Skip to content


“तेरो बूढा आज पनि त्यही नखरमाउली केटीसँग सुपरमार्केटमा घुम्दै थिए । मैले नदेखेझैँ गरँे । हैन, कति दिन चुप लागेर बस्छेस् ? किन केही भन्दिनस् आफ्नो बूढालाई ?” जुनाकी साथीले पिर मान्दै सोध्दै थिई ।

नभनेकी कहाँ हो र उसले ? हावा नचली पात हल्लिँदैन भन्छन् । सुरुसुरुमा उसका श्रीमान्् र त्यो केटीको बारेमा गाँइगुइँ चल्दा जुनाले सोधेकी पनि हो । कहिले रोएर, कुनै बेला घुक्र्याएर खबरदार पनि गरेकी हो उसले तर हरेकपटक उसका श्रीमान््ले जुनाको टाउको छोइ किरिया खान्थ्ो । बाहिर कसैसँग कुनै सम्बन्ध नभएको र कुनै उठबस नगरिएको भनी उसलाई आश्वस्त पार्थ्ो । विचरी ऊ, विश्वास गर्थी । फेरि सधँैभरि उसले श्रीमान्को पछि लागेर साध्य पनि थिएन । साथीभाइहरूले बेलाबेलामा उसलाई चलेका हल्ला सुनाएर चेताइरहन्थे । पछि नराम्ररी धोका खानु पर्ला, होस गर्नु है भन्दै खबरदार गरिरहन्थें । अनि त्यो दिन जुना खुब प्रतिवाद गर्थी श्रीमान््सँग । जो चोर उसैको ठूलो स्वर ! उसका श्रीमान त्यस्तो बेला उल्टै अहिलेसम्म पनि आफूलाई अविश्वास गरेको भनी जुनालाई अविवेकीको संज्ञा दिँदै गाली गर्थे । ऊ नाजवाफ हुन्थी, थप सोध्न ऊसँग कुनै प्रश्न बाँकी रहँदैनथे । उसले हरघडी सशङ्कित पिल्सिनु पथ्र्यो र धेरै रात छट्पटाएरै पनि बिताई उसले ।

हुँदाहुँदा पछि त उसले यस्ता कुराहरू सोध्न पनि छाडी । कसैले केही सुनाइहाले पनि ऊ केवल सुनिरहन्थी, रित्तो भित्तोजस्तै । प्रतिक्रियाविहीन अनुहार ओढेकी उसमा यस्ता खबरहरूले ज्वालामुखी दन्काइरहन्थ्यो । उभित्रको जलन, दुःख र पीडालेे उसलाई घरिघरि प्रतिशोधको लागि उक्स्याउँथ्यो । अलिकति एक्लोपनाको आभाष र अलिकति परपीडकको भावनाले जुनाको पनि आफ्नो अफिसमा काम गर्ने सहकर्मी सुमितसँग सम्पर्क बढ्यो । समान अभिरुचि र विपरीतलिङ्गी आकर्षणमा, मीठो व्यवहार गर्ने सुमितसँग ऊ दिन प्रतिदिन नजिकिँदै पनि गई । एउटै अफिसमा काम गर्ने हुँदा उनीहरूलाई भेटघाट गर्न कुनै असुविधा थिएन । सधैँको भेट र कार्य गराइले उनीहरू सहकर्मीभन्दा पनि बढी अभिन्न साथी बन्दै गए । त्यही भएर कुराको कुनै सीमा नराखी जुना सबै कुरा सुनाउँथी उसलाई, श्रीमान््सँगको दिनहुँको किचकिच, उनको अर्की केटीसँगको लसपस, श्रीमान््को बेवास्ता, आफ्नो कुण्ठा, छटपटी र दबाइएका अनेकौँ इच्छाहरू । जहाँ, जतिखेर पनि सँगसँगै देखेर अफिसभित्र उनीहरूको बारेमा गरम चर्चाहरू पनि चल्न थालिसकेका थिए । चिया खाजादेखि फुर्सदमा लाइब्रेरीमा पत्रिका पढ्नसमेत सँगै हिँड्न थालेपछि कुरा नकाटियोस् पनि किन ? सुमितको त तै अझै बिहे भएको थिएन तर बिहे भैसकेकी जुनासमेत पनि श्रीमान्लाई देखाउनाखातिर उनीप्रतिको प्रतिशोधको भावनाले सुमितसँग नरामै्रसँग झ्याम्मिएकी थिई ।

उठ्दाबस्दा, साँझबिहान जुनाको दिमागमा एउटै नाम हुन्थ्यो सुमित । श्रीमान्लाई उसले वास्ता गर्न छाडेकी थिई अब । ऊ सधैँ तुलना गर्थी सुमित र आफ्नो श्रीमान्मा । मनदेखि नै टाढिएकी हुँदा उसलाई श्रीमान्को कुनै पनि कुरा राम्रो लाग्दैनथ्योे । सुमित पनि उसलाई खुब मन पराउँथ्यो तर त्यो मन पराइको रूप, सीमा र गन्तव्य कुन हो ? ऊ जान्दिनथी । उसले कहिल्यै खोतल्ने प्रयास गरिन । उसलाई त्यहाँ प्रेम पाउनुु पनि थिएन । श्रीमान्ले गरिरहेका विश्वासघातको एउटा विकल्प मात्र खोजेकी थिई उसले सुमितसँगको साहचर्यमा । आखिर त्यत्ति उमेर भएकी पनि त हैन ऊ । दुब्लो जिउडालको कारणले गर्दा ऊ आफ्नो उमेरभन्दा अझ कम नै देखिन्थी ।

सुमितसँगको आफ्नो सम्बन्धको स्वीकारोक्ति उसले आफ्नो मनखाने साथीसँग पनि गरिसकी । उसकी साथीलाई उसको सम्पूर्ण इतिहास र घरको परिस्थिति पनि थाहा थियो । बाटो बिर्सेका श्रीमान्लाई सुधार्नुको सट्टा आफूले पनि त्यही बाटो अनुसरण गरेपछि अन्त्य कुन ठाउँमा हुन्छ भन्ने सोच्न पनि नचाहेकी जुनालाई उसकी साथीले घरपरिवार र छोराछोरीको भविष्यको बारेमा सम्झाएर धेरैपल्ट सचेत पनि गरिसकी ।

तर जुना सुमितसँगको मायाको सागरमा चुर्लुम्म डुबिसकेकी थिई । यथार्थताको कटु धरातलमा टेक्नुभन्दा आफ्नो ब्वाइफ्रेन्डसँगको क्षणिक सामीप्यमा ऊ जीवनभित्रको आनन्द खोज्थी । उसका श्रीमान्को कोसँग लेखापढी हुँदैछ र उनी किन ढिला घर आउँछन् वा किन कैयाँै रात विभिन्न बहानामा घरमा अनुपस्थित रहन्छन् भन्ने कुरामा अब कुनै सरोकार रहेन । दुवैको संसार छुट्टाछुट्टै थियो, खुसी र सपना बेग्लै थिए ।

आफ्नो व्यक्तिगत स्वार्थ र बदलाको भावनाले एकअर्कालाई सानो देखाउने होडबाजीमा परिणाम कहिले पनि राम्रो हुँदैन भनेर जुनालाई उसका साथीहरूल्ो निकैचोटि सम्झाए । पहिलेपहिले त उसले साथीहरूका कुरा सुनेर आफूलाई सम्हाल्न र सुधार्न खोजी । छोराछोरीका मुद्दा अगाडि लाएर श्रीमान्लाई सम्झाउन पनि खोजी तर उनले बानी फेरेनन् । घरको स्थितिमा कुनै सुधार नदेखेपछि उसले सम्झाउने साथीहरूसँगै उल्टो प्रतिवाद गर्नथाली । पुरुषहरूले लोग्ने भएर जे गरे पनि हुने अनि स्वास्नीमानिसले त्यही काम गर्दा अस्वाभाविक किन ठहर्ने भन्ने प्रश्न ऊ साथीहरूलाई फर्काउँथी । आफ्नो अहंको लागि पनि ऊ श्रीमानसामुु झुक्न तयार भइनँ ।

आमाबुबाको आ-आफ्नो स्वार्थ, अहं र विलासिताको सबैभन्दा प्रत्यक्ष असर त जुनाका छोराछोरीमा पर्‍यो । जुनरूपमा अभिभावक भएर बच्चाहरूलाई माया, ममता र स्याहार दिनुपर्ने थियो, त्यो न जुनाले दिन सकी, न त जुनाका श्रीमान्ले नै । उसका श्रीमान्लाई रातोदिन अफिस, आफ्नी गर्लफ्रेन्ड, पार्टी, पिकनिक, रेष्टुराँ र उपत्यका बाहिर सेमिनार अनि मिटिङका नाम गरी विकएन्डमा छुट्टी मनाउँदैमा फुर्सद थिएन । जुनाका पनि अधिकांश समय सुमितको वरिपरि नै बित्थ्यो । सार्वजनिक बिदाको दिन ऊ सुमितसँग लङ्ग ड्राइभमा निस्कन्थी । उसले गर्ने हरेक क्रियाकलापमा सुमितको इच्छा सर्वोपरि रहन्थ्यो । सुमितलाई त्यो मीठो लाग्दैन । सुमित त्यो चाहँदैन, यीभन्दा बढी अरू कुरामा उसको ध्यानैै रहन्नथ्यो । आफ्ना छोराछोरीका पनि कुनै इच्छा, सपना होलान् भन्ने कुरा जुना र उसका श्रीमान्ले सोचेनन् । अझ जुनाले त आफ्नो पर्समा ऐनासँगै लुकाएर सुमितको फोटो राखेकी थिई, भेट नभएको दिन र न्यास्रो लाग्दा त्यही फोटो हेरी बस्नु उसको मुख्य काम हुन्थ्यो । ऊ ठट्टामा सुनाइरहन्थी- बरु उसले श्रीमान्लाई छोड्न सक्छे तर सुमितलाई ज्यान गए पनि छाड्दिन ।

उसकी छोरी पोहोरदेखि कलेज जान थाली । घरमा जस्तो परिवेश हुन्छ, केटाकेटीहरूले त्यसैको सिको गर्छन् । भर्खरको बैँसालु उमेर, खुलापन र घरमा रोकतोक गर्ने कोही नहुँदा उसका पाइला पनि क्याबिन रेष्टुराँ र डिस्कोथेकहरूतिर सजिलै पुग्न थाले । छोराछोरीलाई उचित सुझाव र नियन्त्रण गर्नुपर्ने मान्छे आफैँ बरालिएपछि उसका छोराछोरीको पनि के दोष ? मुन्द्री लगाएर लामो कपाल पाल्ने ब्याइफ्रेन्डसँग मोटरसाइकलमा लिपिक्कै टाँसिएर घुम्नु, अबेरसम्म घर बाहिर बस्नु बढ्दै गरेकी उसकी तरुनी छोरीको दिनचर्या थियो । उसको छोरो भने स्कुलमै पढ्दै थियो दस कक्षामा । पढाइभन्दा अन्य गतिविधिहरूमा नै उसको रुचि देखिन्थ्यो र त अघिल्लो वर्ष परीक्षा बिगार्‍यो पनि । क्लास छोडी आफ्ना अल्लारे साथीहरूसँग गफिएर बस्नु, चुरोट पिउनुजस्ता नराम्रा लत उसमा मजाले बसिसकेका थिए । ऊ मात्र के कम, ऊ पनि आफ्नी गर्लफ्रेन्डलाई लिएर साइबर र पार्कहरूतिर डुलिरहन्थ्योे । उसका श्रीमान्मा छोराछोरीको बानी व्यहोरा बुझ्ने धैर्यता थिएन । जुुना भने छोराछोरीलाई कहिलेकाहीं सम्झाउन खोज्थी तर आफैँ बिग्रेको बाटो हिँडिरहेकीले ठूलो स्वर गर्न सक्दिनथी ।

अलिक दिन भयो जुनाको श्रीमान्सँग फेरि कचमच सुरु भएको । खै ! कसले सुुनाएर हो, उनले सायद पहिलोचोटि जुनासँग सुमितको बारेमा सोधेका थिए । मुखभरिको जवाफ दिएर जुुनालाई श्रीमान्को मुखमा बुजो लाइदिन मन त लागेको थियो तर बोल्दै बोलिन, कुनै सवालजवाफ नै गर्न चाहिन ।

राजधानीको व्यस्त सडकछेऊ रहेको “माइ पाराडाइज” रेष्टुराँ जोडीहरूबीच निकै लोकपि्रय छ । प्रत्येक टेबुलहरूलाई पोतेका पर्दाहरूले बारेर आकर्षक मात्र बनाइएको हैन, त्यसले केही हदसम्म गोपनियता पनि रहन्थ्यो । स्टि्रट फेस्टिवलको मौका पारेर रेष्टुराँले भव्य छूट पनि दिइरहेथ्यो । आज सुमितले जुनालाई त्यहींँ जाने प्रस्ताव राखेको छ । घरमा भरे खाना खाने नै को छन् र पकाउन, उसका श्रीमान्को आज साँझ मिटिङ छ रे अफिसमा । छोरो बिहानदेखि खानै नखाई बेपत्ता थियो र छोरी उसकी साथीको घरमा भोज छ, आज नफर्किने भन्दै थिई । सधैँको यस्तो स्थितिले उसलाई दुःखी नबनाउने त हैन तर अब उसले ती दुःखहरू सोचेर दुःखी हुन छाडेकी छ । त्यसैले उसले सुमितको प्रस्ताव सहर्ष स्व्ाीकारी । साँझ अफिसबाट फर्केर नुहाइवरि उसले आफूलाई धेरैबेर लाएर मेकअप गरी । अनि भड्किलो लोकट ब्लाउजसँग आफूलाई मनपर्ने रङको सारी लगाई । गर्धन र कान पछाडि महँगो परफ्युम दली । सुमितले लिन आएपछि ऊ ढोकामा ताल्चा लगाई निस्किई ।

रेष्टुराँमा एउटा कुना रोजेर जुना सुमितसँग टाँसिएर बसी । रङ्गीन साँझ पाश्र्वमा बजिरहेको स्टिभ वन्डरको अङ्ग्रेजी गीत “पार्ट टाइम लभर” को धुनसँग अझै मादक बनिरहेको थियो । प्रत्येक जोडीले अगाडिका साथीमै संसार खोजिरहेका थिए । जुना र सुमितले पनि एकअर्काका आँखामा तैरिँदै हल्का पेयसँग मायाका कुराहरू साटिरहे ।

एकैछिनमा रेष्टुराँको भित्री लबीमा कोलाहल सुरु भयो, कुनै केटाले उपद्रो गर्‍यो कि? झगडा भएजस्तो, कोही रोएजस्तो सुनियो । उत्सुकताले जुना सुमितको हात समातेर भीड छिचोल्दै त्यहाँ पुग्दा उसको छोरो आफ्नी दिदीको गालामा थप्पड हानेर ठूलो स्वरमा कराउँदै थियो । उसकी छोरी आफूभन्दा सानो भाइले पिटेकोमा रुँदै, रिसाउँदै फत्फताउँदै पनि थिई । छोरीका ब्याइफ्रेन्ड उसलाई फकाउँदै थियो भने छोराकी गर्लफ्रेन्ड झगडा नगर्नु भन्दै उसलाई तान्दै थिई । त्यही भीडको एक छेउमा जुनाको श्रीमान पनि थिए, आफूभन्दा आधा उमेरकी आफ्नी गर्लफ्रेन्डसँग स्तब्ध उभिएका । सिनेमाझैँ लाग्ने अकल्पनीय दृश्य, चारै जनाले एक अर्कालाई देखे ! आफूलाई लुकाउन नसकिने अप्रत्याशित र अप्ठ्यारो परिस्थितिमा फेला परे सबै ।

स्थिति सहज बनाउन पहल कसले र कसरी गर्ने ? कसैले सोच्न सकिरहेका थिएनन् । जुनाका श्रीमान भीडबाट निस्किए र छोरीको हात समाई गाडीतिर लागे । जुनाले पनि छोरोलाई तान्दै उनीहरूको अनुसरण गरी । चारै जना नबोली कारमा बसे । जुनाको श्रीमान गाडी हाँक्दै थिए । जुना सँगैको सिटमा थिई । छोराछोरी पछाडिका सिटमा थिए । अपराधबोधले ग्रसित सबैको दिमाग अनेकौँ भावनाले उद्वेलित थियो तर प्रत्यक्षतः कोही कसैसँग बोलिरहेका थिएनन् । बोल्ने आँटै आइरहेको थिएन कसैलाई । आ-आफ्नो वैयक्तिक स्वतन्त्रता र खुसीका लागि घरदेखि टाढा भाग्दै गरेका उनीहरूको त्यो मौनताबीच गाडी भने घरतिरै कुदिरहेको थियो ।

4 thoughts on “घर”

  1. कथा यथार्थ धरातलमा उत्रिएको

    कथा यथार्थ धरातलमा उत्रिएको छ। यो कथा सत्य हो।

    मैले यस्तै situation पहिले सुनेको छु। मेरो साथी लाई पधाउने सरस्वती क्याम्पस को sir र वहाँ को श्रीमती को कथा पनि यस्तै थियो। उमेर्ले दुबइ चालिस काटेका अनी USA र UK मा पढे का उनिहरु को बेहाल। छोरी ले पनि १६ बर्षमै केटो साथी बनाएकी थिएेन। पछी छ पुगेपछी उनी australia गएकी थिएेन। यो कुर १९९८ tira को हो।

    आजकाल एस्तो देख्न पाइएको छ, सुन्न पाइएको छ।

    धरै बुद्धी भये कुबुद्धी हुन्छ भन्छन, तेही ho.
    कथा राम्रो छ।

  2. कथा यथार्थ धरातलमा उत्रिएको
    कथा यथार्थ धरातलमा उत्रिएको छ। यो कथा सत्य हो।

    मैले यस्तै situation पहिले सुनेको छु। मेरो साथी लाई पधाउने सरस्वती क्याम्पस को sir र वहाँ को श्रीमती को कथा पनि यस्तै थियो। उमेर्ले दुबइ चालिस काटेका अनी USA र UK मा पढे का उनिहरु को बेहाल। छोरी ले पनि १६ बर्षमै केटो साथी बनाएकी थिएेन। पछी छ पुगेपछी उनी australia गएकी थिएेन। यो कुर १९९८ tira को हो।

    आजकाल एस्तो देख्न पाइएको छ, सुन्न पाइएको छ।

    धरै बुद्धी भये कुबुद्धी हुन्छ भन्छन, तेही ho.
    कथा राम्रो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *