तिहार नेपालीहरूको महान चाड हो । पाँच दिनसम्म भव्य रूपमा मनाइने तिहारलाई यम पञ्चक पनि भन्ने गरिन्छ । दीप र ज्योतिसँग प्रत्यक्ष सम्बन्ध रहेको तिहारलाई दीपावली वा दिवाली पनि भन्ने चलन छ । काग तिहार, कुकुर तिहार, गाई तिहार अर्थात् लक्ष्मी पूजा, गोवर्द्धन पूजा अर्थात् म्ह पूजा,भाइतिहार अर्थात् भाइटिका गरी यो पाँच दिनसम्म मनाइने चाड हो । झिलिमिली र भव्य रूपमा मनाइने तिहारले नेपाली चलचित्रको पर्दामा विशेष स्थान पाउँदै आएको छ । विशेष गरी लक्ष्मी पूजा गरिरहेको दृश्य, देउसी वा भैलीका दृश्य र भाइटिकाको दृश्य चलचित्रको पर्दामा देखिइरहने दृश्यहरू हुन् ।
दिपावली भनेको उल्लासको प्रतीक हो । धेरैजसो चलचित्रमा दिपावलीका दृश्यलाई उल्लासकै रूपमा प्रस्तुत गर्ने गरिन्छ । तर कुनै कुनै चलचित्रमा तिहार कै बेला आइपरेको सङ्गट पनि उजागत गर्ने गरिएको छ । निर्देशक तुलसी घिमिरेको सर्वाधिक सफल चलचित्र ‘चिनो’ मा तिहार मनाइरहेकै बेला चलचित्रका खलपात्र राते काइला -सुनिल थापा) ले नायकको परिवारमाथि हमला गर्ने दृश्य राखिएको छ । यही हमलामा नायकका बुबाको हत्या हुन्छ भने हमलाबाट ज्यान जोगाउन भाग्ने क्रममा नायकको परिवारका सबै सदस्यहरू एक अर्काबाट छुट्टीएर अलगिन पुग्छन् । निर्देशक शम्भु प्रधानको ‘सम्झना’ चलचित्रमा रोगले थला परेकी नायिकाको घरमा भैलिनी आउने दृश्य राखिएको छ । जुन दृश्य अत्यन्तै मार्मिक दृश्यको रूपमा अहिलेसम्म पनि दर्शकको मानसपटलमा बसिरहेकै छ ।
निर्देशक शम्भु प्रधानकै अर्को एउटा चलचित्र ‘स्वर्ग’ मा नायिका गौरी मल्लले तिहारको बेला ‘तिहारै आयो लौ झिलिमिली’ गीतमा गरेको नृत्य पनि नेपाली चलचित्रको पर्दामा देखिएको तिहारको एउटा स्मरणीय दृश्यको रूपमा लिन सकिन्छ । चलचित्र ‘स्वर्ग’ मा गौरी मल्लले अर्जुन श्रेष्ठको दिदीको भूमिका निर्वाह गरेकी छन् । चलचित्रको पर्दामा यो सम्बन्धलाई ठूलै आकर्षणको रूपमा प्रस्तुत गर्ने चलन छ । कतिपय चलचित्रहरूको शिर्षकबाटै यो सम्बन्धको महफ्व झल्काइएको छ भने कुनै कुनै चलचित्रको पर्दामा भाइटिका गरिरहेकै दृश्य पनि राखिएको हुन्छ ।
दिदीभाई, भाइटिका, दिदी, प्यारी बहिनी, निखिल दाई केही त्यस्ता चलचित्रहरू हुन् जुन चलचित्रको शिर्षकबाटै दाजु बहिनी वा दिदीबाई बीचको सम्बन्ध झल्काउने खालका चलचित्र हुन् भन्ने बुझ्न सकिन्छ । यस्तै गरी कृष्टी मैनालीले दोहोरो भूमिका निर्वाह गरेको ‘लक्ष्मीपूजा’ पनि तिहारको एउटा महफ्वपूर्ण दिन लक्ष्मीपूजाको नाममा राखिएको शिर्षक हो । यो चलचित्रमा लक्ष्मीपूजाको दिन जन्मिएका दुई दिदीबहिनीहरूका रूपमा कृष्टि मैनालीले दोहोरो भूमिका गरेकी छिन् । यहाँ उल्लेख गरिएका चलचित्रहरू मध्ये ‘दिदीभाई’ शिर्षकको चलचित्र भने अहिलेसम्म प्रदर्शनमा आएको छैन । यस चलचित्रमा अभिनेत्री तृप्ती नाडकरले दिदीको प्रमुख भूमिका निर्वाह गरेकी छिन् । भाइहरूका रूपमा अर्जुन कार्की र सुशील क्षेत्री देखिनेछन् । यो चलचित्र प्रकाशमा नआएसम्म यसभित्र दिदीभाइ बीचको कस्तो सम्बन्ध देखाउन खोजिएको छ भन्ने कुरा किटान गर्न कठिन छ । तर विगतमा प्रदर्शित भइसकेका चलचित्रहरूमाथि दृष्टि दिने हो भने यो सम्बन्धलाई बडो संवेदनशील रूपमा प्रयोग गरी दर्शकको (विशेष गरी नारी वर्गको) भावनामाथि आधिपत्य जमाउन खोजेका उदाहरणहरू भेटिन्छन् ।
एक्शन स्टार निखिल उपे्रतीले रेखा थापाको सौतेनी दाजुको भूमिका निर्वाह गरेको ‘निखिल दाई’ मा दाजुको अपहेलना गर्ने बहिनीमाथि सङ्कट आई पर्दा सौतेनी दाजुले नै उद्धार गर्ने कथा बुनेको छ । यसमा दाजुको बहिनीप्रतिको साँचो माया उजागर गर्ने प्रयत्न गरिएको छ । यसरी दाजु र बहिनी बीचका सम्बन्ध दर्शाउने अन्य चलचित्रहरूमा ‘प्यारी बहिनी’ र ‘चट्टान’ पनि पर्न आउँछ । ‘प्यारी बहिनी’ मा सुमिना श्रेष्ठले उत्तम प्रधानको बहिनीको भूमिका निर्वाह गरेकी छिन् भने ‘चट्टान’ मा सञ्चिता लुईंटेलले राजेश हमालको बहिनीका रूपमा अभिनय गरेकी छिन् । चलचित्र ‘धर्म’ मा अपराधको दुनियाँमा फसेका भाइ सरोज खनालको पछि लाग्ने प्रहरी निरीक्षक दिदीको रूपमा कृष्टी मैनालीले अभिनय गरेकी छिन् । यसरी अपराधी र प्रहरीको विषयलाई चलचित्र ‘विजय पराजय’ मा पनि प्रस्तुत गरिएको छ । एउटा अपराधी र अर्को प्रहरी बीचको द्वन्द्वलाई दिदीभाई बीचको संवेदनशील नातामा गाँसेर बनाइएको चलचित्र ‘धर्म’ मा जस्तै ‘विजय पराजय’ चलचित्रमा बहिनी बनेकी रूपमा रानाका दुई दाजुहरू भुवन के.सी. र कृष्ण मल्लमध्ये एक अपराधी र अर्को प्रहरी अधिकृत बन्ने प्रसङ्गलाई प्रस्तुत गरिएको छ भने भाइटिकाको दिन दुवै दाजुहरू बहिनीको हातबाट टिका थाप्न आउने प्रसङ्गलाई बडो रोचकताकासाथ प्रस्तुत गरिएको छ ।
चलचित्र ‘विजय पराजय’मा यही भाइटिकाको दृश्यमा प्रयोग गरिएको ‘निधारैमा सप्तरङ्गी टिका लगाई’ गीतले भाइटिकाको विधी र महफ्वबारे वर्णन गरेको छ । ‘भाइटिका’ शिर्षकको एउटा चलचित्रमा दिदी बनेकी झरना बज्राचार्यलाई घमण्डी नारीको रूपमा प्रस्तुत गरिएको छ । यो चलचित्रमा भाइ बनेका प्रफुल्ल राजभण्डारीको कारण दिदीको दृश्य परिवर्तन हुने देखाइएको छ । ‘दिदी’ शिर्षकको चलचित्रमा मिथिला शर्माले आˆना भाइहिनीहरूको पालन पोषणमा जिन्दगी नै समर्पण गरेकी ममतामयी त्यागी दिदीको भूमिका निर्वाह गरेकी छिन् । यस चलचित्रमा मिथिला शर्माले गरेको भावुक अभिनय हेरेर नरसाएका आँखाहरू नै थिएनन् ।
यसरी दाजु बहिनी वा दिदी भाइबीचको सम्बन्धले नेपाली चलचत्रिमा ठूलै महफ्व राख्दै आएको पाइन्छ । यस्ता अन्य चलचित्रहरूमा शिव श्रेष्ठ र गौरी मल्लले बहिनी र दाजुको भूमिका निर्वाह गरेको ‘स्वर्ग’ पनि उल्लेखनीय चलचित्र हुन् । रगतकै नातामा केन्दि्रत यी चलचित्रहरू बाहेक कतिपय चलचित्रहरूमा भावनात्मक साइनो गाँसेर दिदी भाइ वा दाजु बहिनी बनेका प्रसङ्गहरू उल्लेख गरेका दृश्यहरू हेर्न पाइन्छ । यस्ता दृश्यहरू धेरै चलचित्रमा छन् भने त्यस्ता प्रसङ्गहरू मध्ये ‘पछ्यौरी’ चलचित्रमा अभिनेता सुनिल थापाले नायिका कृष्टि मैनालीलाई बहिनी मानेको कुरा थाहा नपाउँदा सुनिल थापाको दाम्पत्य जीवनमा कलह हुने दृश्यलाई यसतर्फको महफ्वपूर्ण उदाहरणको रूपमा लिनुपर्दछ । यो चलचित्रमा आˆनै श्रीमतीको शङ्का निवारण गर्न सुनिल थापाले आˆनो श्रीमतीकै अगाडि कृष्टि मैनालीबाट भाइटिका थापेका दृश्य पनि राखिएको छ । यसरी नेपाली चलचित्रको पर्दामा तिहारका विविध पक्ष दर्शाउने प्रसङ्ग र दृश्यहरूले राम्रै प्रभाव छोड्न सफल भएका उदाहरणहरू धैरै नै छन् ।
शनिबार, गोरखापत्र
आश्विन ३१, २०६६
