोको सिक्का त्यो बेलाको एक किसिमको परम्परागत पास थियो ।
उहिले लिङ्गो ठड्याउने कार्य सकिएपश्चात् राजा, राजपरिवारबाट मोहर (मुद्रा) छर्ने कार्य हुन्थ्यो । पछि राजाहरू आउने कार्य पनि टुट्यो र सिक्का छर्ने कार्य पनि नहुने भएबाट पासको व्यवस्था पनि आवश्यक भएन । आज मानन्धर मात्र नभै पिपा, गोश्वराका जवानहरूबाट पनि यःसिँ ठड्याउने कार्यमा सहयोग हुँदै आएको छ । यःसिँ ठड्याएको आठ दिनपछि सो लिङ्गो ढाली पचली भैरव छेउको बागमती नदीमा विसर्जन गर्ने कार्यसँगै सो वर्षको इन्द्रजात्रा विधिवत् रूपमा समापन हुन्छ ।
ग्वरःमत (दीप) प्रज्वलन गर्ने कार्यः इन्द्रजात्रा अवधिभर वसन्तपुर गद्दी बैठक अगाडिको माजु देगः (मन्दिर) छेउ वातावरण नै झलमल्ल हुने गरी मानन्धरहरूबाट ग्वरःमतः (दियो) बाल्ने काम हुन्छ । यो बत्ती बाल्नुपूर्व लाय्कूसालका मानन्धरहरूबाट ग्वरःख -भर्याङ्ग जस्तो पिरामिड शैलीको बत्ती बाल्ने खट) तयार गरिन्छ भने पाको पुखुद्याँ टोलका मानन्धरहरूबाट जात्रा अवधिभर सो खटको दीप प्रज्वलन गर्ने कार्य हुन्छ । ग्वराः खः (खट) पहिले निकै अग्लो हुने भएकाले काठमाडौँमा बालेको ग्वरःमत दीपको प्रकाश थिमि, ख्वप (भक्तपुर) सम्म पनि झल्किन्छ भन्ने किंवदन्ती छ ।
यसबाहेक लायकूसालको मानन्धरहरूबाट कुमारी घरको विभिन्न चाडपर्वमा ‘दापा’ एक किसिमको धार्मिक स्तुति भजन गाउने, बजाउने परम्परा छ । यस्तै कुमारी रथका देवी विराजमान हुने कक्षमाथि टाँगिने ‘ईला’ चदुवा पनि लाय्कूसालका मानन्धरहरूबाट नै राख्ने कार्य हुन्छ । यिनै कारणले गर्दा लायकूसालका मानन्धरहरूलाई कुमारी पूजाको समयमा भोज एवं अन्य उत्सवमा सम्मिलित गरिने प्रथा आज पनि छ ।
कुमारी रथ बाँध्ने कस्ने कार्य: इन्द्रजात्राको दिन श्री कुमारीको रथसँग श्री गणेश र श्री भेलुको पनि रथ तान्ने कार्य हुन्छ । यी देवदेवीहरूको रथको पाङ्ग्रा बलियो हुने गरी बेतले कस्ने बाँध्ने कार्य तँलाछीटोलका मानन्धरहरूबाट हुँदै आएको छ । तीनवटै रथका पाङ्ग्रा बाँध्ने, पाङ्ग्रामा मुकुण्डो राख्ने एवं रथको दायाँ बायाँ खड्ग बाँध्ने कार्य गर्दै आएका तँलाछी टोलका मानन्धरहरूलाई पनि कुमारी घरको विभिन्न पूजा आजा, भोज, भतेरमा आमन्त्रित गरिन्छ ।
बौमत (दीप यात्रा): इन्द्रजात्राको अन्तिम दिन ‘नानिचा याः’ गरी कुमारी रथ तानेर ल्याएपश्चात्् ‘दागिँ’ रुपि इन्द्रकी आमा सहर परिक्रम गर्छिन् । पौराणिक कथानुसार वसुन्धरा व्रतलाई आवश्यक ‘पालिजाः स्वाँ’ लिन गएको छोरा नफर्केपछि इन्द्रकी आमा चिन्तित भई ऐरावत हात्तीसहित पृथ्वीलोक आउँछिन् । इन्द्रलाई भेटाइदिएमा उपत्यकावासीका मृतआत्मालाई स्वर्गमा स्थान दिने इन्द्रकी आमाले वचन दिएकी हुन्छिन् । यस्तै दिवङ्गतका आफन्तलाई स्वर्गमा मृतात्मासँग भेट गराईदिने वाचा पनि गरेकी थिइन् रे । यसैबीच देवराज इन्द्र भने बन्धनमुक्त भई स्वर्ग प्रस्थान गरिसकेका हुन्छन् । यता खोजीकार्यमा सहयोगी मृतकका आफन्तलाई स्वर्ग जानुअघि नजिकैको देवदहमा स्नान गरी शुध्द हुन भन्छिन् र सबै स्नान गरी रहेको बेला दागिँ रुपी इन्द्रमाता त्यहाँबाट अन्तध्र्यान हुन्छिन् ।
छोरा खोज्ने क्रममा इन्द्रमाताले परिक्रमा गरेको सहरको भाग आज पनि ‘दागिँ’ घुम्ने परम्पराको रुपमा इन्द्रजात्राको अन्तिम दिन बेलुकी मृतकका आफन्त लाम लागी एक अर्कालाई समाउँदै आकाशतिर हेरेर घुम्न चलन छ । वसन्तपुरबाट सुरु भई असन न्या-ल्वहँं (माछा आकृतिको ढुङ्गा) घुमिसकेपछि दागिँ मखनको भुतिसः (मरु गणेश र मरु सत्तल) बीचको भाग आइपुग्छिन् । दागिँ यहाँ पुगेपछि विभिन्न टोलका मानन्धरबाट बौमत (दीप यात्रा) सुरु हुन्छ ।
एक गज जतिका स-साना बाँसका टुक्रा जोडी त्यसमाथि गोबर लिपेर बौमत तयार गरिन्छ । गोबर लिपेको सो बाँसमाथि माटोको दियो (पाल्चा) बालेर लहलह गर्दै सहर घुमाउने कार्य हुन्छ । यो दीपयात्रा निकै लामो हुनेहुनाले यसलाई खण्ड, खण्डमा विभाजन गरी विभिन्न टोलका मानन्धरहरूलाई सञ्चालन गर्ने जिम्मेवारी तोकिएको छ । शिरको भाग- लाय्कूसालका मानन्धरहरूलाई, घाँटीको भाग-न्हूसालका मानन्धरहरूलाई, बीचको भाग- दक्षसालका मानन्धरहरूलाई, पिठ्यूँको भाग- फल्चासालका मानन्धरहरूलाई, पुच्छरको भाग- चसानका मानन्धरहरूलाई, गोबर लिप्ने काम- पाको पुखुद्याँका मानन्धरहरूलाई ।
यसरी बहुटोलका मानन्धरहरू मिली सम्पादन गरिने दीपयात्रा भएको हुनाले बहुमत (बौमत) नामकरण भएको हुनसक्ने एक थरीको अनुमान छ भने अर्कोतिर नेपाल भाषामा बौको अर्थ बुबा र मतको अर्थ दीप भएकोले बुबाको मृतआत्मालाई स्वर्गमा बाटो देखाउन बत्ती बाली घुम्ने परम्परा बसेको भन्नेहरू पनि छन् ।
तर बौमत होस् या ग्वरः मत कुनै पनि प्रकारको दीप प्रज्वलन गर्न तेल चाहिन्छ । साय्मि अर्थात् मानन्धरहरू तेल उत्पादन गर्ने पेसाकै आदिवासी जनजाति भएको हुनाले पनि यस प्रकारको प्रकाशमय सांस्कृतिक पर्व मानन्धरहरूबाट निर्वाधरुपले सम्पादन सञ्चालन हुँदै आएको जनधारणा छ ।
