Skip to content


सम्मानित जीवन बाँच्न चाहनेका लागि जिजीविषा एक सङ्घर्ष हो । अथक, अविरल द्वन्द्व, प्रतिस्पर्धा र सम्झौताद्वारा मृत्यु पन्छाउने सङ्घर्ष । लक्ष्यमार्गमा बाधा कहाँबाट खस्छ भन्ने कुरा थाहा पाउन निकै कठिन हुन्छ । आफ्नै भनेका, हितैषी ठानेका व्यक्ति पङ्क्तिबाट जब भित्रभित्रै कैँची चलाइन्छ, तब जीवनको अर्थ फगत् बाँच्नुमा टाँक्सिन्छ र सम्मानित जीवनको भागसँग जोडिन्छ । जोडिनुको तात्पर्य अलगअलग रहेर अस्थायी एकत्वमा बाँधिनु पनि हुनसक्छ र पार्थक्यको अन्त्य भएर सम्मिलित नवीनतामा प्रकट हुनु पनि भइदिन्छ । जीवनको वैकल्पिकताप्रति धु्रवविहीन हुँदैन । नैसर्गिकता जो छ त्योसमेत विकल्पमय छ । प्रकृतिमा जस्तै व्यक्तित्वमा पनि द्वन्द्वात्मकता रहन्छ । परस्परा यो वा त्यो कुन कुरा वा काम गर्ने भन्ने विषयमा मात्र होइन, नित्य नवीनताको चाहमा पनि त्यही द्वन्द्वात्मक विकल्प नै अडिएको हुन्छ । जीवनको जिजीविषा विकल्पमय छ । कसरी बाँच्ने ? के गरेर बाँच्ने ? कसका निम्ति बाँच्ने ? किन बाँच्ने ? बाँच्नुको सार्थकतामा नै सम्मानित जीवनको प्रश्न खडा छ । अपहेलित जीवनको इच्छा राख्ने व्यक्ति दुनियाँ पाइँदैन । बरु इच्छामरणको कामना लिएर स्वीट्जरल्याण्ड पुग्ने व्यक्तिको सङ्ख्या दिनानुदिन बढ्दो छ । मैले कुनै व्यङ्ग्य रचनामा ‘मर्न पाउने अधिकार’ को कुरा उठाएको छु । त्यो लेख्दा मेरो मनमा अपमानित जीवनको पीडा थियो, मृत्यु चिन्तन थिएन । न त म जीवनको विकल्पका रूपमा मृत्यु भन्ने पक्षमा नै छु । मानव समाजले व्यहोरेको विरोधाभास, वैपरित्य र विसङ्गतिका विपरीत सम्पूर्ण मानिसले सम्मानित जीवन बाँच्न पाउनुपर्छ भन्ने भाव नै उद्दीप्त चिन्तन बनेको हुँदा मैले अन्तिम विकल्प रोज्न रुचाइनँ । जिजीविषाको समाप्ति अथवा त्यागद्वारा मृत्युमोह उब्जन्छ । जहाँ जीवनले सार्थक अस्तित्व जोगाउन सक्दैन, त्यहाँ निरर्थक जिजीविषा हाँस्न सक्दैन । जिजीविषा आशाको आडमा आकाङ्क्षाको पहाड चढ्छ । प्रकृतिका अनुरागमा लहराउँछ । सामाजिक बागवानीमा रमाउँछ र मानिसलाई मात्र हैन प्राणी पङ्क्तिलाई समेत आ-आफ्ना जैविक अजैविक विकल्प छनोट गर्न अभिप्रेरित गर्छ । जैविकता वंश सातत्यमा सीमित छ भने अजैविकता मानिसको सिर्जनशीलतामा प्रकट भइरहेको छ । त्यसैले मान्छे रुन्छ-हाँस्छ, रुन्छ-हाँस्छ । केही बनाउँछ, केही बिगार्छ र फेरि बनाउँछ ।

बनाउनु गाह्रो काम हो । सिर्जनाकर्मीहरूले नयाँनयाँ भाव, कल्पना र सम्भावनाका विकल्पहरू खोज्छन् र नवनिर्माण रोज्छन् । जतिसुकै सुन्दर सिर्जनामा पनि केही कमजोरी रहेका हुन्छन् । कमजोरी केलाएर सिर्जनाको मूल्य घट्दैन । सामान्यतया राम्रो सबैले देख्छन् र रुचाउँछन् पनि । नराम्रो पक्ष सुन्न राम्रै मान्छे पनि तयार हुँदैन । सत्यको उपासक पनि असत्यमा रमाएर हाँसेका घटनाहरू थुप्रै छन् । पीडाबोधको मर्मले अभिप्रेरित कर्म पनि धर्म बन्न पुग्दछ । जिजीविषाको द्वन्द्वमा धर्मका बहुरूपी कर्महरू शर्म लाग्दा पनि छन्, मर्मबोधी पनि छन् । मर्मबोधी मनुष्यले नै मानिस हुनुको गौरवलाई जोगाउँदै आए, जोगाउँदै जानेछन् ।

पीडाबोध गर्नु झन् गाह्रो काम हो, आफ्ना मनको पीडा सामाजिक जीवनको पीडा, सजातीय वा विजातीय, वर्गीय वा राष्ट्रिय जनुसुकै रूपका दुखानुभूति हुन् । ती पीडाबाट व्यक्ति पीडित हुन्छ । व्यक्तिपीडा प्रसारकपीडा बनेर छरिन्छ-! परिवार, जाति क्षेत्र र राष्ट्र हुँदै । फुलैफूलको ओछ्यान होस् वा काँडैकाँडाको रछ्यान, तैपनि पीडा दुवै ठाउँमा छट्पटाउँछ । आत्मपीडा र परपीडा, दुवैको क्षेत्र फरक छ । पूर्वीय साहित्यले अघिल्लोलाई कर्म र पछिल्लोलाई मर्म मान्यो । जो परपीडक छैन-परोपकारी छ, उसलाई धर्म-रक्षक ठान्यो । पाप-पुण्यको परिभाषामा व्यासले भने भन्दै भनियो- “परोपकार पुण्याय पापाय पर पीडनम् ।” स्वपीडाको अर्थमा आत्मपीडकतर्फ ध्यान गएकै छैन तर थुप्रै स्रष्टाहरूले आत्मपीडाका आख्यान रचेर धर्तीको साहित्य-सङ्गीत र कलालाई फुलाउने-फलाउने काम गरेका छन् । उनीहरूका पीडाबोध फरकफरक छन् । सामाजिक पीडा-असामयिक पीडा दुवैका रूपहरू देखापरेका छन् । शोक काव्यधारा पीडाकै अभिव्यक्ति हो र ती वैयक्तिक र सामाजिक शाखामा प्रवाहित छन् । हर्षमा हाँस्ने सङ्गीतीभन्दा पीडामा रुने सङ्गीतीको स्थान उच्च छ । पीडा पन्छाउने सङ्कल्प आफैँमा हुनुपर्छ । सहानुभूति त फगत एक संवेदना हो, जो सम्भावमा नभएर समस्याको प्रभावमा पनि पैदा हुन्छ, व्यक्त गरिन्छ र दर्शाइन्छ । जीवन जिउने तरिका ठीक-बेठिक, राम्रो-नराम्रो, सुन्दर-कुरूप जस्तो भए पनि आखिर बाँच्नुको अर्थ अनेक निखन्नेहरूबीच म पनि त छु । मेरा पीडाका वेदनाहरूमा लौकिक व्यथाहरू होलान् तर अलौकिक कामनामा रमाएर मृत्युलाई अङ्कमाल गर्नेहरूको हर्ष र जिजीविषाको पीडा अवश्य नै फरक हुन्छ । म बाँच्नुको अर्थ श्रममा भिज्नु, पसिनामा बग्नु, पाखुरामा मच्चिनु र खुट्टा घिसार्दै टाउको ठड्याउने प्रयास गर्नु भयो । अस्तित्व रहृयो-रहेन, आखिरमा विचार आफूले होइन अरूले गर्छन् । जे जो भयो सो जानाजानमा नभै अन्जानमा ज्ञानमा नभै अभिमानमा समेत पो भएको छ कि ? अस्तित्वबोधको पीडामा कतै कटु, कतै मधु, कै सहज, कतै असहज, कतै सज्जनता कतै दुर्जनता, परस्पर वैपरित्यमा जीवन घसिँ्रदै अघि बढिरहन्छ । त्यसैले त मान्छे रुन्छ-हाँस्छ, हाँस्छ-रुन्छ । कहिले ठडिन्छ र कहिले नुहुन्छ । रुनु र हाँस्नुको आरम्भ र अन्त्यसँगै जीवन सिद्धिन्छ । समाज पनि त सिद्धिन्छ ! समाज त बाँचुञ्जेलको सिमाना हो तर यही सीमा भङ्ग गर्ने प्रयत्नमा मान्छेले जिजीविषाको सङ्घर्ष चलाउँछ । आकाङ्क्षाको फूल फुलाउँछ जत्ति पीडा भए पनि, ‘मर्नु भन्दा बौलाउनु निको’ भन्दै बाँच्ने चाहना नै मानिसले गर्दै आएका छन् ।

जिजीविषाको भोक र भोगका बीचमा नैतिकमूल्य खडा छ । नैतिक मूल्यको खोजीमा इमानदारी स्थापित गर्ने प्रयत्नमा बुद्धले निकै पहिले सम्यक् मार्गको व्याख्या गरेथे तर मान्छेमा इमानदारीपनको मात्रा ज्यादै कम छ । सार्वजनिक जीवनमा मात्र होइन, निजी जीवनमा पनि मानिस आफैँप्रति पनि इमानदार रहन सकेको पाइँदैन । भन्न त भनिन्छ- मानिस आफूप्रति बेइमान हुँदैन । आफू र आफन्तप्रतिको बेइमानी जीजिविषाप्रतिको आघात हो । आत्महन्तक प्रवृत्तिको पोषण हो । आफूप्रति नै अविश्वास भएपछि मानिस बाँच्न सक्दैन । उसका लागि धर्ती नर्क समान बन्दछ, पीडाको भुमरी बन्दछ । भोक प्राप्ति, भोगमा सन्तुष्ट हुन्छ भने भोगको उपभोग सदैव नै असन्तोषी हुन्छ । औपन्यासिक आख्यानमा यथार्थभन्दा कल्पनाको सहारा लिएर ‘आफ्नो बाटो आफैँ फेला पार !’ भन्ने पद्धतिमा मत्स्य न्यायको ‘उदार चिन्तन’ अँगाल्ने वैभवशालीहरूको पहिचान भोगवादी छ । चन्द्रमालाई रोटी ठान्ने भोक र गणिका ठान्ने भोगका बीचमा थुप्रै विसङ्गति छ । बेमेलको वर्गीय फोटोमा जिजीविषाको गन्तव्य पुनरावृत्तिका कथामा अवतारवाद फलाक्दै अल्मलिन्छ । पूराकथाको पुनरावृत्तिमा पूरा जीवनको परम्परा कुँदिन्छ भने पूर्ववर्ती र प्रभावको जैविक अजैविक अंश जिनमा लुक्छ भन्ने जीनकै सत्व बदल्ने खुवी पनि जिजीविषाकै अङ्ग बन्न पुगिसकेको छ । त्यसैले जिजीविषा प्रतिलिपिको हक नभएर प्रतिजैविकी आकाङ्क्षाको प्रतिरोध पनि बन्नपुग्छ । ‘सम्राट्को सनक’ सबैले अनुकरण गर्ने विषय बन्दैन । जङ्गलको बाघले मृग दार्छ भन्ने आधारमा प्रत्येक जीवले आफूभन्दा दुर्वललाई दार्ने-मार्ने वा आहार बनाउनु नै संस्कृति हो भन्ने निष्कर्ष निस्किँदैन । त्यसैले जिजीविषाको सार सरकारी र गैरसरकारी हुँदैन विद्रोही र बदलाभावी हुँदैन । सहजीवनको अस्तित्वबोधमा नै वस्तुगतता, ऐतिहासिकता र गतिशीलता आधारित हुन्छ । यी तीन पक्षको सम्यक् एकतामा निरन्तरता, सापेक्षता र द्वन्द्वात्मकता सदैव रहिआएको छ, जसले समग्र जीवनको जिजीविषालाई चालक बनेर हाँकिरहेको छ, अघि बढाइरहेको छ, जीवन गुडिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *