बाँदरः (टाइप गर्न छाडेर) दर्शकवृन्द ! माफ गर्नुहोला । म अहिले अलि व्यस्त र हतारमा छु । तपाईंहरूसँग केही समयपछि संवाद गर्नेछु । मैले बोलेको देखेर अचम्म नमान्नुहोला । म कुनै सामान्य बाँदर होइन । यसको बेलिविस्तार पछि लगाउँदै गरौँला । अहिले मैले डाक्टर मास्केलाई इमेल गर्नु छ ।
(बाँदर टाइप गर्न थाल्छ । केही सम्झे जस्तो गरी पुस्तक राखेको दराजनजिक आउँछ । एउटा पुस्तक झिक्छ । केही कुरा पढ्छ र जहाँको त्यहीँ राखेर फेरि टाइप गर्न थाल्छ । टाइप गरिएको कुरा स्क्रिनमा देखा पर्छ ।)
बाँदरः डाक्टर मास्के ! आज तपाईंको प्रयोगशालामा दुई जना महान् आत्माहरू भिजिट गर्न आउँदै छन् । मैले उनीहरूको पृष्ठभूमि राम्रोसँग अध्ययन गरेको छु । उनीहरू तपाईंसँग धेरै दिनअघिदेखि भेट गर्न चाहिरहेका थिए । तपाईंकै सल्लाहमा मैले उनीहरूलाई आज दिउँसोको समय मिलाइदिएको छु । उनीहरूको नाम क्रमशः हिटलर र बुद्ध हो । म तपाईंको आगमनको प्रतीक्षामा रहनेछु । तपाईं नआउञ्जेल म उनीहरूलाई आफ्नै कुरामा भुलाएर राख्नेछु । धन्यवाद !
(बाँदरले टाइप गर्न छाड्छ । स्क्रिन पनि आफैँ बन्द हुन्छ । दर्शकदीर्घातिर हेर्दै) डाक्टर मास्के ! यस समयका शक्तिशाली वैज्ञानिक हुन् । र, म उनको निजी सहायक हुँ । म यस ठाउँमा कसरी आएँ ? राम्रोसँग मलाई सम्झना छैन । एक जना दाह्रीवालले मेरो घाँटीमा डोरी बाँधेर मलाई डोर्‍याउँदै सहरबजारमा चटक देखाउँदै हिँडेकोसम्म याद छ । चटक देखाउँदादेखाउँदै म मसिनो डोरीमा एकै खुट्टाले हिँड्न लाग्दा सन्तुलन बिगि्रएर भुइँमा नराम्ररी बजारिएको थिएँ । त्यसबेलासम्म पनि म बाँदर नै हुँ भन्ने राम्रो हेक्का छ । त्यसपछि मैले होस गुमाएँ । होस फिर्दा म यही प्रयोगशालामा थिएँ । डाक्टर मास्के मलाई हेरेर मुसुमुसु हाँसिरहेका थिए । सुरुमा त मलाई डर
र अचम्म दुवै लाग्यो । म कसरी आइपुगेँ यस
ठाउँमा ? अनि मलाई देखेर एउटा मान्छे किन हाँसिरहेको
थियो ? अचानक मेरो आवाज निस्कियो ? ‘ओ महाशय ! किन यसरी मलाई हेरेर हाँसेको ?’ मेरो आवाज सुनेर त्यो मान्छे खुसीले झन्डै पागल भयो । उसले ममाथि धेरै वर्ष लगाएर गरेको वाक् परीक्षण सफल भएको रहेछ । जनावरलाई मान्छेको भाषा बोल्न लगाउने औषधिको प्रयोग उसले म माथि गरेको रहेछ । त्यो दिनदेखि नै म बोल्न सक्ने भएँ । अनि त्यही डाक्टर मास्केले मलाई बाँदरबाट मान्छे बनायो । मतलब बोल्न सक्ने बाँदर बनायो । नयाँ अस्तित्व स्वीकार गरेर म डाक्टर मास्केको सहायकका रूपमा काम गरिरहेको छु । उपयुक्त दिन आयो भने मात्र मलाई मान्छेको समाजमा प्रस्तुत गर्ने बताएका छन् उनले । म अचेल आफूलाई बाँदर कम र मान्छे ज्यादा ठान्छु । के म ठीक छु ? (बाहिर कसैले ढोका ढकढक्याएको आवाज सुनिन्छ ।) ए को हँ ? ढोकै फोरूँलाझैँ गर्ने ? बाहिर घन्टी राखेकै छ । घन्टी बजाउन पनि
आउँदैन ? (रिसाउँदै मञ्चको दायाँतिरको ढोकाको प्वालबाट चियाउँदैै) ए ! यो पक्कै पनि डाक्टर मास्केलाई भेट्न आएको हुनुपर्छ । (मञ्चबाट निस्कन्छ र भित्रबाट एक जना मान्छेलाई ल्याउँछ ।) ल
भन्नुस् ! तपाईंको नाम के पर्‍यो ?
मान्छेः (अनौठो मानेर बाँदरलाई हेर्दै) ओहो ! तँ त बोल्न पनि जान्दोरहेछस् । तैँले मलाई चिनिनस् ?
बाँदरः के खालको मान्छे होला ? तपाईंको नाम तपाईंको निधारमा लेखिएको छ र मैले तपाईंलाई चिन्नु ? ल खुरुक्क आफ्नो नाम र काम बताउनुस् ।
मान्छेः भनेपछि तैँले मलाई अझै पनि चिनिनस् ? म चाल्र्स डार्बिन हुँ ।
बाँदरः डार्बिन ? मान्छेको आदिम पुर्खा बाँदर नै हो भनेर घोषणा गर्ने त्यही डार्बिन ?
मान्छेः हो म डार्बिन हुँ ।
बाँदरः त्यसोभए तँ खुरुक्क गइहाल् यहाँबाट । म तँलाई एक पल पनि यहाँ टिक्न दिन्न ।
मान्छेः ए बाँदर ! आफ्नो औकातमा बस् ! तँ नाथेले मलाई यसरी तल झारेर कुरा गर्न मिल्दैन ।
बाँदरः किन मिल्दैन ? तैँले हामी महान् बाँदरवंशको घोर अपमान गर्न मिल्छ भने मैले तँलाई यति भन्न किन मिल्दैन ?
मान्छेः नचाहिँदो कुरा नगर् । ल भन् ! मैले के अपमान गरेँ ?
बाँदरः तैँले यस संसारको सबैभन्दा स्वार्थी, मतलबी, कपटी जाति मान्छेसँग हाम्रो नाम जोडेर हामी बाँदरवंशको घोर अपमान गरेको छस् ।
मान्छेः (अकमकिँदै) यो कस्तो कुरा गरेको बाँदर ? मैले त झन् तिमीहरूको नाम संसारको सबैभन्दा बुद्धिमान, सभ्य र सचेत जाति मान्छेसँग तिमीहरूको नाम जोडिदिएको छु । यसमा त तिमीहरूले झन् गर्व गर्नुपर्ने !
बाँदरः भयो । परेको छैन तेरो बकम्फुसे कुरा सुन्न । तँ खुरुक्क यहाँबाट गइहाल् । नत्र मेरो रिसको पारो चढ्यो भने तँलाई यो प्रयोगशालामा बन्दी बनाउँछु ।
(यसपछि त्यो मान्छे अलि डराउँछ । बाँदरले मान्छेलाई धकेल्दै ढोकासम्म पुर्‍याउँछ र बाहिर घचेटेर ढोका ढ्याप्प लगाउँछ । अब मञ्चमा बाँदर मात्र हुन्छ ।)
बाँदरः यी अन्वेषकहरूको जातै यस्तै हो । मान्छेको पुर्खा बाँदर रे ! दर्शकवृन्द ! पत्याउनुको पनि एउटा हद हुन्छ । के यो कुनै कोणबाट हेर्दा पनि मिल्छ त ? (मौनता) अनि तपाईंहरू आफैँ भन्नुस् त ? त्यो डार्बिनलाई मैले घोक्रेठ्याक नलाएर के गर्नु ?
(बाँदरको नजर ल्यापटपमा पर्छ । नजिकै जान्छ ।) ओहो ! डाक्टर मास्केको इमेल आएको रहेछ । (पढ्दै) “आज आउन अलि ढिलो हुन्छ । भिजिटर्सलाई होल्ड गरिराख्नु !’ (दर्शकसँग) दर्शकवृन्द ! हाम्रा डाक्टर मास्केलाई भेट्न इतिहास, वर्तमान र भविष्यका थुपै्र पात्रहरू आउने गर्छन् । कहिलेकाहीँ मलाई अचम्म लाग्छ, डाक्टर मास्केको मृत्यु भयो भने मैले कसरी उनको काम सम्हाल्ने ? मान्छेको समाजमा आफूलाई कुन रूपमा चिनाउने ? म बोल्न थालेदेखि आजसम्म यो प्रयोगशालाभन्दा बाहिर गएकै छैन । म कसरी समाजसामु प्रस्तुत हुने ? (बाँदर थचक्क बस्छ) अहँ ! मैले यस्तो अनिष्ट सोच्नुहुन्न । (बाहिर कसैले डोरबेल बजाएको सुनिन्छ । बाँदर सतर्क हुन्छ । घडीतिर नजर लगाउँछ ।) सायद भिजिटर्स आएको हुनुपर्छ ।
(बाँदरले ढोका खोल्छ । एउटा यन्त्र मानव/रोबोटको प्रवेश हुन्छ । यन्त्र-मानवको यान्त्रिक हिँडाइ हुन्छ । ऊ सरासर भित्र पस्छ । बाँदरलाई वास्ता गर्दैन ।)
यन्त्र-मानव ः हल्लो डाक्टर मास्के ! डाक्टर मास्के ! कहाँ हुनुहुन्छ तपाईर्ं ?
बाँदरः हैन के ताल हो यो ? सरासर भित्र पसेर डाक्टर मास्के भन्दै हल्ला गर्न लाज लाग्दैन तपाईंलाई ? म उहाँको सहायक । भन्नुस् के काम आइपर्‍यो ?
(यन्त्र-मानव बाँदरको कुरा सुनेर बाँदरलाई तलदेखि माथिसम्म हेर्छ । त्यसपछि जोडले हाँस्छ ।)
बाँदर ः (चिच्याउँदै) चुप ! चुप लाग् !
(यन्त्र-मानवको हाँसो बन्द हुन्छ) यहाँ हाँस्न मनाही छ । यो कुनै थियटर हैन यो जहाँ कमेडी ड्रामा चलिरहेको होस् ।
यन्त्र-मानव ः ल, ल । सरी । अनि भन डाक्टर मास्के कतिबेला आउनुहुन्छ ?
बाँदर ः किन ? के काम छ ? भेट्ने समय लिएका छौ ?
यन्त्र-मानव ः यतिका धेरै प्रश्न किन गर्छौ तिमी ?
बाँदर ः (रिसाउँदै) प्रश्न गर्नु मेरो दायित्व हो । उत्तर दिनु तिम्रो कर्तव्य ।
यन्त्र-मानव ः ओहो ! तिमी त्यत्तिकै रिसाउँछौ ? मलाई एउटा कुरा मात्र जान्नु छ डाक्टर मास्केसँग । म यन्त्र-मानव भएर पनि मान्छेले जस्तो हिँड्न सक्छु । बोल्न सक्छु । सोच्न सक्छु तर हाम्रो रोबोट प्रजातिले किन मान्छेले जस्तै सन्तान जन्माउन सक्दैनन् ? किन उनीहरूको उत्पादन कारखानाबाट मात्रै सम्भव हुन्छ ? रोबोटजातिको वंशवृद्धिदर गर्न चाहन्छु म । यसका लागि पनि डाक्टर मास्केले यसको नयाँ फर्मुला र औषधि पत्ता लगाउँछु भनेका थिए । उनले केकति काम सके, त्यो बुझ्न चाहन्छु म ।
बाँदरः ए ! भनेपछि यो संसारमा तिमी आफ्नो आधिपत्य जमाउन चाहन्छौ ?
यन्त्र-मानव ः मैले त्यसो त भनेको छैन नि ?
बाँदरः तर तिम्रो भनाइको आशय त यस्तै देखिन्छ नि ।
यन्त्र-मानव ः म तिमीसँग व्यर्थको विवाद गर्न चाहन्नँ ।
बाँदरः मलाई पनि तिमीसँग कुरा गर्ने रहर छैन ।
(यन्त्र-मानव रिसले मुर्मुरिन्छ । उसले बाँदरलाई घुरेर हेर्छ । बाँदरले पनि घुरेर हेर्छ ।)
यन्त्र-मानव ः म अहिलेलाई जान लाग्दै छु । तेरो मालिक आयो भने विज्ञानमन्त्री रोबोट अल्फाबिटा आएको थियो भनिदिनु । (जान लाग्छ । फेरि अडिँदै) अँ । सुन । यदि औषधि पत्ता लगाएको रहेछ भने मलाई खबर गर्न नबिर्सेलास् नि ! नत्र म तँलाई बाँदरबाट कुकुर बनाइदिन्छु । (हाँस्दै) हा…हा…हा…
(यन्त्र-मानव यान्त्रिक गतिमा बाहिरिन्छ । बाँदर रिसले आगो बन्छ ।)
बाँदरः (दुवै हात देखाउँदै) यी तँलाई खबर गर्छु ? के ठानेको छस् तैँले आफूलाई ? तँ जाबो यन्त्र-मानव शक्तिशाली हुँदैमा तैँले भनेको सारा कुरा मान्नुपर्छ भन्ने छ र ? हैन कस्ता-कस्ता भिजिटर आउँछन् यहाँ ? बाँदरबाट कुकुर बनाइदिने रे ? यी बनाउँछस् ! बरु फेरि आइस् भने म तँलाई पगालेर फलामको डल्लो बनाइदिन्छु । (बाहिर कसैले फेरि डोरबेल बजाउँछ ।) लौ हेर ! को आयो फेरि ? अहिले भने पक्कै पनि सायद भिजिटर्स आएको हुनुपर्छ ।
(बाँदरले हतार-हतार ढोका खोल्छ । ढोकामा एक जना सेतै कपाल फुलेको डाक्टर मास्के देखा पर्छन् । बाँदरले अभिवादन गर्छ । उनले स्वीकार्दैनन् ।)
बाँदरः डाक्टर मास्के ! तपाईं ? यति चाँडै ?
डाक्टरः मेरो मिटिङ क्यान्सिल भयो । त्यसैले म सिधै यहाँ आएँ । अनि भन । यहाँ भिजिटर को-को आए त ?
बाँदरः आउनुपर्ने मान्छे आएनन् । नआउनुपर्ने मान्छे आएर मेरो दिमाग चाटेर गए ।
डाक्टरः हैन के भन्दै छस् तँ ? मैले त तेरो केही कुरा पनि बुझिनँ ।
बाँदरः कुरा के भने नि आज आउनुपर्ने भिजिटर अझै आइपुगेका छैनन् ।
(डाक्टर मास्के प्रयोगशालामा जान्छन् । बाँदर डाक्टरको नजिक जान्छ ।)
डाक्टरः सुन् ! मेरो अनुपस्थितिमा जोकोहीलाई यहाँ छिर्न नदिनु । पहिले नै समय लिएकाहरूलाई मात्र प्रवेश गराउनु । अचेल फर्मुलाहरूको चोरी निकै बढेको छ ।
बाँदरः हवस् हजुर ।
(डोरबेल फेरि बज्छ । दुवै जना सतर्क हुन्छन् ।)
डाक्टरः जा ! गएर हेर् त को आएको रहेछ ?
बाँदरः हवस् हजुर ।
(बाँदरले ढोका खोल्छ । ढोकामा एक जना युवती देखा पर्छिन् । युवती निकै रूपवान् हुन्छिन् । उनको हाउभाउबाट जोकोही पनि आकषिर्त हुनसक्छ ।)
डाक्टरः (युवतीलाई देखेपछि) तपाईंले कसलाई खोज्नुभएको ?
युवतीः तपाईर्ं … ?
डाक्टरः म प्रोफेसर डाक्टर मास्के !
युवतीः ओ ! डाक्टर मास्के !
डाक्टरः एस मिस ….. ?
युवतीः मिस युनिभर्स मान्यता ।
डाक्टरः कति राम्रो नाम ! मिस मान्यता । मान्छेजस्तै सुन्दर नाम ?
बाँदरः सबै मान्छे सुन्दर हँुदैनन् हजुर ।
युवतीः ओहो ? यो जनावर पनि बोल्दोरहेछ !
बाँदरः (एक्कासि आवेगमा आउँदै) ए ! कसलाई जनावर भनेको ? के हाम्रो बाँदर प्रजातिको इज्जत छैन ? हाम्रो नाम छैन ?
युवतीः ह्वाट अ सरप्राइज ! बाँदर पनि बोल्छ र ?
डाक्टरः मिस मान्यता ! यो डाक्टर मास्केको ल्याब हो । यहाँ जे पनि प्रयोग हुनसक्छ । यहाँ मान्छे बाँदर हुन सक्छ र बाँदर मान्छे हुनसक्छ । यो बाँदर मेरो दास हो । यो मेरो प्रयोगशालाको एक रोचक सामग्री पनि हो । के तिमीलाई मेरो कुरामा विश्वास लागेन ?
युवतीः लाग्यो डाक्टर ! त्यसैले त म तिमीलाई वषौर्ँदेखि खोज्दै-खोज्दै यहाँ आइपुगेकी हुँ ।
डाक्टरः ल भन । त्यसो भए म तिम्रो के सेवा गर्न सक्छु ?
बाँदरः पहिला बस भन्दैनौ ?
डाक्टरः ए ! सरी-सरी । बस न । हो, बसेरै कुरा गरौँ न । बसेर कुरा गर्नुको आनन्द नै बेग्लै छ । बस्नु पनि एउटा प्रयोग नै हो तर हामी अधिकांश प्रयोगहरू उठेर नै गर्छौं । (बाँदरलाई हेरेर) अनि बाँदर तँ भित्र गएर जुस बनाएर ले त ।
(बाँदर मन नलागी-नलागी भित्र जान्छ ।)
डाक्टरः ल भन मिस मान्यता । तिमी के चाहन्छौ ?
युवतीः (एकछिन सोचेर) डाक्टर ! के म राम्री छु ?
डाक्टरः तिमी असाध्यै राम्री छौ ।
युवतीः के म साँच्चै राम्री छु ?
डाक्टरः मैले आजसम्म देखेका स्त्रीहरूमा तिमी सबैभन्दा राम्री हौ ।
(केही समय मौनता छाउँछ । मान्यता डाक्टरको कोठामा राखिएको सामग्रीहरू हेर्न थाल्छिन् ।)
युवतीः डाक्टर ! तिमीलाई एउटा कुरा सोधौँ ?
डाक्टरः हुन्छ । सोध न ।
युवतीः के तिमी मलाई बिहे गर्न चाहन्छौ ?
डाक्टरः (अकमकिदै) यो तिमीले के भनेकी ? म कसरी तिमीलाई बिहे गर्न सक्छु ?
युवतीः सायद तिमी आफ्नो उमेरदेखि लाज मान्दैछौ तर मलाई तिम्रो उमेरभन्दा पनि तिम्रो व्यक्तित्व मन पर्‍यो । के तिमी मसँग बिहे गर्छौ ?
डाक्टरः हेर मान्यता । तिमी मसँग ठट्टा गरिरहेकी छौ ? वा मेरो मन बुभ\mन खोजिरहेकी छौ ? मलाई थाहा छैन तर म तिमीले राखेको प्रस्ताव स्वीकार्न सक्दिन । (एक छिन मौनता छाउँछ । सम्हालिँदैै) मिस मान्यता ! बरु म तिम्रो असल केटा साथी बन्न सक्छु ।
युवतीः तर जीवनसाथी बन्न किन सक्दैनौ डाक्टर ?
डाक्टरः मैले भनेँ नि । म बिहे गर्न सक्दिनँ भनेर ।
युवतीः तर किन डाक्टर ?
डाक्टरः यो प्रश्नको उत्तर मसँग छैन ।
युवतीः उत्तर छैन कि भन्न चाहिरहेका छैनौ डाक्टर !
डाक्टरः ओहो ! आखिर तिमी के चाहन्छौ ?
युवतीः तिमी पुरुष जातिहरूले जहिले पनि आफूले चाहेको बेला मात्र नारी जातिलाई प्रयोग गर्‍यौ । भन्ने बेला नारीलाई आधा आकाश, जननी, धर्ती अनेक फूल बुट्टाले सम्बोधन गर्छौ तर यथार्थमा तिमीहरूले नारीलाई आफूलाई मात्र भोक लागेको बेला उपभोग गर्ने साधनका रूपमा लिएका छौ ।
डाक्टरः (आवेगमा आउँदै) तिमी कठोर आरोप लगाउँदै छौ ।
युवतीः आरोप हैन । मेरो निष्कर्ष हो यो । नारीलाई यसरी हेर्ने पुरुषको मस्तिष्कमा के कस्ता तन्तुहरू हुन्छन् ? र ती नारीभन्दा किन भिन्न हुन्छन् ? म यो जान्न चाहन्छु । के तिमीले यस बारेमा कुनै प्रयोग गरेका छौ डाक्टर !
डाक्टरः तिमीले के भन्न खोजेकी हौ ? कुरा नघुमाइकन सिधा भन । मसँग धेरै समय छैन । यहाँ अरू पनि भिजिटर आउँदैछन् । मैले उनीहरूलाई पनि समय दिनुपर्छ । भन । तिमी के चाहन्छौ ?
युवतीः (डाक्टरको नजिकै गएर एकदमै ठूलो स्वरमा) म पुरुष बन्न चाहन्छु । डाक्टर म तिमीजस्तै पुरुष बन्न चाहन्छु । म नारीबाट पुरुष बन्न चाहन्छु । र पुरुष भइसकेपछि नारीलाई किन पुरुषले त्यसरी हेर्छन् भन्ने कुराको अनुभव गर्न चाहन्छु ।
डाक्टर ः (अचम्म मान्दै) होइन । यो कस्तो ठट्टा हो ? मलाई नचाहिँदो ठट्टा गरेको मन पर्दैन ।
युवतीः मैले ठट्टा गरेको होइन डाक्टर ! म पुरुष बन्न चाहन्छु । म यसै जुनीमा नारी र पुरुष दुवैको जीवन बाँच्न चाहन्छु र त्यो अनूभूतिलाई म आफ्नो अटोबायोग्राफीमा उतार्न चाहन्छु । (डाक्टरलाई अङ्कमाल गर्दै) डाक्टर ! के तिमी मलाई मद्दत गर्दैनौं ? डाक्टर ! मैले तिम्रोबारेमा धेरै सुनेकी छु । पढेकी छु । तिमी प्रकृतिका धेरै नियम तोड्न सक्छौ रे ! जीवविज्ञानमा तिमीले अनेक चामत्कारिक कामहरू गरेका छौ रे ! डाक्टर के तिमी मेरो मनोकाङ्क्षा पूरा गरिदिन्नौ ?
(डाक्टर मास्के असामञ्जस्यमा पर्छन् । केही बोल्न सक्दैनन् । त्यसैबेला हतारिँदै एक जना दुब्लो-पातलो अधबैँसै व्यक्तिको प्रवेश हुन्छ । युवतीलाई देखेर ऊ टक्क अडिन्छ ।)
व्यक्तिः माफ गर्नुहोला महाशय ! यो मेरी श्रीमती हो ! यसको मनोदशा अलि ठीक छैन । घरमा थुनेर राखेको थिएँ । सबैको आँखा छलेर भागिछे । (मान्यतालाई) ए ल हिँड् छिटो । तँलाई एक्लै हिँड्न कसले भन्यो ? यसरी एक्लै हिँड्न हुँदैन भन्ने थाहा छैन ? ल हिँड् ।
(युवती डाक्टरको पछाडि जान्छिन् ।)
युवतीः अहँ म जान्न । जाँदै जान्न । म तेरी श्रीमती होइन । (डाक्टरसँग) डाक्टर म यसकी श्रीमती होइन । यसले मलाई अपहरण गरेर बन्दी बनाएको थियो । म यसको बन्दिगृहबाट भागेर आएकी हुँ ।
व्यक्तिः (फकाउँदै) कस्तो कुरा गरेकी ? नचाहिँदो कुरा नगर त । खुरूक्क हिँड् ।
डाक्टरः एक छिन पर्खनुस् । उनी तपाईंकी श्रीमती हुन् भन्ने के प्रमाण छ ?
व्यक्तिः (रिसाउँदै) मसँग प्रमाण खोज्ने तिमी को हौ ? त्यसो हो भने तिमी पनि योसँग मिलेका छौ । म तिमीहरू दुवै जनालाई छाड्दिन ।
(व्यक्ति डाक्टरको नजिक जान्छ । मान्यताले पछाडिबाट त्यो व्यक्तिलाई धकेलिदिन्छिन् । व्यक्ति लड्छ । मान्यता दौड्दै मञ्चबाट बाहिरिन्छिन् । व्यक्ति उठेर मान्यता गएतिर नै जान्छ । डाक्टर हेरेको हेर्‍यै हुन्छन् । त्यसैबेला बाँदरको प्रवेश हुन्छ । यतिबेला बाँदर रिसाएको हुन्छ ।)
बाँदरः डाक्टर मास्के ! म अब यो प्रयोगशालामा बस्न चाहन्नँ ।
डाक्टरः तँ यो के भन्दै छस् ? तँ होसमा त छस् ?
बाँदरः म बल्ल होसमा आएको छु डाक्टर ! म अब यस ठाउँमा बस्न चाहन्नँ । म बन्दिगृहमा कैद भएर एकछिन पनि बस्दिनँ ।
डाक्टरः के रे ? यो बन्दिगृह रे ? तँ नाथे बाँदरको यत्रो हिम्मत ? तँलाई मैले बाटोबाट टिपेर ल्याएँ । मान्छेको आवाज दिएँ ।
बाँदरः बाँदरको अस्तित्व मास्नका लागि ।
डाक्टरः मैले तँलाई काम सिकाएँ ।
बाँदरः आफ्नो आजीवन सेवा गर्नका निम्ति ।
डाक्टरः मैले तँलाई सचेत बनाएँ ।
बाँदरः आफ्नो निर्जन प्रयोगशाला रक्षाका लागि ।
डाक्टरः तँ जे सुकै सम्झी तर तँ मेरो प्रयोगशालाको अपमान गर्न पाउँदैनस् ? म पनि हेर्छु । तँ कसरी यो ठाउँबाट मुक्त हुँदोरहेछस् ? मैले तँ माथि गरेको यत्तिका प्रयोग खेर जान दिन्नँ ।
(बँादर जान खोज्छ । डाक्टरले बाँदरलाई समात्छ । बाँदर अडिन्छ ।)
बाँदरः म तिम्रो प्रयोगशालाको सामग्री होइन डाक्टर ! हामीलाई कहिले डार्बिनले प्रयोग गरे ख्याति कमाउनका लागि । हामीलाई कहिले रामले प्रयोग गरे रावणका विरुद्धमा लाग्नका लागि । हामी आज पनि प्रयोग भइरहेका छौँ । कहिले रसायनशास्त्रीहरूबाट कहिले मानवशास्त्रीहरूबाट । डाक्टर ! तिमीलाई कसले अधिकार दियो ? मलाई प्रयोग गर्ने ? मलाई वर्षौँ प्रयोगशालाको वस्तुमा रूपान्तरण गरिरहने तिमी महास्वार्थी हौ । डाक्टर अब म यो आयातित पीडामा अरू रमाउन सक्दिन । म अब हिटलर, बुद्ध वा यन्त्र-मानवको प्रतीक्षा गर्न सक्दिन ।
(यतिञ्जेल डाक्टर मास्के रिसले रन्थनिसकेका हुन्छन् । उनले लामो फलामको डन्डीले बाँदरलाई प्रहार गर्न खोज्छन् । बाँदरले छल्छ । हेर्दाहेर्दै प्रयोगशालाका सामग्रीहरू नराम्ररी तोडफोड हुन्छ । अचानक डाक्टर मास्केको सन्तुलन बिग्रन गई उनको टाउको जमिनमा नराम्ररी ठोक्किन पुग्छ । डाक्टरको टाउको शरीरबाट छुट्टन्िछ । यतिबेला थाहा हुन्छ डाक्टर मास्के एउटा यन्त्र-मानव हुन् भन्ने कुरा । डाक्टर टाउकोविना समेत उठ्न खोज्छन् तर सक्दैनन् । मञ्चमा रातो प्रकाश डाक्टरमाथि केन्दि्रत हुन्छ । केही समयपछि डाक्टरको भयानक मृत्यु हुन्छ । यतिबेला बाँदर सम्हालिन्छ । बाँदर कहिले डाक्टरलाई, कहिले प्रयोगशालामा छरिएका सामग्रीहरूलाई हेर्छ । बाँदर केही बोल्न खोज्छ तर वाक्य फुट्दैन । बाँदरको बोली हराउँछ । बाँदर अत्तालिँदै प्रयोगशालामा यताउति दगुर्न थाल्छ । यसैबेला पर्दा खस्छ । समाप्त ।)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *