Skip to content

महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद

  • by


मान्छे होस् या प्राणी, मृत्यु कसैको पनि सुखद हुँदैन । हाम्रो हिन्दू संस्कारअनुसार पनि अग्रज वा आफन्तजन मृत्युको दिनलाई शोकको रूपमा लिइन्छ । मृत्यु र त्यसपछिको एक वर्ष चोखोनितो भई बरखी बारेर मृतदेह (मृतआत्मा होइन, किनकि हिन्दू धर्मग्रन्थहरूका अनुसार आत्मा मर्दैन)प्रति सम्मान प्रकट गर्ने गरिन्छ । त्यसपछिका वाषिर्कीहरूमा पनि मृतदेहको सम्झना गर्दै शब्द श्रद्धाञ्जलि मात्रै होइन, अग्रज वा आफन्तजनका अधूरा सपनालाई व्याहारिकरूपमा उतार्ने, जीवनकालमा गरेका योगदानहरूलाई अझ फैलाउने, चीरस्थायी बनाउने काम गरेर हार्दिक श्रद्धाञ्जली प्रकट गरिनु पर्ने हो तर हामी यति यान्त्रिक र यति कृतघ्न हुँदै गएका छौँ कि हामीलाई दिवङ्गत पात्रका योगदानबारे सोच्ने फुर्सद पनि छैन । हाम्रा श्रद्धाञ्जलीहरू औपचारिकता र आडम्बरमा सीमित हुन थालेका छन्, बिरालो बाँधेर गरिने श्राद्धजस्तो ।

भन्ने गरिन्छ भाषा, साहित्य र कलाका साधकहरूको उपेक्षा गर्ने कृतघ्न जातिको कहीँ पनि उन्नति हुँदैन । त्यसैले होला अचेल हामी हाम्रा अग्रज स्रष्टाहरूका मृत्युका दिनलाई पनि सुखदझैँ ठानेर ‘उत्सव’को रूपमा मनाउन थालेका छौँ । हामी यति स्वार्थी बन्दै गएका छौँ कि ती स्रष्टाका नाममा केही गरिटोपलेर आफैँ लोकपि्रय हुने रहर गर्न थालेका छौँ । यसै मेसोमा परेको छ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की पनि ।

हुन त महाकवि देवकोटा दिवङ्गत हुनुभएको विगत पचास वर्षको अवधिमा बागमतीमा थुप्रै पानी-ढल बगिसकेको छ । महाकवि देवकोटाको सम्झनामा बर्सेनि सयौँ कार्यक्रम सम्पन्न हुँदै आएका छन् । स्वदेशमा मात्रै होइन, १५ जना नेपालीहरू मात्रै भएको विदेशीभूमिमा समेत महाकविको सम्झना गर्ने गरिएको छ । यस आधारमा हेर्दा पनि यो पचास वर्षको अवधिमा लाखौँले ‘भावपूर्ण’ श्रद्धाञ्जली प्रकट गरिसकेका छन् । उहाँको नाममा लाखौँ घन्टा व्यतित भइसकेको छ तर व्यावहारिकताको कसीमा राखेर हेर्ने हो भने सम्पूर्ण नेपालीहरूका श्रद्धाका पात्र रहेका महाकविको योगदानको तुलनामा हामीले सिन्को बराबर पनि काम गर्न सकेका छैनौँ । वास्तवमा महाकवि देवकोटाका नाममा आयोजना हुँदै आएका वाषिर्कीहरू केवल औपचारिकता र कथित ‘भावपूर्ण श्रद्धाञ्जली’मा सीमित हुँदै आएका छन् ।

“यतिधेरै सालिक बनेका छन्, पुस्तकालय बनेका छन्, उहाँका रचनाहरू पाठ्यक्रममा पढाइएका छन्, यहाँभन्दा बढी के हुनुपर्यो ?” माथिल्लो अनुच्छेद पढिरहँदा कोही कसैको मनमा स्वतःस्र्फूत जवाफ तयार हुनसक्छ तर महाकविको योगदानलाई आधार मान्ने हो भने धुवाँ धूलोले पुरिने, चराले विस्ट्याउने गरी सडकमा सालिक राख्तैमा वा पुस्तकालय बनाउँदैमा उहाँप्रतिको असली श्रद्धा प्रकट हुँदैन । वास्तवमा त्यो भद्दा, आडम्बरी र निकृष्टको श्रद्धा प्रकट गराई हो । जब महाकवि देवकोटाको नामभन्दा ठूला अक्षरमा त्यो सालिक वा पुस्तकालय बनाउन लगाउनेहरूका नाम शिलामा कुँदिन्छ भने त्यसलाई महाकवि देवकोटाको नाममा जबर्जस्त आफ्नो नाम ‘अमर’ बनाउने निकृष्ट हरकत नभनेर के भन्ने ?

महाकवि कसका ?
२०४६ सालको राजनीतिक परिवर्तन भएयता थुप्रै राजनीतिज्ञहरूका नाममा ट्रस्ट खोलिसकिएका छन् । उनीहरूका नाममा स्कुल, कलेज, अस्पतालहरू बनाइएका छन्, बडेबडे पुरस्कारहरू स्थापना गरिएका छन्, सडकहरूको नामकरण गरिएका छन् । त्यति मात्रै होइन, राजनीतिक पार्टीको कार्यकर्ता भएकै आधारमा समाजमा कुनै योगदान नभएका अपराधी, ज्यानमारा, डाँकाहरू राज्यस्तरका सहिदको कोटिमा दरिएका छन् तर महाकवि देवकोटाको नाममा केही हुनसकेन । फगत, दुई-चारवटा सालिक थपिनेबाहेक । यतिसम्म कि उनी राज्यस्तरबाट ‘महाकवि’ घोषित हुनसमेत सकेका छैनन् । जनजनले हृदयदेखि महाकविको पदवी दिइसक्दा पनि राज्यले वास्ता नगर्नु उपेक्षा होइन ?

त्यति मात्रै होइन, उहाँले प्रयोग गरेका वस्तुहरू राज्यस्तरबाट खोजीनीति गर्ने काम हुन सकेको छैन । उहाँले आफ्नो जीवनकालमा के कति साहित्य रचना गर्नुभएको थियो भन्ने कुरो अझै टुङ्गो लागिसकेको छैन । चरम आर्थिक अभाव बेहोरेका बेला बाध्यताले बिक्री गरेका रचनाहरूको नालीबेली पहिल्याउने काम भएकै छैन । राज्यको उपेक्षाकै कारण उहाँ जन्मिएको-हुर्किएको काठमाडौँ धोबीधाराको घर यसै अवधिमा माटोमा मिलिसकेको छ । पछिल्लो समय बसोबास गर्नुभएको मैतीदेवीस्थित घर परिसर अहिले पनि झारपातले भरिरहेको छ । नेता-मन्त्रीहरूका महल-घुर्यान मात्रै होइन, तिनका सालासाली र रखेलका महलसम्म सडक पुर्याउने काठमाडौँ महानगरपालिकाले महाकवि देवकोटाको जीर्ण निवाससम्म पुग्ने कालोपत्रे सडकसम्म बनाउन आवश्यक ठानेको छैन । (यो आलेख छापिएर बजारमा पुग्दासम्म चाहिँ सडक बनिसक्ला कि ?)

हुन त हामी नेपालीहरूको बानी नै हो आफूले केही नगर्ने, दोष जति सबै सरकारको थाप्लोमा थुपारेर आफूलाई साखुल्ले देखाउने । यद्यपि महाकवि देवकोटाको योगदानको अवमूल्यन हुनुको पछाडि सरकारलाई मात्रै दोष दिएर पुग्दैन, आफूलाई सचेत ठान्ने हामी प्रत्येक नेपालीले पनि आफूले महाकविका लागि के गरेँ भनेर सोच्न जरुरी छ । हामीले जागरुक भएर सरकारलाई दबाब दिन सकेको भए पक्कै पनि महाकवि यति उपेक्षित हुने थिएनन् । जनजनका मात्रै नभएर राज्यकै महाकवि भइसक्ने थिए ।

तर्क आफ्नै आफ्नै
महाकवि बितेको यतिका वर्ष गुज्रिसक्दा पनि उहाँको नाममा किन हुनुपर्ने जति काम हुनसकेन त ? तर्कहरू आ-आफ्नै हुनसक्छन् । कतिपय जानकारहरू महाकवि देवकोटाको परिवार, खासगरी उहाँका पुत्र डा. पद्मप्रसाद देवकोटाको असहयोगी र दम्भी व्यवहारका कारण हुनुपर्ने जति काम हुन नसकेको धारणा राख्छन् । “उहाँ आफू केही नगर्ने मात्रै होइन, गर्न चाहनेलाई पनि अनेक ठाउँमा उजुरी हालेर असहयोग गर्नुहुन्छ ।” उनीहरू भन्छन्- “नत्र नरेन्द्रराज प्रसाईंले महाकवि देवकोटाको नाममा लाखौँ रुपियाँ चन्दा सङ्कलन गरेर काम गर्नसक्छन् भने महाकवि देवकोटा-पुत्रले नै पहल गर्ने हो भने कसले सहयोग गर्दैनथ्यो होला ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *