Skip to content

नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाः

शंखधर साख्वाः नेपाल संवत्का प्रवर्तकका रूपमा ख्यातिप्राप्त र सुप्रसिद्ध छन् । उहाँ नेपालको आदिवासी नेवार जाति समुदाय, समाज र सङ्गतमा हुर्केर कान्तिपुरमा बसोबास गरेका व्यक्ति हुनुहुन्छ । प्रचलित लोकोक्ति अनुसार उहाँको घर काठमाडौं मरुटोलको मरु सत्तलको इलाछेतर्फ रहेको बुझिन्छ । उहाँको वंशमा हाल को को छन्, त्यो सबै अनुसन्धानका क्रममा छ । नेपालमा प्रचलित विविध संवत् जस्तै कलिगत् संवत् शक संवत्, विक्रम संवत्, इस्वी संवत्मध्ये नेपाल संवत्को विशेष महत्त्व छ । यो संवत् आजभन्दा एघारसय उनन्तीस (११२९) अर्थात् वि.सं. ९६६ वर्ष अगाडि कार्तिक शुक्ल प्रतिपदा (म्हः पूजा) का दिनदेखि सुरु भएको हो । नेपाल संवत् सुरु हुनु अगाडि त्यसबेला राजकीय संवत् पनि कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मी पूजाका दिन संवत् पूर्ण भई कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ संवत् थालनी हुने परम्पराअनुसार सोही तिथिमा पुरानो संवत्को ठाउँमा नयाँ संवत् १” को थालनी भएको हो । शंखघर साख्वाःले त्यसबेलाको उपत्यकाका तीनै सहरको सकल जनताको ऋण मुक्त गरी आफ्नै मातृभूमिको नाममा “नेपाल संवत्” प्रचलनमा ल्याएका हुन् । यस किसिमको संवत् प्रचलन ल्याउने राजा महाराजाबाट मात्र सम्भव हुनेमा एउटा साधारण व्यापारी, कर्मशील, दयावान् नेपाल भूमिमा जन्मनुभएका नागरिक यस्तो साहसी काममा अग्रसर भएर महान् कीर्ति राखेर अमर भएर जानुभयो ।

शंखधर साख्वाःले यो संवत् प्रचलनमा ल्याएको बेला नेपालमा राघवदेव ठकुरीको शासनकाल थियो । सूर्यवंशी राजा मानदेवका तीन छोरामध्ये जेठा छोरा राघवदेव कान्तिपुरमा राज्य चलाएका थिए । त्यस्तै माहिला छोरा जयदेवले पाटनमा र कान्छा छोरा आनन्ददेवले भक्तपुरमा राज्य चलाएका थिए । यसरी तीनै भाइ समकालीन राजा भएर राज्य गरेका थिए ।

त्यसबेला भक्तपुर राजदरवारका विद्धान राजज्योतिष सिद्धिवन्तले धेरै वर्ष मिहिनेत र परिश्रमले सुवर्ण मुहूर्त (शुभ साइत) पत्ता लगाई फलाना दिन फलाना बेलाको शुभ मुहूर्तमा कान्तिपुरको विष्णुमती नदीछेउ भद्रमती नदीको दोभानमा लखुतीर्थमा सुवर्णमती नदीबाट बगाएर ल्याएको बालुवा ल्याएमा चार दिनपछि सो बालुवा सबै सुनमा परिणत हुने सुवर्ण योगको शास्त्रीय कुरा त्यसबेलाको भक्तपुरका राजा आनन्ददेव समक्ष जाहेर बिन्ती चढाएका रहेछन् । त्यसरी राजज्योतिषको सल्लाहअनुसार सोही शुभ मुहूर्तको समय पारी राजाले चारजना भरियालाई सो बालुवा लिन कान्तिपुर नगर विष्णुमती नदीछेउ लखुतीर्थ पठाएको रहेछ । भरिया पनि राजाका आज्ञा अनुसार मध्यरातको शुभ साइतमा लखुतीर्थबाट बालुवा झिकी र्फकदा काठमाडौं मरुटोलस्थित छवासुपा पारी (लुकु फल्चा) मा बिसाई केहीबेर आराम लिइरहेको बेला त्यहाँ केही व्यक्तिले देखी यति रातिका बेला बालुवा ल्याउनुको कारण सोधपुछ गर्दा भरियाले भक्तपुरमा राजा आनन्ददेवको राजोज्ञा अनुसार शुभ साइत पारी बालुवा लिन पठाएको कुरा बताए । यसरी मध्यरातमा भक्तपुरदेखि लखुतीर्थसम्म बालुवा लिन पठाउनुको केही रहस्य हुनपर्दछ । भन्ठानी भरियाले ल्याएको बालुवाको भारी आफूहरूलाई पनि आवश्यक भएको र भरिया विना ल्याउन नसकेको भनी भरियालाई अनेक लोभ देखाइ फकाइ मान गरी खानपिन गराई भने जतिको ज्याला दिई सो बालुवा आफ्नो घरमा थन्क्याउन लगाएर र अर्को बालुवा लिएर जानू भन्ने अह्राई सत्कार गरी फर्काए । बालुवा किन्ने व्यक्ति शंखधर साख्वाः जो ज्ञानी र खुवी भएको विशेष व्यक्ति रहेछन् । भरियाले दोस्रोपटक शुभ साइत बितिसकेको बेला लखुतीर्थमा फेरि बालुवा झिकी सोही बेला भक्तपुर दरवार पुर्याएको रहेछ । दरवारमा चार दिनपछि राजज्योतिषको कथनअनुसार सो बालुवा सुनमा परिणत नभएको देख्दा राजा ज्योतिषसँग धेरै रिसाए तथा ज्योतिषले पनि सो शास्त्र आगो लगाई जलाइदिए, पछि भरियासँग सोधपुछ गर्दा सो बालुवा शुभ साइतको नभई अरुबेलाको हुन पुगेकोले त्यसो हुन गएको बुझियो ।

यता कान्तिपुरमा शंखधर साख्वाःको घरमा थुपारिएका बालुवा चार दिनपछि सो बालुवा सबै चट्टानको धुलोसहित मिसिएको सुनमा परिणत भएको देखियो । शंखधर साख्वाः सोदेखि साह्रै हषिर्त भएर सो मिसिएको चट्टानको धुलो प्रशोधन गरी सुन जति सबै जम्मा गरे । यसरी अपार धनसम्पत्ति भएपछि त्यस सम्पत्तिबाट देश र जनताको हित कल्याण हुने पुण्य काममा दत्तचित्त भई खर्च गर्नुपर्ला भन्ने ठानी टोलको गण्यमान्य भद्र भलादमी, पण्डितहरूसँग सल्लाह गर्दा देशमा साहु महाजन र जमिन्दारहरूको ऋणमा भार बोकेका दुःखी दरिद्र सबैको हित हुने काममा ऋण मोचन गरी देशकै नाममा नयाँ संवत् प्रचलनमा ल्याउने अठोट (निधो) गरे त्यसबेलाको प्रचलित नियमअनुसार आफूसँग भएको सम्पत्तिमा तीन खण्डको एकखण्ड (एक तिहाइ) राजस्व बुझाउनुपर्ने भए अनुसार सो तिरी प्रचलित शक संवत् ठाउँमा राजा राधवदेवसँग स्वीकृति लिई उनले “नेपाल संवत” प्रचलनमा ल्याएका हुन् । यसरी शंखधर साख्वाः को उदारता महान् व्यक्तिलाई सबै सामु परिचित गराउन प्रजातन्त्र पुनस्थापना पछि वि.सं. २०५६ साल मङ्सिर २ गते उहाँलाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गरियो । यसरी साख्वाःसँग सम्बन्धित जनश्रुति, साहित्यिक तथा पुराताìिवक कुरालाई अध्ययन गरी तुलनात्मक रूपमा अनुसन्धानका लागि विद्धानहरूमा अनुरोध पनि गरिएको थियो ।

नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको २०५६ साल स्मरण गर्दा आज १० वर्षमा प्रवेश भइसक्दा पनि राज्य पक्षबाट यसको मूल्य र मान्यतालाई केही ध्यान नदिई उचित कदम नउठाएको देखिएको छ । अतः यो संवत् कुनै विदेश मुलुकबाट प्रवेश गरेको नभई आफ्नै मौलिक संवत् भएकोले आज मुलुक लोकतान्त्रिक र गणतन्त्रमा प्रवेश भई सकेको सन्दर्भमा यो नेपाल संवत्लाई मुलुकभित्र व्यवहारमा परिचालन गर्नसक्नु नितान्त आवश्यक देखिन्छ ।

1 thought on “नेपाल संवत् र राष्ट्रिय विभूति शंखधर साख्वाः”

  1. शँखधरलाई सरकारी सम्पत्ति निजी
    शँखधरलाई सरकारी सम्पत्ति निजी बनाएको कारणले जरीवाना तिराउनु पर्ने थियो । चोरिएको धनको एक तिहाइ बुझाएर पुग्ने भए चोरी गर्नु लाई राज्यले मान्यता दिएको बुझिन्छ। राघवदेवले सबै कुरा बुझ्दा-बुझ्दै पनि त्यस्तो गरेको भए उनी पनि दोषी हुन्। राज्यको सम्पत्ति राज्यले नै चलाऊने हो, व्यत्क्ती ले आफु-खुशी बांड्ने हैन(प्रस्तुत लेख कै अनुसार)। त्यसो भए शंखधर त अहिलेका कर छल्ने व्यापारीहरुका गुरु पो ठहरिए । आफ्नो हो भन्दैमा सबै चिज राम्रो नहुन पनि सक्छ। त्यस्को स्वतन्त्र विश्लेषन गरेर मात्र उपयुक्त सम्मान दिन ठीक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *