शब्द, अर्थ र कलमलाई लिएर खेल्नेको संसारमा अभिधा, लक्षणा र व्यञ्जना गरी शब्दका तीन शक्ति शब्द-शक्तिका रूपमा परिचित रहेका छन् । रड्ढ र कुची लिएर खेल्नेमुकेश श्रेष्ठको “काशी ः एक प्रभाव” शीर्षकको प्रकाशित चित्रप्रदर्शनी शब्दमा उल्लेख गर्नुपर्दा अभिव्यक्तिका यिनै शक्तिमध्ये लक्षणा तथा व्यञ्जना शक्तिका रूपमा रहेको छ । मुकेशका चित्रभित्र चित्र अवयवका कतिपय बिम्ब अप्रत्यक्ष रूपमा आएका छन् र चित्रसिद्धान्तका प्रयोग अप्रत्यक्षकै सीमामा प्रयुक्त रहेका छन् । प्रदर्शनीबाट चित्रकलाका भावकले एउटा छुट्टै आश्वादनको अनुभूति गर्नसक्ने अवस्था रहेको छ । प्रदर्शनीमा साना, मझौला र ठूला गरी कूल २४ थान चित्रकृति समाविष्ट रहेका छन् र कपडाको चित्रपटमा तैल र एक्रेलिक गरी दुई विपरित माध्यमीय रड्ढको प्रयोग गरिएको छ । चर्चेय प्रदर्शनी नेपाल कलापरिषद्, बबरमहलको मुख्य प्रदर्शनी कक्षमा आयोजित रहेको छ ।
भावानुवाद गर्दा प्रदर्शनीमा ‘अन्त्य प्राप्तिका तर्फ’, ‘रहस्यमय नियात्रा’, ‘गहिराईका तर्फ’, ‘क्लान्त-एकान्त’, ‘मुक्तिको मार्गमा (क र ख)’, ‘रहस्यमय रात्री’, ‘तव म विश्वस्त भएँ’, ‘अझै एकान्तमा’, ‘प्राणान्त पछि’, ‘म विलीन हुँदै’, ‘र विश्वास गरेँ’, ‘निशर्त समर्पण’, ‘अपार श्रद्धा’, ‘निस्तब्धता’, तिनीहरूसँगै’, ‘माथि र तल’, ‘तब आत्मासात गरेँ’, ‘तलः झन् तल’, ‘मध्यमा (क र ख)’, ‘जीवनको नदीमा’, ‘मात्र खुसी’ तथा ‘रहस्यमय स्थल’ शीर्षक गरिएका चित्रकृति समाविष्ट गरिएको रहेको छ ।
प्रदर्शनीको शीर्षक “काशी ः एक प्रभाव” पढ्दा चिरपरिचित बनारस, “काशी”, काशीको पौराणिक-ऐतिहासिक पहिचान तथा काशीको धार्मिक-सांस्कृतिक सादृश्य-चित्र र काशीको समग्र महत्व आदिको जुन परम्परागत छाप पूर्वीय वा पाश्चात्य दर्शकमा देखापर्दछ, चित्रको अवलोकन गर्दा वास्तविकता र यथार्थ त्यस्तो छाप मात्रभन्दा निकै माथि र फरक तप्कामा उठेर रहेको छ । चित्रकार्यमा रहेको अभिव्यञ्जना सौन्दर्यशास्त्रीय मानकले घनिभूत आशलाग्दो उचाइमा रहेको छ । प्रदर्शनी काशी तथा विशेषगरी गङ्गानदीसहितको काशीको समग्र परिवेश र आबहावाले चित्रकारको अन्तरड्ढमा परेको आश्वादन तिरेकी र आत्मिक अनुभूतिको प्रभाव तथा त्यस प्रभावको कलात्मक प्रकटीकरणका रूपमा प्रकाशित रहेको छ ।
विश्लेषण-वर्गीकरणका दृष्टिकोणले श्रेष्ठका चित्रलाई भावपरक, आकृतिपरक, अमूर्त र अर्धअमूर्त मान्नुपर्ने रहेको छ । तथापि श्रेष्ठले बिम्बविधान र प्रतीकप्रयोगमा पनि त्यतिकै चासो देखाएको पाइन्छ । यसरी चित्रलाई बिम्बपरकसमेत गरी वर्गीकरण गर्नुपर्ने रहेको छ । प्रयोगका क्रममा केही बिम्बलाई श्रेष्ठले मूर्त रूपमा समेत चित्रित गरेको रहेको छ । विषयका कोणबाट चित्र पञ्चतत्व, पञ्चेन्द्रीय, जीवनचक्र, ध्यान, योग एवं मोक्ष आदि परिलक्ष्यित धर्म, पौराणिकता र अध्यात्मसँग अन्तरड्ढ रहेका छन् । मुकेशको चित्रमा मानव आकृतिको वाहुल्यता र आकृतिको सरलिकृत रूप रहेको छ । उनले धेरै क्यानभासमा मेक्रोकोजम गरेका छन् । पृष्ठभूमि साधारण गरेर पनि मुकेशले उच्च कलात्मकता हासिल गरेका छन् । रड्ढको प्रयोग परिपक्व र गहन रहेको छ । मुकेशले थोरै सङ्ख्याका रड्ढ चलाएर फराकिलो अभिव्यञ्जना व्यक्त गर्न सकेका छन्, कलाकार तथा कलाप्राध्यापक रतनकुमार राईले लेखकको प्रश्नको उत्तरमा बताउनुभएको छ । श्रेष्ठका चित्रमा साधु-सन्त-उपासक, मठ-मन्दिर, गङ्गोत्री-जल तथा त्यहाँको पौराणिक-धार्मिक र सांस्कृतिक आबहवा एवं श्रेष्ठको तन-मन, सिर्जन-चिन्तन र समाधिस्थताको उपस्थिति पर्याप्त मात्रामा बिम्बित रहेको छ । ध्यान, योग, ध्वनि, प्रकाशपुञ्ज र अँध्याँरोपुञ्ज आदिसमेतका गरिएका प्रयोग यथायोग्य रहेको छ ।
टीठलाग्दो प्रसड्ढ त प्रस्तुत प्रदर्शनीका चित्रकार, उहाँको पिंढी, विश्वलाई छपक्कै छोपौला झैँ गरिरहेको विद्यमान विवादास्पद ललितधारा उत्तरआधुनिकता र यी सबैको परिप्रेक्षमा श्रेष्ठको संयमपूर्ण चिन्तन र चर्चेय प्रयोगका बीचको दूरीको रहेको छ । प्रदर्शनी, प्रदर्शनीमा प्रकाशित उल्लिखित शीर्षक, काशीको सन्दर्भले श्रेष्ठमा परेको छाप र त्यसको प्रस्तुति तथा तत्कालीन कुनै पनि फैलिएको कलाधाराबाट अप्रभावित प्रस्तुति र शैली आदि कलाकार श्रेष्ठले आफ्नो पहिचान तर्फको नमुनाका रूपमा प्रस्तुत गरेको रहेकोछ । श्रेष्ठको सिर्जनशीलनको विशिष्टता चित्रसिद्धान्तको महफ्वपूर्ण पक्ष रूप-प्रारूपीकरण (र्फम) मा रहेको छ र श्रेष्ठको सिर्जनशीलनको विशिष्टता भाव-संयोजन एवं रड्ढीय तौल र त्यसको प्रयोगमा रहेकोछ । उद्घाटन समारोहको आफ्नो समीक्षात्मक टिप्पणीमा नेपाली कलाक्षेत्रका विशिष्ट चिन्तक मदन चित्रकारले भन्नुभएको छ- मुकेशको कलायात्राको यस प्रकाशनको वैशिष्ठ्य भनेको नै रूप-प्रारूपीकरण (फर्म), भाव-संयोजन, रड्ढीय तौल एवं त्यसको प्रयोगमा देखापरेको छ ।
रड्ढविधानका दृष्टिकोणले प्रस्तुत प्रदर्शनीमा नीलो, रातो, पहेँलो र सेतो रड्ढ श्रेष्ठका विषयसम्मत रड्ढीय प्रयोगका रूपमा आएका छन् । समग्रमा यी रड्ढ नै “काशी ः एक प्रभाव” का विशेष प्रतीकात्मकता र बिम्बका रूपमा रहेका छन् । वास्तवमा पूर्वीय संस्कृतिमा यी सबै रड्ढ धार्मिक र पूजाप्राप्तिका प्रतीकका रूपमा अड्ढीकृत रहिआएका छन् नै । कतिपय चित्रपट र बिम्ब-प्रतीकमा कालोको उपस्थिति अनिवार्य रहेर देखापरेको छ । ‘म विलीन हुँदै’ र ‘र विश्वास गरेँ’ आदि शीर्षकका चित्रमा सुनौलो र ताम्रसमेत गरी विभिन्न धातु रड्ढको पनि उपयोग गरिएको रहेको छ । धेरैजसो चित्रमा श्रेष्ठ पवित्र गङ्गोत्री भित्र चुर्लुम्म डुबेका देखापरेका छन् र गङ्गोत्रीको पहिचान र गहिराईले श्रेष्ठलाई मोक्षसम्म डुबाएको देखापरेको छ । उदाहरणका रूपमा उनको ‘माथि र तल’ शीर्षकको नीलो र सुन्तले रातो प्रभाव रहेको चित्रलाई लिन सकिन्छ । डुब्नु र सुख्खा रहनुका बीचको अन्तर उक्त चित्रको प्रमुख रहस्यका रूपमा प्रस्तुत रहेको छ । यी चित्रमा प्रयुक्त बिम्बसमेत सार्थक अवयवका रूपमा माथि र तल अन्तरड्ढ रहेका छन् । नीलो प्रभावको ‘मुक्तिको मार्गमा (क)’ श्रेष्ठको कलाकारी चैतन्यको अर्को उत्कर्षका रूपमा आएको छ । ‘तलः झन् तल’ शीर्षकको चित्रमा श्रेष्ठले रातो रड्ढमा मान्छेका विविध चैतन्य र गहिराईभित्र डुबुल्किँदाको अवस्थालाई नेपथ्यमा प्रकाशपुञ्ज अवस्थित गरी संयोजन गर्नुभएको छ । दुई चित्रपटको सेट गरिएको ‘निशर्त समर्पण’ शीर्षकको चित्र छ जहाँ श्रेष्ठले रातो र सेतो प्रभावमा विभिन्न धर्म-सम्प्रदायका प्रतीकपात्रको संयोजन र पुष्पार्पण गरी गङ्गोत्रीलाई त्यहाँको धार्मिक-सामाजिक सद्भावको केन्द्रका रूपमा चित्राङ्कन गर्नुभएको छ ।
प्रविधि तथा शिल्पिका दृष्टिकोणबाट हेर्दा श्रेष्ठले चित्राङ्कन-गतिका नाममा कुची र लेपकको आँखै बिझाउने ह्रास सिर्जना गरेको देखिँदैन । रड्ढीय-लप्का वा कोलाजका पहाड सिर्जना गर्ने लोभमा फसेका देखिदैन । ‘तब आत्मसात गरेँ’ शीर्षकको एउटा चित्रमा अत्यन्तै पाच्य रूपमा बरू श्रेष्ठले आफ्नो शरीरभरि रड्ढ पोतेर रड्ढलिप्त पूर्ण शरीरबाट नै मानव आकृतिको छापाको सिर्जना गरेको पाइन्छ । यस बाहेक ‘म विलीन हुँदै’ समेत शीर्षकका चित्रमा एक आश्वादनको रेखाविन्यास सिर्जना गरिएको रहेको छ । ‘प्राणान्त पछि’ को केही भागमा कुचीको विपरीत अंशले केरेर समस्थलमै पनि सिर्जना गरिएको विन्यासको नमुना देखापरेको छ । यस्ता केही चाखलाग्दा सतहकार्यबाहेक सतहविन्यास, उही काशीको समस्थल भूगोल र गङ्गाको एकुन्द्रो एकाकी र शान्तिझैं संयमित स्वभावको रहेको छ । कलाकार श्रेष्ठ आफैं र उहाँको मानस बाहेक चित्रमा बनारसका साधु-सन्त, मगन्ते, सम्बन्धित अन्य आकृति र प्रतीकात्मक कतिपय रेखाको उपस्थिति रहेको छ ।
श्रेष्ठका ‘अन्त्यप्राप्तिका तर्फ’, ‘रहस्यमय रात्री’ ‘तलः झन् तल’, ‘क्लान्त-एकान्त’, ‘मुक्तिको मार्गमा (क र ख)’, ‘अपार श्रद्धा’, ‘तव आत्मासात गरेँ’ तथा ‘म विलीन हुँदै’ शीर्षकका चित्र बौद्धिक माथापच्चिसी र कसीघोटाइकातर्फका गुणस्तरले युक्त चित्रका उदाहरणका रूपमा आएका देखिन्छन् । यसरी श्रेष्ठको कार्य दृश्यात्मक नभएर भावात्मक र विस्तारात्मक नभएर निचोडात्मक देखापरेको छ । चिन्तन र वैचारिकताका दृष्टिकोणले सघन र भविश्यगामी देखापरेको छ ।
शनिबार, गोरखापत्र
मंसीर २०, २०६६
