आज यस अन्तराष्ट्रिय अदालतमा
वर्षौवर्षदेखि उत्पीडन र यातनाका
घाउहरू लिएर उपस्थित
न्यायिक फैसलाको लागि प्रतिक्षित
एउटी सीताको पक्षमा बयान दिन
म एउटा साक्षी कठघरामा
उपस्थित छु श्रीमान्
किनकि म स्वयंम पनि
त्यस घटनाको
त्यस युगको
त्यस युद्धको साक्षी हुँ श्रीमान्
रामको आदर्शको लागि
राम राज्य निर्माणको लागि
र उनको मर्यादा पुरुषको पदवीको लागि
मैले पनि त्यस रणभूमिमा युद्ध गरेको हो श्रीमान्
त्यस युद्धको मैदानमा
क्रन्दन र चित्कारहरू सुनेँ
विभत्स र बर्बरहरू देखेँ
पीडा र छटपटाहटसँगै
भयावह मृत्युहरू नजिकै देखेँ
योद्धाहरूको वीरगति पछि
थुप्रै थुप्रै विधुवा सीताहरूको
हृदयमा सदा सदा नजोडिने गरी
फाटेको धर्ती देखेँ श्रीमान्
ती दारुण दुःखहरू देख्दा
म आफै पनि घाइते भएको थिएँ श्रीमान्
घाइते भएको थिएँ
तर पनि युद्धको विजयपछि
राम राज्य हुन्छ भन्ने विस्वास थियो
अपसोच,
अझ पनि रामले आपूm मर्यादित बन्न
सीताहरू अग्निकुण्डमा पस्नुपर्ने भयो
जसले राजमहलदेखि वनवाससम्म
अयोध्यादेखि डण्डकारण्यको जंगलसम्म
पतिको खुशीको लागि साथ दिइन्
अझैपनि
परिक्षित बन्न आगोमा पस्नु
सोह्रै आना अन्याय भयो श्रीमान्
अन्याय भयो
जे जे भयो अब अरु सीताहरूले
अग्निकुण्डमा पस्न पर्ने छैन भन्ने कुरामा विस्वस्त थिएँ
फेरि विस्वासमा कुठाराघात भयो श्रीमान्
जब द्रौपतिको भारी सभामा वस्त्र हरण हुने क्रम
दोहरियो रह्यो
कैयन सीताहरू सती जान वाध्य पारिए
अनि परिभाषा लेखियो उनीहरूको जन्मै ‘अभिसप्त’ भनेर
त्यसैले श्रीमान्
मैले सीताहरूको पक्षमा बयान दिनै पर्ने ठानेँ
श्रीमान्बाट न्यायको अपेक्षा गर्दछु
पौराणिक कालदेखि अहिलेसम्मको
सबै क्षतिहरूको पूर्ति सीताले पाउनुपर्छ श्रीमान्
पाउनै पर्छ ।

dherai ramro chha , tapaiko
dherai ramro chha , tapaiko kalam le nirantarta paos yahi kamana chha,