जब वर्षा हुन्छ, आकाश रुन्छ । जब झरी लाग्छ, आकाश बिरामी हुन्छ । जब घाम लाग्छ, आकाश हाँस्छ । जब हुस्सु र कुहिरो आउँछ, आकाशले लाजको घुम्टो ओढ्छ, सूर्य पनि कुहिरोमा लुटपुटिन्छ र पृथ्वीवासीलाई आफ्नो तेज प्रकाश दिन निकैबेरसम्म कसरत गर्न विवश हुन पुग्छ तर जब पूर्णचन्द्र उदाउँछ, आकाश दङ्गिन्छ । जब जूनेली रात हुन्छ, आकाश मख्ख पर्छ र गजक्क पर्छ । आखिर किन पो त्यसो नहुनु र ? आकाशमा पूर्णचन्द्र छाएपछि न हुस्सु देखापर्छ, न कुहिरो, न धुइरो । फगत त्यति मात्र कहाँ हो र ? रात्रिको निस्तब्धतामा सुधाकरले पियूष वर्षा गरिरहेको देख्दा अम्बर हषिर्त हुन्छ, मधुकरको शीतलताले व्योम प्रफुल्लित र आल्हादित हुन्छ । मनमा अनेक तर्कनाहरू उठ्छन् र भन्छन्- नभ, धरा र प्रकृतिको वाणी हुँदो हो त उनीहरूले जूनेली रातको शीतलतामा कतिविधि मच्चिइमच्चिई, कतिकति सुरतालका रागहरू अलाप्ने थिए होलान् ! अनि म ? यस्तो जूनेली रातको सुन्दरताले सम्मोहित हुन्छु, मन्त्रमुग्ध हुन्छु, विस्मित् हुन्छु र अवाक् हुन्छु । के गरुँ र कसो गरुँको भावनाले हृदय सराबोर भएर आउँछ । लाग्छ, जूनेली रातको यही मादकतामा कति भावुक मनहरूले आफ्ना सम्झनाहरूलाई सधैँको बिर्सनामा फेर्ने उपक्रम गरे होलान् ।
भावुकता त कवि-साहित्यकारहरूको गहना हो । कुन्नि कति साहित्यकारहरूले यही जूनलाई आधार मानेर कल्पनाको सागरमा डुबुल्की मारे होलान्, अझै मार्दै पनि होलान् । कुन्नि कति अत्यधिक भावुक कवि-कलाकारले यही जूनेली रातको मादकताले ओतप्रोत भएर प्राणाहुति पनि गरे होलान् । कुन्नि कति जनाले यही पूर्णचन्द्रको चाँदनीमा मदहोश भएर रजनीबालासित आलि·नबद्ध हुँदै अमर विश्वसाहित्यको रचना गरे होलान् । कुन्नि कति साहित्य सर्जकहरूका लागि यही जून प्रेरणाको अजस्र स्रोत बन्दै आएको होला । कुन्नि कति कलमबाजहरू यही जूनलाई आफ्ना उपमाहरूको रानो मानेर रचनाधर्मिताको गोरेटो कोर्दै होलान् । कुन्नि कतिलाई लाग्दो हो, यसरी जूनेली रातको यस्तो निख्खरता र स्निग्धता नहुँदो हो त सौन्दर्य रस र श्रृङ्गार रसका साहित्य कसरी रचिन्थे होलान् । त्यसैले त पूर्णचन्द्र कलमका सिपाहीहरूको बलियो स्थायी किल्ला हो, अमर गढी हो, सिर्जना पे्ररक अविरल झरना हो ।
साहित्यकारहरू मात्र होइन, बग्रेल्ती भावुक हृदयहरू म्ाात्र पनि होइन, असङ्ख्य नरनारीहरू चाँदनीको शीतलता ग्रहण गर्न जूनेली रातमा विहार गर्ने गर्छन्, मानसिक शान्तिको लालसामा यत्रतत्र विचरण गर्ने गर्छन् । जूनेली रातको मोहनी लाग्दा हातमा हात राखेर अल्लारे बैँसका युवायुवतीहरू प्रणय निवेदनको मौन निमन्त्रणा साटासाट गर्दै टहलिरहेका हुन्छन् । यही जूनेली रातलाई अङ्गे्रेजीबाजहरू ‘फूलमुन भन्छन् र त्यसको आनन्द लिन्छन् । खुला-स्वच्छ-शान्त स्थानमा विचरण गरेर अथवा समुद्र या कुनै ठूलो नदी किनार टेन्ट नै गाडेर पि्रय या पि्रयसीका यादहरू भुलाउन उद्यत हुन्छन्, चन्द्रप्रकाशले परिपूर्ण वातावरणमा आफूलाई उजिल्याउन र तनमन शीतल पार्न मन पराउँछन् । कवि हृदय बोलेकै पनि छ, ‘जूनेली रात हजूर, गम्केको बादलु….।, अझ त्यसमा पनि यस किसिमको पूर्णचन्द्र रात्रि उकुसमुकुस पार्ने गर्मी यामको बेलामा पर्दा त झन् के कुरा, समुद्र, ठूलो नदी, ताल र नाम चलेका पोखरी र ती वरिपरि प्रकृतिप्रेमीहरूका लागि बनेका वा बनाइएका बासस्थानहरू खचाखच हुन्छन् । पूर्णचन्द्रको बेला समुद्रमा एमानका ज्वारभाटा उठ्ने गर्छन्, उत्ताल जलतरङ्गहरू मानौँ आकाशलाई हाँक दिन तम्सेजस्तो गरी निकै माथिमाथिसम्म पुग्नेगरी उठ्ने गर्छन् । जूनेली रातका शिकारीहरू सर्वत्र विचरण गरिरहेका हुन्छन् । चोर, लुटेरा र कलुषित मन भएका असामाजिक मनुवाहरूसमेत जूनेली रातमा चार चौका दाउ हेरिरहेका हुन्छन् ।
जूनेली रात (पूर्णचन्द्र) र धर्मको निकै महìवपूर्ण साइनो छ । बुद्ध पूणिर्मा, गुरु पूणिर्मा, जनै पूणिर्मा, कोजाग्रत पूणिर्मा, श्रीस्वस्थ्ाानी पूणिर्मा, होली पूणिर्मा र यस्तै यावत् सन्दर्भ र प्रसङ्गहरू ज्ाोडिएका छन् जूनेली रातसँग । सबै धर्मले उत्तिकै मान्यता दिएका छन् यसलाई । अझ सनातन हिन्दू धर्ममा चन्द्रमालाई देउता मानिएको छ । चन्द्रग्रहणको बेला चन्द्रदेउतालाई असुरहरूको पञ्जामा पर्न नदिन अर्थात् चन्द्रमाको सुरक्षा र कल्याणका लागि हिन्दू धर्मावलम्बीहरू पवित्र स्नान गर्ने र निराहार व्रत बस्ने गर्छन् । (यद्यपि विज्ञानले चन्द्रमालाई पृथ्वीको परिक्रमा गर्ने उपग्रह हो र पृथ्वीको छायाँ परेर मात्रै चन्द्रग्रहण हुने गरेको हो भन्ने मान्यता स्थापित गरिसकेको छ, अनि मानिसका अदम्य साहसिला पाइला चन्द्रतलमा अवतरण पनि भइसकेका छन् । अझ, पछिल्ला कतिपय वर्षदेखि विज्ञान चन्द्रमामा मानवबस्ती बसाल्न सम्भव भए-नभएको सम्बन्धमा निरन्तर अनुसन्धानरत रहंँदैआएको छ) ।
मुस्लिम धर्ममा आस्था राख्नेहरू सबैका लागि पनि जूनेली रात उत्तिकै महिमामण्डित छ । खासगरी उनीहरूले महिना दिनभरि थुक पनि ननिली उपवास (रोजा) राख्ने चाड रमजानको समाप्तिमा पर्ने ‘इद’ उनीहरूको ठूलो पर्व हो । यसैबेला देखिने ‘इदको चाँद’ अर्थात् इदमा देखिने पूर्णचन्द्र उनीहरूका लागि सर्वाधिक खुसी र शुभ साइतको द्योतक हो ।
धर्म अरू पनि छन्, धेरैथरी छन् । क्रिस्तान, यहूदी, शिन्तो, बौद्ध, जैन, सिख, पारसी, बहाइ र अरू अरू पनि । अझ आमरूपमा नामै नसुनिएका र हत्पति सार्वजनिक चर्चामा नआउने धर्महरू पनि छन् । विश्वका मुख्य धर्महरू र तिनकैसमेत शाखा, उपशाखा र प्रशाखाहरू पनि तर यी सबैका लागि जूनेली रात एउटै हुन्छ, पूर्णचन्द्र उही हुन्छ, त्यसको चाँदनी उही हुन्छ र त्यसले प्रदान गर्ने मधुरता र शालीनता पनि समान हुन्छ । चन्द्रमाले आफ्नो चाँदनी छर्दा कसैलाई धेरै, कसैलाई थोरै केही भन्दैन, यो ठूलो त्यो सानो भन्दैन । राम रहिम रबर्ट कसैलाई ठग्दैन, कसैलाई छल्दैन । उसका लागि, उसका सामु सबै बराबर छन् । मानिस, प्रकृति, पशुपक्षी समस्त चराचरजगत् उसका लागि समान छन् । यस मानेमा, मलाई लाग्छ, जून समानतावादको अब्बल प्रचारक र साम्यवादको सच्चा प्रतीक हो । जूनको शीतल प्रकाश जसलाई जति चाहिन्छ, लिन सके लिए हुन्छ, ग्रहण गर्न सके पुग्छ ।
मेरो बालापन गाउँमा बितेको हो । मलाई आफ्नै बाल्यकालको र पछि किशोर वयमा हिँड्न थालेपछि अरू बालकहरूको सन्दर्भ सम्झना भएर आउँछ । आफ्ना सानी नानीहरू खेलाउन वा भुलाउन खासगरी आमाहरू आँगनमा वा आँगनछेउ बस्थे र माथि जून हेर्न लगाउँदै केही खुवाउँथे । हामी साना नानीहरूका कलिला हात जोडी दिन्थे र आकाशतिर फर्काएर नमस्ते मुद्रामा भन्ने गर्थे- ‘ऊ, जूनु मामा ! ल भन त, जूनु मामा ज्यूज्यू । चन्द्रमा हाम्रा मामा हुन् । हाम्री आमा धर्ती हुन् र चन्द्रमा धर्तीका भाइ । भन्नेहरू आमापछि मामा हुन्छ भन्छन् । गीत पनि सुसेलिएकै छ ः
‘जूनु मामाभन्दा राम्रा मेरा मामा
मेरा आँखाका नानी मेरा मामा ।’
तिनताक गाउँमा बिजुलीबत्तीको उज्यालो हुँदैन्थ्यो, हुन्थ्यो त केवल मट्टितेलबाट बालिने टुकी, ढिब्री, पानस, लाल्टेन, मइन्टोल र ब्याट्रीले उजेलिने टर्चलाइट अथवा चुल्हो बलेको उज्यालो हुन्थ्यो । अझ बेलाबखत वरिपरिबाट दाउरा बटुलेर, झिंझा र घसेटा जम्मा पारेर आँगन वा अँगेना छेउ ‘भुल्ली’ बालेर पनि निकैबेरसम्म उज्यालो पारी राख्ने (यामअनुसार जाडो धपाउने पनि) काम हुन्थ्यो । खाँचै परेको बेला राँको बालेर पनि कति काम फत्ते गर्नु पथ्र्यो । यस्तो बेलामा समेत हामी बालक केटाकेटीहरू ‘जूनु मामा’लाई खुपै सम्भिmन्थ्यौँ, जूनको उज्यालो औधि ‘मिस’ गथ्र्यौं ।
त्यति मात्र पनि होइन, गाउँमा अथवा कतै छिमेकी गाउँका खास ठाउँहरूमा बेलाबखत मेला लाग्ने र स्थानीय नाचगानको आयोजना हुने गथ्र्यो । तीजको मेला, माघे सङ्क्रान्ति मेला, ठूली एकादशी मेला, भजन कीर्तन, झ्याउरे नाच, स्कुलका सांस्कृतिक कार्यक्रम आदिहरूमा अक्सर रात छिप्पिंदै गएको हुन्थ्यो । कार्यक्रमस्थलमा एकाध मइन्टोल बालिएका हुन्थे तर तिनको उज्यालो पर्याप्त हुँदैनथ्यो, कोही कसैसित मात्र दुई ब्याट्रीवाला टर्चलाइट हुन्थे, अन्यथा मेला भर्नेहरूको साथी उही रात्रिको अँधेरी मात्र हुन्थ्यो, राम हेर्नेहरूको दौँतरी उही रजनीबाला मात्र हुन्थी । त्यस्ता कार्यक्रम हम्मेसी पूणिर्माको साइतमा जुराइएका हुँदैनथे, अनि त हामीलाई घरिघरि उही आफ्ना ‘जूनु मामा’को यादले खुपै सताउँथ्यो । जूनेली रात हुने याममा त्यस्ता कार्यक्रम र मेलाहरू आयोजना हुँदा भने निकै रमाइलो हुन्थ्यो । अझ कार्यक्रमस्थलबाट फर्किंदा जुनेली रातको टहटह उज्यालोमा एक हूल गाउँले उकालिँदै, ओराँलिँदै र समथरिँदै निवासतिर लाग्दाको आनन्द बेग्लै हुन्थ्यो । हामी जूनु मामालाई ज्यूज्यू पनि गथ्र्यौं र मुरीमुरी धन्यवाद पनि दिन्थ्यौँ ।
जून बस्ने घर हो आकाश जुन नीलो, स्वच्छ, सफा र सुन्दर छ । त्यस्तो सुन्दर परिवेशमा बस्न, रम्न पाउने जून पनि स्वभाविक तवरले सुन्दर छ तर सुन्दरतालाई मानिसले परापूर्व कालदेखि स्त्रीलि·सित जोड्दै आएका छन् नारीलाई नै सुन्दरताको प्रतीक मान्दै आएको छन् । (खासमा के देखिन्छ भने, विश्व मिथकहरूमा पुरुषलाई बहादुरी र सौर्यको प्रतीक बनाइएको छ र नारीलाई सुन्दरता र कोमलताको प्रतीक मानिएको छ । स्पष्ट छ, विश्वसाहित्यको उषाकालदेखि नै त्यसमा पुरुष हस्ताक्षरको बर्चस्व रहेकोले त्यसो भएको होला । नेपालको मात्र होइन, समग्र विश्वसाहित्यको इतिहास हेर्दासमेत धेरै पछिसम्म पनि साहित्यमा नारीहस्ताक्षर शून्यप्रायः मात्र पाइन्छ ।) । त्यसैले, सुन्दरताको उदाहरण दिनु पर्दा, अप्सराजस्तै राम्री, परीजस्तै सुन्दर, सुन्तला केस्रे ओठ भएकी, अनारदाना दाँत भएकी, फक्रँदो गुलाफसरी राम्री, कमलको फूलसरह फक्रेकी आदिआदि अनेक उपमा र तुलनाहरू छन् तर यावत् सन्दर्भमा सुन्दरताको तुलना गर्दा सबैभन्दा राम्रो मानिने प्रसङ्ग हो- चन्द्रमाजस्तो उज्यालो अनुहार, चन्द्रमुखी अनुहार अथवा जूनजस्तै राम्री । यो उपमा भनेकै पूर्णचन्द्रको जून हो ।
जूनजस्तै राम्रो भनिए पनि र जूनलाई अप्रतिम सुन्दरताको प्रतीक बनाइएको भए पनि भन्ने गरिन्छ- चन्द्रमामा पनि दाग छ । जूनेली रातको पूर्णचन्द्रलाई हेर्ने हो भने नाङ्लो जत्रो जूनमा ठाउँठाउँमा कालो टाटाजस्तो देखिन्छ । विज्ञानले जूनमा देखिने दागलाई चन्द्रतलमा रहेको माटो र डाँडाकाँडा भनेको छ तर साहित्यिकहरूका लागि त्यो पनि विशेष छ । चन्द्रमामा दाग कहाँ छ र ? चन्द्रमामा पिम्पल्सजस्ता दाग कहाँ छन् र ? त्यो त कुनै दुष्टमतिका आँखा चन्द्रमामाथि नपरुन् भनेर प्रकृतिले लगाइदिएको टीका पो हो, जूनेली रातको सुन्दरता कसैले चोर्न नसकोस् भनेर लगाइएको शुभ टीका पो हो, ठीक त्यसरी नै जसरी आमाहरूले आफ्ना नानीहरूलाई कसैको नराम्रो नजर नलागोस् भनेर अनुहारको कुनै पनि स्थानमा कालो टीका लगाइदिने गर्छन् । बिर्सनै पो कसरी सकिन्छ र ? आखिर लालीगुराँस पनि त हजारौँ फिटको अग्लाइमा मात्र फुल्ने गर्छ, अनि गुलाफ पनि त काँडाहरूले घेरिएर मात्र मन लोभ्याउँदै फक्रेको हुन्छ । त्यही भएर नै हो, चन्द्रमामा दाग छ भनिए पनि उसको सुन्दरता, शुभ्रता र स्निग्धतालाई कसैले चुनौती दिन सकेको छैन, सक्दैन पनि ।
चन्द्रमा प्रकृतिको मृदुसत्य हो भने मानव जीवनको कठोर यथार्थ । सायद त्यसैले मानिस बुढ्यौलिँदै जान थालेपछि आफूलाई ‘डाँडामाथिको जून’ भन्न थाल्छ । आफूलाई अस्ताउँदो जूनसरह देख्न थाल्छ । के थाहा, पशुपक्षीहरूले पनि यसै भन्दा हुन् ! चिच्याएर नै भन्दा हुन् तर तिनको बोली कसले बुझिदिने ? मानिस जन्मँदा सबैतिर खुसी र प्रसन्नता छाउँछ तर त्यही मानिस मर्दा सबैतिर दुःख र वेदना हुन्छ । मिलनको मिठास र विछोडको व्यथा अनि सुख-दुख, यश-अपयश, लाभ-हानि, जीवन-मरण सबै सँगसँगै आएका हुन्छन् भन्ने यथार्थ हामीले बुझेका छौँ तर यो सब बुझ्दाबुझ्दै पनि हामी सायद त्यसलाई नबुझेको अभिनय गर्न मन पराउँछौं । घाम होस् या जून, त्यो उदय नहुने हो भने कहिल्यै अस्तय हुंँदैन । त्यसरी नै, जसरी प्रकाश नभई अँध्यारो हुँदैन, पूणिर्मा नभै औँसी हुँदैन । सबैको आफ्नो नियम छ, एक किसिमको निरन्तरता छ । शैशव अवस्थाबाट हुर्की बढेर मात्र पुग्छ डाँडामाथि जून । उदय भइसकेर डाँडामाथि पुग्दासम्म जूनले आफ्नो भूमिका र उत्तरदायित्व पूर्णतवरले निर्वाह गरिसकेको हुन्छ । ‘डाँडामाथिको जून हुन’ पुगेको मानिसले पनि जानेर-नजानेरै वा चाहेर-नचाहेरै पनि जीवनजगत्प्रति निर्वाह गर्नुपर्ने दायित्व जे जसरी हुन्छ, पूरा गरेकै हुन्छ । जीवनको अस्ताचल हो डाँडामाथि जून भन्नु । यति मात्र होइन, यो त हिमाल हल्लाउन सक्ने आँट बोकेको तन्नेरीपुस्तालाई जीवनको क्षणभङ्गुरता सम्झना गराइरहने शाश्वत अभिव्यक्ति पनि हो ।
टन्टलापुरे घामको उखर्माउलो गर्मीमा खलखली पसिनाका धारा चुहाउँदै र शीतल छहारी खोज्दै सुस्ताउँदै हिँड्दाको सास्तीभन्दा निर्मल चाँदनीमा केही समय बस्नु र थकाइ मार्नुको महिमा नै अर्कै हुन्छ । त्यसैले त चन्द्रमाको शीतल छहारीमा मानिस आफ्नोपन खोज्न पुग्छ, जीवन भोगाइका पीडाहरू बिर्साउन खोज्छ, एकबारको मानव जूनीमा पाउन सकिने खुसीका पलहरू केलाउन लालायित हुन्छ । सग्लो पानीमा शशी-छाया र त्यसबाट प्रतिबिम्बित चँदाइलो उज्यालोले उसमा अनायासै जीवनको सुन्दरतालाई बिर्सन नहुने हुट्हुटी जगाइरहन्छ । त्यही जूनेली उज्यालोले शुभ्रता र स्निग्धताको अतुलनीय आभा पनि छरिरहेको हुन्छ । देशदेशावरमा द्वेष, द्वन्द्व, घृणा, कल्मष र लोभभाव होइन अपितु, चाँदनीजस्तै शीतलता सर्वत्र छर्नुपर्ने अविरल पाठ पढाइरहेको हुन्छ र भनिरहेको हुन्छ- वसुधैवकुटुम्बकम् । सत्यं शिवं सुन्दरं ।
