गाउँमा हाट लागेको छ । रङ्गीविरङ्गी कपडा, खेलौना कचेडी मुरै सबथोक चौरमा बिक्रीका लागि राखिएका छन् । रामजनम अम्बा बेच्न आएको छ । आज ऊसँग उसकी छोरी रीतबा पनि आएकी छे । हाट बिस्तारै बिस्तारै बाक्लिदै जान्छ । ग्राहकहरू अम्बालाई कम फूलजस्ती रीतबालाई बढी हेर्छन् । रीतबा अम्बा बेच्न बसेकी छ । रामजनम पीपलको छहारीमा लम्पसार परेर सुतेको छ ।

दुखिया र चौधरी दारु बेच्नमै मस्त छन् । ग्राहकहरू दारुसँगसँगै दुखियाको जवानीलाई आँखामा घोर्लेर सर्लक्क पिउँछन् । “के हो चाचा तपाईंकी छोरी त ठूली भइछे नि !” प्रधानको बोली सुनेर चौधरी चाचा नमस्कार बजाउँछन् र फेरि आफ्नै काममा लाग्छन् । प्रधान अघौजी दुखियाको जवानी आँखाले पिएर बाटो लाग्छन् ।

फुल्बा रिसले आगो भएकी छे । दुखिया आएदेखि उसको पसलमा दारु धोक्नेहरू घट्दै गएका छन् । उसलाई बाँच्न धौधौ हुन थालेको छ । यो अनकन्टार गाउँमा हप्ताको दुई दिन लाग्ने हाटले उसलाई पेट पाल्न गाह्रो हुन थालेको छ । उसँग जवानीका मीठा सम्झनाहरू मात्र बाँकी छन् । ऊ मात्र यति भन्छे- “अपना भी समय रहली । ओ समय प्रधान उरदान सबकी बास हमर घरमे रहली ।”

“छैन दुखियासँग अलिकति पनि रिस उठेको छैन तर फेरि सोच्छे, छ पक्कै रिस उठेको छ । किनकि दुखियाले मेरो पेटमा लात हानेकी छे ।” यिनै कुरा सोचेर खुइया गर्दै फुल्बा चोलोभित्र हात छिराएर पैसा निकालेर गन्न थाल्छे । सबै एक एक रुपियाँ । मात्र सत्र रुपियाँ । अब त हाट उठ्ने बेला भइसक्यो । यति जाबो पैसाले तीन दिनसम्म कसरी हातमुख जोर्ने । फुल्बा गम्भीर हुन्छे । उनका आँखामा अभावका आँसुहरू सल्बलाउँछन् । ऊ सधैँझैँ एकपटक फेरि आफ्नो जवानीका दिनहरूको कल्पनामा रमाउँछे ।

‘के छ फुल्बा ?’ एक्कासि जिम्दारको लड्काले आएर आफ्नो जीउमा छुँदा एक मनले फुल्बालाई एक झापड हिर्काइदिऊ जस्तो पनि लागेको थियो । फेरि सोची ठीकै छ बात करुँ । “के काम छ मालिक ?” उसले नम्र भएर प्रश्न गरी यति कपडा धोइदे न है फुल्बा । उसले आमालाई बोलाई । उसकी आमाले मालिकको कपडा लिएर गई । अरू ग्राहक पनि कपडा लिन आएका थिए । फुल्बाले कपडा धोएको पैसा लिँदै कपडा दिन थाली । ‘कथि देखैछि रे ।’ फुल्बा ट्वाल्ल परेर हेरिरहेको जिम्दारको लड्कातिर फर्केर चिच्याई । केटो झसङ्ग भयो । फुल्बाको मुखबाट प्याच्च बोली फुत्कियो- “नामर्द काही के” फुल्बाको आँखाले पनि आजकल त जिम्दारको लड्कालाई खोज्न थाले । ऊ कसैले थाहा नपाउने गरी जिम्दारको घरको आँगनमा चियाएर हेर्थी । ढाड सेकाउन कट्टु मात्र लगाएर खटियामा पल्टेको जिम्दारको लड्कालाई हेरेपछि फुल्बालाई उकुसमुकुस हुन्थ्यो । ऊ धुन ल्याएका कपडाहरू कच्याक कुचुक पारेर दुलोबाट एकटकसँग हेरिरहन्थी । कहिले जिम्दारको छोराको कट्टु सुमसुम्याएर गदगद हुन्थी । उसको सर्ट पाइन्ट लगाएपछि फुल्बालाई गजबको सन्तुष्टि मिल्थ्यो । ऊ उसको सर्ट पाइन्ट लगाएर ओछ्यानमा पल्टिन्थी । उसको शरीर पसिनाले निर्थुक्क भिज्थ्यो ।

“ए फुल्बा दुर्गा मेलामा जान्छेस् । हिँड म त जान हिँडेको ।” जिम्दारको लड्काको बोली सुनेर फुल्बा झस्की र दौडेर आमा भएछेउ पुगी । आमा असिनपसिन हुँदै लुगामा साबुन दलिरहेकी थिई ।

आमाले हुँदैन भनेर टाउको हल्लाएपछि फुल्बा लल्याकलुलुक भई । उसको खुसी भाग्यो । जिम्दारको लड्का जङ्गियो- मलाई साथी नभएर पो भनेको, साली धोबिनी बाठी हुन्छे । अब म फुल्बालाई लिएरै जान्छु के । नत्र बुबालाई बोलाएर ल्याउँछु ।

जिम्दारको नाम सुन्नसाथ धोबिनी झस्की । उसले सोची जिम्दार आए भने त झन् बित्यासै पर्छ । यत्रो लुगा धुन बाँकी छ । कहाँ धुन दिन्छन् र । फेरि आजको दिनरात पनि उनीसँग काम गर्दै ठीक हुन्छ । हठात् उसको मुखबाट निस्कियो- “जा रे फुल्बा जा मर ।” फुल्बा फुरुक्क परी । दुवै जना मेलातिर लागे ।

मेला असाध्यै रमाइलो थियो । जुवा तास, घुमाउने पिङ, रङ्गीचङ्गी मीठामीठा खानेकुराहरू । फुल्बालाई मेला असाध्यै रमाइलो लाग्यो । जीवनमा पहिलोपल्ट मेलामा यसरी घुम्न पाउँदा फुल्बालाई खुसी लागिरहेको थियो झन् आज मेलामा जिम्दारको लड्काको हात समातेर हिँड्दा त उसलाई भित्रभित्रै काउकुती लागेको थियो । ऊ बेलाबेलामा जिम्दारको लड्काको हात फुत्काउन खोज्छे । हात सजिलैसँग फुत्कन्छ । फेरि उसलाई पछुतो लाग्छ । धत किन हात फुत्काएँ । ऊ खप्नै सक्दिन र नजानिँदो पाराले भीडमा चेपिएझैँ गरी जिम्दारको लड्काको हात फेरि चयाप्प समात्छे ।

”फूल्बा के खाने ?” जिम्दारको लड्काको प्रश्न सुनेर फुल्बा उसको आँखामा आँखा जुधाएर हेर्छे । एक मनले त उसलाई तिम्रो ओठ खाने भनी दिउँ कि जस्तो पनि लाग्छ । फेरि ऊ केही बोल्दिन । मात्र उसको हट्टाकट्टा शरीर, चौडा छाती र सलक्क परेको अनुहार हेरिरहन्छे । भीडले फुल्बालाई फुत्त ठेल्छ । फुल्बा उसको छातीमा टाँस्न पुग्छे । फुल्बालाई असाध्यै आनन्द लाग्छ । उसलाई समय यहीँ टक्क रोकिए पनि हुन्थ्यो जस्तो लाग्छ तर एकाएक स्पर्श टुट्छ । दुवै जना जुलेबी पसलमा छिर्छन् ।

‘बाफ रे इतना जुलेबी’ फुल्बा चिच्याउँछे । ऊ आफ्नो भागमा दसदसवटा जुलेबी देखेर खुसीले पागल हुन्छ । आमासँग बजारमा आउँदा दुईवटा जुलेबी खान पनि झगडा गर्नुपर्ने कुरा सम्झदै ऊ झन् रोमाञ्चित हुन्छे ।

‘म यो सबै एक्लै खाने ?’ फुल्बा प्रश्न गर्छे । मालिकको लड्का आफ्नो हात उसको काँधमा राखेर उसको कानमा फुसफुसाउँछ- “तिमी जुलेबी खाने म तिम्रो ओठ खाने ।” फुल्बा लजाउँछे तर भित्रभित्रै खुसी हुन्छे । आफ्नो मनको कुरा उसको मुखबाट सुनेर ।

मेला पातलिँदै जान्छ । सूर्य बिस्तारै लुक्ने तर्खरमा लाग्छ । फुल्बा र ऊ गोरेटोको भीडमा सरासर हिँडिरहेका छन् । दुवै बिस्तारै बिस्तारै पछिपछि हुन्छन् । भीड अघिअघि बढ्दै जान्छ । केही समयपछि पछाडि फर्केर हेर्छन्- कोही छैन शिवाय सन्नाटा । फुल्बाले पुलुक्क उसको मुखमा हेरी र आँखा झिम्क्याई ।

दुवै जना सुटुक्क उखुबारीभित्र छिर्छन् । र, दिनभरिको भोक मेटाउन जोडतोडका साथ जुट्छन् ।

‘घर नजाइबे चाची ?’ फुल्बा झसँग हुन्छे र वर्तमानमा र्फकन्छे- विगतको पर्दा च्यातेर । उसको गहभरि आँसु भरिएको हुन्छ । हतार हतार सामान पोको पारेर ऊ फेरि त्यही गोरेटो भएर घर र्फकन्छे । उसलाई असाध्यै भोक लागेको छ । ऊ भोकसँगै जिम्दारको लड्काको सम्झना बोकेर हिँडिरहन्छे, केवल हिँडिरहन्छे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *