Skip to content

सुखद यात्राको चाहना
मनले सोचेको भए पनि
जीवनयात्रा कष्टप्रद नै थियो
आँसु थियो, पीडा थियो
त्रासदीमा घिटिकघिटिक
जीवनको केवल श्वास मात्र थियो ।
तैपनि जीवन थोत्रो गाडीले
मरीतरी तानिरहेकै थियो
ड्याम्मडुम्म, धुम्मधडाम्म
यी आवाजहरू पग्लेको सिसाझै
कानभित्र पीडा दिँदै पसेकै थियो ।
जीवन थियो र त झिनो आशा थियो
जीवनको यो हेर्ने जङ्घार नघाउन
कुनै युगपुरुष आउनेछ
विचारको हुरी, विरोधको बाढी
विद्रोहको हुङ्कार गर्जदै ऊ आउनेछ
हामीजस्ता तिर्खाएकाहरूलाई
उसले तृप्त होउञ्जेल पानी पिलाउनेछ ।
रगत, रगत र फेरि रगत
रगतले लेखिएको योगदान
बलिदानमाथि टेकेर
जीवनयात्रा यहाँसम्म आइपुगेको छ
पुरानो युगको अन्त्य
नयाँयुगको उदय
तर नयाँ सिर्जना र प्रगति नवीन खोज्ने
एकभन्दा एक मनुवा छन् हतप्रभ
गाडी घ्याच्च उभिएको छ चौबाटोमा
युगनायक छ चारैतिरबाट घेरिएको
वैचारिक सङ्घर्षको अनलमा
उफ ! अनगिन्ती मोडहरू छन् ।
विचार भिन्नै, अन्तरक्लेश छन्
गन्तव्यमा पुग्न हतारिरहेका
यात्रीहरू निस्सासिँदै भनिरहेका छन्
सही बाटोतर्फ डोर्‍याउ गाडीलाई
सोचमग्न छ युगनायक
मोडहरूबीचको कुन मोडबाट अघि बढे
सही गन्तव्यमा पुगिएला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *