Skip to content

सचेत पाठक बनेदेखि नै म गुलावी सहर जयपुर राजस्थानप्रति हुरुक्क थिएँ । मेरो कर्मक्षेत्र सञ्चयकोषको तर्फबाट दिल्लीमा साताव्यापी सेमिनारमा सहभागी हुने अवसर मिल्यो । दिल्लीस्थित राष्ट्रिय सामाजिक सुरक्षण निधि (नाटास)मा सञ्चालित उक्त कार्यक्रमको अवधि माघ १८, २०६४ देखि माघ २७ सम्म थियो । सेमिनार समापनपछि विदेशी सहभागीहरूलाई एक ठाउँमा निःशुल्क भ्रमण गराउने नाटास संस्थाको परम्परा रहेछ । सहभागी साथीहरू राजाराम श्रेष्ठ, दाजु नारायण शर्मा र टोपाराम ऋषिकेष, हरिद्वारप्रति लालयित थिए । फुच्चे लेखकको रूपमा मेरो चिनारी पाएका सेमिनार संयोजक ए. के. राजुसँग जयपुर छनोटको लागि मैले खुसुक्क कानेखुसी मारेको थिएँ । बिसर्जन डिनर सभामा अधिक हिमपातले हरिद्वार ऋषिकेश भ्रमणको लागि अनुकूल समय नभएको संयोजकले बताए । काटेको सिस्नो झम्रक्क बैलाएसरह नेपाली साथीहरूको मलिन अनुहार विरूप रूपरेखामा तरङ्गयिो । हरिद्वारको लागि श्रीमतीले सङ्कल्प गरेको भेटी अधुरैमा फिर्ता हुने भयो भन्ने राजारामको गुनासोले सहभागीबीच हाँसोको फोहोरा छुट्यो ।

अरूलाई छलाएर आफ्नो अभीष्ट सिद्धि गर्न खप्पिस ए.के. राजु मेरो अनुहारमा अभिनय गर्दै फिस्स ओठका पत्र खोलेर मात्र हल्का हाँसेनन् । कविजी आप के लिए सबसे ठीक हुवा शब्द उद्गारको वाक्पटुसमेत खोले । सेमिनार अवधिमै मलाई आपका माग पूरा हो जायगा शब्दको आश्वासनसमेत दिइसकेका थिए । संयोजकका गठिला परेली कोषहरूमा पुर्लुक्क चियाएर डिनर क्षणमै म मनमनै खुसीले गदगदिएको थिएँ । लौ गुरु । तिम्रै जय होस् भन्ने राजाराम श्रेष्ठको हल्का व्यङ्ग्य प्रहारको प्रवाहै गरिन् । हल्का शीतलहरको चिसोले शरीर गालिए पनि पिङ्क सिटीमा चुर्लुम्म डुब्ने सपना साकार भएकोमा अन्य असर हल्काफुल्का बन्यो । मेरो इच्छाशक्तिको सपना विपनामा परिणत भएपछि गुलावी ऐश्वर्यमा डुब्ने हतारले शान्तमनको तलाउ खलबलिइसकेको थियो । झिना मसिना, घोचपेच र मपाइ बन्नेबाहेक तालिम अनुभव सफल नै रहृयो । उतारचढावमा बल्भिmएको तत्कालीन नेपालको तरल राजनीतिक अवस्थालाई आँकलन गरिरहेका सहभागीहरू उत्सुकतापूर्वक प्रश्नहरू गरिरहन्थे । कुनै दिनका शक्तिशाली नेपाली राजा संवैधानिक हुँदै श्रीपेचविहीन खस्किँदो अवस्थाप्रति कौतुहल जगाउँथे । राजाका स्थान क्या हुवा …. ? नेतृत्वप्रतिको महìवाकाङ्क्षा र राष्ट्रियताप्रतिको कमजोर मनोदशाप्रति नेपाली नेताहरूलाई आम सहभागीहरूले धिक्कार्थे अनि हामीलाई शान्तिसुरक्षा र राष्ट्रिय स्थायित्वको लागि शुभकामना उद्गार गर्दथे ।

दू्रत रेलयात्रा जयपुर भ्रमणको लागि आरामदायी हुनेमा विमति रहेन । हाम्रो अगुवाइको लागि नाटासबाट सरकारी कर्मचारी मखनलाल खटिएका थिए । अर्को बिहान ३ बजे हामी चार नेपाली सहभागी रेल जक्सनमा पुग्यौँ । दिल्लीबाट जयपुर सात घण्टाको द्रूत यात्रा भएकोले खानपानमा अगि्रम सावधानी अनिवार्य थियो । चण्ढीगढको लागि कस्मिरबाट कुदेको त्यही तूफान रेलका सहयात्री बनेर उपस्थिति दर्सायौँ । व्यवस्थित सुरक्षाले गर्दा सिट छनोटमा समस्या भएन । आधुनिक औद्योगिक सहर दिल्लीको रवाफ, हरियानाको हरित ऊर्जा, राजस्थानको मरुभूमि जहाज उ”mटको बिहेजस्ता दुर्लभ दृश्य-सौजन्य रेलयात्राका झर्लाक-झुर्लक्क घटना विवरण थिए । समुद्रको बीचबीचमा उठेका छिर्केमिर्के टापुसरह देखिन्थे समभूमिको बीचबीचमा उठेका लघु पहाडका थुम्काथुम्कीहरू । एउटा पहाडको अन्त्य र अर्को पहाडको उद्गम घाँटीको भौगोलिक सौन्दर्य अविस्मरणीय देखिन्थ्यो । चर्को घामले सेकिएर उराठलाग्दो वृक्षविहीन बनेको तिनै लघु घाँटीको टिठलाग्दो पहाडी जमिनका आफ्नै कथा-व्यथा थिए । विरूप तिनै पहाडी गर्भमा उत्खनन् हुने चिल्ला मार्वल खानीको महìव सामुदि्रक मोती-मुगासरह थियो । रेलयात्रामा छरपस्ट देखिएका तिनै विविध सौन्दर्य बान्कीहरूले दुवै आँखामा सुरक्षित डेरा जमाउन सफल भए ।

दू्रत रेलले कुसलै अवतरण गरायो १०.३० बजे गुलावी जयपुर सहरको प्राङ्गण मैदानमा । अनि रेल आफ्नै गतिमा अगाडि बढ्यो । अगाडि बढेको रेलसँगै बिदावारी भएकी महिला यात्रुसँगको सहयात्रा कम महìव दिएन । बुर्का पहिरिएकी शालीन भद्र मुस्लीम महिला आमुन्नेसामुन्ने बनेर त्यही रेलमा धेरै परदेखिकी सहयात्री थिइन् । डायरी टिपोट गर्दा अपरिचित स्थानको नाम चयनमा उठ्ने अवरोधलाई विनाअनुरोध बताएर समस्या समाधान गर्थिन् । अरू बेला अठिला दुवै हातको आड दिएर अध्ययनमा चुर्लुम्म डुबेकी मात्र हुन्थिन् । अध्ययनमा यसरी मग्न उनको एकाग्रताले सम्भवतः विश्वविद्यालयमा अध्यापन अथवा योजना अनुसन्धानको शोधकर्ता उनको कर्मक्षेत्र हुनुपर्ने लख काटे । उनले अध्ययन गरिरहेको पुस्तक ठेली विश्वप्रसिद्ध पेन्गुइन प्रकाशनको देख्दा संस्कारजन्य ती महिलाको विचार, ज्ञान र विवेक धार्मिक सम्प्रदायभन्दा अधिक माथि उठेको हुनुपर्नेमा दुईमत रहेन ।

अधिक थकानले नून खाएको कुखुरोसरह बनेका नेपाली साथीहरू रेलबाट भर्लाङभुर्लुङ ओर्लिए । आकाशे पुल हुँदै काउन्टर बाहिर छिचोल्दा म मात्र एकाएक अनौठो पात्र भएँ । गुराँस फुल्ने मुडुलो लेकसरह केश झरेर टुटिल्के बनेको तालुलाई चिसोबाट जोगाउन मैले मात्र पाल्पाली ढाका टोपी लगाएको थिएँ । नेपाली टोपीको हुलियामा मलाई मात्र टोलीको नायक बनाए । “ए नेपाली दाजु यता पाल्नुहोस्” भन्ने तिख्खर आवाज सुन्दा हामी आश्चर्यचकित पर्‍यौँ । होटलमा ग्राहक विज्ञापनको लागि यसरी ठेट नेपाली बोल्ने प्यूठानको लाहुरे ठिटो भाइ रहेछन् । आग्रहअनुरूप तडकभडकमा ठाँटिएको होटलमा छिर्‍यौँ । औँलाका कापमा माम्रीका कलेटी बसेका नेपालीहरूको विदारक दृश्यले नेपाल गए कपाससँगै… चरितार्थ दोहोरियो । खानामा पण्डाई धूर्तले बित्यास पार्‍यो । स्वादिलो खानाले पेटमा देवता भुलाएर सहर घुम्ने तृष्णा केवल हिस्स मात्र ।

चिसो गावा (कर्कलो)को गाँठोसरह कालो पापडे माम्री बसेको बासी भातका तीनवटा डल्लालाई महँगो तरकारीले थालमा साँधेर खाइयो । तेस्रो गाँस पेटमा नझर्दै होडलिएको पेटबाट बान्ता आउने सङ्केतले रिङ्गटा लाग्यो । भाँडा सफा गर्ने लोर्के नेपाली ठिटाहरूको विदारक दृश्यले निस्तब्ध बनायो । बाथरुमको फोहोर देख्दा तीन छक परेँ । रोटीको स्वाद काइदासाथ लिएर साथी मखनलालले शुल्क दस्तुरको नोक्सानी उठाए । तिमीले मन पराएको ठाउँ बल्ल खायौँ कविजी भन्दै दाजु नारायणले गिजलेको भात छोडेर जुरुक्क उठे । टोपाराम, राजारामको अरुचिकर खानाको अचाल्की गुनासो पनि मैमाथि व्यङ्ग्य प्रहार थियो । ट्याक्सी लिएर गुलावी सहरको ऐश्वर्यमा चुर्लुम्म डुब्दै बुर्कुचिने समय नजिकियो । एक्का, टाँगा, ऊँट, गधा, घोडाको सौखिन सवारी साधनको अनौठो परम्परा रहेछ । सहरमा भने जालसरह सर्वत्र एकतर्फी साधनको घुइँचो मात्र । नजिकैको अग्लो घण्टाघरको घडीमा काठमाडौँभन्दा झण्डै ५० मिनेट समय फरक देख्दा आश्चर्य लाग्यो । ट्याक्सी लिएर एकतर्फी सहर सौन्दर्य अवलोकनमा जब हामी केन्दि्रत भयौँ । सुन्तले गुलावी रङरोगनले पोतिएर चिरिचाट्ट बनेको लस्कर गुलावी जङ्गलतुल्य संसारमा दुवै आँखा डुबे र झोसिए ।

खुला आकाश ओगटेर समान शैली र समान उचाइमा निर्मित प्रत्येक घरहरूको एकरूपता झल्किने सजावट र बनावट आकर्षक रहेछ । रक्तिम गुलावी रोगनमा मुस्काएका र खचाखच अग्ला एकै शैलीका महलले भरिएको सहरको भित्री गर्भमा केन्दि्रत भयौँ । निर्माण बनावटमा विविधता र रङरोगनमा पृथक्ता विल्कुलै नदेखिनु जयपुर सहरको अलौकिक विशेषता रहेछ । प्रत्येक सहरका भित्ताहरूमा स्वणिर्म रूप झल्किने हल्का चमक गाडा गुलावी रङको अधिक बाहुल्यता मात्र । जता हेर्‍यो, जता गयो सबै सहरिया घरहरूको रङ लेपन किलकाटामा अनेकता नदेखिनु नै गुलावी सहरको विशेषता हो । समान रङमा पोतिएर अविचल सजावटमा ठाँटिएका धेरै घरहरूको सहर गुलावी जङ्गल जयपुर बडो विलासी बनेर ठाँटिएको थियो । पाश्चात्य पर्यटकको आँखाको नानी बनेको जयपुरको विषयमा आफ्नै हिमालको पानी अञ्जुलीमा उभाएर पिउन नसक्ने हृयाँके मजस्तो पहाडी नेपालीको के महìव रहन्छ ? छतको सजावट, मोहोडा, उचाइ, मोटाइको एकरूपता अकल्पनीय नापनसाको किलकाटा …। मनमनै मैले प्रश्न गरेँ, गुलावी रङ ओढेर मदहोसी वयस्कमा मुसुक्क हाँस्दै ठाँटिएको जयपुरको पूर्व कल्पना कतिबेला, कसले, कसरी गरे होला ? कसरी गुलावी सहरको न्वारान सम्भव भए होला ? सजिलो उत्तर आएकोले मलाई धेरैबेर रनफनिनु परेन । तत्कालीन अङ्ग्रेजहरू मात्र शासक थिएनन् । दूरदर्शी थिए र शासन गरेको ठाउँमा विकास निर्माणको नजिर नमुना छोड्नुपर्छ भन्नेतर्फ सकारात्मक पनि थिए । त्यसैको फलस्वरूप कलकत्तामा हावडाको पुल, वनवासमा शारदा ब्यारेज निर्माण गरे । बम्बैबाट सन् १७५३ मा रेल लिगको शुभारम्भसँगै विकासमा भारतको मुहार फेरिदिए । गुलावी रङ रोगनका अचाक्ली शौखिन तिनै अङ्ग्रेजको इच्छाशक्ति नै आजको गुलावीसरह जयपुरको उपज हो । शासन गरे पनि शासितलाई प्रहृमलुट गरेर पलायित नहुने धन्य अङ्ग्र्रेज तिम्रो विशाल हृदय । तिनै अङ्ग्रेजको दूरदर्शी कल्पनाको यथार्थ वरदान रहेछ । प्रकृतिलाई नै चुनौती र हाँक दिने यो मनोहर दृश्यमा म एकाएक चुर्लुम्म डुबेँ । गुलावी सानमा ठाँटिएको जयपुरको प्रत्येक अवसरहरूलाई मैले सकेसम्म सुम्सुम्याइ रहेँ । यसका केस्रा-केस्रा र अंश-अंशलाई केलाएँ ।

गुलावी सहर वास्तवमा कृतिम या प्राकृतिक, सोच्दासोच्दै भ्रम हुने गुलावी रङको राजधानीमा जति हेर्‍यौँ उत्ति हेरुँहेरुँ लाग्ने । विशाल आयतनमा विस्तारित भइरहेको फैलावटमा पनि गुलावी रङकै नमुना मात्र । कुइरेहरू जयपुर हेर्नलाई हुरुक्क हुने पनि यसैले होला । गुलावी सहरलाई पाउमा फैलाएर सिरानीस्वरूप जुरुक्क उठेका लघु थुम्काथुम्कीको अद्भूत प्राकृतिक वरदान … । कस्तै संसारका ऐश्वर्यहरू चटक्क बिर्साइदिने तिनै थुम्का, दूर्ग र किल्लाहरूमा निर्मित राजमहल, जलमहल र सिंहमहलको उपस्थिति जयपुरको श्रृङ्गार धमनी नै रहेछ । ऐतिहासिक रूपमा उपस्थिति दर्शाउँदै ठिङ्ग उभिएका ती दरबारले तत्कालीन चक्रवर्ती राजाको आलिशान-अमनचैनको झल्को दिन्छन् । सामरिक महìव बोकेका दरबारहरूको भूमिका गुलावी सहरकै सुरक्षा कवजमा केन्दि्रत थियो । राजकीय सिंहासनमा यसरी मस्ती गर्ने तिनै शासकहरूको शासन क्षेत्रको आधारमा यस प्रान्तको नाम राजस्थान रहेको रहेछ । इमानदारीपूर्वक संसारका पर्यटकहरूलाई गुलावी रङमा झुम्मिन लोभ्याउने जयपुरको अनौठो परम्परा रहेछ । जयपुरको मौलिक गुलावी विशेषतामा कतै अस्तित्व मेटिने गरी हस्तक्षेप नहोस् भनेर नै यसलाई “न्यारी नगरीको” उपमा दिएको पनि ।

जलमहलको छालसँगै बहने शीतलहरको बासन्तिवहार र हावा महलसँगै बहने लघुकैलाशको सिरसिरे समीरले आमपर्यटकहरूको पट्यार, थकानलाई भुसुक्कै बिर्साइदिन्थ्यो । चिल्लो कालोपत्र मार्ग पक्रेर कुदिरहेका बाहनको दायाँबायाँ क्यामरा क्लिक-क्लिक गर्दै सयर गर्ने पर्यटक घुइँचोले अर्कै स्वर्गको अनुभूत हुन्थ्यो । गुलावी सहरको फैलावट विस्तारसँगै गुलावी रङ रोगनको व्यवस्थित विस्तार उज्यालिँदो देखिन्थ्यो । प….र प….र सम्मको नवनिर्मित सहर जयपुरको भगिनी रोमाञ्चस्थलको सजिलै लख काटिने पनि । कम पानी पर्ने राजस्थान जस्तो मरुभूमिस्थलको गर्भमा यति सुन्दर सहरको उपस्थिति आफैँमा पूर्व थियो ।

गुलावी सहरमा चुर्लुम्म डुबेर पुनः जयपुरमै तैरिँदा आँखाभरि साँच्नुपर्ने सयौँ सौन्जयहरू थिए । गुलावी सौजन्यरूपी तिनै सौजन्य साँच्दै चुर्लुम्म डुबेर पुनः तैरिएँ म । मेरा दुवै आँखाहरू भए । गुलावी सहरको सयर रोमाञ्च नै ऐश्वर्यरूपी सौजन्यको मियो थियो । धन्य हो, व्यवस्थित र दुर्गन्धितविहीन सडक पेटीको व्यवस्था । त्यो ऐतिहासिक चमत्कारलाई अक्षरस बचाउँदै अझै गुलावी सहरको आकर्षक विविधता थपिँदै जानु पनि । एक-एक नवीन चिनारी विशेषतासँगै संसारका अन्य सहरको निर्माण व्यवस्था पनि गुलावी सहरसरह भइदिएको भए उत्सुकताको भोग मेटाउने पर्यटकहरू संसारका एकएक सहरमा मात्र बढी केन्दि्रत रहन्थे होला । जस्तो गुलावी बान्कीमा रमाउन मरिहत्ते गर्ने पाश्चात्यहरू संसारभरबाट यही जयपुरमा मात्र ओइरिन्छन् ।

विश्वप्रसिद्ध गुलावी सहर जयपुरमा क्रीडा मार्दै रोमाञ्च ऐश्वर्य साँच्न पाएकोमा औधि हषिर्त छु । जयपुर मेरो जीवनको सबैभन्दा सुन्दर रोमाञ्चस्थल बनेको छ ।

-अर्घाखाची, ठूलो पोखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *