साह्रै असल मान्छे ऊ । नाम बुद्धिराज थर थानी, स्वाभावले साह्रै ज्ञानी । साह्रै फरासिलो र साह्रै स्वाभिमानी । एकपटक कलेज पढ्दा उसले देशभक्तिले ओतप्रोत कविता लेखेको थियोः

मेरो देश ज्ञानेन्द्रले रजाइँ गर्ने नारायणहिटी होइन, मेरो देश पारसले सित्तैँमा पाएको अपुताली होइन ।

उसको यो कविता त्यतिबेला कलेजमा सुपरहिट भएको थियो ।

ऊ अहिले पनि त्यत्तिकै आँटिलो, त्यत्तिकै जीवन्त र त्यत्तिकै आत्मविश्वासी देखिन्छ । प्रत्येक भेटमा ऊ मलाई भन्छ, “हिम्मत हार्नुहुँदैन । सम्पूर्ण चुनौतीहरूको सामना गर्नुपर्छ । जे भइरहेछ, त्यसलाई सकारात्मक सोचका साथ ग्रहण गर्नुपर्छ र सोच्नुपर्छ, सुन्दर दिनहरू आउनेछन् ।”

ऊ नेपालको लोडसेडिङ्बाट पनि निराश छैन । भन्छ, “एकदिन नेपालभरि उज्यालैउज्यालो हुनेछ ।” ऊ राजधानीमा बेलाबेलामा थुप्रिने फोहरका डंगुर देख्दा पनि घीन मान्दैन र भन्छ, “यो देश स्वीट्जरल्यान्ड हुनेछ ।” ऊ डुब्न लागेको सेयर बजारप्रति पनि नकारात्मक भावना राख्दैन । भन्छ, “हाम्रो देशको अर्थतन्त्र एकदिन मजबुत स्थितिमा पुग्नेछ ।”

ऊ कसैलाई निराश, उदास र हतास देख्यो भने हाँस्दै र जिस्काउँदै भन्छ, “बेकूफ, यो निराश भएर बस्ने बेला होइन । आशा र विश्वासका सुन्दर फूलहरू फुलाउने बेला हो !”

०००

रत्नदेव कांग्रेसी हुन् । पार्टीमा ठूलो योगदान दिएको । ०४६ सम्म क्याम्पसमा पढाउँथे । तर, गिरिजाबाबुको आग्रह टार्न नसकेर उनी तत्कालीन चुनावमा टिकट पाउने आशा र विजयी हुने विश्वाससाथ राजनीतिमा लागे । तर, टिकट पनि पाएनन्, सांसद पनि हुन सकेनन् र मन्त्री पनि भएनन् । तर पनि गिरिजाबाबुकहाँ धाउन छाडेका छैनन् । सुजाता र शेखर कोइरालाकहाँ पनि हाजिरी बजाइरहन्छन् । एकदिन बुद्धिराज र रत्नदेवको भेट भयो । दुवै एकअर्काका पूर्वपरििचत । बुद्धिराज पूर्ण उत्साहमा थियो, रत्नदेव निराश । बुद्धिराजले निराश रत्नदेवलाई सम्झाउँदै भन्यो, “दाइ, तपाईंजस्तो योग्य, पढेलेखेको व्यक्तिले यसरी कसैकहाँ धाइरहनै पर्दैन । यसले तपाईंलाई निराशाभन्दा बढी के दिएको छ ? किन बेकारमा चाकडीको राजनीति गर्नुहुन्छ ? किन गिरिजा र सुजाताको पछि लाग्नुहुन्छ ? देशको उन्नति, प्रगति गर्न चाहनुहुन्छ भने अरू बाटाहरू र माध्यमहरू पनि छन् । व्यवसाय गर्नूस्, सानोतिनो घरेलु उद्योग गर्नूस् । नभए गाउँ गएर तरकारी खेती गर्नूस् । च्याउ उमार्नूस् । अम्रिसो, अलैँची र अदुवा खेती गर्नूस् । त्यसपछि तपाईंको आर्थिक स्थिति सुध्रिन्छ । त्यसपछि तपाईंको घर सुध्रिन्छ । सम्पन्नता आउँछ, समृद्धि छाउँछ । त्यसपछि तपाईं आफँै अरूका निम्ति प्रेरणाको स्रोत बन्नुहुनेछ । त्यसपछि तपाईं सुजाताको पछि होइन, सुजाता तपाईंको पछि लाग्नेछिन् । आरजु देउवाले तपाईंको गीत गाउने छिन् । शेरबहादुरले तपाईंलाई खोज्नेछन् ।” र अन्त्यमा भन्यो, “किन बेकूफ बनिरहनुभएको ?” (त्यही दिन रत्नदेव बसपार्क गए र भोलि बिहान आफ्नो गाउँ फर्किने टिकट काटे ।)

 यति पावर छ बुद्धिराजको बोलीमा । ऊ स्पष्ट वक्ता हो । प्रखर चिन्तक हो । उसलाई नेपालमा जलस्रोतको कति सम्भावना छ भन्ने थाहा छ । उसलाई थाहा छ, नेपालको जमिनमुनि कति ग्यास, कति इन्धन र कति ऊर्जा छ । उसलाई थाहा छ, नेपालले कार्बनको व्यापारबाट बर्सेनि कति आम्दानी गर्न सक्छ । नेपालले आफ्नो भागको अन्तरिक्षलाई कसरी प्रयोग गर्न सक्छ भन्ने पनि थाहा छ उसलाई । उसले डाटा तयार पारेको छ, पशुपति, लुम्बिनी र सगरमाथाको नाममा कति पर्यटक नेपाल भित्र्याउन सकिन्छ । उसलाई थाहा छ, देश विकासका लागि कृषिलाई कति प्राथमिकता दिनुपर्छ । ऊसित नेपाललाई स्वीट्जरल्यान्ड बनाउने तमाम योजनाहरू छन् । ऊसित वाग्मती नदीलाई स्वच्छ बनाउने असरदार योजना छ । ऊसित काठमाडौँको ट्राफिक जामको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने आइडिया पनि छ । ऊसित देश विकासका यावत् सपनाहरू छन् । ऊ भन्छ, “म सपना देख्न छाड्दिनँ र मलाई विश्वास पनि छ, मेरो सपना एकदिन अवश्य पूरा हुन्छ । जो सपना देख्दैन, त्यो बेकूफ हो ।”

०००

म उदास हुनासाथ बुद्धिराजलाई भेट्छु । उसले मेरो उदासी भगाइदिन्छ । ऊ कर्ण शाक्य र उनको सोच नामक किताबको फ्यान हो । ऊ भन्छ, “हामी कर्ण शाक्यजस्तो हुनुपर्छ । चाह्यो भने प्रत्येक नेपाली कर्ण शाक्यजस्तो सकारात्मक सोचले भरिपूर्ण बन्न सक्छ । आवश्यकता छ, बस् अलिकति आत्मविश्वासको ।”

 हो, बुद्धिराजमा जति आत्मविश्वास मैले कमैमा देखेको छु । उसका कुरा र तर्कहरूमा गजबको आकर्षण छ । ऊ राशिफल पढ्दैन । ज्योतिषीकहाँ धाउँदैन । बगलामुखी र मनकामना गएर भाकल गर्दैन । कलंकीका बाबाकहाँ गएर बुटी लगाउँदैन । ज्योतिषीकहाँ गएर पुष्पराज र नीलम धारण गर्दैन । ऊ वास्तुशास्त्रीले बताएको कोठामा सुत्दैन । ऊ कर्ममा विश्वास गर्छ । सबै कर्मशील हुनुपर्छ भन्ने मान्यता राख्छ ऊ । ऊ देशलाई माया गर्छ । देशको कविता लेख्छ । देशको गीत गाउँछ । नजाऊ छोडी यो देश… यो उसको प्रिय गीत हो ।

ऊ माग्नेलाई भीख दिँदैन । बरु सम्झाउँछ र भन्छ, “हात नफैलाऊ, श्रम गर । यी हातहरू फैलाउनका लागि होइनन् । श्रम गर्नका लागि हुन् । भीखले तिम्रो जीवन सप्रिन्न । जीवन सप्रिन्छ कर्मले, श्रमले, सीपले ।”

उसैको कुरा सुनेर मेरो टोलमा सधैँ भीख माग्न आउने एउटा व्यक्ति एकदिन पुरानो बोरा बोक्दै आयो र भन्यो, “सर, अचेल खाली सिसी र पुराना कागजको व्यापार गर्छु । राम्रो आम्दानी भइरहेछ । खुसी छु ।”

०००

बुद्धिराज पलायनवादी सोचको छैन । ऊ जीवनवादी मान्छे हो । मानिसले प्रयत्न गर्‍यो भने जे पनि सम्भव छ भन्ने मान्यता राखेको छ उसले । एकरात उसले आफ्नो घर चोर्न आएको चोरलाई फेला पार्‍यो । उसले चोरलाई सम्झायो र भन्यो, “चोरी होइन, श्रम गर । तिमी उत्साह मात्र देखाऊ । श्रमका हजारौँ अवसरहरू तिमी नेपालमै फेला पार्नेछौ ।”

त्यस दिनदेखि त्यो चोरले चोर्न छाड्यो । ज्ञानी भयो । घुम्ती मःम पसल खोल्यो । अचेल दिनको पाँच सय कमाउँछ । बुद्धिराजलाई सस्तोमा भेज मःम ख्वाउँछ । ऊ पनि अचेल मःम बनाउँदै देशकै गीत गाउँछ, बुद्धिराजले जस्तै ः
नजाऊ छोडी यो देश
आमालाई रुवाएर,
नबिर्स जन्मेको ठाउँ ……..।।

०००

यति महान् सोच र चिन्तनले भरएिको बुद्धिराजलाई केही दिनयता मैले भेट्न सकेको थिइनँ । ऊ नियमित आउने ठाउँमा पनि आइरहेको थिएन । मलाई ऊ बिरामी भयो जस्तो लाग्यो । जन्डिस, टाइफाइड वा निमोनिया पो भयो कि ? तर, ऊ शिव खेडाको शैलीमा सफलताका २५ थान उपायहरू टाइपको किताबै लेख्ने अभियानमा कम्मर कसेर र घुँडा धसेर लागेको पनि हुनसक्छ । अथवा, विश्व इतिहासका महान् व्यक्तित्वहरूका सफलताका प्रेरक प्रसंगहरूले खाँदाखाँदा कुनै मोटो, रंगीन र सचित्र पुस्तक पनि पढिरहेको हुनसक्छ । उसलाई श्रव्यदृश्य माध्यममा निकै आकर्षण थियो, त्यसैले ऊ कुनै सफल व्यक्तित्वको जीवनीमा आधारति वृत्तचित्रको धुमधामको स्क्रिप्ट तयार गर्नमा व्यस्त भएको पनि हुनसक्छ । नभए रेडियो र एफएमका लागि सकारात्मक सोचले भरिपूर्ण र जोडदार गीति कथा पो लेखिरहेको छ कि ? सम्भावनाहरू अनेकन् छन् । किनभने, ऊ आफैँमा असीमित सम्भावना र असीमित विश्वासले भरएिको जीवन्त मान्छे हो ।

त्यसैले उसको ताजा स्थिति बुझ्न अस्ति म उसको घर गएँ ।

०००

तर, ऊ घरमा थिएन ।

उसकी अर्धाङ्गिनी अर्थात् भाउजू भेटिनुभयो । भाउजूले पहिला मलाई आदरसाथ बैठक कक्षमा प्रवेश गराउनुभयो । गर्मीको बेला थियो, त्यसैले बैठक कक्ष पुगेपछि मेरो मर्का बुझेर भाउजूले टेबुल फ्यान खोलिदिनुभयो । मलाई एकछिन पुराना एल्बमहरू थमाएर मेरा लागि चिसो सर्वत तयार गर्न भान्सातिर जानुभयो । एकैछिनमा भुइँकटरको स्वादको सर्वत लिएर आउनु भयो । मलाई दिनुभयो । मैले सर्वत पिएँ । र, त्यसपछि खालि गिलास साइड टेबलमा राख्दै सोधेँ, “बुद्धिराज दाइ खै त ?” र, श्रद्धेय भाउजू ट्वाँ पर्नुभयो । अचम्मले मतिर हेर्नुभयो ।

“तपाईंलाई थाहा छैन ?” उहाँले सोध्नुभयो । मैले कुरै बुझिनँ । म झन् अलमलिएँ । अनि, श्रद्धेय भाउजूले मलाई तीनछक्क पार्दै भन्नुभयो, “उहाँ त अस्ति नै अमेरकिा गइस्यो । आठ वर्षदेखि उहाँले लगातार डीभी भरिराखिस्याथ्यो । यसपालि भाग्यले साथ दियो । परेछ ।”
अब ट्वाँ पर्ने पालो मेरो । मैले त्यसै गरेँ । अचम्मले हेर्ने पालो मेरो । त्यसरी नै हेरेँ । मलाई ट्वाँ र जिल्लकै स्थितिमा राख्दै भाउजूले धाराप्रवाह आफ्नो व्याख्यान सुरु गर्नुभयो, “यो देशमा पानी छैन । बत्ती छैन । पोलुसन छ । सडकमा फोहरको रास छ । पाइलैपिच्छे ट्राफिकजाम छ । सेयर बजारको स्थिति पनि ठीक छैन । कलकारखाना बन्द हुँदैछन् । रोजगारका अवसरहरू रिित्तँदै छन् । रेमिट्यान्स पनि घट्दैछ । आतंक बढ्दैछ । हत्या, हिंसा बढ्दैछ । पशुपतिनाथ पनि रिसाउनुभएजस्तो छ । अस्ति दोलखा भीमसेनको मूर्तिबाट पनि पसिना आयो रे ! त्यसैले अब यो देशको कुनै भविष्य छैन । यस्तो रद्दी देशमा को बस्छ भनेर उहाँ त गइस्यो ।”

भाउजूको स्वरमा लोग्ने विदेशिनुको आनन्द र गर्वको भाव थियो । म भने बुद्धिराजको अमेरकिा जानुलाई ‘प्रस्थान कि पलायन’ के भन्नु भन्ने दोधारमा थिएँ । उसले हामीलाई धोका दियो कि मूर्ख बनायो, यो पनि मैले बुझ्न सकिरहेको थिइनँ । पुरानो टाइपको कथा भइदिए यतिबेला कतै टाढाबाट नजाऊ छोडी यो देश… भन्ने गीत आइरहेको हुने थियो । तर, धन्न अहिलेलाई त्यस्तो केही भइरहेको थिएन । बरु भाउजू भने लगातार देशलाई गाली गर्दै होइसिन्थ्यो र आत्मविश्वाससाथ भन्दै होइसिन्थ्यो, “यहाँ,  बस्ने त बेकूफ हो ।”

नेपाल साप्ताहिक ३६२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *