Skip to content

छाप्रोमै बसेर लेखेँ

  • by

कठिन सङ्घर्ष र निरन्तर योगदानले गर्दा नै होला ‘जगदम्बाश्री’ जस्तो गरिमामय पुरस्कार पाउन सकेँ । मैले आफ्नो जीवन सङ्गीत क्षेत्रमै समर्पण गरेर लागिपरेको छु, यसरी लाग्ने क्रममा गर्नुपरेको सङ्घर्ष र भोग्नुपरेको कष्ट थुप्रै छन् । २०६५ सालको ‘जगदम्बाश्री’ पाएको थाहा पाएपछि मैले आफ्नो जीवनभरको योगदाको कदर भएजस्तो ठाने, उत्कृष्ट पुरस्कारमा गनिएको यस्तो पुरस्कार पाउँदा खुसी लाग्नु स्वभाविकै हो । त्यसो त यसअघि मैले इन्द्रराज्यलक्ष्मी पुरस्कार, राष्ट्रिय, प्रतिभा पुरस्कार नूरगङ्गा पुरस्कार, झपट पुरस्कार पनि पाएकै हुँ । आफ्नो योगदानको कदर र सङ्घर्षको मूल्याङ्कन भएजस्तो लाग्दो रहेछ पुरस्कारले । सङ्गीत क्षेत्रमा मैले आफ्नो जीवन नै व्यतीत गरेको छु ।

सत्यकुमार एवं दिलकुमारीको जेठो छोरोको रूपमा वि.सं. १९९४ सालको असार २७ गते काठमाडौँको कालधारामा मेरो जन्म भएको हो । मभन्दा मुनि मेरा दुईवटा भाइ छन् । एउटा निम्न वर्गीय परिवारमा जन्मिएको म जन्मदेखि नै दुःख भोग्न अभ्यस्त भइसकेको थिएँ । मेरो पढाइ दार्जिलिङका हाइस्कुलमा भइरहेको थियो र त्यति नै बेला मलाई कलकत्ता जानुपर्ने भयो । त्यहाँ मेरा काका कपुर बुढापिर्थीको सहयोगमा बाजा बजाउने काम पाएँ यस्तै १२-१३ सालको कुरो हो, त्यतिबेला १७-१८ वर्षको थिएँ म । त्यहाँ काम गर्दा मलाई चित्त बुझेन र १५ सालमा नेपाल फर्किए । यहाँ आउनासाथ उस्ताद गोविन्दलालले (रेडियो नेपालका सङ्गीत प्रबन्धक) ले बोलाउनुभयो र माधव घिमिरेको ‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली’ जस्तो गीत, मवीवि शाहका गीतहरू रेकर्ड गर्ने जिम्मेवारी पाइयो । पछि सङ्गीत शिरोमणि यज्ञराज शर्माले २०१६ सालमा महिनाको एकसय रूपियाँ पाउने गरी कला विभागमा काम दिनुभयो । त्यतिबेला प्रज्ञा प्रतिष्ठान पुगेको मान्छे म २०६५ सम्म गरी ५० वर्ष प्रज्ञा प्रतिष्ठानमै बिताएँ । २०२८ सालमा तत्कालीन कुलपतिले हटाए पनि पछि २०३१ सालमा सूर्यविक्रम ज्ञवालीज्यूको पालामा फेरि फर्के । २०६० सम्म जागिरेको रूपमा काम गरे पनि २०६० देखि २०६५ सम्म प्राज्ञसभा सदस्य भएर बसें । प्रज्ञामा छँदा ‘कविता’ ‘प्रज्ञा’ जस्ता पत्रिका मैले नै हेर्नुपथ्र्यो तर कुनै पनि प्राज्ञले यी पत्रिकामा मेरो नाम नै उल्लेख गर्न दिएनन् । पत्रिकाको सम्पूर्ण काम मैले नै गर्थें ।

मेरो जीवनको दुःखद क्षण २०२५ सालमा आइपर्‍यो । दुःख गरेर बसेको घर २०२५ सालको अविरल वषर्ाले गल्र्याम गुल्र्लुम ढल्यो । त्यही घरले पुरिएर मेरी आमाको निधन भयो, दसैंको टीका थाप्न आएका भाञ्जाभाञ्जी बचे, हामी टीका लगाउन ससुराली गएकाले बच्यौं तर आमालाई गुमाउनु पर्‍यो । ३०-३१ वर्षको उमेरमै मैले लालाबालालाई हुर्काउने पढाउने समस्यासँग जुध्नुपर्‍यो । दुःख गरेर छाप्रोमा बसेर जिनतिन जीवन गुजारिरहँदा भएको जागिर (प्रज्ञा प्रतिष्ठान) पनि छुट्यो । पहिले त बास गयो अनि गाँस पनि । यसपछि मैले अझै सङ्घर्ष गर्दै लेखन कार्य तीव्र पारें । वि.सं. २०२५ सालको गोरखापत्रमा मेरो पहिलो रचना छापियो यसरी विचार गर्दा विशेष परिस्थितिले नै मलाई लेखक बनायो । त्यसले मेरो जीवनमा एउटा नयाँ मोड दियो । छाप्रोमा बसेर मैले कसरी चार पाँचवटा पुस्तक लेख्न सकें ? सङ्घर्षका ती दिन अहिले सम्झदा कहाली लाग्छ । मान्छेभित्रको स्वाभिमान पनि गजबको चीज हुँदोरहेछ । यसले जतिसुकै ठूलो स्वार्थलाई त्याग्दो रहेछ । जतिसुकै ठूलो विपत्तिलाई झेल्दोरहेछ ।

नेपाली सङ्गीत कलाको विशाल फाँटमा गरिनुपर्ने प्रशस्त काम छन् । यी क्षेत्रमा देखिएका र आइपर्ने समस्याले गर्दा चाहेजति काम गर्न सकेको छैन । सबैभन्दा ठूलो समस्या भनेको जीविकोपार्जनको समस्या हो । पुस्तकालयको अभाव छ, स्रोत व्यक्ति पनि उपयुक्त पाइँदैनन्, पाइहाले पनि राम्ररी अभिव्यक्त गर्न सक्दैनन्, पाठक र किनेर पढ्नेको अभाव त सबैले भोगेकै समस्या हो । यति हुँदाहुँदै पनि आफूले सक्दो गरेकै छु, यसैक्रममा नेपाली सङ्गीत साधक (२०३८) प्रज्ञा पुरस्कारद्वारा पुरस्कृत प्रतिभाहरू (२०३९), विश्वप्रसिद्ध सङ्गीतकार (२०४१) जीवनी सङ्ग्रहहरू, सङ्गीत परिक्रमा, सङ्गीतको विस्तृत अवलोकन (२०४१), सङ्गीत सौरभ (२०५८) नेपाली सङ्गीत संस्कृति, ‘नेपाली बाजा’, ‘गायन शैली’ आदि कृतिहरू प्रकाशित भइसकंे । मैले माथि नै भनें नि हामीलाई समस्यै समस्या छ, हरेक पल सङ्घर्ष गरेरै अघि बढ्नु पर्छ । लेखनको समस्या, प्रकाशनको समस्या, वितरणको जटिलता र यसबाट हुने आम्दानीको स्रोतले कति दिन धान्ने ? यसैले आजसम्म लेखेर जीविकोपार्जन गर्ने अवस्था आउन अझ धेरै वर्ष टाढाको कुरा हुन पुगेको छ । जागिर धानेर, घरगृहस्थी हेरेर बाँकी रहेको समयमा लेख्छु भन्नु आफंैलाई छल्नु जस्तो मात्र हुन्छ । एउटा लेखकलाई लेखे पनि सुख छैन, नलेखे पनि सुख छैन । कारण ऊ नलेखी बस्नै सक्दैन । हरेक प्रकारको ठगाइको मार खप्नु परे पनि, कठोर परिस्थितिसँग जुझ्दै ऊ स्व्ाान्तः सुखका लागि पनि लेखिरहन्छ ।

गरिबीको सङ्घर्ष, पढ्दापढ्दै जागिर खानुपर्ने बाध्यता भएको झुप्रोसमेत भत्कनु, त्यहीँ घरले थिचिएर आमाको मृत्यु हुनु, भएको एउटा जागिर पनि चट हुनु, कामको मूल्याङ्कन नहुनु, गरेको कामको जस नपाउनु आदि जस्ता सङ्घर्ष र वेदना मात्र होइन करिब तीन वर्षदेखि नशासम्बन्धी रोगले ग्रस्त भएको छु । अब त बोल्न, हिंड्डुल गर्न, सिर्जना र साधना गर्न पनि सङ्घर्ष गर्नुपरेको छ । लेख्नपर्ने मान्छे लेख्न गाह्रो भइरहेको छ, खोज अनुसन्धानमा लाग्नुपर्ने मान्छे हिँडडुल गर्न हम्मे परिरहेको छ । दुई वर्षदेखि म्युजिक नेपालमा जागिर खान थालेको छु, छोराहरूको सहयोगमा घर अफिस आउजाउ गर्छु । बाल्यकालदेखि साङ्गीतिक वातावरण पाइयो, किशोरावस्थादेखि यही क्षेत्रमा लागियो । २०१६ सालमै मोर्डन अर्केस्ट्रा तयार पारेको थिएँ, यसैबाट धेरै महोत्सव, सभा, होटलहरूमा कार्यक्रम गर्दै हिँडे । पछि २०२५ देखि सङ्गीतमै केन्दि्रत भएर लेख्न पनि थालें । मेरो जीवन सङ्गीतमै बितेको छ । यो ७१ वर्षको उमेरसम्म आइपुग्दा धेरै सङ्घर्षका, समस्याका, थोरै रमाइला अनुभव गर्न पाएको छु जीवन । २०२५ को अविरल वषर्ाको डरलाग्दो र कहालीलाग्दो सङ्गीतले मेरो जीवनमा बज्रपात मात्र पारेन मभित्रको स्वाभिमानलाई जोडले हल्लाइदियो । दुःख, सुख, हाँसो, आँसु जे भने पनि सङ्गीत आखिर सङ्गीत नै हो । म यसैमा लागिपरेको छु र यसलाई छोड्न पनि सक्दिन । मलाई लाग्छ साँचो अर्थमा लेखक त्यही हो, जो प्रतिकुल परिस्थिति र कठिन अवस्थामा पनि आफ्नो लेखनलाई निरन्तरता प्रदान गरिरहन्छ । आफ्नो साधनबाट कहिल्यै विमुख हुँदैन । सङ्घर्ष त छँदैछ, पहिले पनि गरियो अहिले पनि गर्दैछु र लाग्छ भोलिका दिनमा पनि गर्नुपर्ला ।

प्रस्तुति ः जयदेव भट्टराई

शनिबार, गोरखापत्र
आश्विन ३, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *