डिसेम्बर ११, १९११ युवराज त्रिभुवनको शिक्षारम्भ भएको आज १४ दिन भयो ।

यसबीच, आचार्य बाजेले निकै मिहिनेत गरी साउँ अक्षरको एक पुस्तक आफ्नै हातले तयार पारेका छन् । कालो, रातो, पहेँलो, हरयिो रंगहरूले फूलबुट्टा काटेर ठूल्ठूला अक्षरमा पहिलो पुस्तक तयार पारिएको छ । युवराज त्यही पढ्छन् ।

युवराज सधैँ मुआँकहाँ आउँछन् । उनी पढुन्जेल मुआँ बसिरहन्छिन् । कि त धागो कातेर, कित चूप लागेर, छोराको शैक्षिक प्रगतिमा ठूलो चासो छ उनलाई । रोजरोजैको प्रगति स्वयं आफ्नै नजरले हेर्न चाहन्छिन् उनी ।

…राजा पृथ्वी मृत्युशय्यामा छन् । आज १० दिनदेखि दानकर्म चलिरहेछ । काठमाडौँ सहरका गरिबगुरुवा हात्तीसारमा भेला हुन्छन् र जयसाथ भीख थाप्छन् ।

महाराज चन्द्र भिखना ठोरी पुगेका छन् । बेलायतका राजा पञ्चम जार्ज दिल्लीको दरबारपछि नेपालमा बाघको सिकारमा आएका छन् । उनको स्वागतका लागि चन्द्रशमशेर निकै अघि ठोरी पुगिसके । नयाँ रेल लाइन बन्यो भारततिर, नेपालतिर बाटो बन्यो मोटरको । ठूलो क्याम्प खडा भयो ।

उनी चाहन्छन्, पञ्चम जार्जको सिकारमा कुनै खलल नपरोस् । भइपरिआएको गर्ने अधिकार मुख्त्यार भाइ भीमको जिम्मा छ, साथमा उनका अनेक भाइभारदार छन् । भनौँ भिखना ठोरी सानो काठमाडौँ बनेको छ । मोहनशमशेर, बबरशमशेर जुद्धशमशेरका अतिरिक्त अन्य अनेक जनरल, कर्नल र सेवा टहलुवाको झन्डै दुई हजारको जमात छ त्यहाँ ।

डिसेम्बर ११ का दिन ठीक ४ बजे पहिलो बाघको सिकारको फोटो उतारिन्छ । …

… डिसेम्बर ११ का दिन ठीक ४ बजे राजा पृथ्वीको स्वर्गारोहण हुन्छ । …

… ठीक चार दिनअघि डिसेम्बर ७ का दिन युवराज त्रिभुवन एउटा अनौठो घटना देख्छन् । युवराज सिद्धार्थले पाएको अनुभवभन्दा कम अनुभव हुँदैन उनलाई ।

न्हुछेमाया बुबाको निकै मन परेकी ठट्यौली हो । पाँच वर्षकी छ । राजाको अगाडि नाच्ने नक्कल उतार्ने, गीत गाउने ऊ गर्छे । उसको काम राजाको मन बहलाउने छ । ऊ नक्साल नागपोखरीनिरकी हो ।

राजाको स्वास्थ्यलाभका इच्छाले १ सय १ कैदी कारागार मुक्त गरिने निर्णय हुन्छ । कैद समाप्त हुन आँटेकाहरूको एक लिस्ट तयार पारिन्छ । मुख्त्यार भीम त्यसमा रातो सिसाकलमले चिह्न लगाउँछन् । कैदीहरू हतकडी नेलमा सदर झ्यालखानाबाट नारायणहिटी दरबार लाइन्छन् । अलग्ग छाप्रोमा मृत्युशय्यामा सुतेका राजालाई ध्येय बताइन्छ, लिस्ट सुनाइन्छ र बाहिर प्रांगणमा छ्याङछ्याङ गरेर नेल-हतकडी काट्न थालिन्छ ।

न्हुछेमाया हेररिहन्छे । मानिसको भीडमा पाँच वर्षको त्यस केटीका दृष्टि जेलमा परेको आफ्नु दाजुलाई खोजिरहेछ । उसलाई आशा छ, उसको दाजुले पनि आज निश्चय पनि छुटकारा पाउँछ । तर, दाजु उसको डकैती र हत्याकाण्डमा मुछिएर, आजन्म कारावास पाई जेलमा सडिरहेछ । भनिन्छ, चन्द्रशमशेरको आफ्नै मानिसको एक पुत्र पनि त्यस मुद्दामा नमुछिएको भए उसलाई ज्यान सजाय भइसक्ने थियो । न्हुछेमाया दाजुलाई देख्दिनँ । उसका आँखा टिलपिल गर्न थाल्छन् । ऊ फर्केर महाराजाधिराजको सुकुला भएको ठाउँमा जान्छे ।

बाहिरको ढ्याङढ्याङबाट राजा सुत्न सकेका छैनन् । एक छटपटी भइरहेछ ।

एक्कासि न्हुछेमाया भन्छे, “मेरा दाजु त छैन, सरकार !”

राजा बुझ्दैनन् । केही बुझ्न नसकी टोल्हाएर हेररिहन्छन्, चुलबुले केटीको गम्भीर अनुहार ।

युवराज त्रिभुवन आफ्नो रमाइलो पुस्तकका पानाबाट दृष्टि उचाल्छन् ।

महारानीको ध्यान पनि आकषिर्त हुन्छ ।

“यतिका मानिसलाई छाडेर पनि मेरो दाजुलाई छाडेनन् । सरकारबाट हुकुम हुनुपर्यो ।” न्हुछेमाया गुनासो पोख्छे, उसका आँखाबाट आँसु भल्ल फुट्छ । कोही कसैका निमित्त कति माया गर्न सक्दो रहेछ । राजा मुख्त्यारलाई भनिदिन हुकुम दिन्छन् ।

कोही जीवनको अन्तिम घडीमा पनि उपकार गर्न चुक्दो रहेनछ ।

युवराज छक्क पर्छन् ।…

त्यही दिन जेलमा मानिस पुग्छन् । भीममान् नेल-हतकडीसमेत पिँजडामा झुन्डाइएको छ । महिनौँ बितिसके तीन हात चार हात चौडा त्यस पिँजडामा घुसेदेखि बाहिर आउने कल्पना वा सपना उसले त्यागिसक्यो । उसलाई थाहा छ, ऊ मृत्युदण्डको भागी र दैवले साथ दिएर मात्र जेनतेन ऊ सास फेर्न पाइरहेछ । यहाँबाट झिकेर उसलाई मृत्युदण्ड नै दिने कुरा पनि अझै बीचबीचमा उसको कानमा पररिहन्छ । नआऊन् कोही उसकहाँ, यही ऊ चाहन्छ । खाना दिन आउने मानिस पनि प्रत्येकपटक उसको छेउ आउँदा उसलाई यमदूत आएझैँ लाग्छ ।

त्यस दिन । जेलको हाकिम, पाले र एक अन्य व्यक्ति आएको देख्नासाथ उसको सातो जान्छ । पिँजडाको ढोका खोलिन्छ र उसलाई बाहिर आउने आदेश मिल्छ । ऊ ठाडै भनिदिन्छ, “नाइँ, मारे यहीँ मार, म बाहिर जान्नँ ।”

ऊ जान्दछ यी रकमी कुरा । यसैगरी बयान लिँदा पनि यिनीहरूले निकै बेसार लाएका थिए । यसरी नै, जम्मै कुरा साँचो भने छाडिदिने आश्वासन दिएका थिए । ऊ डेग चल्दैन । ढम्मरढुस्स भएर पिँजडाको डन्डी समाती बसिदिन्छ ।

अब भयो ? लिन जानेहरूलाई कतिको अप्ठ्यारो ।

घिसारेर ऊ बाहिर निकालिन्छ । घिसारिएरै ऊ नारायणहिटी पुर्याइन्छ । झन्डै आधा कोस । उसलाई केही होसहवास हुँदैन ।

जहाँ मरे पनि मर्नु नै हो …। न्हुछेमाया दाजुलाई देखेर दंग पर्छे । दौडेर गई महाराजाको पाउमा शिर राख्छे र खुसीका आँसुले उनको पयर पखालिदिन्छे । उनी बालिकाको ललाटमा हात राखिदिन्छन् । युवराज त्रिभुवन हेररिहेछन् । बुझिरहेछन् । …

… … नेल-हतकडी काटिन्छ । त्यसैगरी जसरी १०१ जनाको काटिएको थियो । तर, यसको छ्याङछ्याङमा एउटा संगीतात्मक ध्वनि छ ।

… न्हुछेमायाका लागि ।

… राजा पृथ्वीका लागि ।

… युवराज त्रिभुवनका लागि । …

… … नेल-हतकडी काटे पनि भीम उठ्न सक्दैन । हातगोडा कुँजा (लठेब्रा) भइसके । उसले उभ्भिन बिर्सिसक्यो । नेल-हतकडी कटे पनि ऊ उभ्भिन सक्दैन । ऊ भाग्न चाहन्छ तर खै शक्ति ?

उसको घरबाट मानिस आउँछन्, अचम्भित भई । बोकेर लैजान्छन् । ऊ एक वर्षभित्रै मर्छ । …

… यसको एक सय घन्टाभित्र उनी नेपालका राजा बन्छन् ।

डिसेम्बर ११, १९११ को अपराह्नको ४ बजेको छ । हात्तीसारमा गरिबगुरुवाको ताँती लागेको छ । यस्तैमा आउँछन्, मुख्त्यार भीम र आदेश दिन्छन्, ‘दान अब बन्द गरििदनू’ र उनी लाग्छन् नारायणहिटीतिर ।

गरिबहरूको मगजमा कारण घुस्दैन । हाकिमहरूले थाहा पाउँछन्, सिकिस्त भए भनी ।

बम्बै चोकमा बिरामीलाई ल्याइसकिएको छ । राती एक्कासि कोलाहल हुन्छ ।

“लौ बिराम भयो ! नारायण ! नारायण !!” स्वर सुनिन्छ अनि पूरा नारायणहिटीका नरनारीको सम्मिलित झन्डै एक हजार कन्ठ स्वरको रुदन ।

बिहान बिगुल लाग्छ धरहराबाट । उपत्यकामा रहेका जंगी, निजामती जागिरदार खरीको बोटमा भेला हुन्छन् । जंगी लाट जुद्धशमशेर बग्गीमा नारायणहिटीतिर जान्छन्, युवराज त्रिभुवनको सवारी चलाउन । खरीको बोटमा सवारी पुगेपछि, खल्तीबाट जुद्धशमशेर खड्ग निसाना झिक्छन् । त्यो पढेर सुनाइन्छ । त्यसमा सबैले एकमत साथ युवराजाधिराजलाई महाराजाधिराज स्वीकार गरेको कुरा छ ।

भीमशमशेर असर्फी राखी दर्शन गर्छन् । पहिलोपटक उनलाई धिराजको सलामी दिइन्छ ।

साढे पाँच वर्षको उमेरमा त्रिभुवन अब श्री ५ महाराजाधिराज भए । राणा शासनको चरमोत्कर्ष काल अब प्रारम्भ हुन्छ … ।

त्रिभुवनले श्रीपेच यहाँ काठमाडौँमा औपचारकि रूपमा लाए पनि, शक्तिको अदृश्य श्रीपेच त भिखना ठोरीमा श्री ३ चन्द्रको शिरमा लगाइयो ।

… राजालाई कसैको जुठो लाग्दैन भन्ने कुरा उठ्छ । मानिसहरू ३० वर्षअघि राजा पृथ्वीको पालाका कुरा सम्झन्छन् । बाजेको स्वर्गवासमा पृथ्वी गद्दीमा आएकाले पनि जुठो नलागेको भन्ने कुरा पनि उठ्यो ।

अन्तिम निर्णय दिने मानिस त सिकारमा थियो । तथापि, जुठो नबार्ने भन्ने कुरा नै काठमाडौँमा निश्चय गरयिो ।

चन्द्रशमशेरको प्रत्यागमनपछि उनले छालाको जुत्ता बार्न लगाउँछन् र शोक मनाएको देखाउन लगाउँछन् । उनी अरू राणाहरूभन्दा निकै दूरदर्शी छन् । पुस महिनामै उनले श्रावणको रेखांकन गरसिके ।

त्रिभुवनलाई जुठो बार्न लगाएर त्यस वर्ष प्रसाद चन्द्रले लिए । जनतासमक्ष धार्मिक एवं सांस्कृतिक रूपमा स्वयंलाई नेपाल नरेश घोषणा गर्ने यो एक अनौठो कूटनीतिक चाल हो । राजाको मृत्युको समाचार दबाउन सक्ने र स्वयंलाई राजा भनाउन सक्ने चन्द्रशमशेरको यस सशक्त शासन कालमा त्रिभुवन छ वर्ष पनि नपुगेका एक बालक राजा बने ।

सन् १८४६ मा आरम्भ भएको राणा शासन सन् १९११ मा पुगेको थियो । यस ६५ वर्षको अवधिमा भएको संघर्ष राणाहरूले बिर्सेका थिएनन् । उनीहरूले बुझेका थिए, यही हो मौका सन्तान दर सन्तानका लागि बाटो सफा पारििदने । चन्द्रशमशेरको उमेर त्यसबेला ४८ वर्षको थियो । उनी स्वर्गवासी महाराजाधिराजको मामा पर्थे र त्यही सम्बोधन पाउँथे । सबभन्दा पहिलो काम उनले धिराजबाट अब ‘महाराज बुबा’ भन्न लगाए ।

त्रिभुवनको शिक्षा क्रमैसँग, अनेक बाधा पार गरी बढी नै रहेको थियो । नेपालीको अक्षर ज्ञान राम्राेसँग भएपछि चन्द्रशमशेर मोरङको दौडाहामा गएका बेलामा त्रिभुवनले पत्र लेखे ।

‘महाराज बुबा !

यहाँ हामीलाई सन्चै छ । त्यहाँ सन्चो भए बेस होला । …’

चन्द्रशमशेरले उत्तर लेखे ः

‘सरकारबाट पठाइबक्सेको शिक्षाप्रद फरमान पाई शिर चढायाँ .. ।’

उच्च पदस्थ राणाहरूको त कुरै भएन । त्यसबेलाका राणा समर्थक भारदारको समेत राय थियो, राजालाई अंग्रेजीमा हस्ताक्षरसम्म गर्न सक्ने शिक्षा दिए पुग्छ । आखिर वायसरायलाई लेखिने औपचारकि पत्रहरूमा सही गर्न जाने त पुगिहाल्यो ।

यता संस्कृतको अध्ययन आरम्भ भइसकेको थियो । शिक्षकले हितोपदेश आरम्भ गर्ने अनुमति मागे । माइला गुरुज्यूबाट प्रतिबन्ध लाग्यो, कारण हितोपदेशमा राजनीति घुमेको छ, त्यसको ज्ञान व्यर्थमा किन दिने ? चण्डी पढाउने राय आयो, त्यसका बदलामा । एकैचोटि चण्डी आरम्भ गरििदँदा शिक्षार्थीको उत्साह समाप्त भयो … ।

राजमाताको इच्छा थियो छोरा खूब पढोस् । तर, मान्छे खै, पुस्तक खै ?

अन्त्यमा, मोहनशमशेरका गुरु वाराणसी घोष झिकाइन्छन् । उनै पढाउन थाल्छन् अंग्रेजी पनि संस्कृत पनि । बंगाली पाराले त्रिभुवनको शिक्षा आरम्भ हुन्छ ‘जलम-पानी’बाट । अंग्रेजी पढाउन् ‘फर्स्ट बुक’ आउँछ । नेपालको राजनीतिको स्वाद चाखिसकेका घोषबाबु हितोपदेश प्रारम्भ गर्छन् ।

उल्था गर्न अझ सिकाएको थिएन । हिसाब गर्न अंक बाँकी नै थियो । राजनीतिको त कुरै भएन, भूगोल, इतिहास पनि टाढै थिए र सिकाइने नसिकाइने कुराको निर्णय पनि गर्ने बेला भएको थिएन । तर, विद्यार्थीको उत्सुकतालाई कसले मार्न सक्छ ? एक दिन घोषबाबु छक्क परी हेर्छन् रडिरको ‘मार्जिनल लाइन’मा ‘गो टू बेड’कै पंक्तिमा शय्यायां सस्व लेखिराखेको ।

कसो कसो, कहाँबाट कसरी खबर पुग्छ, एक छलफल हुन्छ अनि हितोपदेश पढाउन फेरि रोकिन्छ ।

यस्तै अप्ठ्याराहरू जहिले पनि तेर्सिएको छ विद्यार्थी त्रिभुवनको शिक्षाकालमा ।

सन् १९१७ को एक घटना छ वाराणसी घोष फर्किसकेपछि कलकत्ताबाट भर्खर एमए गरेर आएका तुलसीमान सिंहलाई त्रिभुवनलाई पढाउन खटाइयो । विद्यार्थीलाई चौतर्फी सामान्य ज्ञान दिने सिलसिलामा तुलसीमानले एक दिन ग्लोब देखाएछन् । त्रिभुवनले त्यसमा नेपाल खोजे र अनायास उनको मुखबाट निस्क्यो, नेपाल कति सानो रहेछ हगि ?

११ वर्षको बालक, उसलाई राजा हुँ भन्ने ज्ञान भइसकेको छ, चाहे त्यस ज्ञानमा राजा हुनुको अर्थ र राजाको कर्तव्य अहिले नआएको होस् । केही जान्न खोज्ने, आफ्नो मुलुकको परचिय चाहने जिज्ञासा त निश्चय पनि थियो । ब्रिटिस साम्राज्यको रातो रंगमा रंगिएको पाकिस्तान, भारत र बर्माको अञ्जलिमा नेपालको पहेँलो रंग सानै देख्यो होला राष्ट्रको सम्राटले । नेपाल कति सानो रहेछ हगि ? मा त्यसबेला बालकले प्रथमपटक मानचित्र देखेको स्पष्ट छ ।

केशरशमशेरलाई यस घटनाको सूचना पुग्छ । तुलसीमानको बोलावट हुन्छ । काटिनुपर्लासम्मको धम्की पाउँछन् तुलसीमानले ।

मानचित्रमा नेपाल देखाउनु पनि ठूलो अपराध भन्ठानिने देशमा, कलकत्ता विश्वविद्यालयबाट पास हुने पहिलो नेपालीलाई आफ्नो ज्ञान र जीवनदेखि नै विरक्ति लाग्छ । कपाल ताछेर, मौन व्रत लिई उनी पचालीको घाटमा एकान्त बास गर्न पुग्छन् ।

त्रिभुवन पनि अन्यसँग शिक्षा लिन अस्वीकार गरििदन्छन् । अन्त्यमा, ३०-३५ दिनको स्थगनपछि चन्द्रशमशेरले स्वयं हस्तक्षेप गरी तुलसीमानलाई पढाउन पठाए ।

एक किसिमले, त्रिभुवनको ज्ञान-साधना अब गएर आरम्भ हुन्छ ।

(रूपरेखा शंकर लामिछाने विशेषांक, माघ २०३३ बाट साभार)
नेपाल साप्ताहिक ३६२ मा पुन: प्रकाशित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *