स्रष्टा अग्रजकै म लेख्छु कविता सम्मानका खातिर
जो देखेँ मनले नलेखुँ कसरी लेख्नै भएँ आतुर ।
निम्ताको सहजै स्विकार गरने साहित्य संसारमा
बारम्बार यहाँ सवार कविको हुन्थ्यो दिगो काममा ।
गोर्खे दाजु भए प्रसिद्ध सबमा जन्मी नुवाकोटमा
नित्यै चम्किरहोस् मुहार उनकॊ मुस्कान ती ओँठमा ।
शिक्षा-ज्ञान दिने रमेर मनले बिद्वानको साहस
एकै साथ बसेर सिक्न सजिलो होला समीपै बस ॥
पाएँ सुन्दर हातवाट कविता कादम्वरी पुस्तक
पढ्दामा मन यो प्रफुल्ल रहने ताजा हुने सुन्दर ।
छन्दै पच्चिसमा सुसज्जित थिए विद्धान ती सर्जक
लोभिन्छन् सब नै विशाल ढुकुटी पछ्याउदै पाठक ॥
स्रष्टा अग्रजमा अदम्य प्रतिभा देखेँ बडा तै पनि
दिन्छन् मार्ग बताइ शिष्यसुखमा रम्दै रहेका उनी ।
वाणी मुग्ध बनाउने नयनमा जादु लुकेको छडी
शिक्षा लोभ बढुँ म भित्र सहजै सिक्ने इरादा धरी ॥
चूम्ने शिखर आँट जोश तगडा उत्साह वढ्दो हुनु
फ्याँकी सुन्दर भावपूर्ण रचना आत्मा सबैको छुनु ।
श्रद्धाभाव पवित्र बन्धुहरुमा सम्वन्ध गाढा बनी
नानी लोचन भित्रका चहकिला बन्लान् अवश्यै पनि ॥
बैरीसामु नझुक्नु उज्वल सदा उच्चै रहोस् शीर त्यो
कैल्यै हार कतै नहोस् विजय नै साथी बनोस् वीरको ।
लेखी अक्षर स्वर्ण नाम जगमा चम्की सधँै नै रहोस्
धर्तीमाझ फुली रहुन् अमर भै सम्मान ज्यादा हओस् ॥
जिलिङ्ग-२ नुवाकोट

कती मिठो छन्द फेरी फेरी पदन
कती मिठो छन्द फेरी फेरी पदन पाउँ……