दुनियाँको यो चाला देखेर
धैर्यको फुटिसकेको छ बाँध, यो धरतीको
गृहकलहको महाभयङ्कर कुरुयुद्धमा
बीभत्स बनेको छ, मानवगाउँ
डामिएका छन्, फूलका वृक्षहरू
विरूप बनेका छन् फूलको सौन्दर्य
रगत्याम्म बनेको छ, सेतो हिउँको तन्ना
बलात्कृत भएकी छन्, गाउँबेँसीका सुन्तलीहरू
बम, गोला, बारुदहरू पड्किरहेका छन्, नौमती बज्ने बस्तीहरूमा
आफन्तहरू बिर्सेर, खेलिदैछ, रगतको होली
त्यसैले पटकपटक
उल्टो दिशामा बग्ने गरेको छ हावाको झोक्का पनि
फूलहरू पनि नफुल्न चाहिरहेका यहाँ
जाइ, जुई, लालुपाते, सुनाखरी,
आफूलाई अनुभूत गरिरहेका छन् बिधुवासरी
यस्तो दर्दनाक पृष्ठभूमिमा
कसले भन्न सक्दछ-
छियाछिया परेको छैन
धरतीको मन भनेर ?
कसले भन्न सक्दछ टुट्रन लागेको छैन
धैर्यको बाँध भनेर ?
-गोटीवाड-५, प्यूठान
