Skip to content

तारिणीप्रसाद कोइरालाको आख्यानकारिता

  • by

वि.सं. १९९७ तिरैदेखि ‘कथा’ साहित्यबाट लेख्न सुरु गरेको तारिणीप्रसाद कोइरालाले भने वि.सं. १९९९ तिर आइपुग्दा चोरी, झूल, नर्वदाको कुकुर, पापजस्ता कथा ‘शारदा’ पत्रिकामा प्रकाशित गर्न सफल भए । तारिणीप्रसाद कोइरालाका पुस्तककार कृतिहरूमा रातो स्वेटर (कथा सङ्ग्रह) २०३८ रहेको छ भने उपन्यासतर्फ सर्पदंश २०२६ र फालिएको सामान २०४२ रहेका छन् ।

कथा- उपन्यासका क्षेत्रबाट नेपाली आख्यान परम्परालाई माथि उठाउने तारिणीप्रसाद कोइरालाले पूर्वीय कामसूत्रका आधारमा रहेर नेपाली कथा उपनयास रचना गरेका छन् । भित्री मनबाटै उत्पन्न हुने भावनाहरूलाई आफ्ना कृतिमा पात्रहरूका माध्यमबाट विश्लेषण गरेका छन् । यौन भावनालाई बाहिरी रूपमा प्रकट गर्न नसके पनि भित्री भावनाहरू प्रवल र सबल हुन्छ भन्ने यिनको धारणा रहेको छ ।

पाश्चातय सिद्धान्तका आधारमा कथा
नेपाली साहित्यका महान साहित्यकार, समयका तारा तारिणीप्रसाद कोइरालाको मूलक्षेत्र कथा उपन्यास नै हो पनि अन्य विधामा पनि कलम चलाउने कोइरालाले आफ्ना विचार यसप्रकार दिएका छन् – “हाम्रो मुलुकमा कथा लेख्ने प्रथम कुन देशबाट आयो ठीक ठीक बताउन गाह्रो छ । हिन्दुस्तानमा यो प्रथा पश्चिमबाट आएको हो । विदेशी कथा साहित्यको तुलनामा हाम्रो कथा बहुतै पछि परेको । … तर भए पनि हिन्दी साहित्यको छाप हाम्रो साहित्यमा अवश्य परेको छ ।” भन्दै पश्चिमी युरोप अमेरिकामा देखिएको साहित्यिक प्रभाव अङ्ग्रेजी, हिन्दी, बङ्गाली, मराठी हुँदै नेपालीसम्म आइपुगेको पुष्टि हुन्छ । कथाकार कोइरालालाई पाश्चात्यका महान प्रतिपादकहरू युङ्ग, फ्रायड आदिको मनोविश्लेषणात्मक पद्धति अपनाएर कथा उपन्यास रचना गर्ने साहित्यकारभित्र राखेर हेर्न सकिन्छ । फ्रायड विवेचना गरेजस्तै यिनका कथामा पनि भित्री मनका भावनाहरू बाहिर प्रकट भएको पाइन्छ । मान्छेका इच्छा, चाहनाहरू सपना साकार भएर आउँछन् भन्ने उन्मत्त भावना प्रस्तुत भएका समयमा पनि बाहिर आउँछन् । मान्छेलाई खान बाँच्नका लागि आवश्यकता भए जस्तै यौनकार्य पनि अति आवश्यकीय अवस्था हो । यी सबै यिनका कथामा रहेको पाइन्छ । आफ्नै दाजु र नेपाली साहित्यमा यौनमनोविश्लेषणका प्रथम प्रतिपादक विश्वेश्वरप्रसाद कोइरालाको प्रभाव पनि यिनमा रहेको छ । कथाकार कोइरालाले आफ्ना समकालीन भिक्षु, सम, गुरुप्रसाद मैनाली, विश्लेश्वरप्रसाद कोइराला आदिको नाम लिएको पाइन्छ ।

प्रयोग दिन नसकेको मान्ने कोइरालाले मनोविज्ञानलाई महफ्वपूर्ण तफ्वका रूपमा स्वीकारेका छन् । यस्तै अत्यन्तै सीमित कथानकलाई लिएर एक वा दुई मात्र प्रमुख पात्रको माध्यमबाट यिनले कथा रचना गरेको पाइन्छ । जसले गर्दा यी विशेषताका आधारमा आधुनिक कथालाई पूर्णरूपमा सहयोग पुगेको पाइन्छ ।

स्थापित सिद्धान्तका आधारमा उपन्यास
उपन्यासकारमा तारिणीप्रसाद कोइरालाले पूर्वीय काम सूत्रका साथै पाश्चात्य फ्रायडेली चिन्तनलाई समावेश गरेको पाइन्छ । यिनका ‘सर्पदंश’ बालमनोविश्लेषात्मक उपन्यास हो । बालकका मनभित्र रहेका विविध पक्ष केलाउने उपन्यासकारले हाम्रो समाजमा देखिने घटनाहरू प्रस्तुत गरेका छन् । नेपाली उपन्यासका क्षेत्रमा सुपरिचित रहेका स्रष्टा कोइरालाको विभिन्न समालोचकहरूले आ-आफ्नै किसिमले समालोचना गरेको पाइन्छ तर तारिणीप्रसाद स्रष्टा र द्रष्टा (समालोचक) का रूपमा पनि उभिएको पाइन्छ । यिनका उपन्यासमा पाइने गुणहरूका आधारमा एउटा उच्चकोटीको उपन्यासकारको स्वरूपमा रहेको छ भन्न सकिन्छ ।

अन्य आख्यानकारसँग तुलना
आख्यानकार तारिणीप्रसाद कोइरालाले नेपाली आख्यान परमपरामा कथा र उपन्यासका क्षेत्रमा मूल रूपमा रहेर विशिष्ट योगदान दिएका छन् । यसै क्रममा आख्यानकार कोइारालाको आख्यानकारिता पाश्चात्य र पूर्वी काव्यशास्त्रको मिश्रण रहेको पुष्टि भएको छ । फ्रायडेली सिद्धान्तका आधारमा अङ्ग्रेजी साहित्य र अङ्ग्रेजी हुँदै हिन्दी साहित्यकारमा परेको प्रभावलाई उनकै शब्दले समेटेको पाइन्छ । ‘शारदा’ पत्रकिाले जन्म दिएर यसैले यिनलाई हुर्कायो । भिक्षु, सम, देवकोटा, विश्वेश्वरप्रसाद कोइरालासँगै दाँजिएर कथा रचना गरेको पाइयो । यिनीहरूकै नाम लिएको देखियो भने नौलो प्रयोग र नयाँ स्वरूपको सिर्जना गर्नु आफ्नो उद्देश्य हो भन्ने विश्लेषण गरेको पनि पाइयो । यसैले कथा उपन्यासका क्षेत्रमा आख्यानलाई प्रस्तुत गर्ने क्रममा थोरै पात्र र सहज तरिकाले प्रस्तुत गर्ने कोइराला आफ्नो छुट्टै अस्तित्व जोगाउन सफल भएका छन् ।

यिनको आख्यान मैनालीको जस्तो एकनासे सामाजिकतामा आदर्श र नेपाली सरल नरनारीको आख्यान जस्तो नभएर यस धर्तीका सहज, सामान्य र असामान्य पात्रहरूको थलो भएको छ । केही नयाँ कुरा दिने नयाँ समाजको खोज गर्ने प्रयास भएको छ । कथाकार विश्वेश्वरप्रसादसँग मेल खाने धेरै गुण भए पनि आफ्नै अस्तित्वमा उभिन सकेको पाइन्छ । कथाभित्रसम्म पसेको हुन्छ भन्ने सूक्ष्म मनोविश्लेषणको राम्रो चित्रण रहेको पाइन्छ । नाम कमाउनलाई भन्दा साहित्य सेवा सच्चा हृदयले गर्नुपर्दछ भन्ने मन्तव्य दिने तारिणीप्रसाद कोइरालाले चोरी गर्नुभन्दा असल वस्तुको अनुकरण गर्नु राम्रो ठानेका छन् । त्यसैले आफ्ना कृतिमा उचित अनुकरण गरेर आख्यानलाई सुन्दर वस्तुका रूपमा प्रयोग गरेका छन् । त्यसैले कथा उपन्यासभित्र सुन्दर आख्यानका प्रस्तुति यिनमा रहेको छ भन्न सकिन्छ ।

शनिबार, गोरखापत्र
आश्विन २४, २०६६

Leave a Reply

Your email address will not be published. Required fields are marked *