Skip to content


वि.सं. २०३१ साल चैतमा मित्र वासुदेव त्रिपाठीको लामो भूमिकासहित मेरो महाकवि देवकोटा र उनका महाकाव्य सहयोगी प्रकाशन, काठमाडौँबाट प्रकाशित भयो । त्यतिबेला म त्रि-चन्द्र क्याम्पसमा पढाउँथेँ । मेरो औपचारिक शिक्षा संस्कृतमा दर्शनशास्त्री, अङ्ग्रेजीमा बी.ए. र नेपालीमा एम.ए. थियो । खास गरेर एस.एल.सी. कोर्स पढ्न सुरू गर्दा अर्थात् वि. सं. २०१५ सालतिर कोर्समा समाविष्ट महाकवि देवकोटाका दुई कविता ‘यात्री’ र ‘मार्ग’ पढेपछि म देवकोटाप्रति निकै आकषिर्त हुन थालेको थिएँ । यसो त पछि आई.ए. पढ्दासम्ममा लेखनाथको ‘जीवनचङ्गा’ र माधव घिमिरेको ‘विश्वबन्धु’ जस्ता कविता पढेपछि म लेखनाथ र माधव घिमिरेप्रति पनि कम आकषिर्त हुन थालेको थिइनँ तर विशेष आकषिर्त चाहिँ देवकोटाप्रति नै हुन थालेको थिएँ । कविता वा साहित्यको एउटा प्रमुख गुण सर्वकालीन हृदयस्पर्शिता जो हो, त्यो उक्त तीनै कविका कवितामा नपाइने होइन तर विषयवस्तु र प्रस्तुतिशैली तथा शिल्पको नवोन्मेष र नवीन सौन्दर्यचेतनाका सन्दर्भमा देवकोटा मलाई सर्वाधिक मनपर्ने कवि बनिसकेका थिए । त्यतिञ्जेल -२०३१ साल) सम्ममा मेरा सञ्चयन -निबन्धसङ्ग्रह, २०२५), सिंहसार्थवाह -खण्डकाव्य, २०२६) र चार अमर कविका पाँच काव्यकृति (समालोचनासङ्ग्रह, २०२९) पनि प्रकाशित भइसकेका थिए । अनि यिनै सब पृष्ठभूमिमा होला, मलाई त्रि.वि. नेपाली शिक्षण समिति, कीर्तिपुरमा आंशिकरूपमा कक्षा लिइदिन आग्रह आयो, खास गरी मित्रद्वय वासुदेव त्रिपाठी र ठाकुर पराजुलीमार्फत । अनि म २०३२ सालको आधाआधिदेखि कीर्तिपुरमा पनि पढाउन जान थालेँ ।

यस्तैमा, २०३३ सालमा मेरो सरुवा त्रि-चन्द्रबाट नेपाली शिक्षण समिति (हाल केन्द्रीय नेपाली विभाग) कीर्तिपुरमा भयो । त्यतिखेर यहाँ ताराप्रसाद जोशी रिटायर्ड हुने र उहाँको ठाउँमा वासुदेव त्रिपाठी विभागीय प्रमुख बन्नुहुने निश्चितप्राय भइसकेको रहेछ । केही समयपछि यस्तै भयो पनि । त्यतिखेर नेपाली विभागमा २०२४ सालमा नेपालीमा एम.ए. गर्ने हामी सहपाठीहरू चार जना जम्मा हुन आइपुगेका थियौँ- वासुदेव त्रिपाठी, ठाकुरप्रसाद पराजुली, वल्लभमणि दाहाल र म स्वयं । हामी चार जना औधि मन मिल्ने साथी थियौँ । मैले यहाँ अरू विषयका साथै मुख्यतया महाकवि देवकोटा पढाउने जिम्मेवारी पाएँ । अनि त मलाई ‘के खोज्छस् काना ? आँखा’ भइहाल्यो । म रमाइरमाइ महाकवि देवकोटाको पठन-पाठनमा विशेषरूपमा केन्दि्रत हुन थालेँ । यसैबीच एकदिन मेरो मनमा महाकवि देवकोटा विषयमा विद्यावारिधि गर्न पाए हुन्थ्यो भन्ने लाग्यो र सो कुरा मित्र त्रिपाठीलाई सुनाउँदा उहाँले मलाई हौसला दिँदै भन्नुभयो- “महाकवि देवकोटामा विद्यावारिधि तपाईंले नगरे कल्ले गर्ने ? तपाईंले महाकवि देवकोटा र उनका महाकाव्य लेखी नै सक्नुभएको छ भने तपाईंलाई त्यति गाह्रो पनि नहोला ।” त्रिपाठीले यसो भन्नुहुँदा मैले उहाँले मेरो उक्त महाकवि देवकोटा र उनका महाकाव्यको भूमिकामा लेख्नु भएको कुरा सम्झन पुगेँ, जुन यस्तो छः “देवकोटा-साहित्यको अनुगमबाट आगम (निष्कर्ष) तिर पुग्नाका लागि समालोचकले आफूलाई माझ्नु र खार्नुका साथै आफ्नो जीवन समर्पण गर्नुपर्ने देखिन्छ । यस दृष्टिले म कुमार जोशीलाई आहृवान गर्न चाहन्छु किनभने वर्षौंसम्म उहाँ देवकोटा साहित्यमा डुब्नु भएको छ र अझै डुब्दै हुनुहुन्छ । अनि देवकोटा उहाँको अध्ययन-रुचिको केन्द्रीय साहित्य रहेको पाइन्छ । त्यसैले उहाँकै आगामी अझ विस्तृत र परिपक्व देवकोटा-समालोचना-ग्रन्थ नै प्रस्तुत महाकवि देवकोटा र उनका महाकाव्यको अझ सशक्त विकल्प बनोस् ! इत्यादि ।” आफ्ना मित्र र विभागीय प्रमुख अनि ‘लेखनाथ पौड्यालको कवित्वको विश्लेषण र मूल्याङ्कन’ शीर्षकमा विद्यावारिधि गरिसक्नु भएका त्रिपाठीका यी कुराले म हौसिएँ, अनि उहाँकै सरसल्लाहमा मैले महाकवि देवकोटा विषयमा विद्यावारिधि शोधकार्य गर्नका निम्ति २०३३ साल साउनमा त्रिभुवन विश्वविद्यालयमा नाम दर्ता गराएँ । मेरो र अझ खास विश्वविद्यालयको आग्रहमा त्रिपाठी नै मेरो शोधनिर्देशक बन्नुभयो भने शोधविशेषज्ञद्वयमा डा. चूडामणि बन्धु र डा. मोहनहिमांशु थापा रहनुभयो । महाकवि देवकोटा विषयक मेरो शोधकार्य औपचारिकरूपमा यसरी नै सुरु भएको हो ।

विश्वविद्यालयमा आफ्नो पढाउने काम सकिएपछि देवकोटाले लेखेका र देवकोटाबारे लेखिएका लेख-रचनाहरू जम्मा गर्न उपत्यकाका प्रमुख पुस्तकालयहरू धाउन थालेँ- कहिले मदन पुरस्कार पुस्तकालय त कहिले राष्ट्रिय पुस्तकालय तथा अभिलेखालय, कहिले पद्मकन्या क्याम्पस पुस्तकालय त कहिले केशर पुस्तकालय अनि कहिले चाहिँ त्रि.वि.केन्द्रीय पुस्तकालय । त्यो बेला फोटोकपी मेसिन हामीकहाँ आइसकेको थिएन त्यसैले सार्ने काम सबै हातैले लेखेर गर्नुपथ्र्यो । यसो हुँदा सामग्री-सङ्कलनमै मेरो समय र श्रम ज्यादा लाग्यो- करिब तीन/चार वर्ष नै तर सामग्री सङ्कलनको काम शोधकार्य गर्दा शोध पूरा नहुञ्जेलसम्म नै चलिरहने रहेछ, मैले पछि अनुभव गरेँ ।

नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएर प्रचुर रचना प्रदान गर्ने बहुमुखी प्रतिभा लक्ष्मीप्रसाद देवकोटाको मूल सिर्जनक्षेत्र कविताविधा जो हो, त्यो नै मेरो शोधक्षेत्र थियो भने मेरो शोधशीर्षक थियो- ‘महाकवि देवकोटाको कवितायात्रा र त्यसका मोड-उपमोडहरूको विवेचना’ । यसअनुसार महाकवि देवकोटाका कविता-कृतिहरू अर्थात् फुटकर कविता, काव्य-खण्डकाव्य तथा महाकाव्यहरू के-कति छन्, पत्ता लगाएर तिनको सङ्कलन गर्नु नै मेरो प्राथमिक काम थियो र मैले उक्त प्रकार तीन/चार वर्ष परिश्रम गरेर प्रथमतः यही काम मोटामोटीमा पूरा गरेंँ । फलस्वरूप देवकोटाले लेखेका प्रकाशित-अप्रकाशित गरी लगभग ७०० जति फुटकर कविताहरू, २१ वटा खण्डकाव्यहरू (‘मैना’ काव्यसङ्ग्रहमा सङ्ग्रहित सातवटा खण्डकाव्यसहित) तथा छवटा महाकाव्यहरू (देवकोटाले लेख्न प्रारम्भ गरेका तथा प्रारम्भिक केही अंश पत्रपत्रिकामा प्रकाशितसमेत भएका भए पनि अधूरै छाडेका ‘सुषमालोचन’, ‘भक्त प्रहृलाद’ तथा ‘सत्याभास’ वा ‘बुद्धचरित्र’ जस्ता महाकाव्यबाहेक) भेटिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *