स्वच्छ उल्लास वातावरणमा
हुर्किएको मेरो कविता
बन्द कोठाभित्र निस्सास्सिन पुगेछ
असुरक्षित भएको महसुस गर्दै
बन्द कोठाभित्र छट्पटाइरहेछ ।
वन जङ्गलको स्वच्छ हराभरा वातावरणमा
ऐँसेलु, काफल, कन्दमूल खाँदै
एकान्तस्थलमा हुर्केको मेरो कविता
बम बारुदको तुवाँलोमा
निस्सास्सिन पुगेछ ।
प्राणवायुः विनाछटपटाएको कविता
रक्तअल्पताले फुङ्ग उडेको अनुहार
अस्थिपञ्जर भएको जीर्ण शरीर
ताड्ना, वेदनाको मनोरोगबाट
ग्रसित हुन पुगेछ ।
पढ्ने, लेख्ने हातहरूमा
डोरीको बन्धनमा अल्झिंदा
अनुत्तरित, असहाय अनुहार
कुल्चिएका, तिरस्कृत, उत्पीडित
मानव आकृति देख्दा
मेरा कवितारुपी मल्हमहरूले
रोदन, क्रन्दन, ज्वलनमा
शीतलता प्रदान गरिरहेछ ।
थरथर काप्दै गुम्सिएको मेरो कविता
अन्याय, अत्याचार निरङ्कुशताको विरुद्धमा
आˆनो शक्ति सञ्चय गर्दै
त्याग र बलिदानको बाटो रोज्दै
आत्मबलको अस्त्र छोप्दै
डर सन्त्रासको पर्खाल तोड्दै
सङ्घर्षको मैदानमा दौडिरहेछ ।
मेरो कविता
मेरै बिम्ब बन्दै
त्यो अन्धकार कालरात्रिमा
उद्भास बन्दै फैलिरहेछ
आत्मोत्सर्ग गर्दै दौडिरहेछ ।
गणतन्त्रको नारा गुञ्जाउँदै
सहिदको बाटो अवलम्बन गर्दै
थकित पथिकको ऊर्जा भर्दै
मेरो कविता
मेरै बिम्ब बन्दै दौडिरहेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *